बाल कथा : उपमाको भविष्य

~बिन्दु ढकाल~

उपमाको घर सप्तरी राजवीराज हो । उनी कक्षा पाँचमा पढ्छिन् । ज्ञानी, इमानदार र पढाइमा निकै तेज छिन् । मिठो स्वरमा गीत पनि गाउँछिन् । बालगीत प्रतियोगिताहरूमा धेरैपल्ट उत्कृष्ट भएकी छन् । उनको मामाघर काठमाडौं हो । मामा घरमा बूढा हजुरबा र हजुरआमा मात्र बस्नुहुन्छ । उपमाका मामा डाक्टरी पढ्न काठमाडौं बाहिर बस्नुहुन्छ । मामा घरबाट उति टाढा छैन उपमाको स्कुल । उनी त्यही स्कुलको होस्टलमा बस्छिन् ।

लामो बिदाबाहेकका सानातिना बिदामा मामा घरका हजुरबा र हजुरआमासँग बसेर रमाउँछिन् ।

ज्ञानगुनका कुरा ध्यान दिएर सुन्छिन् । उनका दुई बहिनी र दुई भाइ छन् । बर्सेनिजस्तो जन्मिएका सबै हेर्दा उस्तै र उत्रै लाग्छन् । उनीहरू राजवीराज घरमा आमासँग बस्छन् । उपमाका बा एक निजी कम्पनीमा गाडी चलाउनुहुन्छ । उहाँ अफिसियल कामले गर्दा धेरैजसो काठमाडौं बाहिरै बस्नुहुन्छ । नयाँ कक्षा सुरु हुने बेला उपमा राजविराजबाट काठमाडौं आइन् । नयाँ स्कुल ब्याग, नयाँ स्कुल जुत्ता, नयाँ पेन्सिल बक्स र केही चकलेट पनि लिएर आइन् ।

यसपालिको फाइनल परीक्षामा राम्रो नम्बर ल्याएकी रहिछन् । कक्षामा प्रथम हुन्छिन् । यसपालि स्कुलभरिमै प्रथम भइछन् । उनी निकै नै खुसी भइन् । यसबारे आमालाई जानकारी गराइन् । आमा खुसी हुनुभयो । बाले पनि काठमाडौं आएर उपहार किनिदिने भन्नुभयो ।

वैशाख ९ देखि स्कुल खुलेको भए पनि सबै विद्यार्थीहरू आइनपुगेका कारण राम्रो सँगले पढाइ हुन थालिसकेको थिएन ।

आफ्नो पढाइप्रति जहिले पनि चिन्तित हुन्छिन् उनी । खुबै मिहिनेत गर्छिन् । अझै मिहिनेत गर्न भनेर दैनिकी तयार पार्दै थिइन् । त्यही बेला भुइँचालो गयो । सबै कोलाहाल गर्न थाले । कोही जमिनमै ढले । कोही भगवान्को नाम उच्चारण गर्दै हे प्रभु १ हामीलाई बचाऊ भन्न थालेछन् । ठूलो भूकम्पमा मजाले चर्किएको उपमाको डाइनिङ हल क्षणक्षणमा आएको पराकम्पनबाट जोगिन सकेन । गल्र्याम्मै ढल्यो । सबै त्रसित भए । अब खाना कहाँ बसेर खाने ? सबै अक्क न बक्क मुखामुख गरिरहे । महाभूकम्पले सबैका सपना चकनाचुर बनाइदियो । कोही घरभित्र बस्न सकेनन् । पाल टाँगेर खुल्ला आकाशमुनि सबैको बास भयो । उपमा होस्टल छाडेर मामाघर गइन् । अरू साथीहरू पनि सबै आआफ्नो बाटो लागे । धेरै स्कुलहरूमा भूकम्पले क्षति पुर्‍याएका कारण र परकम्प आउने प्रकिया नरोकिएका कारण भूकम्प प्रभावित जिल्लाका सबै स्कुलहरू बन्द भए । भटाभट मान्छेहरू काठमाडौं छाडेर अन्यत्र लागे ।

काठमाडौंको यो दुर्दशाबाट छुटकारा उपमालाई बाले राजविराज घरै लिएर जानुभो । उतै राजविराजकै बोर्डिङ स्कुलमा भर्ना गर्दिनुभो । घरका भाइबहिनी सबै खुसी भए दिदी उपमालाई पनि आफूहरूसँगै पाउँदा । उपमा निकै खुसी भएकी थिइन् । कहिलेकाहीं उपमा उत्तिकै उदास हुन्थिन् सबै साथीहरू नयाँ नौला र अपरिचित मात्र भेटिँदा । वैशाख दोस्रो साता रेकर्ड गर्ने भनिएको गीत रेकर्ड गर्न नपाएकोमा घरमा बसैकै ठाउँमा आँसु खसाल्थिन् उनी । देशमा संविधान बनिरहेको कुरा धेरथोर सुनिरहेकी थिइन् । साउन २८ गतेदेखि तराई अशान्त भयो । एक दुई दिन हैन, महिनौं बित्यो । छिमेकी भारतले अघोषित नाकाबन्दी गर्‍यो । देशमा लडाइँ झगडा सुरु भयो ।प्रहरीमाथि ढुंगामुढा हान्न थाले सबैले । प्रहरीले पनि अशान्त ठाउँलाई शान्त बनाउन आन्दोलनकारीहरूलाई लखेट्न आफूसित भएका हतियार चलाउन थाले । गाडी नचलेपछि स्कुल बन्द भए । उपमा देशका यी खबर सुन्दासुन्दा हैरान भैसकिन् । उनलाई धेरै पढ्ने मन छ । पढाइका साथै गाउने रहर छ । हिजोआज त उपमा घरमा भाइबहिनीहरू कि गार्जेन भएकी छन् । आमा खाना पकाउने ग्यासको लाइनमा बस्न जानुहुन्छ । साँझ घर आउँदा रित्तै फर्किनुहुन्छ ।

फेरि भोलि जानुछ भन्नुहुन्छ । कैलेकाहीं सोच्छिन्– काठमाडौं छाडेको पाप लाग्यो । बा बिनाकाम भौंतारिनुहुन्छ । उहाँको अफिस बन्द भो अरे कच्च मालको अभावका कारण । साहुले अन्तै काम खोज म धान्न नसक्ने भए भनेछन् । सोचौ देशमा यस्तै उत्पात भइराख्ने हो भने अब म उपमाको र म जस्ता कयौं नेपाली बालबच्चाहरूको भविष्य कस्तो होला ?

प्रकाशित: पुस १२, २०७२

(स्रोत : कान्तिपुर – कोपिला)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.