व्यङ्ग्य निबन्ध : नाक

~रमेशप्रसाद तिमल्सिना~

नाक हाम्रो शरीरको एक अभिन्न अङ्ग हो । शरीरका पाँच ज्ञानेन्द्रीयमध्ये नाक पनि एक हो । राम्रोसँग चिन्ने हो भने मुखभन्दा माथिको डाँडोलाई नाक भनिन्छ । नाक दुई आँखाको सीमानामा अवस्थित छ । तपाई टाउके जङ्गलको यात्रालाई छोट्याउँदै निधारेचौर र निधारेचौरबाट पनि यात्रा अगाडी बढाउने हो आँखेभञ्ज्याङमा पुग्न सक्नुहुन्छ । त्यहाँबाट पनि यात्रा अगाडी बढाउँदा नाकको टापुमा पुग्न सकिन्छ । जहाँ ठूलो पहरो र दुईवटा गुफा छन् । गुफाबाट सिङाने खोला बगिरहेको हुन्छ बाघद्वारबाट बागमती बगे झैं ।

कोही लेखकले भुँडीका बारेमा लेखे, कोहीले टाउकाका बारेमा लेखे । कोहीले जुँगाका बारेमा पनि लेखेका छन् । तर टाउकैमा रहेको नाक भने हेलामा परेको मैले फेला पारे । अण्डरलाईन गर्ने जुँगाका बारेमा लेख्नेले नाकलाई कम महत्व दिएको त भन्न मिल्दैन तर, पनि नाकलाई अलि पर सारेको मैले अनुभव गरें र नाकका बारेमा लेख्न अघि सरें । सायद नाकबाट सिङान आउँछ भनेर हेला गरिएको होला । स्वासप्रश्वास गर्ने महत्वपूर्ण काम पनि त नाककै हो नि ! किन नाकका बारेमा नलेख्नु त मैले । नाकका बारेमा लेखेर नाक त राख्नै पर्‍यो नि ! कि कसो – लेख्ने प्रयत्न गरेको छु मन परे स्वीकार्नुस्, अस्विकारै गरे पनि मैले गर्नु केही छैन । जे गर्नु छ आआफ्नो नाक जोगाएर गर्नुस् ।

नाक थरिथरिका हुन्छन् रे ! हाम्रा बाले मलाई तल्लो गाउँको कालेले नाकै पच्किने गरी दनक दिँदा झनक्क रिसाउँदै यो कुरा बिसाएका थिए । कसैका छोटा हुन्छन्, कसैको मोटा, कसैका चुच्चा त कसैका बुच्चा हुन्छन् रे । कसैका थेप्चा त कसैका नेप्चा हुन्छन् रे । हुन त अहिले जाति पातिको कुरा गर्‍योे भने समातेरै भएपनि नाक पच्काउन बेर छैन तर मेरो नाकलाई कसैले धाक, रवाफ र जवाफ नदिने हो भने बाले भनेका कुरा भन्छु । चुच्चे न चुच्चे चरिचुचचे नाक बाहुनको हुन्छ रे ! पोहोरै हो बोर मान्दै जाडो महिनामा नाकबाट नाकपुरे शीत तपतप चुहाउँदै रत्नपार्कको भीडमा धाक लगाएरै भएपनि नाक जोगाउँदै हिँड्दा भेटेको दुबीको रोगीजस्तो सेतो अमेरिकन् रे , त्यसको नाक पनि चुच्चो र लामो थियो । फेरि त्यसै बेला असनको फेशन हेर्न जाँदा भेटेको दाइको सालो भन्दा पनि धममरधुस कालो कुन्नी कहाँको हो त्यसको नाक भने मोटो र छोटो थियो ।

वास्तवमा नाक मानवमात्रको सौर्न्दर्य नभएर पशुपंछिको पनि हो । नाकले सिङ्गो शरीरको सौर्न्दर्य दिन्छ । त्यति नै नाक संवेदनशील पनि छ । नाक नभएका प्राणीको अनुहारै नराम्रो हुन्छ । यो दुनियाँमा नाक नभएका प्राणी सायद नहोलान् । नाक नभएकालाई नकटो भन्छन् । त्यसो त इज्जत नभएकालाई पनि नकटोकै उपमा दिन्छन् । बिरालोले नाकैको सहयोगमा कुँडे पत्ता लगाउँछ । लामो नाक भएकालाई त सुँडे भन्छन् । नाक सुन्दर, शक्तिशाली र संवेदनशील अङ्ग हो । नाकको शक्ति नभए दुनियाँमा मान्छेले कुकुरलाई पाल्थे त – रद्दि टोकबरीमा फाल्थे, खाल्टामा हाल्थे । कुकुरको नाकको घ्राण शक्तिले कतिको प्राण बचेको पनि छ । कति फन्दामा परेका छन् त कति २ नम्बरी धन्दा गर्ने समातिएका छन् । मिठो सुगन्ध र नमिठो दुर्गन्ध नाकले नै पत्ता लगाउँछ ।

नाकका बारेमा लेख्दा गाउँघरमा प्रचलित र नाकसँग सम्बन्धित गाउँ खाने कथा नलेखे सुखै छैन । ‘दुइ गोठको भकारो एक हातले सोहोर्ने’, दुइमाने ठेकीको दगदगाहा दही’, ‘फालेफाल नत्र झुण्डिएर मर्छर्ुु ‘साहुले थन्क्याउने गरीबले फाल्ने’, ‘आयोआयो भ्यात्त पछारियो’ जस्ता गाउँ खाने कथाहरुको सिङ्गो उत्तर नाक र नाकबाट बग्ने नाकपुरे शीत हो । के यि कथाहरुले नाकको बखान गरेका छैनन् त – यस्तै नाकको बखान त गीतहरुले पनि गरेका छन् । ‘झम्के फूली नाकैमा बुलाकी यसपाला त घरबार होला की’, ‘थेप्चे नाकलाई बुलाकी त चुच्चे नाकलाई फूली, मान्छे हेर्दा सानीसानी कुरा गर्ने ठूली’ जस्ता गीतले नाकमा लगाउने बुलाकी र फूलीले नाकको सौर्न्दर्यता बढाउने कूराको सुनिश्चितता गरेका छन् ।

नाकको कुरा गर्दा इज्जत सँगै जोडिएको छ । इज्जतमा दाग लागेमा नाक काटियो भन्ने चलन छ । यसैबाट पूष्टि हुन्छ नाकको सर्बोच्चता । इज्जजतको फिउज गएमा नाक काटियो भनेको त सुन्नुभएकै छ तर नाक भन्दा माथिका अङ्ग आँखा, टाउको काटियो भनेको पक्कै सुन्नुभएको छैन । नयाँ किर्तिमान कायम गर्दै इज्जत राखेमा नाक राखेको भनिन्छ । ओहो ! कस्तो मजा, आनन्द सुन्दै कान पवित्र हुने शब्द ‘नाक रहृयो’ । अरु जेजे भएपनि तपाई हामी छाक र्टार्न नसकेर भोकै रहे पनि अरुको पाप हार्न नसकेर शोकै गर्नु परेपनि नाक जोगाउँ । धमिलो दाग बस्न नदिउँ । सन्तान दरसन्तानमा धमिलो बादलको दाग बसेर बेइज्जतको राग घसेर इज्जत कमाउने माग गर्नु नपरोस् । नाकको विशेष महत्व यहि हो । जय नाक ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.