कथा : मेरी आदी

~कल्पना गिरी भावुक~Kalpana Giri 'Bhawuk

आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाई सुनाउन निक्कै आतुर छु । नर्शले बोलाइन र रुममा जाने आदेस दिईन् ।

म रुममा पसेर बजैलाई सोधें, भोक लाग्यो ? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ उनि खाँदै भन्छिन् नेपाल फोन गरिस त ? अहँ, किन ? बुथमा अघिदेखि एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौं अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु ।

दिउसोको खानापछि सबै बिरामीले बिश्राम गर्ने हुँदा म पनि बजुलाई बिस्तारामा पल्टाएर फेरी बाहिर निस्किएँ । अनि उही अघिको बुथ ( फोन गर्न ठाउँ) तिर लम्किएँ । त्यो मोटे अझै बोलिरहेकै थियो मलाई मनमनै रिस उठ्यो हैन यसले यो बुथ यसको ससुराली बाट दाइजो ल्याको होकी के हो ? कति यही मात्र बोलिरहन्छ ? गएर झपारौं जस्तो पनि नलागेको कहाँ हो र ? तर पनि धैर्य गर्दै एउटा बेन्चमा गएर प्रतिक्षा गर्नथालें ।

उता नेपालमा पाँच बजिसकेको थियो । यही बेलामा बोल्न पाएदेखि बाबु छोरा सबैसँग बोल्न सकिन्थ्यो नत्र एकछिनमा त सानो छोरो सुतिहाल्छ मैले फेरी उसको बोलि सुन्न भोलि पर्खनु पर्ने हुन्छ नत्र…मन हतारिएर खप्नु भएको छैन उता मोटेले बुथ छाडेको छैन यहाँ नयाँ छु आजै बजुलाई लिएर हस्पिटल आएकी छु ।

कुर्दाकुर्दै चार बजिसकेछ अब त नेपालमा रातको आठ पनि बजिसक्यो बाबुहरु पनि सुतिसके होला मन त्यसै निरास र अमिलो भएको छ । बेलाबेलामा बजुलाई पनि हेर्न जानुपर्ने हुँदा कोठा भित्र पसेर के निस्केकी थिएँ फोन त फिलिपिनीको हातमा माछो नउम्कियोस भनेर समए झैँ दुइ हात मजबुत छन् ।

उफ ! आज मेरो दिन बिग्रेकै हुनुपर्छ सायद मेरो बोल्ने साइत जुरेकै छैन । मस्त कुरा गरिरहेकी छ । सायद उ पनि मेरा जस्तै साना साना बाबुनानिहरुसँग बोल्दै होलि र त आफ्नै सुरतालमा पिंजडा बाट छुटेको चरी झैँ एकसुरमा दाँया बाँया नहेरी काखैमा नानि राखे झैं बेला बेला किस गर्दै बोलीको ब्रेक लगाउंदै छ । अब भने मलाई बन्दै रिष उठेन भक्कानिएर रुन मन लाग्यो ।

मोबाइलबाट गर्नलाइ व्यालेन्स छैन । एउटा भएको बुथ प्याक छ । निरास भएर झोक्रिदै बेन्चमा बसें । एकोहोरो नेपाल मात्रै सम्झना आयो परिवारसँग रमाएर बसेका दिनदेखि बिदा भएर हिंडेका बेलासम्मलाई सम्झिन पुगिछु । बसेकै ठाउँमा घुक्क घुक्क गरेको आवाजले कसैले भन्यो किन रोएको के भयो ? कता कता लाज पनि लाग्यो र हतार हतार उठेर बाथरुममा पसें अनि ऐना अगाडी आफ्नै अनुहार हेरेर बेसरी रोएँ ।

भोलिपल्ट बिहानको नास्ता खाएपछि बजुलाई भनेर बुथमा आएँ आश्चर्य के भने तेही हिजोको मोटे सुक्क सुक्क गर्दै फोन समातेर रुँदै रहेछ । सोंचे, यो म भन्दा पनि निक्कै दुखेको छ यसलाई कसले घात ग¥यो ? या यो किन सल्लो सुसाए झैँ सुस्ताउंदै खडेरीको मूल फुटे झैँ आँखाबाट मोतीको सागर बगाउँदैछ ? मेरो मनमा खुल्दुली मच्चियो जान्ने उत्सुकताले म उसको छेउसम्म तानिएँ । उसले पुलुक्क मलाई हे¥यो म खिस्स बनावटी हाँसो हासँे । नमस्ते ! उसले पनि नमस्ते फर्कायो । मैले सोधें म तपाइलाई हिजो बाट नियाली रहेकिछु । तपाई हिजो पनि यसरि नै रुनुहुँदै थियो र आज पनि रुँदै हुनुहुन्छ । तपाई त छोरा मान्छे सार्वजनिक ठाउँमा यसरी रुँनुको कारण के होला जान्न सक्छु ? उ मौन बन्यो र बाइ पनि नभनी फोन बुथमा अड्काएर म भएतिर फर्कियो ।

तपाईं कहाँबाट आउनु भएको ? नेपालबाट । यहाँ के काम गर्नुहुन्छ ? कियरगिभरको काम गर्छु । आएको कति भयो ? तिन बर्ष । अझै कति बस्नु हुन्छ ? थाहा छैन । बिबाहित ? हजुर । श्रीमान कहाँ हुनुहुन्छ ? नेपालमै । बालबच्चा ? दुइटा छोरा । को सँग छन् ? उहाँले नै हेर्नु हुन्छ । तपाइलाई उनीहरुको याद आउँदैन ? मलाई झनक्क रिस पनि उठ्यो २४ घण्टा उनीहरुकै यादमा डुबेको कसले देख्ने ? पल पल कोल्टे फेर्दा झरेका आँशुको कथा यही मनलाई मात्र थाहा छ । यो कस्तो जिन्दगी ! प्रश्न गर्नलाई पैसा पनि नचाहिने रहेछ नत्र त्यसले यो मुटुमा तिर लाग्ने गरि किन यो प्रश्न गथ्र्याे ? मनमनै सोचें अनि आफुलाई समाल्दै मैले भने त्यही याद आएर त हिजोबाट यो बुथमा आँखा तर्काइरहेकी छु ।

तपाईले बोल्न दिनु भएकै हैन । म रुखो आवाजमा उत्तर दिन्छु । उ फेरी कुरा अघि बढाउँछ र भन्छ कति बर्षकी हुनु भो ? किन चाहियो ? तपाई मेरो इन्टरभिउ लिंदै हुनुहुन्छ हो ? हैन किन रिसाको ? भन्न मिल्दैन भने नभन्नुस । म केही बेरको मौनता पछी उत्तर दिन्छु ३४ बर्ष । बाबुहरु नी कत्रा कत्रा छन् ? एउटा १२ बर्षको र अर्को ६ बर्षको । कति चाँडै बिहे गर्नुभएछ है, कठैबरी सानै रहेछन् । आमाको कति याद आउँदो हो साथिले आमा भनेर बोलाउँदा पनि सपना झैँ लाग्दो हो तिनीहरुलाई । ति निर्दोष आँखाले आमाको ममता कति खोज्दाहुन् कति निस्ठुरी है तपाई ? उसको यो प्रश्नले म झस्किएँ मेरो मन बिथोलियो र आँखा रसाए ।

मैले कठोर हुँदै भने उनीहरुकै उज्वल भविश्यको खातिर म यहाँ संघर्ष गर्दैछु । यो मेरो रहर हैन मेरो बाध्यता हो बुझ्नु भो ? अनि दायाँ बायाँ नजर लगाएर यसो उ भएतिर हेरेको त उ त झन् बर्बरी आँशु झार्दै निगुर्मन्टि न भएर बसेको रहेछ । मैले भने किन रुनु भएको ? तपाइभित्र कस्तो पीडा छ ? जो तपाइले जतिबेलै आँशु झारिरहनु पर्छ ? म अब उ तिर फर्किएँ र सोध्न लागें । उ उत्तर नदिकन बसिरहेको थियो । दुइटा प्रहरी आएर उसलाई लिएर रुम भित्र छिरे ए दाइ सुन्नुस् न तपाइको नाम….? म उसलाई प्रश्न गर्दै थिएँ नाम पनि जान्न पाइन त्यो मोटेको ।

साँझ परिसकेको थियो म पनि बजु भएतिर हानिएँ । मनमा उत्सुकताले घच्घच्याई रह्यो ….नौ बजेको छ बजुको सबै काम सकेर कफीको चुस्कीसँगै बुथ भएको बेन्चमा बसेर मोटे आउने प्रतिक्षामा नजर दौडाइ रहेकी छु । नभन्दै उ ह्वीलचियरका पांग्रा दुवै हातले गुड्काउँदै बुथ भएतिर आयो साथमा दुइ प्रहरी आएका छन् । म बिस्तारै मोटे भएतिर लम्किन्छु नमस्ते ! सन्चै हुनुहुन्छ ? म भेटघाटको औपचारिकता पुरा गर्छु । नमस्ते भन्दै उ म तिर फर्कियो उसको चेहरा निक्कै उज्यालो छ, आँखा निलो गगन झैँ सफा र उत्सुक देखिन्छन । ओठमा मलिन मुस्कान सहित उ मलाई सोध्छ नास्ता भयो ? हजुर भयो तपाइको नि ? मेरो पनि भयो उ बोल्छ । म फेरी प्रश्न गर्छु तपाइको नाम ? मुसुक्क हाँसेर भन्यो यतिका चिनजान पछी ? एली । मलाई उसको आँशुको रहस्य जान्नु थियो उसको जिन्दगी पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएँ– तपाई आज निक्कै खुशी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्न । मलाई थाहा भएन तर तपाई कस्तो पीडा बोकेर बाँच्नु भएको छ भन्न मिल्छ भने प्लिज….मैले अनुरोध गरें ।

उ बर्बराउन थाल्यो ….म १८ बर्ष पुरा भएपछी आर्मीमा भर्ति भएँ । लेबनानको र इजरायलको बोडरमा ट्रेनिंगको लागि लगियो । तिन बर्षसम्मको लामो बसाइमा मेरो मित्रता आदि नामकी एक युवतीसँग भयो । उनि पनि ट्रेनिगमै भएकिले हाम्रो भेटघाटका दिनहरु रमाइला र मिठा हुन थाले । यसै क्रममा उनको र मेरो मन मिल्यो । अनि हामीले एकाअर्कासँग जिन्दगी सँगै जिउने सँगै मर्ने बाचा गरिउँ । अनि त्यसपछी के भयो ? म हतारिन्छु । एकदिनको कुरा हो उनको र मेरो प्रेमले लगभग छ महिना पार गरिसकेको थियो । हाम्रो सम्बन्ध सागर भन्दा गहिरो आकास भन्दा फराकिलो भएर मुस्कुराइ रहेको थियो ।

हामी एकअर्काप्रति धेरै बिश्वास गथ्र्यौ । एक दिनको कुरा हो क्याममा उनी र म एक्लै भएको बेलामा हामीले मन मात्र नभएर तन पनि एकअर्कालाई सहज सुम्पिएका थियौं । उनी टक्क अडिन्छन् । तेस्पछी ? म फेरी उनलाई झक्झक्याउँछु । उनी असाध्यै राम्री थिइन्, सबैको आँखा उनी माथि पर्थे । मेरो एउटा साथीले उनलाई मन परउदोरहेछ । एकदिन उसले आदिलाई मेरै छेउमा आएर प्रेम प्रस्ताब राख्यो । आदिले अस्विकार गरिन् र मेरो र उनको सम्बन्धको बारेमा भनिन् । उ निरास भएर फर्कियो ।

दिउँसोको खाना खाने बेला भएछ तपाई पनि खानुस् र म पनि बजुलाई खान दिन्छु यो तपाइको जिवनकहानी भरे पुरा गर्नु है मलाई बजुले बोलाइन भनेर म दौडिएँ । मन भने त्यहीं अल्झीरहेको थियो उनि संगै ।

दिउँसोको खाना पछि उनी फोन गर्ने निहुँले बुथमा आए र म पनि बजु सुताएर उनको अगाडी आएर कान ठाडा पार्दै बसें । उनी अघिको कहानी पुरा गर्नतिर लाग्छन– साँझको बेला थियो उनी बेथ कफे (कफी पिउन) गएकी थिइन् म उनको प्रतिक्षामा बरण्डाबाट छितिज नियाल्दै बसिरहेको थिएँ । मेरो अगाडी उनलाई मन पराउने केटा देखा प¥यो र भन्यो आदि मेरी हो म उसलाई तैले भन्दा बढि माया गर्छु त्यसैले आजै बाट उसलाई हेर्न छाडिदे भनेर धम्कि दियो । मैले उसलाई सम्झाउने कोसिस गरें उ मुर्खझैँ उसैका कुरामा अडिक भएर म माथि हातपात गर्न थाल्यो । उसको र मेरो झगडा निक्कै बेर चलिरहेको थियो खै के के भयो थाहा छैन मैले एक्कासी आफुलाई हस्पिटलको बेडमा पाएँ मेरो एउटा खुट्टा काटिएको थियो यति भन्दा उसका आँखा टिलपिल भएर भुईंमा पोखिसकेका थिए । म बाँकी कहानी सुन्न हतारिदै थिएँ । प्लिज भन्नुस न ! म सानै हुँदा मेरी आमाको निधन भयो आमाको अनुहार धमिलो छायाँ जस्तै अलिअलि याद छ । बाबाले अर्की आमा ल्याएर बस्नुभयो ।

सौतेनी आमाले हेला गरेपछि म काकाको घरमा गएर बस्न पढ्न थालें । मलाई पढ् भन्ने कोही थिएन मेरो सुन्दर भविस्यको कल्पना गर्ने पनि कोही थिएन । जसोतसो दस सम्म पढेर आर्मीमा भर्ति भएँ त्यो पनि आज यो अवस्थामा आफुलाई भेटेको छु खै के भनौ ? सुख दुख बाँडे मन हल्का हुन्छ रे पीडा आँशुले बगाएर लैजान्छ रे त्यसैले नरोक्नुस् अब पुरा भन्नुस् यो अधुरो कहानीले म बिथोलिन्छु एली… मैले भने । उ बोल्न थाल्यो, साथी र म बिचको झगडाले गोलि सम्म चलेको थियो मैले हानेको गोलीले उसको छाति वारपार भएर उसले त्यहीं जिन्दगी बिसाएछ म भाग्ने हुँदा माथि बाट बजारिएर दुवै गोडा काम नलाग्ने गरि…यो अवस्थामा छु ।

मलाई ज्यान मारेको अभियोगमा जेल चलान गरियो म यो ह्वीलचियरमा बसेको बाह्र बर्ष भयो । पाँच बर्षदेखी क्यान्सर रोगका कारण आधा मरिसकेको छु । डाक्टरले दिएको म्याद अब दुइ हप्ता मात्र बाँकि छ । यति भनि सक्दा मैले मेरा आँखामा फेवाताल भरिएको चालै पाइनछु उसले नै तिमी पहिले आँशु पुछ भन्दा पो झसंग भएँ ।

उनी अघि बोल्दै गए । मलाई भेट्न आदि आइरहन्छिन् । म यो बुथ बाट धित मरुन्जेल उनीसँग कुरा गर्दै रुने गर्छु । उनी जागिर खाने हुँदा सधैं आउन पाउदिनन् हाम्रो मायाको चिनो छोरी छिन् तर उनलाई म बाबु हुँ भनेर थाहा छैन। किन ? म क्यान्सरको रोगी छु भनेर छोरीलाई ढाँटेका छौं । एक त जेलमा त्यसमाथि पनि म मर्दैछु भन्दा उसलाई कस्तो घात पर्ला ? उनी बिना बाबुकी छोरी भनेर भनेकी छिन उनकी आमाले ।

आज आदि अफिस सकिएपछी छोरी लिएर मलाई भेट्न आउदै छिन् बिहान म खुशी हुनुको कारण त्यही हो । डाक्टरले भनेको मेरो स्वस्थस्थिती हिजो भन्दा आज निक्कै बिग्रिसकेको छ रे भोलि यहाँबाट डिस्चार्ज हुँदैछु । जेलमा छोरी ल्याउदिनन् सायद मैले मेरी छोरीलाई देख्न पाउने आज अन्तिम दिन हो । मैले एक शब्द पनि छोरी भनेर काखमा राख्न नपाइ मर्ने भएँ । आदि रोएर कम्जोर भैसकेकी छन् । मैले कत्ति भन्दा पनि उनले बिहे गर्न मानिनन् । मैले भनेको छु मेरो निधन पछी तिमीले जसरी पनि बिहे गर्नु भनेर, तर उनी जवाफ दिन्नन् । अब त्यो छोरीलाई कसरी र कस्तो जिन्दगी दिन्छिन् थाहा छैन । सायद तेस्को जिन्दगी पनि कतै मेरै जस्तो……। उनी सँगसँगै म पनि निक्कै बेर आँशुमा डुबेर आफ्नो स्थानतर्फ लागें । भोलिपल्टदेखि त्यो बुथ जतिबेलै खाली हुन्थ्यो तर म गोजीमा कार्ड बोकेरै बसिरहें त्यो दिनबाट हस्पिटल बसाइ दिक्क लाग्दो भयो ।

इजरायल

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.