~भुवन त्रिपाठी~
सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !”
यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन।
“मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?”
“बुझ्नेहरूले त्यस्तै बुझे त के गर्छस?”
“प्रष्ट रूपमा भनेपछि त बुझ्नु पर्छ नि!”
“नबुझेकालाई पो बुझाउँदा बुझ्छन, बुझी-बुझी बुझ पचाँउनेलाई के गर्ने ?”
“टाउको नदुखाइकन अन्तै गएर काम गर्ने।”
“यो त सिधैँ हार भएन र ?”
“तेरो मात्र हार हो र यी गाउँलेको झन बढी हार हो नि।”
आफैँ प्रश्न गर्दै आफैँ उत्तर दिदै रहेछु, तन भने इतिहासको पुस्तक खोज्छु भन्दै विस्ताराबाट उठेर कोठाको अर्को कुनामा राखेको -याक भएको ठाउँसम्म पुगिसकेछ।
“श्राप त नेपाली सबैलाई परेको होइन र ! किन हामीलाई मात्र यस्तो नि ?”
हजुरबासँग दिउसो राखेको जिज्ञासाले पुन: एकफेरि पछ्याउछ।
“हाम्रो ठाउँमा त दुईवटा सतीका श्राप परेका छन नि!”
हजुरबा आफ्नो तर्क अगाडि सार्दै हुनुहुन्थ्यो। आजको जमानामा आएर कहाँको सतीको श्राप … पाप…धर्म… यस्ता कुरा वाहियात जस्तो लाग्छ, तर हजुरबासँग त्यस्तो कुरा भन्न पनि मिलेन। तर बिगतमा यस ठाउँमा भएका असफल कार्यहरू हेर्दा हजुरबाका कुरालाई सोच्न बाध्य हुँदै थिएँ। “नेपालको इतिहासमा त काजी भीममल्ललाई षड्यन्त्र गरी मारेको हुनाले उनकी सतीले मात्र होइन श्राप दिएकी ?” कहिलेकाहीँ इतिहास पढ्दा सुनेका कुरा आज हजुरबासँग तर्क गर्न काम लाग्यो। त्यसैले पो मानिसहरूभन्दा रहेछन् पुस्तक, पत्रपत्रिका पढेर आफूलाई अपडेट गरिराख्नु पर्छ। ती पढेका कुराहरू जीवनको कुनै मोडमा काम लाग्न सक्छन्।
“तैले सुनेको नेपालको केन्द्रीय इतिहासको सन्दर्भमा ठीकै हो तर यहाँ अर्थात हाम्रो ठाउँमा पनि एकजना सतीले त्यस्तै प्रकृतिको श्राप दिएकी छन्” हजुरबा पूर्ण आत्मविश्वासका साथ अन्य विभिन्न उदाहरण दिएर आफ्नो दलिल पेस गर्दै हुनुहुन्थ्यो। यदि साच्चिकै सतीको शक्ति नै हुने हो भने त यो त सधैँभरिलाई अनिष्ट नै सावित हुने भयो भन्ने तर्कनाले सताउँन थाल्यो। अब त्यसको समाधान के त ? सतीको श्राप फिर्ता गराउँन सकिने केही उपाय छ कि भनेर जिज्ञासा राखेको थिएँ। तर उहाँको उत्तरले अँझबढी निराशा बनाएको थियो। उहाँ भन्दै हुनुहुन्थ्यो “अहिलेसम्म कसैले पनि त्यसको उपाय बताउन सकेका छैनन्” एक मन त समाधान नभएको पनि वस्तविक समस्या हुन्छ र भनेर मनलाई ढुक्क हुन खोज्छु तर हजुरबाका दलिलहरूले गर्दा अब भने मलाई सतीको भूतले राम्रै गरी गाँजिसकेको थियो। हामी कार्य गर्न सक्ने भएपछि पनि करिव पाँचभन्दा बढी परियोजना लिएर यस ठाउँमा आएका थियौँ तर एउटा कार्य पनि यस क्षेत्रमा सफल हुन सकेको थिएन्। कुनै सुरु नहुँदै रोकिन्थे भने कुनै सुरु भएको केही दिनमा नै अवसानको बाटोतर्फ लागि सक्थे। आज झलझली याद आउन थाल्यो कयौँ पटक बुढा-बुढी र कक्षामा शिक्षकले पढाउँदा समेत दोहोर्याएको त्यो वाक्य …। यतिञ्जेलमा हातमा इतिहासको पुस्तक परिसकेको थियो। पुस्तकको पाना पल्टाउँदै गर्दा इतिहासको विम्बले पछ्याउँदै थियो।
*** *** **** *** ***
“महाराज ! ठूलाकोटबाट एकजना व्यक्ति हजुरसँग बिन्ती बिसाउनु छ भन्दै आएको छ” द्वारपाले राजासँग दरबारिया शैलीमा आएर बतायो।
“त्यो मानिस किन हाम्रो ठूलाकोटको काजीलाई बिन्ती नबिसाई यही आएछ, गएर सोध” भन्दै द्वारपालेलाई आदेश दिए।
द्वारपाले पनि पुरानो अनुभवी भएर होला “महाराज मैले सोधेको थिएँ, उसले हजुरसँग नै बिन्ती बिसाउनु पर्ने विशेष कुरा छ भन्दै थियो”
“त्यसो भए लिएर आइँजा”
राजाको आज्ञा प्राप्त हुने बित्तिकै द्वारपाले त्यो मानिसलाई दरबारको बैठक कोठामा ल्याएर बसायो। त्यो मानिस राजाको दरबारमा दुई-चारचोटि आएर बिन्ती बिसाइसकेको विश्वासपात्र थियो। ठूलाकोटको गाउँमा बस्ने उक्त व्यक्ति आफूलाई गाउँको केही जान्ने सुन्ने ठान्थ्यो। हुनत् गाउँ-घरमा पर्दाखेरि कहिले काहीँ तमसुक र लेखापढी गर्ने जगतमान संयोगवस एकदुईपटक छिमेका विरोधी राज्यहरूले आक्रमण गर्दा प्रतिकारको लडाइमा सहभागी भएको थियो। आफूलाई कुटनीतिक, बौद्धिक र वीरशाली ठान्ने जगतमानलाई सुरुसुरुमा त राजा अरिधुन र काजी झाङ्गलले सर्वसाधारण रैतीभन्दा फरक तरिकाले सोच्दैन्थे। विस्तार-विस्तार दुई-चारचोटि भेट भएपछि उसको चतुर्याइपूर्ण कुराबाट राजा र काजी प्रभावित भएका थिए।
राजा अरिधुन राजसी शैलीमा बैठक कोठाको द्वारबाट भित्र पस्ने बित्तिकै “महाराज स्वस्ति….स्वस्ति” भन्दै शिर झुकाएर औपचारिक रूपमा इमान्दार रैतीको कर्तव्यपरायण जस्तै देखायो।
“जगतमान के कुरा लिएर आयौ ? ठूलाकोटतिर केही नयाँ कुरा छ र ?” ठूलाकोटका काजी झाङ्गल त्यहाँका काजीको रूपमा तोकिएको भए पनि त्यस सेरोफेरोको खबर आदन-प्रदान गर्ने आनौपचारिक दूतको रूपमा जगतमानले कार्य गर्ने भएकाले राजा अरिधुनले यस्तो प्रश्न गरेका थिए।
“हजुर विरुद्धको खबर छ खोइ कसरी भनौँ”
“के हो त्यस्तो हामी विरुद्धको खबर कुरा नचपाइ भन्”
“काजी झाङ्गल हजुर विरुद्ध गोप्य षड्यन्त्र गर्दै छन्” भाव र बाहिरी अनुहारलाई नाटकीय रूपमा परिवर्तन गरेर व्यक्त गर्दै थियो।
“हँ के भन्दै छौँ तिमी यो कसरी थाहा पायौँ ?”
“हो सरकार मैले वास्तविकता भन्दै छु”
आफू सच्चा रहेको कुरा देखाउने प्रयासमा ऊ अगाडि थप्दै थियो “विगत केही महिना अगाडि लम्जुङका राजाको दूतसँग भेटेर कास्की राज्यको विरुद्धमा सम्झौता गरेका छन् सरकार”
“त्यो पाजी काजीले मेरो विरुद्धमा त्यतिसम्म गर्न सक्छ”
“त्यति मात्र कहाँ हो र सरकार अगिल्लो हप्ता गोरखाको राजाले पठाएको दूतसँग गोप्यरूपमा सम्झौता गरेका छन्”। आफूलाई पूर्ण जानकारी भएझैँ अभिनय गरेर “गोरखाका राजाले अन्य राज्य आफ्नो मातहतमा ल्याउन सहयोग गर्ने सर्तमा कास्कीको राजाको रूपमा झाङ्गलकाजीलाई बनाउँने समेत सर्त गरेका रहेछन्।”
“यस्तो षड्यन्त्र बनाउन लागेर पो! दुई चार महिनादेखि त्यो काजी यहाँ नआएको”
“होला….होला …. सरकार” आफ्नो कुरामा विश्वास गरेकोमा ऊ मख्ख थियो।
यी कुरा सुनेपछि अरिधुन रिसले चुर भएजस्तो देखिन्थे। उनी मनमनै सोच्दै थिए ‘किराँतहरूले ५२६ वर्ष एकात्मक राज्य सञ्चालन गरे किराँतहरूको राज्यपछि लिच्छविहरूले वि.सं. ९३६सम्मको केन्द्रिकृत शासनको समाप्तिपछि जुनजुन ठाउँमा जुनजुन जाति वा समुदाय शक्तिशाली थिए तिनीहरूकै छुट्टै राज्य स्थापना हुँदै गए। पूर्वतिरका किराँत लागायतका जाति-जनजातिहरूले २२ वटा राज्य विभाजन गरेर राजकाज गर्ने अवसर प्राप्त भयो। काठमाडौँ खाल्टोलाई तीनवटा राज्यमा विभाजन हुनाले मल्लहरूले राजकाज चलाउने अर्को अवसर प्राप्त भयो। हाम्रा पूर्खा खसहरूले यो पश्चिम क्षेत्रमा उताभन्दा झन बढी २४ राज्य स्थापना गरेर हाम्रा दर सन्तान एकचोटिमा २४ जना राजा भएर राजकाजको उपयोग गर्ने अवसर पाएका छौँ। यति ठूलो महान कार्यलाई आफैँले पालेका काजीहरूले चुनौती दिने।’
“एक छोडदिन दुई छोडदिन तीन छोडदिन” मनमा दृढ सङ्कल्प गर्यो।
“ए जगतमान तिमी अहिले जाउँ एक-दुई दिनमा झङ्गलेलाई कारबाही गर्न आउँछु। अबको काजी तिमी बान्न पर्ने पनि हुन सक्छ तयारी अवस्थामा रहनु।”
मनमनै गद्गद् भएको जगतमान “हबस सरकार” भन्दै राजालाई स्वस्ति गरेर दरबारबाट बाहिर निस्क्यो। ठूलाकोट, रुपाकोट, मर्ज्याङकोट लगायतका सात ठाउँमा आफैँले काजी नियुक्त गरी राजा भएका कास्कीका राजा अरिधुन एउटा कोटको काजीवाट समेत यति धेरै सशङ्कित हुन्छन भनेर उसले सोच्न पनिसकेको थिएन्। कुरै कुराको महल निर्माण गर्न सिपालु जगतमान यत्ति आश्वासनले ढुक्क भने हुन सकेको थिएन्। कास्की दरबारबाट फर्केको जगतमान भोलिपल्ट झङ्गल काजिरहने ठूलाकोट दरबारमा पुग्यो। काजीले उसलाई सम्मान पूर्वक आफ्नो बैठक कोठामा पुर्याए। कजी भए पनि उनीमा कुनै खालको घमण्ड थिएन। अनुशासित र आज्ञाकारी तबरले आफ्ना कर्महरू गर्दथ्ये र अरुबाट समेत त्यस्तै खालको अपेक्षा गर्दथे।
जगतमान राजालाई भेटेर फर्केपछि प्राय: काजीलाई पनि भेटन पुग्थ्यो। राजा अरिधुन काजीसँग ज्यादै रिसाएको कुरा उसलाई सुनायो।
“महाराज मसँग किन त्यसरी रिसाउनु भएको रहेछ र ?”
“खोइ को हो मान्छेले हजुर अन्य राज्यसँग सम्झौता गरेर राजा बन्न खोज्नुभएको छ भन्ने कुरा सुनाएछन्।”
“महाराजले यस्तो हुँदै नभएको कुरा पत्याउनु भएछ र ?”
“त्यही त म पनि दङ्ग परे, राजासँग हजुरलाई सुनाएका सबै कुरा झुटा हुन भनेर कति सम्झाउने प्रयास गरे”
“सम्झिनु भएन त ?”
“कहाँको सम्झिनु नि, तँ पनि त्यसैको मतियार होस भनेर दस कोर्रा हानेर घोक्रेठ्याक लगाए” पछाडिको पिठ्यु छाम्दै दुखेको अभिनय गर्दै थियो।
दुवै जनाको कुरा सुनेर बैठक कोठाको कुनामा बसिरहेकी कजिनी पनि सन्त्रस्त मुद्रामा “भोलि बिहानै राजा कहाँ गएर सबै वास्तविक कुरा बिन्ती बिसाउनु होस्।” भन्ने सल्लाह दिदै थिइन्। कजीले उत्तर दिनु पहिला नै जगतमान भन्दै थियो “राजा अति धेरै आक्रोशित भएका छन् जस्तो छ, सैनिकहरूलाई काजीलाई भेट्ने बित्तिकै टुक्रा-टुक्रा पारेर काट्नुहै भन्ने आदेश दिएको सुनेको थिएँ “
कजिनी निराश मनलाई सान्तोना दिने प्रयासमा “अन्तिम एकपटक त कसो बिन्ती विसाउन नदिनु होला र !” क्षितिजसँग जोडिएको धमिलो-धमिलो देखिएको कास्कीका राजाको दरबारतिर हेरिरहेका झाङ्गलकाजी, जगतमानले भनेका कुराले ठूलाकोटबाट भागेर अन्यत्र भाग्ने सोच बनाइसकेका थिए, तर कजिनीका कुराले अँझै केही समय काजी बन्न सकिने निष्कर्षमा पुगेको थियो। बैठक कोठाको झ्यालबाट प्राय: जसो बाहिर हेरिरहेको काजी एक्कासि आफू बसिरहेको ठाउँबाट उठ्दै धेरै परबाट आइरहेका ज्यादै ठूलो मानिसको भीडतर्फ सङ्केत गर्दै “ऊ पर हेर त कति ठूलो मानिसको भीड हाम्रो गाउँतिर आउँदै छ”
कजिनी र जगतमान पनि जुरुक्क उठेर त्यतै हेर्न थाले। त्यो पक्कै पनि राजा अरिधुनले लिएर आएका सेनाहरू नै हुनु पर्छ भन्ने निष्कर्षमा पुगे। जगतमान काजीलाई त्यहाँबाट भाग्न अभिप्रेरित गर्दै “काजी साहेब राजाको हठ वा निर्णय प्राय: परिवर्तन भएको उदाहरण अहिलेसम्म थाहा पाएको छैन, तपाई यहाँबाट भाग्दा नै राम्रो हुन्छ।”
काजी अँझै कुनै निर्णय लिन सकिरहेको थिएनन्। त्यो सेनाको लस्कर अगाडि बढ्दै थियो। कजिनी काजीलाई हौसला प्रदान गर्दै “सेनाहरूसँग राजा पनि आए जस्तो छ तल कालिका भन्ज्याङसम्म पुगेर राजाको स्वागत गर्दा राम्रो हुन्छ।” राजा-महाराजा, काजीहरूको त के कुरा मध्यकालीन त्यो समयमा सर्वसाधारण रैतीहरू त आइमाईले भनेको मान्दैन्थे तर झङ्गलकाजी भने अन्तिम निर्णय गर्नु पर्दा श्रीमतीलाई सोधेर मात्र गर्थे। श्रीमतीको त्यति सल्लाह पाएपछि आफ्ना सबै सैनिकहरूलाई लिएर राजाको स्वागतको निम्ति कालिका भन्ज्याङतर्फ झरे।
विभिन्न समयमा राजा र रजौटाहरूको लडाइ देखेका र लडाइमा भाग लिएका बुढाबुढीहरू पुन: आज पनि लडाइ हुने भयो भनेर आफ्ना छोराछोरी र नातिनातिनालाई घरबाट बाहिर ननिस्कन आदेश दिदैँ थिए। गाउँलेहरू कोही घरको झ्यालबाट कोही रूखको छेल परेर सन्त्रस्त आँखाहरू यताउता घुमाइरहेका थिए।
केहीबेरमा दुईतर्फका सेनाहरू बीचको भौतिक दूरी ज्यादै कम भइसकेको थियो। काजीतर्फका सेनाहरू राजाको स्वागतमा लामबद्ध थिए भने राजातर्फका सेनाको ठूलो जत्था काजीमाथि आक्रमण गरी अवसान गराउँने दृढ अठोटका साथ रणभूमितर्फ प्रवेश गर्दै थियो। राजाले भन्ज्याङमा नै काजी सहितको ठूलो सेनाको जत्था तैनाथ रहेको देख्ने बित्तिकै आक्रमण गर्ने आदेश दिए। सेनाहरू खुडा, खुकुरी र तरबार नचाउँदै काजीका सेनातर्फ जाइलागेँ। कजीले टाढैबाट राजालाई स्वस्ति गरेको देखे देखेनन् तर कुनै वास्ता गरेनन्। स्वागतको निम्ति आएकाहरू काजीका सेनाहरू एकाएक आक्रमणमा पर्दा रणभुल्लमा परेका थिए। धेरै अगिदेखि काजीले हात उठाएर आत्मसमर्पण गरिसकेका थिए, तर आक्रमणको रफ्तार रोकिएको थिएन्। अन्तत् काजीतर्फका सबै सेनाले एक साथ हात उठाएर आत्मसमर्पण गरेपछि भने राजा आक्रमण रोक्न विवश भएका थिए। काजीलाई भने चार-पाँचजना सेनाले समातेर राजाको सामुन्ने खडा गरिसकेका थिए। आक्रमण रोकिएपछि भने गाउँलेहरूको पनि ठूलो भीड लागिसकेको थियो।
यता राजाले भने तरबार काजीको टाउकोतर्फ सोझ्याइरहेका थिए। तर निरीह काजी भने आफूले कुनै षड्यन्त्र नगरेको, कसैले हजुरलाई झुटा कुरा लगाइरहेको छ भन्दै अरण्य रोदन पोखिरहेका थिए। राजा भन्दै थिए “गाउँलेहरूको हित गर्ला र दुश्मनहरूको आक्रमण रोक्ला भनेर काजी पदमा नियुक्ति गरे आखिर मलाई नै हटाउने षड्यन्त्र गर्छस्” वरिपरि रमिता हेर्न आएका गाउँलेहरूको ठूलो भीडतर्फ फर्कर्दै “कोही भन्न एव म जिम्मा लिन सक्छ यो काजीले मेरो विरुद्धमा षड्यन्त्र गरेको छैन भनेर ?” आफ्नो हातमा लिएको तरबार वरिपरि घुमाउँदै राजा आक्रोशपूर्ण शैलीमा गर्जदै थिए। राजाको डरले हो या जगतमानले फैलाएको अफवाहले गर्दा हो कोही गाउँले पनि एक शब्द बोल्न सकेनन्।
यो मौनको फाइदा लिएर राजा अरिधुनले हातमा समाएको तरबारले काजीको शरीरलाई दुई टुक्रा परिदिए। सबै गाउँलेहरूले एक साथ आँखा चिम्ले अँझै कोही बोल्न सकेनन्। राजा अरिधुन विजयको माला लगाएर काजीका थप सेना लिएर कोटतर्फ उकालो लागेँ।
काजीको हत्याको खबरले मर्माहित भएकी कजिनी आफ्नो श्रीमानको दुई टुक्रा भएको शरीर हेरर बसिरहेको मूक दर्शकहरूलाई देख्दा आफ्नो पति बियोगभन्दा अविवेकी र सत्यको पक्षमा बोल्न नसक्ने त्यो समाजप्रति घृणा गर्छिन्। उनको मुखबाट कम्पित स्वरमा “यहाँका मानिसहरूमा विवेक रहेनछ र अब पछि पनि कहिल्यै नहोस्” “सत्यको पक्षमा बोल्न नसक्ने यहाँका मानिसका दर सन्तानहरूले यहाँ बसेर कुनै उन्नति र प्रगति गर्न नसकुन” भन्ने दुई वाक्य बोलेकी कजिनी वरपरको भीडलाई आक्रोशपूर्ण नजरले हेर्दै श्रीमानको लास तीन फन्को घुमेर आफ्नो प्राण आहुती दिइन्।
*** *** **** *** ***
अब म इतिहासको पुस्तक पल्टाउने साहस नै गर्न नसक्ने भइसकेको थिएँ। पुस्तकलाई पहिला जहाँ थियो त्यही राखिसकेको थिएँ। धैरै वर्ष अगाडि त्यही ठाउँको स्कुलको नौ कक्षामा पढ्दा इतिहास शिक्षकले “झाङ्गलकाजीलाई मारेको हुँदा बिस्तारै अपभ्रंश भएर यो ठाउँको नाम झाँझरमारे भएको हो” भन्ने वाक्यलाई आजबाट विश्राम दिन चाहन्थें। तर झाङ्गलकाजी र कजिनीको दयनीय अवस्था हेर्ने त्यो अमूक दर्शकहरू मध्ये एकजना म पनि थिएँ कि जस्तो लाग्छ किनकि आज बिहान मात्र जगतमानले एउटा तमसुक पत्रमा मेरो औँठा छाप लगाएको छ।
(स्रोत : ‘स्मृतिका पाना पल्टाउँदा’ कथा सङ्ग्रहबाट सभार)