~श्यामल~
किताब उलारको २० वर्ष
प्रेमललवा, ननकउ र दरौपदीहरूको नरकतुल्य जीवन र तिनमा जीवित मानवीय संवेदनशीलताका बारेमा नयनराज पाण्डेले उपन्यास लेखेका करिब दुई दशक पुग्नै लाग्दा प्रेमललवाहरू कथित मधेस आन्दोलनको चपेटामा परेका छन्।
शान्तिराजाहरू त छँदैछन्; यादव, ठाकुर र महतो राजाहरूले उसमाथि नयाँ खेलवाड सुरु गरेका छन् । प्रेमललवा नामक नेपाली टाँगावालका हातबाट लगाम खिचेर मवाद आइरहेकी वसन्तीमाथि मोदीको रावणजस्तो बिम्ब सवार भएको छ। र, अहिले टाँगामा रक्सौल, जोगबनी, बढनी, रुपइडिहा, पलियाजस्ता ठाउँका अगणित भाजपा कार्यकर्ताको बोझले टाँगा उलार भएको छ । वसन्तीहरू धमाधम मरिरहेका छन्। ‘पहाडिया अहंकारवादी’ शासकका हातबाट शासन फुत्काएर मधेसका केही जमिनदार, तस्कर र भारतवादीका हातमा निर्णायक शक्ति पुर्याउने चलखेल भइरहेको छ।
नेपालमा हुने यो वा त्यो राजनीतिमा राजिन्दरबाबु, शान्तिराजाहरू त छन् नै; कहिले बोर्नबिटा र हर्लिक्स (बहुराष्ट्रिय कम्पनी)को पोस्टर टाँस्ने त कहिले सफेद दाग र बबासिरको सर्तिया इलाज गर्ने मुन्ने खाँ (राजनीतिक दलहरू)का पोस्टर टाँस्ने कलुवाहरू पनि छन्।
अहिले तिनलाई स्वायत्त मधेस प्रदेशको पोस्टर टाँस्न लगाएका छन् जमिनदार वर्गले। अनि बीस वर्षअघि लेखिएको ‘उलार’ अहिले पनि उत्तिकै प्रासंगिक कथा बन्छ। प्रेमललवा र कलुवाको जिन्दगी झन्झन् परा श्रयी र टिठलाग्दो बन्दै जान्छ।
म पनि एकखाले नेपालगन्जिया हुँ, जसले बाल्यकालका केही वर्ष सात दिन लगाएर नेपालगन्जबाट दैलेखको सुदूर गाउँमा बाबुले डोकामा ल्याएका बतासा खाएको थियो। त्यसपछि एसएलसी पास हुनेबित्तिकै त्यहाँको कलेजमा पढ्ने महान् इच्छा रचना गरेको थियो। तर, सुदूरता र आर्थिक हैसियतको फन्दामा परी मास्टरी गरेर आफ्नो त्यस महान् इच्छाको लासमाथि रक्सीका बोतलसागै पल्टेको थियो। तथापि मैले त्यस ठाउँमा फेरि टेकेको थिएँ।
प्रेमललवालाई नब्बे हजारको कागजमा सही गराएर तीस हजार दिने काम अझै चालू छ नयन। मुलुक लोकतान्त्रिक गणतन्त्र भइसक्ता पनि यस्तो अन्यायपूर्ण संरचना भत्केको छैन। केही लेखक अझै मन्त्री क्वाटरमा भेटिन्छन्। तिनले प्रेमललवाकै पैसाले रक्सी खाएर बेपत्ता हुन छाडेका छैनन्।
कलेज भर्ना भएर उपन्यासकार नयनका झैं नेपालगन्जका चोक, गल्ली, देहात चाहारेको थिएँ र राजनीतिक बिपत्तिका घडीमा कर्मोनाका खपरैल घरहरूमा भूमिगत भएको थिएँ । मलाई त्यहाँको देहाती भेष र भाषाको सुगन्ध मन पर्छ। त्यस सुगन्धले मलाई अझै लठ्याइरहन्छ जब म करिब चालीस वर्षअघिको नेपालगन्जमा प्रवेश गर्छु।
म अझै धम्बोझी र कोरियनपुर्वाका हिले माछा, ठठेरन टोलकी फातिमा, बाँके गाउँकी हेमा र गडरनपुरवाकी नम्रताको अनुहार सम्झन्छु । म तिनका मोटाएका पिँडुलासँगै पातलिँदै गएका इच्छाको इमानदार साक्षी हुँ। कुरा यत्तिमात्र हो।
…
आफ्नो मूल थलो काठमाडौं फर्केका नेपालगन्जिया लेखक नयनराज पाण्डे २०५३ को कुनै महिना न्युरोड पीपलबोटमा मलाई खोज्दै आएका थिए। उनको हातमा ‘तन्नेरी’ नामक पत्रिका थियो जसमा ‘उलार’ नामक उपन्यास छापिएको थियो। (हुन त त्यसअघि नै ‘नांगो मान्छेको डायरी’ र ‘विक्रमादित्य एउटा कथा सुन’ नामक दुइटा उपन्यास उनले निकालिसकेका थिए।
मलाई यिनमा एक प्रकारको भरोसा, आत्मीयता र मित्रताको आभास भएको थियो । तर, यसै प्रकारको मनुष्यले ‘उलार’ जस्तो लघुउपन्यास र ‘निदाएँ जगदम्बा’ जस्तो कथा लेख्ला र म उसबाट यतिविघ्न प्रभावित हुँला भन्ने मलाई रत्तिभर लागेको थिएन।) उनले भने, ‘दाइ मैले एउटा उपन्यास लेखेर यस पत्रिकामा छपाएको थिएँ, अब पुस्तकाकारमा ल्याउँदैछु। दाइले भूमिका लेखिदिन पर्यो।’
मन भित्रभित्र मलाई भूमिका लेखाइमाग्ने पनि आएछन् भन्ने अहंकारी सोच आए पनि उपन्यासजस्तो विधाका बारेमा मैले कसरी आधिकारिक वक्तव्य दिन सकूँला भन्ने प्रश्न मेराअगाडि दुर्लंघ्य पर्वत भएर उभियो। तर यो नयन, नयन थियो। मैले मिलाएर भनेँ, ‘अलि सिनियर समालोचकलाई भनेको भए हुन्थ्यो, नयन तिमीलाई फाइदा हुन्थ्यो। म उपन्यास पढ्न त रुचाउँछु तर तिम्रो उपन्यासबारे न्याय गर्न सक्तिनँ हुँला।’ ‘दाइ एकचोटि पढ्नुस् न।’
‘पढ्न त म पढिहाल्छु तर भूमिका भने नामीदामी समालोचकलाई लेखाऊ’, पन्छिने बहानालाई बलियो बनाउँदै मैले भनेँ, ‘हेर नयन, भूमिकाले पुस्तक लेखकको व्यक्तित्व उजिल्याउँछ भन्छन्। मैले भूमिका लेखेर तिम्रो पुस्तक कसले पढ्ला ? कृष्णचन्द्रसिंह प्रधान, ताना शर्मा, मोहनराज शर्मा, दयाराम सम्भवजस्ता उद्भट विद्वान् समालोचक हुँदाहुँदै श्यामलले के लेख्नु? ‘
अघि नै भनेँ, नयन नयन हो। अर्थात् उनमा एकप्रकारको लेखकीय जिद्दी छ । उनले बिल्कुल मानेनन् । भने, ‘दाइ यी कसैले पनि मेरो उपन्यास बुझ्दैनन्।’
मैले उनको अनुहारतिर हेरिरहेँ। के भनेको यो?
उनले भने, ‘बुझ्दैनन् दाइ।’
यो कस्तो खाले बुझाइ हो?
उनले भने, ‘भूमिका दाइकै हुनुपर्छ। दाइ पहिले पढिदिनोस्। पढेर लेख्न मन नलागे नलेख्नुहोला।’
‘यसो गर न, भाउपन्थी वा सनत रेग्मीसँग भन न। आखिर तिनीहरू पुराना र राम्रा गद्यकार हुन्, कथा र उपन्यासमा कलम चलाइसकेका।’ अर्को भगुवा प्रयत्न गरेँ मैले।’उनीहरू पनि बुझ्दैनन्। दाइ पहिले पढिदिनोस्’, उनको जिद्दी यथावत् थियो।
नयाँसडक पीपलबोटको उत्तरपश्चिमी कुनामा भएको यस्तो वार्तालापसँगै मैले उनको हातबाट पाण्डुलिपिको पोको लिएँ। मन एकदमै धर्मराएको थियो। वाहियात काम जिम्मा लिएको थिएँ।
अर्कोतिर, उनमा ममाथिको विश्वासलाई कसरी कायम राख्ने भन्ने नयाँ समस्या मेरा अघिल्तिर दैत्याकार भएर उभिएको थियो । जे होस्, धर्मरिएरै म आफ्नो बाफलस्थित निवासमा पुगेको थिएँ । पुग्नासाथै पोको खोलेर टेबुलमा थन्क्याएर खाना खाइवरि सीधै पाण्डुलिपिमा प्रवेश गरेको थिएँ।
प्रवेश गरेपछि लगातार डेढ घन्टामा त्यो सानो उपन्यास पढिसिध्याएर थक्थकाउँदै आफैंलाई प्रश्न गरेको थिएँ, ‘ए नयन, यो त मैले लेख्नुपर्ने थियो, किन लेख्न सकिनँ ? ‘
यो लघुउपन्यास एकदमै छरितो भाषामा थियो। नेपालगन्जका श्रमजीवी र देहव्यापारमा लिप्त सीमान्तीकृत समुदायका जीवनचर्यामाथि यति आधिकारिक प्रस्तुति यसअघि मैले पढेको कुनै पनि पुस्तकमा आएको थिएन।
भर्खरैको प्रजातान्त्रिक परिवर्तनले तिनका भाग्य र भविष्यमाथि गरेको नकारात्मक हस्तक्षेपको यति जीवन्त चित्र अन्यत्र नदारद थियो। तर मेरा लागि भने ‘उलार’को कथ्य, भाषा, चरित्रहरूबीचको द्वन्द्वात्मक सम्बन्ध र संवादमा नेपालगन्ज त थियो नै, सिंगो नेपालको प्रतिविम्ब आएझैं लागेको थियो।
मैले भूमिका लेख्ने निधो गरेँ। मेरा औंलाहरू सल्बलाए । र, राति उठेर मैले कलम समाएँ । २ बजेतिर भूमिका सकिएको थियो । त्यसको आकार, मैले सम्झेसम्म, लामो थियो, छपाइमा सायद १० पृष्ठभन्दा बढी।
दुईतीन दिनमा मैले भूमिका नयनको हातमा थमाइदिएँ। उनी पनि गइहाले । लामो समयसम्म के भयो, कसो भयो भनी सोध्ने कुनै प्रयास गरिनँ। बीचमा दुई वर्ष बितेछन् । किन र कसरी यी दुई वर्ष बिते, त्यसको लेखाजोखा कसैले गरेको थिएन। र, म स्वयं त्यसै ड्याङको एक मूला थिएँ।
एकपल्ट उनले मलाई कतैबाट फोन गरे र निश्चित स्थानमा मित्र पुरुषोत्तम सुवेदीसँग नारिएर आए। उनले प्रेसलाई दिएको त्यो भूमिका प्रेसले नै कतै हराइदिएछ । एक त उपन्यास छाप्नु थियो, त्यसमा भूमिका र आवरण पनि चाहिएको थियो।
दुवैलाई थाहा थियो, म यदाकदा कला पनि गर्छु । अनि दुवैले मलाई धकेलेर रञ्जना सिनेमा जाने गल्लीको कोजी रेस्टुरेन्टको एकान्त स्थलमा पुर्याए।
नयनले भने, ‘दाइ भूमिका हरायो, फेरि लेख्नु पर्यो।’
‘के भो त ! फेरि लेखौंला।’
‘कभर पनि तपाईंले नै डिजाइन गर्नुपर्यो।’
‘टेकवीर मुखियालाई भनौं न, छिटै बनाइदेलान्। नभए, मदन चित्रकारलाई अप्रोच गरौं । यसबीचमा बरु बियर खाऔं।’
‘हैन दाइ तपाईंकै डिजाइन राख्ने।’
‘नयन, दुई वर्षअघि मनमतीको बाढीले मेरो निजी पुस्तकालयसहित धेरै कुरा बगायो। मसँग स्केच गर्ने कुनै सामग्री छैन।’ ‘अहिल्यै किनम् दाइ, कहाँ पाइन्छ?'(यो नयन महाजिद्दी छ । जिद्दीसम्राट् पुरुषोत्तमले उसलाई श्यामललाई एक ठाउँमा लगेर आफ्नै रोहबरमा डिजाइन गर्न भनेको छ ।)
अब नयनलाई लिएर म कागज कोठीतिर लागेँ। रोटेटिङ पेन, स्केच प्याड, पेन्सिल र ट्रान्स्परेन्ट पेपर किनेर कोजीभित्र छिरेँ । करिब दुई घन्टामा आवरण तयार भयो। प्याकेजिङ गरेर उनको हातमा राखिदिएँ। उनको चित्त बुझ्यो । अनि भोलिपल्ट भूमिका लेखेर ल्याइदिने वाचासहित म विदा भएँ।
भोलिपल्ट ससानो भूमिका पनि नयनसमक्ष हाजिर थियो।
…
‘उलार’ आयो। अब कतिऔं संस्करण आयो, मलाई थाहा छैन । हजारौं पाठकको प्रिय उपन्यासका रूपमा अहिले पनि यो चर्चाको शिखरमा छ । यसको एक भागको रूपमा म पनि छु । करिब दुई दशकदेखि मानिसले मलाई सन्काएका छन्: भूमिका धेरै राम्रो छ रे ! होला। तर म भन्छु: ‘…यो उपन्यासै राम्रो छ। यो राम्रो भएकाले मेरो भूमिका राम्रो छ । त्यो राम्रो भएकाले पहिलो संस्करणको मेरो कभर डिजाइन पनि राम्रो छ।’
यी सहायक कुरा हुन्। उपन्यास नितान्त फरक शैलीमा आएकाले हुनसक्छ, भूमिकाको शैली पनि फरक भएर आयो । सम्भवतः यही फरक पृष्ठभूमि, विषयवस्तु, भाषा, संवाद आदिको कारणले नयनलाई साहित्य शास्त्रका प्रकाण्ड पण्डितहरूले यसको सौन्दर्य बुझ्न नसक्ने लाग्यो होला।
पाठकभन्दा लेखक पुरानो भयो वा पछाडि परेको छ भने उसको लेखनले पाठकलाई आकर्षित गर्दैन । पाठकको सिर्जनात्मक चेत रूढीबद्ध भए, ऊ लेखनको सौन्दर्यसँग एकाकार हुन सक्तैन । सायद यसैले नेपालका नामी लेखक समीक्षकले ‘उलार’ बुझ्दैनन् भन्ने धारणा बनाएको हुनुपर्छ नयनले।
के तिमीले ४० सालमा रिक्सामा गगनगन्जतिर दरौपदी र सावित्री खोज्दै गएका लेखक कविको लस्कर देखेका थिएनौ? के तिमीले अञ्चलाधीश जगदीश झासँग कुम जोरेर सोफामा बसी श्यामलहरूलाई अर्ती दिन खोज्ने एकेडेमिसियनहरूलाई देखेका थिएनौ र?
‘उसले ननकउ, त्यसपछि रिक्सा एसोसिएसनका सारा मेम्बरहरूलाई गाली गर्यो । गैबाहा । पुरखन कटउ। …र अनि स्वाभाविक किसिमले ‘माँ बहिन’को गाली पनि गर्यो।’ यस्तै नेपालगन्जिया जनबोलीमा लेखिएको छ उलार।
५ बजेतिर प्रेमललवा निदायो।
दरौपदी अर्थात् द्रौपदी।
द्रौपदीले उसको कालो मैलो अनुहारमा प्याच्च थुकी। ‘राजिन्दरबाबुको खूब धाक लाउँथिस् नि’ भनेर गाली गरी। उसले म्वाइँ खान खोज्दा ‘दुलत्ती’ दिएर उसलाई भुइँमा लडाइदिई । र, उसकै छातीमाथि चढेर ‘साला रँडुवा ! एउटा मेहारु (स्वास्नी) ल्याउन नसक्नेले म द्रौपदीलाई भुत्राको हात हाल्छस्?’ भनेर झपारी।
दरौपदीको व्यवहारले ऊ असाध्य दुःखी भयो । चिन्तित पनि भयो । छट्पटियो पनि। र अनि रुन पनि थाल्यो। …दरौपदी उसकै अगाडि ननकउसित सुती । रातभरि दरौपदीलाई ननकउले मादल बनायो र मादलको अश्लील आवाज उसले रुँदै चित्त दुखाउँदै सुनिरह्यो।’
यस्तो छ उलारका पात्रहरूको परिवेश। यी अत्यन्त साधारण मानिसहरूमा जीवित पौरुष र नारीत्वका बीचको प्रेम र घृणाको बीचमा कति सानो दूरी !
‘….उसले कलुवालाई आमाचकारी गाली गर्दै भन्यो-साला दुस्मन। दरौपदीलाई भर्खर राजीमात्र गराएको थिएँ, उठाइदिहाल्यो। साला प्रेम चोपडा।’
यस्तै परिवेश र चरित्रका संवादहरू छन् यसमा। भवानी भिक्षुको महाकाय उपन्यास ‘आगत’का पात्रका झैं सुसंस्कृत भाषा कहाँ हुनु उलारमा !
प्रस्ट छ, यिनलाई ठगेको छ शान्तिराजा, राजिन्दरबाबु आदिको राजनीतिले। ती जीवनको रथ चलाउन घोडा चलाउँदा चलाउँदै स्वयं घोडा भएका छन्।
हाम्रो सामाजिक आर्थिक संरचनाले तिनलाई कतैबाट उम्कन नपाउने गरी थिचेको थिच्यै छ। र, यसैको संक्षिप्त इतिवृत्त बन्न पुगेको आख्यान हो ‘उलार’।
मूलतः यो उपन्यास पछिल्लो समयमा उपन्यासको भाषा र विषयवस्तु विन्यासका दृष्टिले नेपाली उपन्यास परम्परामा एक ‘ब्रेक थ्रु’ हो।
साहित्यशास्त्रका पण्डितले जे भनून्, म यस उपन्यासमा गर्व गर्छु । कसैले यसलाई सानो कथा हो भन्लान्। कसैले यसमा अश्लीलता भेट्टाउलान्। कसैले यसलाई उपन्यास नै होइन भन्लान्। त्यो तिनको स्वतन्त्रताभित्र पर्ला।
तर ‘उलार’ले तपाईंलाई सीमान्तीकृत जीवनका सुन्दर र कुरूप दुनियाँतिर ध्यान दिन विवश तुल्याउनेछ, राजनीतिक दाउपेचले निरन्तर थिचिँदो अति सामान्यजनका सामाजिक राजनीतिक र आर्थिक सरोकारबारे सोच्न लगाउनेछ र उपन्यास यसरी पनि लेखिन्छ भनेर आफ्ना समाजतिर फर्काउने प्रयत्न गर्नेछ।
भूमिकामा मैले अश्लीलता कुनै शब्दविशेषमा हुँदैन, अर्थविशेषमा हुन्छ भनेको रहेछु। त्यो अर्थविशेष भनेको व्यवहारविशेष हो। सायद यसमा धेरै सहमत छन् । हामीले पण्डितको आवरणमा मूर्ख र धर्माचार्यको आवरणमा बलात्कारीहरू देखेका छौं।
हामीले राजनीतिज्ञका आवरणमा तस्कर र सुरक्षाकर्मीको आवरणमा हत्यारा देखेका छौं। ननकउ, प्रेमललवा, दरौपदी र कलुवाजस्तो सोच्छन् उस्तै बोल्छन्, उस्तै बाँच्छन् । यस उपन्यासले तिनको जीवन र भाषालाई मूलप्रवाहमा तान्ने अहम् प्रयास गरेको छ।
प्रेमललवालाई नब्बे हजारको कागजमा सही गराएर तीस हजार दिने काम अझै चालू छ नयन। मुलुक लोकतान्त्रिक गणतन्त्र भइसक्ता पनि यस्तो अन्यायपूर्ण संरचना भत्केको छैन । केही लेखक अझै मन्त्री क्वाटरमा भेटिन्छन्।
तिनले प्रेमललवाकै पैसाले रक्सी खाएर बेपत्ता हुन छाडेका छैनन्। तिनको नक्कली संवेदनाले मुलुकका संस्थाहरू भरिएका छन्। के तिमीले ४० सालमा रिक्सामा गगनगन्जतिर दरौपदी र सावित्री खोज्दै गएका लेखक कविको लस्कर देखेका थिएनौ ?
के तिमीले अञ्चलाधीश जगदीश झास“ग कुम जोरेर सोफामा बसी श्यामलहरूलाई अर्ती दिन खोज्ने एकेडेमिसियनहरूलाई देखेका थिएनौ र ? तिनले रङ बदलेर, भाषा बदलेर र आस्था बदलेर अझै यस बखत हामीलाई नै भाषण ‘पिलाइरहेको’ देखेका छेनौ?
लोकतान्त्रिक गणतन्त्र आइसक्ता पनि तिनले प्रेमललवाहरूको संघर्षलाई अश्लील भन्न छाडेका छन् र? तिनै होइनन् जो पहेँलिएर झरेका थिए, हामीले हरियो मसीले पोतेर असनबाट ब्यानर हातमा थमाइदिएर जनआन्दोलनमा होमिदिएका थियौं ? अश्लीलता लोकतान्त्रिक गणतन्त्रको राजनीति र संस्कृतिमा यसरी सवार भएर आउँदा हामीले केही गर्नसक्ने ठाउँ छ त?
अहिले कुलुवा भिन्नै मधेसको पोस्टर टाँसिरहेको छ । दरौपदीमाथि प्रहरीको लाठी बज्रिएको छ। ननकउ जयस्पुरको पुरानो बाटो रिक्सामा जर्किन राखेर पेट्रोल ओसारिरहेको छ । यतिका वर्षपछि पनि दरौपदीसँग रातिराति ननकउ सुत्न आइरहेको छ । र, उसको आङबाट पेट्रोल गन्हाइरहेको छ।
अहिले, नेपालको संविधानमाथि प्रश्न उठाएर केही नेपालको मधेसी अनुहारका राजिन्दरबाबुहरूले ननकउ, प्रेमललवा र दरौपदीहरूलाई रुपइडिहा नाकामा नेपालसँग लड्न पठाएका छन् । कुलुवा भिन्नै मधेसको पोस्टर टाँसिरिहेको छ।
दरौपदीमाथि प्रहरीको लाठी बज्रिएको छ। ननकउ जयस्पुरको पुरानो बाटो रिक्सामा जर्किन राखेर पेट्रोल ओसारिरहेको छ । यतिका वर्षपछि पनि दरौपदीस“ग रातिराति ननकउ सुत्न आइरहेको छ । र, उसको आङबाट पेट्रोल गन्हाइरहेको छ।
सायद ऊ दरौपदीलाई चालीस पचास रुपियाँ दिइरहेको छ। यता सत्ता मजाले सुतेको छ। दरौपदीको चीरहरण भइरहेकोमा ऊ हाँसिरहेको छ । यस्तै छ नयन ! करिब बीस वर्षपछि उलार पढ्दा पनि स्थिति, परिवेश र पात्र उही छन्। कस्तो जानेर लेखेको यति फुच्चे उपन्यास ?
समाजभित्र नपसी ‘उलार’जस्ता कलाकृतिको रचना सम्भव हुँदैन। आफ्नो उर्वर सिर्जनात्मक जीवनलाई नयनराज पाण्डेले नेपालगन्जका सीमान्त वर्गका बीच रहेर, तिनका समस्या र संवेदनालाई आत्मसात् गरेर अनि कथित सामाजिक प्रतिष्ठाको जोखिम मोलेर उलारका लेखनका निमित्त उपयोग गरेका छन्।
त्यसैले उपन्यासका पात्रहरूका बीचमा हुने संवादमा भाषाको मौलिक स्वाद कायम छ। यस्तो स्वाभाविकता समाजसँगको गहन अन्तर्घुलनबाट मात्र प्राप्त हुन्छ।
‘उलार’ लघुउपन्यासले नेपाली साहित्यमा बिल्कुल नयाँ खालको स्वागत पायो।
राम्रो हुनु पहिलो सर्त हो, कति ठूलो हुने भन्ने कुराले के अर्थ राख्छ? ह्यारोल्ड रविन्सका पुस्तक जति छिटो बिके पनि तिनलाई ‘वार एन्ड पिस’ वा ‘अन्ना करेनिना’ वा ‘मदर’को छेउमा राख्न पनि मिल्दैन।
हाम्रै गोठालेको ‘पल्लो घरको झ्याल’, पारिजातको ‘शिरीषको फूल’ र धच गोतामेको ‘घामका पाइलाहरू’ उपन्यास आकारमा सानै छन्। मार्खेजको ‘नो वन् राइट्स टु द कोलोनेल’ वा ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’ आकारले फुच्चे नै छन्। आकारमा फुच्चे उलार पनि कुल मिलाएर ६० पृष्ठमा अटाएको आख्यान हो, एक बसाइमै सकिने, छरितो तर शक्तिशाली।
टाँगा अझै उलार भइरहेको छ। दुई दशकसम्म चर्चा पाइरहेकोमा तिमीलाई कस्तो लाग्छ कुन्नि ? मलाई तिमीस“गै नेपालगन्जका गल्लीगल्लीमा चाहार्न मन लागेको छ।
२०७२ पौष २५ शनिबार
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)