कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~Manu Brajaki

“तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !”

“यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई समथरमा बसेर कुटोकोदालो गर्दै सनातनको बिडो थामेका।”

“तर तपाईँ पनि आजभोलि म जस्तै आधुनिक हुनुभएको छ। आधुनिकता मैले ल्याइनँ, त्यस्तै तपाईँले पनि ल्याउनु भएन। यो त रेल मोटर चढेर टुप्लुक्क आइपुग्यो। आजसम्म पनि हवाइजहाज चढेर आउँदैछ। तपाईँजस्तै म पनि सनातनको भूमिमा सनातन नै रोप्दै थिएँ। एक्कासी ऐँजेरु पलायो।”

“जब आधुनिकता आयो, मैले पनि तपाईँ जस्तै धेरै कुराहरु सोचेको थिएँ। मजस्तै तपाईँ पनि यसलाई ‘चिन्तना’ भन्नुहुन्थ्यो। चिन्तन गर्दा बुद्धि फुर्दा आदर्श देखापर्छ। मलाई जस्तै तपाईँलाई पनि आदर्शवादी, सिद्धान्तवादी, विचारवादी कुन्नि के के वादी प्रतिवादी बन्ने सनक चढेको थियो। अलिकदिन सन्किएपछि बुद्धि ठेगानमा आयो। पुर्‍याइएको ठेगानामा बुद्धि पुग्नु पनि चानचुन कुरा होइन। अँ, ठेगाना भने गलत र सही दुवै हुन्छन् रे! ”

“आदर्शवादी हुनुभन्दा आदर्श पाल्नु धेरै वेस सम्झी एउटा उच्चादर्श पालियो सिक्रीमा कुकुर अथवा पिँजडामा सुगा पाले झैँ। ‘सीता-राम सीता-राम कहो’ भन्नासाथ पाहुनाहरुको अगाडि धर्मात्मा भइने र भुक् भन्नासाथ भुकेर सबैका सामु प्रतिष्ठित भइने काम भयो। आदर्श पालेपछि यो दुनियाँमा मुण्टो पनि ठड्याउन सकिने, टोपी पनि ढल्काउन पाइने र जुँघा पनि बटार्न भ्याइने। यहाँभन्दा बढी बिचरा आदर्शले गर्नै के सकोस् र ? ”

“आदर्शवादी हुनासाथ व्यवहारवादी पनि लगत्तै हुनुपरिहाल्छ अन्यथा बेवकूफ भइने डर हुन्छ। हुनत यै डरले गर्दा नै हामी सगरमाथा बहादुर नेपालीले व्यावहारिक हुनुपरेको होइन, समस्याहरु अरु पनि छन्। यथा, बिहे गरेको हुनाले घर पनि छ, घरैघरको समाज पनि छ, समाजै समाजको देश पनि छ; स्वास्नी भित्र्याएको घर हुनाले आडैमा वेश्यालय पनि छ, नियमै नियमको समाज हुनाले बेनियममा चल्ने असामाजिक तत्त्वहरु पनि छन्, नेतैनेताले नेतृत्व गरिएको देश हुनाले देशद्रोहीहरु पनि छन्, भोटेताल्चै ताल्चा मारेको सम्पति हुनाले तस्करहरु पनि छन्, यस्तै इत्यादि इत्यादिले गर्दा व्यावहारिकवादी बन्नुपरेको हो।”

“अनि व्यवहारवादी भएपछि कुनाकाप्चा, खासखुस, छलकपट, धरपकड, चुक्लीचाकडी, हास्य रोदन सबै सँगे हुने नै भए। एSS, तपाईँ रिसाएको जस्तो देखिनुहुन्छ नि, किन ? तपाईँको र मेरो एउटै नाम त हो नि।”

“म सगरमाथा बहादुर होइन, सगरमाथा प्रसाद हुँ।”

“तर सगरमाथा त हामी दुवै हौँ। थर नेपाली पनि एउटै हो। वतन पनि एउटै हो, तन भने बेग्लाबेग्लै छ। यस्तो चलन हामीसित असंख्य छ। तथ्याङ्क विभागलाई सोध्नुस् न ! ”

“तथ्याङ्क विभागलाई के सोध्नु ? त्यहाँ छैन यो तथ्याङ्क………होइन ल, म अन्नपूर्ण बहादुर नेपाली हुँ ! ”

“ए SS ! ”

“ल्होत्सेबहादर हुँ”

“अहो ! ”

“धवलागिरी प्रसाद हुँ ! ”

“अच्छा ! ”

“माछापुच्छ्रे बहादुर हुँ ! ”

“एउटै कुरा हो ! ”

“मकालु प्रसाद हुँ ! ”

“ठ्याम्मै फरक परेन । हामी एउटै शृङ्खलाका हौँ।”

“जसरी म उही बहादुर हुँ त्यसैगरी तपाईँ पनि उही प्रसाद हुनुहुन्छ- उही, जसकी श्रीमति छिमेकमा गएर फर्केपछि मलाई पनि त्यस्तै घर चाहियो भनेर कुर्लिँदा व्यवहारवादी बन्न पुगेको।”

“त्यस दिनपछि श्रीमति कोपभवनमा पुगिन् र मजस्तै तपाईँ पनि बरण्डामा बसेर छिमेककी आईए फेल केटीलाई बीए पास गराउन फ्रि टिउसन पढाउन थाल्नुभयो। आदर्श यसरी नै कायम गरियो अर्थात् सीता राम कहो भनेर उच्चस्वरमा कराइयो। ”

“मलाई जस्तै तपाईँलाई पनि फसाद पर्‍यो, कोपभवनको फसाद।”

“तपाईँकी श्रीमति पनि मेरै श्रीमति……….माफ गर्नुहोला, जस्तै……………. ”

“खबरदार ! मेरी श्रीमति तपाईँकी कसरी हुनसक्छे ? ”

“हो-हो, श्रीमति तपाईँकी नै हो। हेर्नुस् त, श्रीमतिहरुले कसरी फाटो पार्छन्। यहाँनेर हामी अलि बेग्लाबेग्लै छौँ। प्रेमिकाहरुमा यो समस्या छैन। एउटी प्रेमिकाका असंख्य प्रेमीहरु हुनसक्छन्। तर एउटी श्रीमतिको भने एउटै श्रीमान् हुनुपर्ने आदर्शको सुगा त हामीले अझै पनि पालिराखेका छौँ। अनि उता श्रीमानहरुले पनि श्रीमतिहरुमा फाटो हाल्छन् र श्रीमति बिचरीहरु बेग्लाबेग्लै हुन पुगेका छन्। जमानामा यस्तै छ, दुवै पक्षबाट सोच्नुपर्ने। अब यता, प्रेमिकाहरुलाई कोपभवन चाहिँदैन। एउटीले कोप्न थाली भने अर्की छँदैछ नि।”

“हेर्नुस् न, कोपभवन उहिलेका ठूलावडा अर्थात् राणाज्यु, काजीसाहेक, बाबुसाहेब र गुरुज्युहरुले बनाउँथे होलान्। आजभोलि त मैले जस्तै तपाईँले पनि कोपभवन त परै जाओस् कोपकक्ष पनि बनाउन सकेका छैनौँ। एउटै कक्षमा परिवार पाल्नुपर्ने भएपछि हातलाग्यो जम्माजम्मी चारवटा कुना। एउटा कुना किचेन, अर्को कुना स्टोर, अर्को कुना बेड, अर्को कुना ड्राइङ, अर्को कुना‌……………….ज्या बिर्सेछु, झम्मा चार कुना। अब कोप कुना कताबाट ल्याउने ? ”

“यस्तो भयावह अवस्थामा मेरी सगरमाथा बहादुर्नीले जस्तै तपाईँकी सगरमाथा प्रसादनीले पनि जम्माजम्मी एउटा कोठाको घरलाई कोप भवन बनाएपछि कि त छिमेककी कुनै युवतीलाई बरण्डामा बसेर बीए पास गराउने काममा लाग्नुपर्‍यो कि त कुनै प्रेमिकासित टाइमिङ मिलार पार्कको बेञ्चपछाडि, फूलैफूलको झ्याङ्पछाडि खण्डकाव्य लेख्‍न थाल्नुपर्‍यो। दुवै आदर्श कार्य हुन् र अस्थायी साधन।”

“यसबाहेक परित्राणको अन्य कुनै स्थायी साधन छैन ? ”

“छ, किन छैन ! यस संसारमा के छैन ? ”

“हेर्नुस्, समस्या नामले नै उत्पन्न गर्छ, कामले गर्दैन। कुनै सन्यासीले बिहे गर्‍यो भने तपाईँ त्यसलाई सराप्न थाल्नुहुनेछ। सन्यासीको सट्टा त्यसको नाम प्यासी सम्झिदिए हुँदैन र ? कामले समस्या उत्पन्न गर्‍यो त ? कामअनुसार उसको परिचय साक्षात् प्रकट भइहाल्यो नि। हामी सगरमाथाहरुको यही त लठेब्रो चाल छ, जसको नाम आकर्षक र अर्थपूर्ण देख्यो, हत्त न पत्त आफ्नो सम्पूर्ण हकअधिकारदेखि कुर्तासलवारसम्म सबै सुम्पिदिन्छौँ। अनि पछुतो मान्छौँ, यो हरामको नाम त कति राम्रो थियो- प्रगतिनाथ ‘उन्नति’ !”

“तसर्थ, छोडौँ यो नाम-साम। आफ्नो नाम पनि मेटाइहाल्नुस् र स्वास्नीको पनि। यही नै मुक्तिमार्ग हो। स्वास्नी पनि मुक्त, तपाईँ पनि मुक्त। न लोग्नेलाई शोकभवन चाहियो न स्वास्नीलाई कोपभवन। कुकुरका के रौँ के के ? सबै एकछत्तै । वेदान्तमा यसै भनिएको छ-

‘आफ्नो स्वलाई एकछत्त पार्नु अनि ब्रह्ममा बिलाउने छौ !”

“धर्मराजले एकताका गाएका थिए-’नाम नभए म्याद छँदै दावी गर हजुर ! अब हामी कर्मराजले गाउनु परेको छ-

‘नाम भए म्याद छँदैछ दावी छोड हजुर ! ”

“नाम छोड्नु नै परित्राण हो त ? ”

“अनि के त ? तिमी हामी जस्ता कुकुरले जति अँठ्याए पनि नाम अँठिदैन। नलीहाड फ्याँकेर बोलाउनेले काले भनोस्, खैरो भन्नुस्, भोटे भनोस्, ताजी भनोस् जेसुकै भनोस् नामको खजाना उसैसित छ। तिमीले के अझै पनि महाभारतका गुफाहरुमा ऋषिमुनिहरु जिउँदैछन् भन्ने ठानेका छौ ? ”

“उदाहरणस्वरुप ऊ ल हेर- अमेरिकाको दायाँपट्टी, रुसको बायाँपट्टी, चीनभन्दा अलि तल, भारतभन्दा अलि माथि, नेप्टे साहुको पसलअगाडि उभिएकी युवती देख्यौ ? चिन्छौ त्यसलाई ? के नाम हो ? उसको नामै छैन। जाउँ हिँड। ”

“म त जान्नँ, बा ! ”

“नडराऊ। मान्छे, मानिहाल्छे। आजसम्म मानेकी नै छे। आमा हो नि। सर्वस्व लुटाइदिन्छे। सट्टामा चाहन्छे एकमुठी भात। छ ? ”

“गुप्तरोग लाग्छ।”

“क्या लम्फू रहेछ, गुप्तरोग नै त लाग्छ। एड्स पनि लाग्न सक्छ। यी त स्वास्नीबाट पनि लाग्न सक्छन्। नाम त लाग्दैन। अनि कसको हिम्मत तिम्रो नाम सोध्ने ? स्वास्नीले पनि कोपभवन माग्ने छैन। आईए फेल केटीलाई बीए पास गराउन फ्री टिउसन पनि पढाउनु पर्दैन।”

“उसोभए लौ जाऊ त।”

“उसै जाऊँ! बिनामाध्यम, बिनादलालकै ? ”

“दलाल पनि चाहिन्छ र ? ”

“चाहिँदैन त ? मेरो नाम थाहा छ ? ”

“अहँ।”

“मै हुँ यो नाम नभएकीको नाम नभएको दलाल। जा, सर्वस्व लुटाइदिन्छे मेरी आमाले। फर्केपछि सर्वस्वको आधा मेरो कमिसन हो नि, नबिर्सनू”

ऊ जान्छ।

म पनि जान्छु र बागमतीको बगरमा पुगेर एउटा बालुवाको ढिस्कोमाथि बस्छु। अनि घ्वाँ-घ्वाँ रुन थाल्छु।

(रचनाकाल- ११ साउन २०४३ साल)

(स्रोत : साझा पुरस्कार प्राप्त  कथा संग्रह ‘तिम्री स्वास्नी र म’बाट साभार गरिएको )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.