~सुरञ्जन घिमिरे~
देशको सीमा सुरक्षार्थ
सुगठित शरीरलाई खाकी कपडाले छोपेर
काँधमा बन्दुक भिरिरहेकी
तिमीलाई बन्दुक पट्काउन डर लाग्दैन ?
गाजल पोतिएका आँखा
कञ्चन हिमालझैं टल्किने दाँत
मन्द गुलाबी रङ्ग पोतिएको ओठ
तिमीमा पक्कै एउटा कोमल मन त छ नै
तर, तिमी हातमा बन्दुक बोकेर उभिईरहेकी छ्यौं ।
मोहित हाँसोमा अमृत मिसिएको सुभाष
त्यही त हो, तिमी युवती हुनुको प्रमाण
तर, कति ससंकित छ्यौं तिमी
ओ नायिका !
विश्वास गर, म तस्कर हुइनँ ।
तिमीसँगै ससंकित छ, तिम्रो नजर पनि
जुन ठ्याक्कै मिल्छ मेरो नजरसँग
म पनि त डराई–डराई तिमीलाई हेरिरहेको छु ।
तिम्रो नियम–परिवेष्ठित जवानी
र, कानुनको घेरामा परेको तिम्रो सीमान्तकृत श्रृंगार
ओ नायिका ! विश्वास गर, म तस्कर हुइनँ ।
(स्रोत : इलाम पोस्ट अन्लाइन)