कथा : प्रोजेक्ट अन्नपूर्ण

~लेखनाथ काफ्ले~Lekhnath Kafle

२६०० ई. सं. जनवरी १

विश्व सरकारको विविधता सम्बन्धी नयाँ परियोजनाले पृथ्वीबासी सबैको ध्यान खिचिरहेको थियो। आज पृथ्वीभरीका सबै सेक्टर र अन्य ग्रह, उप-ग्रहहरुबाट आगन्तुकको रुपमा वेब, डिजिटल र भौतिक रुपमा विषय विज्ञहरुको विशेष भेला बोलाइएको थियो।

मन्चमा एउटा छोटा खुट्टा, लामा हातहरु घुँडाभन्दा पनि तलसम्म पुगेको, टाउको पुरै खुइलिएको, ठुला लामा कान, लामै नाक, खोपिल्टा परेका चम्किला आँखा माथि पावरफुल चस्मा लगाएको अधबैसे जस्तो देखिने मान्छेले केही भनिरहेको थियो। उसले यसरी कुरा टुंग्यायो “विश्व सरकारको नयाँ जैविक-वैचारिक- सांस्कृतिक विविधता सम्बन्धी परियोजना आजैबाट सुरु भएको घोषणा गरिएको छ।”

त्यसै सभामा सहभागी मिस्टर एल.००६६एनपि१७५ड (मि. एल.) को मुहार उज्यालो र चम्किलो देखियो। उसकै छेउमै बसेको मिस्टर ए. ले पनि उस्लाई पुलुक्क हेर्‍यो। आज बल्ल, ९५ वर्षपछि उसले पहिलेदेखि प्रस्ताव गरेको कुरा विश्व सरकारले मानेर कार्यान्वयन गर्ने फैसला पनि बडो धुमधामले गरिरहेको थियो।

मि. एल. ले विश्वको अन्तिम ३०० वर्षको इतिहास सर्सर्ती सम्झियो। त्यस मध्ये, विश्व सरकार कसरी बन्यो भन्ने विषयमा उस्को सोच गहिरियो।
२१ औं शताब्दीको अन्ततिर संसार भरी इन्धन तथा शक्तिका श्रोतहरुको अभाव आकासिँदै गयो। विशेष गरी, चाइना, भारत, इन्डोनेशिया, भियतनाम र ब्राजिल जस्ता देशहरुको तीब्र औद्योगिकिकरण, अन्य दोश्रो र तेस्रो विश्वका मुलुकहरुको आर्थिक प्रगतिका कारणले।

२१ औं शताब्दीसम्म पनि शक्ति र इन्धनका श्रोतहरु जस्तै पानी, हावा, खनिज तेल, सौर्य, भुगर्भीय ताप र दवाब र आणबिक भट्टी मात्रै थिए। २६ औं शताब्दीको जस्तो हिमाल र मध्य पूर्व वा अफ्रिकाका बिशेष ठाउँमा पाइने बालुवा, अन्टार्कटिकाको चिसो, हावामा पाइने नाइट्रोजन वा कार्बन डाइअक्साइड, मध्य-अमेरिकाका केही ठाउँमा पाइने जमिनमुनिको विशेष प्रकारको माटो, गहिरा समुन्द्रहरुमा पानीले बन्ने दवाब, अफ्रिकामा पाइने एक किसिमको जनावरको बोसोबाट प्रसोधन गर्न सकिने लेखमैइट र पृथ्वी, ग्रह, उप-ग्रहहरुको एक-अर्काको आकर्षण-बिकर्षण द्वारा बनेको सन्तुलित बिन्दु शक्ति प्रवाहिकरण जस्ता शक्तिका श्रोतहरु २३ औं शताब्दीको मध्यसम्म पनि विकास भएको थिएन।

त्यो उर्जा संकटले संसार भरी कै उर्जा कम्पनीहरु माझ एकदमै अस्वस्थ प्रतिस्पर्धा पैदा भयो। साथै ती कम्पनीहरुका मालिक देशहरु बीचमा पनि उर्जाको स्रोत कब्जा गर्ने एउटा अत्यासलाग्दो होडबाजी चल्यो। त्यो होडबाजी २१ औ शताब्दीको होडबाजी कै निरन्तरता पनि थियो, त्यसमा केही नयाँ देश र कम्पनीहरु थपिएका थिए।

अब त उर्जाका स्रोत कब्जा गर्न देश नै कब्जा गर्ने होडबाजी पनि चलिसकेको थियो, जसरी शीत युध्दताका आफ्नो प्रभाव बढाउन सोभियत संघ र अमेरिका लागेका थिए। राजनैतिक र सामरिक हिसाबले अमेरिकाको शक्ति अझै पनि उत्तिकै थियो, जति शीत युध्दताका थियो, तर आर्थिक शक्तिमा चाइना, भारत, इन्डोनेशिया, भियतनाम र ब्राजिल जस्ता देशहरू अगाडि आएका थिए। अरब विभाजित थियो भने अफ्रिका आफ्नै आन्तरिक द्वन्द्वले गाँजिएको थियो। यूरोप वातावरणीय ऊर्जाको खोजीमा आफ्नै तरिकाले लागेको थियो, त्यसैले, यूरोपका फ्रान्स र बेलायत बाहेक अरु देशहरू त्यो ऊर्जाका लागि देश कब्जा गर्ने दौडमा थिएनन।

दक्षिण अमेरिकी मात्रै नभएर अरब, अफ्रिका र एशियाका केही मुलुकहरु जस्तै नेपाल, भुटान र अफगानिस्तानमा उर्जा कम्पनीहरु कै रोजाइका सरकारहरु बन्ने गर्थे। संसारभरी नै चाइना, भारत र अमेरिकाले उर्जा कब्जा गर्ने प्रतिस्पर्धामा राजनैतिक, कुट्नैतिक तथा आर्थिक सीमा नाघिसकेका थिए। प्रतिसपर्धा यस्तो थियो कि, उर्जाका स्रोत भएका देशहरूको आन्तरिक तथा बाह्य राजनैतिक समिकरण ती तीन देशकै समिकरणले निर्धारण गर्दथ्यो।

प्रतिस्पर्धाको कुनै बिन्दुमा त कसैले जित्नु र कसैले हार्नु नै थियो। उर्जाको लडाइमा त्यो बिन्दु नेपालको जलश्रोतमा भारत र चाइनाको कब्जा गर्ने प्रतिस्पर्धामा अमेरिकी कम्पनीले ठेक्का नपाउनु बन्यो। त्यो मुद्दा यसरी पेचिलो बन्यो कि ती तीन देश बीचमा एकले अर्कोलाई पछार्ने बहानाले अब राजनैतिक रुप लियो।

संसारका उर्जा कम्पनीहरुको दबाबमा देशहरूका नेतृत्वहरु आन्तरिक रुपमा नै विभाजित भएका थिए। अब कुराहरु र तर्कहरुले काम तमाम नहुने भएर अन्तिम लडाईंको तयारी भित्रभित्रै तीनै मुलुकहरुले गरेका थिए। अब तेस्रो विश्व युद्धको विभिषिका अगाडि नै थियो। युद्ध कसले सुरु गर्ने भन्ने मात्रै बाँकी थियो वा केको बहानामा कसले पहिले आक्रमण गर्ने भन्ने मात्रै थियो। अब युद्ध शायद तेस्रो विश्वयुद्धको रुपमा सबैका अगाडि गड्गडाउन मात्रै बाँकी थियो।

एकातिर युद्धको तयारी हुँदै थियो। अर्कोतिर उर्जा श्रोतहरुको कब्जामा नलागेका युरोपेली देशहरुका सरकारहरु र विश्व जन समुदाय नै युद्धको विरोधमा ओर्लेको थियो। २० औं र २१ औं शताब्दीको सबैभन्दा राम्रो पक्ष भनेको नै शिक्षामा सबैको पहुँच, मानिसहरुमा फैलिएको विश्व भ्रातृत्वको भावना र शान्तिप्रतिको चाहना थियो।

औद्योगिक देशहरुमा शान्तिका लागि नागरिक आन्दोलनले एकदम नै गति लिएको थियो। संसार भरिका नोबेल पुरस्कार विजेताहरुको एउटा सन्जाल बनाइएको थियो शान्तिको लागि, युद्ध रोक्नका लागि। युद्धमा जान तयार भएका देशहरुमा युद्धविरोधीहरुलाई धरपकड र दु:ख दिने क्रम बढिरहेको थियो।

विश्व शान्तिका लागि स्विजरल्यण्ड र नेपालको विशेष पहलमा “विश्व शान्ति नागरिक अभियान अन्तर्राष्ट्रिय सम्मेलन” हुँदै थियो, जेनेभामा। त्यो सम्मेलनमा जानबाट शक्ति राष्ट्रहरु र तिनका समर्थक राष्ट्रहरुले आफ्ना देशका नागरिक अगुवा र नोबेल पुरस्कार विजेताहरुलाई बन्देज समेत लगाइदिए। कसैलाई त राष्ट्रद्रोहको आरोपमा मुद्धा लगाएर जेलमा समेत थुनिदिए।

शक्ति राष्ट्रहरुको युद्धको तयारी र जनस्तरबाट शान्तिको कामनाका प्रयासहरु जारी रहे। संयुक्त राष्ट्र संघका महासचिवले पनि शान्तिको प्रयासका लागि अझै ठुलो जनस्तरको दबाब चाहिएको सार्वजनिक आह्वान नै गरे। नेपाल, स्कानेडेभियन राष्ट्रहरु र स्विजरल्याण्डले, महासचिबको वक्तव्यलाई समर्थन गरे भने भिटो राष्ट्र, शक्ति राष्ट्रहरु र तिनका समर्थक राष्ट्रहरुले महासचिवको वक्तव्यको विरोध गरे। महासचिवलाई पदमुक्त गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ मुख्य समितिमा लैजाने धम्की समेत दिए।

त्यस्ले जनताहरुमा झन धेरै आक्रोश पैदा भयो। युद्धविरोधी देशहरुले र शान्ति अभियानकर्ताहरुले संसार भरिका जनतालाई संयम अपनाउन र सुरक्षा निकायलाई जनताको सुरक्षा गर्न र युद्धको विरोधमा उभिन आह्वान गरे। त्यसपछि त युद्ध समर्थक देशहरुमा जनताको आक्रोशलाई दबाउने सरकारको आदेश सुरक्षा निकायले मान्न समेत अस्वीकार गरेका खबरहरु आउन थाले।

जेनेभा सम्भेलनले “शान्तिका लागि विश्व समिति” गठन गर्‍यो। त्यस्को सचिवालय जेनेभा मै रहने गरी एउटा कार्यकारी समिती बनायो। जस्ले युद्ध रोक्ने जनताको प्रयासलाई समर्थन गर्ने र शान्ती बहाली गर्ने उदेश्य प्राप्तिको लागि पहल गर्‍यो।

सुचना प्रबिधी र शिक्षाको कारणले जनताहरु अत्त्यन्त जागरुक थिए। बिगतका युद्धहरुको आततायी घटनाहरुको प्रचार, इराक, अफगानस्थान र भियतनाम युद्धको शिक्षा, पहिलो र दोश्रो विश्व युद्धका हृदयबिदारक घटनाहरुले मानिशहरुमा युद्ध प्रति घ्रिणा र युद्ध समर्थकहरु प्रती आक्रोश थियो। अनन्त सबै ठाँउहरुबाट त्यो आक्रोश जनताको सरकार बिरोधी आँधी बनेर आयो।

संसारभरी नै जनताहरु र सुरक्षा निकायहरुको संयुक्त पहलमा सरकारहरु बिघटन भए। जुन बिघटन भएनन, तिनिहरु पनि लामो समय टिक्न सकेनन। संसार भरि नै जनताले सत्ता कब्जा गरे।

हरेक देशमा “शान्तिका लागि विश्व समिती” का सदस्यहरुको मातहतमा एउटा कार्यकारी समिती बन्यो तत्कालिन कामका लागि। त्यस्को एक बर्षमा नै “शान्तिका लागि विश्व समिती” लाई पुनर्गठन गरी विश्व सरकारको घोषणा गरियो। अब संसार भरी, कुनै छूट्टै देश र सीमाना नभएको घोषणा गरियो।

अब सबै मान्छेहरु एउटै विश्वका स्वतन्त्र नागरिक भएका थिए, अब संसार भरी बाटै पासपोर्ट, भिसा र अध्यागमनका उपदेयता सकिएका थिए।
त्यत्ती ठुलो परिवर्तनमा कत्तै पनि लुटपाट र डकैती भएका थिएनन, २० औ वा २१ शताब्दीको जस्तो। एक बर्ष भित्रै संसार भरी मानव सभ्यता मै यस अगाडि कहिलै नभएको एउटा अचम्मको परिवर्तन भएको थियो। बिना हिँशा, बिना काट्मार, युद्धको बिरोधमा शान्तिको पक्षमा विश्व सरकार बनेको थियो। अब युद्ध, चाहेर पनि हुने सम्भावना थिएन। त्यत्रो ठुलो परिवर्तनमा कोही युद्ध अपराधी वा दोषी करार गरिएको थिएन। सबैलाई बाच्ने बराबर मौका र अधिकार दिइएको थियो।

यो सबै २२ औ शताब्दीको अन्त्यतिर भएको थियो। करीब ३३० बर्ष पहिले।

अब त संसार भर सयौ देश थिए भन्ने पनि एउटा कथाको भएको थियो। कैयौ फिल्महरु बनेका थिए त्यसकै बारेमा।

सम्मेलेन चलि नै राखेको थियो। मि. आई. सभाहलको अगाडि मन्चमा केही भनिरहेका देखिए। मि. एल. पनि सभा भौतिक रुपमा नै रहेको अनुभुती गर्‍यो।

अहिले संसार अचम्मको भएको छ। सबै काम मसिनले गर्ने वा गर्नै नपर्ने। प्रत्येक मानिसहरुको लागि बाँच्ने सपनाको खोजी सरकारी निकायले गरिदिनु पर्ने छ, अन्यथा मानिसहरुको बाँच्ने कारण नै हुँदैन। त्यो काम हरेक सेक्टरका बिज्ञहरुको समुहले गर्दछ।
३३० बर्षको बिकासले एउटा समस्या जन्माएको थियो “एकरुपता”।

एकरुपकता हरेक क्षेत्रमा, मान्छेको दैनिकी, सोंच, चाड पर्ब, भाषा, खाना, भेषभुशा सबैमा। खेती गरिने बालीका जातहरु, पालिने पशुहरु, पंक्षिहरु, लगाइने बोट, बिरुवाहरु सबैमा।

मानिसहरु मेशिन बन्दै थिए। बिचार, काम र हरेक कुरामा एकरुपता बढ्दो थियो। बैज्ञानीकहरु त्यसैले गर्दा साह्रै चिन्तित थिए।

“मानिसहरुलाई कसरी सकृय जीवन मा फर्काउने ?” विश्व सरकारको मुख्य चासोको बिषय नै यही छ। यती सम्म कि मानिसहरु एउटा राजनैतिक गतिबिधिमा समाबेश गराउन चलाइएका अभियानहरु समेत प्रभाबकारी भैराखेका थिएनन।

करिब ९५ बर्ष पहिले मि. एल. ले प्रकासित गरेको शोधपत्रलाई अहिले सबैले मार्गदर्शक सिद्दान्तका रुपमा मान्न तयार भएका थिए। मि. एल. को मान्यता थियो, “यो सबै क्षेत्रमा एकरुपकताको कारक संसार भरिका विविध क्षेत्रका बिबिधताहरुको बिनाश हो। त्यसैले सबै क्षेत्रमा बिबिधताको क्रमस पुनर्स्थापना नै एकरुपकताको अन्त्यको लागि चाहीने पहिलो सर्त हो।”

त्यही सिद्धान्तलाई कार्य रुप दिन केही दिन देखि बिश्व सरकारको “जीवन दिशा” सम्मेलन बसिरहेको थियो।

धेरै दिनको लामो छलफल पछी, सबै क्षेत्रमा बिबिधता पुनर्स्थापनाका लागि बिश्व सरकारको नयाँ जैबिक-बैचारिक-साँस्कृतिक बिबिधता सम्बन्धी परियोजनाको २० बर्षे कार्य योजना आजबाटै सुरु हुँदै थियो।

सबै क्षेत्रमा बिबिधता पुनर्स्थापना गर्ने परियोजनाको परिकल्पनाककार तथा सैदान्तिक निर्देशकमा मि. एल. लाई नियुक्ती गरिएको निर्णय पनि त्यही मन्चबाट गर्‍यो। त्यो चम्किलो आँखा भएको मान्छेले मि. एल. लाई मन्चमा बोलायो।

चम्किलो आँखा भएको मान्छेले मि. एल. लाई सोध्यो, “यो परियोजनाको नाम के राख्न चाहनु हुन्छ?”

“मेरा पुर्खाहरुको त्यो गाँउ, जुन २१ औं शताब्दी सम्म पनि विश्व भरी जैबिक, सांस्कृतिक र बैचारिक बिबिधताले भरिपूर्ण थियो, त्यही ठाँउको नामसँग यस प्रोजेक्टलाई भावनात्मक रुपमा जोढ्न चाहन्छु। त्यसैले, यो परियोजनाको नाम हुनेछ, प्रोजेक्ट अन्नपूर्ण।”

सभा हल भरी तालीको गडगडाहत सुनियो। मि. एल. ले आत्मै देखि नै गौरवान्वित महशुस गर्‍यो। उस्का आँखा रसाए, आँखा सामुन्ने आए, उस्को घरको भित्तामा झुन्ड्याइएका अन्नपूर्ण क्षेत्र, सगरमाथा र लुम्बिनीका तस्बिरहरु।

लेखनाथ काफ्ले/ताइवान

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.