~सुकुम शर्मा~
१. उठान
सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ भने वस्तुगत तटस्थीकरणमा वस्तुनिष्ठता या वस्तुपरकता आउँछ । साहित्यिक अभिव्यक्ति यी दुवै पक्षसँग सम्बन्धित हुन्छ । साहित्यका विधामध्ये निबन्ध लेखनमा यी दुवै पक्षको प्रयोग र विशिष्ट परम्परा निर्माण भएको छ । यस लेखको सन्दर्भ क्षेत्र भने चयन गरिएका निबन्धका आधारमा आत्मपरकताको खोजी गर्नु हो ।
२. आत्मपरकता
आत्मपरक अभिव्यक्ति सिर्जनात्मक पक्षको एक आधार हो । आत्मपरक या आत्मपरकता व्यापक अर्थमा प्रयोग हुने पारिभाषिक शब्द पनि हो । यसको दार्शनिक र साहित्यिक तहमा भिन्नभिन्न अर्थ रूढ भएको पाइन्छ । दार्शनिक सन्दर्भमा पदार्थपरक (ObjectÈve) र विषयपरक (SubjectÈve) मध्ये विषयपरक धरातल नै आत्मपरक या आत्मपरकताको सन्दर्भ हो । चेतना र आदर्शवाद तथा आत्मवाद ९क्ष्मभबष्किm० को दार्शनिक पक्ष नै आत्मपरकतासँग जोडिएको छ ।
साहित्यिक सन्दर्भमा भने आत्मपरकता चेतनाप्रधान मान्यतामा मात्र सीमित राख्न सकिँदैन । यद्यपि शब्दगत आधार भने ‘आत्म’, स्व या निजत्व विषय,-‘परक’, विषयसँग सम्बन्धी र ‘ता’ – त्यसको गुणबोध हुनु पनि चेतना या निजी अनुभूतिसँग जोडिएको छ । आत्मपरकता मन साक्षी राखेर सामाजिक पर्यावरणमा खेल्ने तरिका हो । आत्मपरकतामा व्यक्तित्व प्रकटनको भूमिका नै मुख्य हुन्छ । निजत्व अर्थात् व्यक्तित्वसहित सामाजिक भूमिकाको संश्लेषण आत्मपरकतामा आउँछ ।
व्यक्तित्व निर्माणमा सामाजिक वातावरणको मूल प्रभाव रहन्छ । सामाजिक, सांस्कृतिक पर्यावरणभित्र व्यक्तित्वको निर्माण हुन्छ । व्यक्तिले संश्लेषण गरेको सामाजिक पक्ष नै व्यक्तित्वको आधार हो । व्यक्तित्वको अभिव्यञ्जनामा पनि सामाजिक पक्ष नै मुख्य हुन्छ । यसर्थ व्यक्तित्वको निर्माण र प्रकटन सामाजिक पक्षभन्दा भिन्न हुँदैन । सामाजिक सक्रियतामा व्यक्तित्वको प्रकटन व्यक्तिपरकता हो। यो व्यक्तिपरकता सामाजिक अंशकै आधार हो । सामाजिक अध्ययनबाट ‘आफू’ मा केन्द्रित अर्थको संश्लेषणमा व्यक्तित्वको प्रभाव नहट्नु नै आत्मपरकता हो । आत्मपरकतामा भौगोलिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय पक्ष आदिको आड लिएर व्यक्तित्वको चिनारी दिइन्छ । व्यक्तिले आफ्ना केन्द्रमा सश्लेषण गरेको भाव या विचार सामाजिक मूल्य खोजेर समाजमा सम्प्रेषण गर्छ । आफ्नो प्रभाव नहटाई संश्लेषित विचार सामाजिक प्रयोजनका लागि नै प्रस्तुत गर्नु व्यक्तिपरकता हो । व्यक्तिपरकता सामाजिक धरातलबाट टाढाको विषय होइन ।
लेखकमा सामाजिक क्रियाकलापको प्रभाव हुन्छ । त्यो प्रभाव आत्मीकरणसहित पाठकमा पुर्याउने पद्धति आत्मपरकता हो । सामाजिक क्रियाकलापमा छनोट र वातावरणीय प्रभावको महत्त्व हुन्छ । भू-सामाजिक पर्यावरणभित्र व्यक्तिको उपस्थिति र क्रियाशीलताको चिनारी यस किसिमको लेखनमा आउँछ । सामाजिक क्रियाकलापको तटस्थ या वस्तुगत प्रस्तुतिमा वस्तुपरकता र आफ्ना उपस्थितिका अर्थभित्र सामाजिकलगायतका पक्षको संश्लेषण आत्मपरक अभिव्यक्ति हो । सामाजिक पक्षको जगमा व्यक्तित्व निर्माण र व्यक्तित्वको प्रभावसहित सामाजिक पक्षकै चिन्तन यस अभिव्यक्तिमा आएको हुन्छ ।
आत्मपरकता वैचारिक तत्त्व, सामाजिक तत्त्व र प्राविधिक तत्त्वको एकमुष्ठ पक्ष हो । व्यक्तित्वको प्रकटन या व्यक्तित्वको अभिव्यञ्जना के-कसरी आएको छ भन्ने पक्ष यी तत्त्व वा पक्षबाट हेर्न सकिन्छ । यो वैचारिक पक्ष जीवनजगत्को अध्ययन वा दृष्टिकोणअनुसार लेखिन्छ । जीवनजगत्को व्याख्या वैचारिक तत्त्व, सामाजिक-सांस्कृतिक क्रियाकलाप सामाजिक तत्त्व र हास्य, व्यङ्ग्य, यात्रा, भाषा प्रयोग, संस्मरण आदि प्राविधिक तत्त्व हो । यी सबै पक्षको संश्लेषण व्यक्ति केन्द्रमा भई व्यक्तित्वको अभिव्यञ्जित प्रकाशन नै आत्मपरकता हो । यसमा मस्तिष्क या चिन्तनको आत्मीकरण हुन्छ । आत्मीकरणबाट नै सामाजिकलगायतका पक्षको प्रकटन हुन्छ । आत्मप्रकटनमा विषयगत र प्रस्तुतिगत संयोजन हुन्छ । यो अनुभूतिलाई आधार दिने तरिका हो । वस्तु अनुभूतिमा रङ्गन्िछ। वस्तु व्यक्तित्वले छोपिन्छ र सामाजिक पर्यावरण व्यक्तित्वको अंश बन्छ । व्यक्तित्वको अंशसहित प्रकाशनमा आएको त्यो पक्ष पुनः समाजको अंश हुन्छ । यही अभिव्यक्तिगत पक्ष या लेखनगत पद्धति नै आत्मपरकता हो ।
३. निबन्धमा आत्मपरकता
साहित्यका विविध विधामध्ये निबन्ध पनि एक हो । निबन्ध लेखनमा आत्मपरक र वस्तुपरक अभिव्यक्तिको विशेष अर्थ रहेको छ । विषय प्रस्तुत गर्ने अभिव्यक्तिगत आधार आत्मनिष्ठ र वस्तुनिष्ठ भएकाले निबन्धको लेखनमा यी दुवै अभिव्यक्तिगत ढाँचाको प्रयोग भएको पाइन्छ । विषय चयनपछि प्रस्तुतिको चयनमा वैयक्तिक छाप या तटस्थ भन्ने पक्षमा नै निबन्धको संयोजन हुन्छ । आत्माभिव्यक्तिको आधार र वस्तुगत चिन्तनको आधारमा निबन्धको प्रस्तुति गरिन्छ । आफूलाई निबन्धको विषय बनाउनु या लेखकको व्यक्तित्व पाठकसमक्ष प्रकाशन गरिने अभिव्यक्तिगत ढाँचा आत्मपरक निबन्धको हो । निबन्धमा आत्मपरकता परम्परा मात्र नभई रुढी भएर हुर्केको छ ।
४. नेपाली निबन्धमा आत्मपरकताको प्रयोग
नेपाली निबन्ध परम्परामा आत्मपरकताको प्रयोग अनुसन्धेय विषय हो । निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ (१९९३) निबन्धका प्रकाशनपछि नेपाली निबन्धमा आत्मपरक अभिव्यक्तिको प्रवेश भएको हो र देवकोटा नै आत्मपरकताको प्रयोग गर्ने पहिलो निबन्धकार हुन् । यसपछि आत्मपरक अभिव्यक्तिमा विभिन्न निबन्धकारहरू सक्रिय रहेका छन् । ‘पच्चीस वर्षका नेपाली निबन्ध’ (२०३९) मा नेपाली निबन्ध प्राकृतिक सौन्दर्यको लेखन, यथार्थवादी लेखन, हास्यव्यङ्ग्यात्मक लेखन, बौद्धिक लेखन, प्रयोगधर्मी लेखन, आत्मकथात्मक लेखन र नियात्रामूलक लेखनमा विकसित भएको मूल्याङ्कन छ । यी सबै धारमा आत्मपरक तत्त्व प्रवेश भएको यथार्थ भने बिर्सन मिल्दैन । यी धारको आधार लिँदै नेपाली निबन्धमा आत्मपरकताको खोजी सान्दर्भिक हुन्छ ।
४.१ निबन्धको चयन
नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भगत अध्ययनमा लक्ष्मीप्रसाद देवकोटाको ‘श्रीगणेशायनमः’, कृष्णचन्द्रसिंह प्रधानको ‘कीलामा ठोकिएको जिन्दगीका केही पानाहरू’, शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ र माधवप्रसाद पोखरेलको ‘मेरो मान्छे’ लिइएको छ । यी निबन्धमा आत्मपरकता के-कसरी आएको छ भन्ने खोजीबाट नेपाली निबन्धमा प्रयोग गरिएको आत्मपरकता अध्ययन गर्न सकिन्छ भन्ने आधारको यहाँ प्रस्तावना मात्र गरिएको हो ।
४.२ आत्मपरकताको आधार
नेपाली निबन्ध परम्परामा आत्मपरकताको प्रयोगको विश्लेषण र मूल्याङ्कनमा निम्नलिखित आधारको आड लिइएको छ ।
(क) व्यक्तिगत/व्यक्तित्वको आधार
(ख) प्राकृतिक/भौगोलिक आधार
(ग) सामाजिक/सांस्कृतिक आधार
(घ) चिन्तनगत आधार
(ङ) हास्यव्यङ्ग्यको आधार
(च) भाषा प्रयोगको आधार
यी चयनमा परेका आधारबाट निबन्धमा आत्मपरकता के-कसरी आएको हुन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ । निबन्धको विशिष्ट उद्देश्य र चिन्तनभित्र यी सबै आधारको प्रयोग नहुन पनि सक्छ । आत्मकथात्मक लेखनमा व्यक्तिगत प्रसङ्ग बढी आउनु। नियात्रा र प्राकृतिक सन्दर्भमा भौगोलिक प्रसङ्ग उल्लेख्य हुनु, सांस्कृतिक निबन्धमा समाजपक्ष बढी आउनु, विश्वपठनको सन्दर्भमा चिन्तनगत आधार देखिनु, सामाजिक पक्षभित्रै व्यङ्ग्यात्मक र हास्यभाव आउनु अनि भाषिक पक्षको प्रयोगमा पनि भिन्नता हुनु आत्मपरकताको खोजीको सन्दर्भ हो । एउटै निबन्धमा यी सबै पक्ष नहुने भए पनि आत्मपरकताका सन्दर्भमा यी पक्षको खोजी उल्लेख्य देखिन्छ ।
४.२.१ व्यक्तिगत/व्यक्तित्वको आधार
आत्मपरक निबन्धमा व्यक्तिगत तथ्य र व्यक्तित्वको प्रकटन मुख्य पक्ष हो । आफ्ना समग्र व्यक्तित्वको आधारभित्र कुनै पक्षको सान्दर्भिक परिचयसहित निबन्धन गर्नु यस किसिमको लेखनको विशेषता हो ।
‘श्री गणेशाय नमः’ निबन्धमा देवकोटाको लेखकीय व्यक्तित्वको चिनारी आएको छ । नेपाल सरकारको मगज कारखानामा पङ्खफुक्का भएर लेखनमा सक्रिय रहेको व्यक्तित्वको नै निबन्धमा प्रकटन भएको छ । यस क्रममा मलाई एउटा हरियो बालाहाल्दो चियाबारी नामको हावाको लहरमा सरसराउँदो खेतको फैलावटउपर मसलाको बाङ्गोटिङ्गो अग्लो वृक्षनेर त्रिचन्द्र कलेजको पूर्वपट्ट िरातो झ्यालतिर अनेक लेखकहरूका बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचार शून्य क्षणमा आफ्ना सहबासी लेखकका चेहराहरू अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्ठित पूर्वपट्टकिो दृश्य हेर्दै बीचबीचमा घोप्टिँदै लेख्दै गरिरहेको भवनमा चित्रण गर्न
सक्नुहुन्छ । यसप्रकार पाठकलाई आफ्नो व्यक्तित्वको चिनारी दिएर नै निबन्धकार लेखन विस्तार गर्छन् । यो व्यक्तित्वको आधार हो ।
पाठकलाई आफ्नो व्यक्तित्वको चिनारी दिने क्रममा प्रधान लेखकीय व्यक्तित्वलाई पात्र बनाएर आत्मीकरणको नयाँ आधार दिन्छन् । यस क्रममा उनी लेख्छन्- साधारण जीउडाल छ्याकेछ्याके गहुँगोरो मङ्गोल अनुहारको कृष्णचन्द्र धेरैलाई थाहा छ एउटा शिक्षक हो र एउटा लेखक हो । अनि एक जमानाको कुरा अझ बिर्सेको छैन- कम्युनिस्ट पार्टीको सदस्य थियो । सभा-संस्थामा हिँड्ने, भाषण दिई घुम्ने कृष्णचन्द्र अहिले केवल एक मास्टर हो । यो परिचय दिएर नै निबन्धकार आफ्ना कुरा पाठकसँग साट्छन् । कृष्णचन्द्रको आत्मिक चित्रणको पात्रीकरण आत्मपरक लेखनको नवीन पक्ष हो । आत्मपरकताको एक पद्धति पनि हो ।
यसरी नै लामिछाने लेखनका विषयमा संवादात्मक पृष्ठभूमिसहित आफ्नो परिचयमा भन्छन्- व्यथितजी । कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए । तपाइँ आज मेरो विश्वरूप हेर्नुहोस्। मेरो मनमा के छ ? तर पहिले तपाइँलाई एउटा कुराको सम्झना दिइहालूँ । म बीसौँ शताब्दीको (अङ्ग्रेजी) एउटा बुद्धिजीवी हुँ । मध्यवित्त परिवारको, विवाहित केटाकेटीको बाबु, तरुनी, स्वस्थ निर्माणको भावनामा दत्तचित्त सोझो नागरिक । र म चिन्तित छु। मेरा अनेक समस्या छन् । लामिछानेले व्यक्तित्वको यो परिचय पाठकलाई दिएर आफ्ना चिन्तनको पोयो फुकाउँछन् । मनका केन्द्रमा चिन्तनको विचरण यात्रा नै आत्मपरक लेखनको नयाँ पक्ष लामिछानेका लेखनमा देखिन्छ । व्यक्तित्वका परिचयमा ‘मेरो मान्छे’ निबन्धमा पोखरेलको कथन छ- सुई घोच्ने डाक्टर नभए पनि डाक्टर त म पनि हुँ, मेरा छोराछोरीले भनेझैं- ‘पढेलेखेका हल्लुडे डाक्टर’ अर्थात् पीएचडी । यसपछि आफ्ना व्यक्तित्वका अनेक पोया बाट्न वा फुकाउन निबन्धकारलाई सहज भएको छ ।
आत्मपरक निबन्धमा निबन्धकार आफ्नो व्यक्तित्वको प्रकाशन गर्छ । पाठकका अगाडि आफ्नो व्यक्तित्वको प्रकटन गरी विश्वास जित्नु आत्मपरक निबन्धको विशेषता हो । उसको व्यक्तित्व के रहेछ भन्ने कुरो पाठकले सहजबोध गर्छ । देवकोटा लेखन क्षेत्रकै जागिरे, प्रधान अनेक यात्राबीच मास्टरमा थामिएका व्यक्तित्व, लामिछाने पारिवारिक अनेक समस्याबीच लेखकीय व्यक्तित्व बनाएका र पोखरेल पीएचडी सकेर दैनन्दिनमा हराएका व्यक्तित्वको प्रकाशनभित्र यी निबन्ध बाँधिएका छन् । आत्मपरक लेखनमा यही व्यक्तित्वको चिनारी हुन्छ । निबन्धकार पाठकसँग आफ्नोपनसहित उपस्थित हुन्छ । यही व्यक्तित्वको चमकमा आत्मपरक निबन्धको मूल्य घनिभूत हुन्छ ।
४.२.२ प्राकृतिक/भौगोलिक आधार
निबन्धमा व्यक्तित्वको निर्माणको धरातल प्राकृतिक या भौगोलिक आधारमा आएको हुन्छ । प्रकृतिका सन्दर्भबाट आफ्ना चिन्तन प्रस्तुत गर्न अथवा भूगोलका क्षेत्रबाट सान्दर्भिक अर्थ दिन यो आधार उपयुक्त हुन्छ । नियात्रा, स्थान परिचयात्मक लेखनका सन्दर्भमा प्राकृतिक/भौगोलिक आधार बढी घनिभूत हुन्छ । आत्मपरकता प्रकृति र भूगोलसँग साटिन्छ ।चयन गरिएका निबन्धमा देवकोटा काठमाडौँको त्रि-चन्द्र कलेजको सन्दर्भबाट आफ्नो धरातलको चिनारी खोज्छन् । देवकोटा हावाका लहरमा सरसराउँदो खेतको फैलावट, पुतलीजुँघे, सागरपारिका जटिल लवजमा छायाँभेद जस्ता प्राकृतिक सन्दर्भबाट जीवनको अर्थ प्रकृतिमा खोज्दै लेख्छन्- म भन्छु, ए मन, तँ रङ्गिइ जा- रूपौला लहर झल्काई सिलिङमिलिङ गरेर सलसली नालाहरू वनमा नागबेली गर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चल्मलाउँछन् । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो । जीवन भनेको नै लहराउनु तरङ्गनिु, चल्मलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा, तरङ्गिइ लहडको लहरीमा आफूखुसीको आनन्त विश्वमा तँलाई छ । यस निबन्धको भूगोल नेपाल सरकारको मगज कारखाना रहेको ठाउँ अर्थात् त्रि-चन्द्र कलेजका केन्द्रबाट विस्तार भएको छ । प्रकृति मनसँगसँगै हिँड्छ र भूगोल व्यक्तित्वको आधार भएर देखिन्छ ।
प्रधानका लेखनमा पनि ‘चार भञ्ज्याङ’ भित्रको अर्थबाट नेपाली भूगोलको एक केन्द्र टिपिएको छ । यस निबन्धमा हावाका सन्दर्भबाट जीवनको चिन्तन प्रस्तुत छ- हामी बेलुन हौँ, क्यार- हावाको तालमा नाच्ने र हावाको जोरमा उड्ने । प्रकृतिसँग जीवनको वास्तविकता साट्दै प्रधान यहाँको भूगोलको सङ्कुचनलाई जीवनका अर्थमा यसरी पढ्छन् – यो सोक्रेटिस नआउने धरती हो। यो गान्धीबाबा नफाप्ने समाज हो। यो एउटा विश्वास नबाँच्ने संसार हो । यहाँ को बाँच्न सके र ? को बाँच्ने भएर जन्मे र ? यहाँ कसैको मृत्यु होस् । भूगोल र प्रकृतिसँग विचार साटेर आफ्नो व्यक्तित्वको चिनारी दिने लेखन आत्मपरकता हो । लेखकीय दृष्टिभित्र यो प्रकृति र भूगोल रङ्गिएको हुन्छ । यो मान्छे ठीक टुकुचा खोलाजस्तो भनेर कृष्णचन्द्रले यस प्रवृत्तिको राम्रो परिचय दिएका छन् ।
लामिछाने दशगजाको जमिनमा उभिएको चिनारी दिएर यस भूगोलमा विचार संश्लेषण गर्दै लेख्छन्- यस्ता असङ्गत अनेक विचारका सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको दशगजे किनारा राखेको छु । भन्ठान, ओ व्यथितहरू र बाङ्देलहरू, मेरो जीवन नै एउटा एब्स्ट्रयाक्ट जीवन हो। यसबाट त म रोज पन्छिरहेछु। रोज यसलाई पन्छाइरहेछु । यस सिमानाभित्र जीवनको खोजी गर्दा अमूर्त विचरण नै यिनका लेखनको पक्ष हो । लामिछाने मनका केन्द्रबाट प्रवेगसहित व्यतित्वको चिनारी दिन्छन् । यो चिनारी आत्मिक र बौद्धिक रहेको छ ।
पोखरेलका ‘मेरो मान्छे’ निबन्धमा नेपालको सन्दर्भबाट आफ्नो धरातलको चिनारी दिइएको छ । निबन्धका आरम्भमा भनिएको छ – नेपालमा प्रायः योग्यता नभएको मान्छेलाई जागिर खुवाउनु छ भने ‘मेरो मान्छे’ भनेपछि बल मिल्छ। उसका सारा प्रमाणपत्रका चाल्नी परेका प्वालहरू आफै टालिन्छन्, उसको योग्यतालाई कसैले उछिन्न सक्तैन र ऊ संस्थालाई कस्तो मान्छे चाहिएको हो, टुपुक्क त्यस्तै मान्छे बन्छ । यही भूगोलमा उभिएर पोखरेल आफ्नो मान्छे अर्थात् आफ्नो परिचय दिन्छन् । यहाँ चयन गरिएका निबन्ध यात्रापरक र प्राकृतिक विचरणमा उन्मत्त नभएकाले यस पक्षको स्पष्ट चित्रण आएको छैन । यस प्रकारका भन्दा नियात्रामूलक र प्राकृतिक सुन्दरतामा केन्द्रित लेखनमा प्राकृतिक र भौगोलिक पक्ष आत्मपरक रङमा अझ व्यापक हुने देखिन्छ ।
४.२.३ सामाजिक/सांस्कृतिक पक्षको आधार
निबन्धमा सामाजिक र सांस्कृतिक पक्षको प्रशस्त छाप हुन्छ । यस कार्यमा चयन गरिएका सम्पूर्ण निबन्धमा नेपाली समाजको छाप छ । नेपाली समाजको सांस्कृतिक पक्ष पनि यी निबन्धमा चित्रण भएको छ । सामाजिक पक्षको प्रभाव र सामाजिक मान्यताको लेखन यी निबन्धमा आएको देखिन्छ । व्यक्तित्वको आत्मीकरणमा सामाजिक सांस्कृतिक पक्ष पनि रङ्गिएको हुन्छ ।
देवकोटाको ‘श्री गणेशाय नमः’ निबन्धमा हिन्दूहरू गणेशजीको सम्झना गरी कार्य आरम्भ गर्ने प्रसङ्गभित्र सामाजिक, सांस्कृतिक पक्ष आएको छ । यस प्रसङ्गमा देवकोटाको कथन छ- तापनि मेरो हिन्दू हृदयमा त अनेक न्यूनता र अपूर्णताको चैतन्यको त्रास चिसो भएर पस्तछ र म प्रकृतिवश या त सरस्वतीको चिहृन या त श्री गणेशाय नमः को रुद्रीचण्डीक्रमको स्मरण नगरी सक्तिनँ । सायद बाहुनको छोरो भएको हुनाले हो कि ? चस्मावाल आधुनिक पाठकलाई श्री गणेशाय नमः मन नपरे पनि देवकोटा पुस्तकालय र ज्ञानयात्राको सन्दर्भ जोड्छन् । आर्य सभ्यता र आर्य संस्कारको चिन्ता, म्लेच्छ पङ्क्तिहरू, झुत्रे गफाडी गुन्द्रुक, त्रिपुण्ड्रक चन्दनवाला, खुर्सानीको माला, आदि सन्दर्भबाट यस निबन्धमा सामाजिक-सांस्कृतिक पक्षको चर्चा भएको छ । यो निबन्धको उल्लेख्य पक्ष हो । देवकोटाको सामाजिकीकरण र सांस्कृतिक व्यक्तित्वको चिनारी यस लेखमा आएको छ । सांस्कृतिक र सामाजिक पक्षको आत्मीकरणको यो एक नमुना हो ।
प्रधानका लेखनमा नेपाली समाजमा लेखकीय मूल्य र शिक्षण पेसाको सन्दर्भगत प्रसङ्ग आएको छ । सामाजिक सक्रियता नै जिजीविषाको कारक हो भन्ने मान्यता प्रधानका लेखनमा छ । यस सन्दर्भमा प्रधान जीवनको अर्थ खोज्छन्- भो त्यति पर नजाऊँ । अहिले त हावा पनि आग्रह ओसारी हिँड्छ, सन्नाटा पनि त्याग माग्छ। बाध्यता बिछ्याएर हाम्रो युग हामीसँग समर्पण खोज्छ । यी आग्रह र अनुरोधले लुछिएर दुब्लाएका हामी आफैँ पनि हाम्रा भएनौँ । त्यसर्थ समयको आग्रह, समाजको माग, व्यवस्थाहरूको अनुरोध प्रभुत्वहरूको निःशर्त समर्पणको अपेक्षा यही होइन र जीवनको अर्थ ? यस कार्यमा सती नारीको सतीत्व हरण गरे जस्तो। ढुङ्गालाई द्यौता मान्छु। भीमसेन थापाको हत्या, देवकोटाको मृत्यु, बलभद्रको वीरता, टुँडिखेल, चिडियाखाना, सालिक बनाउने आदि सन्दर्भ सामाजिक र सांस्कृतिक पक्षकै आधारमा मूल्याङ्कन गर्न सकिन्छ । यो पक्ष व्यक्तित्वको ऊर्जा भएर निबन्धमा आएको छ ।
लामिछाने पनि नेपाली समाज र संस्कृतिको आधारमा चिन्तनको सन्दर्भ जोड्छन् । यस कार्यमा कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएको, चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छे भन्ने चिन्ता, च्यामे पोडेलाई दान दिनु, महाराज मनु, पत्रिकाको हल्ला र खेती, जा-नए-धुन ला-बाज्या, दैनिकी, भगवान् र समाजको आधार, आदि पक्षबाट सामाजिक सांस्कृतिक पक्षको सन्दर्भ जोड्छन् । यस सन्दर्भबाट नै निबन्धमा खेल्न सहज भएको छ र व्यक्तित्वको अर्थ प्रगाढ भएको छ ।
‘मेरो मान्छे’ निबन्धमा पनि सामाजिक र सांस्कृतिक पक्षको प्रभाव छ । नेपाली समाजमा अयोग्य पनि ‘मेरो मान्छे’ भएपछि योग्य हुने प्रसङ्ग, बेग्लाबेग्लै संस्कृति र समाजको कोयो बुनेर निदाएको रेशमकीरोझैँ मान्छेको सन्दर्भ, बिरालाले मुसो खेलाएझैँ खेलाउने पक्ष। मनु ऋषि र माछाको सन्दर्भ भनिसकेपछि निबन्धकार लेख्छन्- मलाई सपना एकदम मनपर्छ। म भविष्यवाणी, ज्योतिष, सामुदि्रक झारफुक, स्वप्न र शकुनको अर्थ लगाउन चाहन्छु, आङ फुर्फुराएको र साइतका सम्भावनाहरूमा चुम्बक लगाएर सत्य टिप्न चाहन्छु । यस निबन्धमा गरुड पुराण, टुँडिखेलको भाषण, माक्र्सका आँखा र कृष्णजीका आँखा, आदि सन्दर्भबाट सामाजिक-सांस्कृतिक पक्षको चित्रण आएको छ । निबन्धमा सामाजिक-सांस्कृतिक पक्षको चिन्तन आत्मीकरण भएर सामाजीकरणको सन्दर्भमा व्यक्तित्वको निर्माणसहित आएको हुन्छ । निबन्धकार खेल्ने ठाउँ नै समाज हो । यही समाजभित्र नै उसको व्यक्तित्वको चिनारी सार्थक हुन्छ र उसको दृष्टिकोणको निर्माण हुन्छ ।
४.२.४ चिन्तनगत आधार
निबन्धमा लेखकले मन्थन गरेको विषय नै चिन्तनगत आधार हो । निबन्धका विषयभित्र रहेर जीवनजगत् र विषयको व्याख्या निबन्धकारले गर्छ । त्यही वैचारक तत्त्वका आधारमा निबन्धको चिन्तनगत आधार निर्माण भएको हुन्छ । यो चिन्तन व्यक्तित्वसँग साटिन्छ र आत्मपरक भएर लेखिएको हुन्छ ।
देवकोटाको ‘श्री गणेशाय नमः’ निबन्धको चिन्तनगत केन्द्र निबन्धका विषयमा छलफल गर्नु हो । निबन्ध आधुनिक लेखनको नवीन विधा भएको चिनारी यस लेखनमा आएको छ । अङ्ग्रेजी भाषाको अध्ययन र ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’को अनुवादको प्रसङ्ग जोड्दै नेपालीमा यस किसिमको लेखनको आधारमा देवकोटा भन्छन्- जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा । यस किसिमको लेखनमा बहसको हानथाप, न्यायका रौँ चिर्ने भेद र नियमको चौखुर्याइँ नभएको निर्बन्ध प्रस्तुत हुने चिन्तन देवकोटाको छ । लहडको लहरीमा अल्छी क्षणलाई बहलाउने लेखन निबन्ध भएको मत पनि देवकोटाको छ । यस सन्दर्भमा उनी लेख्छन् गहिरो छैन, जुन निस्सासिँदो गहिराइमा तपाइँहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखि मलाई प्राकृतिक त्रास छ, म भनेको जीवनको गफाडी टिप्पणी हुँ। म व्याख्यान होइन, न त पाण्डित्य प्रदर्शन । कहिलेकहिले एउटा चुरोट च्यापेर टेबिल अगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ । यो टेबिल गफ मात्र हो अर्थात् रामेको गफ र चामेको चुड्किलो जवाफ अनि एउटा रसिलो, हँसिलो गफाडी चुट्किलो कुराकानी छ, जसको नाम प्रबन्ध हो भन्ने आधारबाट निबन्धको चिनारी दिइएको छ । व्यक्तित्वको प्रकाशनको सहज प्रस्तुति निबन्ध भएको निष्कर्ष देवकोटाको छ । यो चिन्तन आत्मिक भएर आएको छ । निबन्धको शास्त्रीयपन सहज रूपमा देवकोटाका गफमा साटिएको छ । उनको जीवनजगत्लाई हेर्ने दृष्टिकोण भने आध्यात्मिक र आदर्शवादी छ ।
प्रधानको ‘कीलामा ठोकिएको जिन्दगीका केही पानाहरू’ निबन्धको चिन्तनगत आधार जीवन र मृत्युका साँधबाट जीवनको सक्रियताको खोजी हो । प्रधान शिक्षकको आदर्श र लेखकका आदर्शबाट जीवनको खोजी गर्छन् । प्रधान आग्रहमा बाँचेको जीवनसँग बोल्छन्- मानूँ प्रत्येक हामीमा आफू भन्ने नै छैन । … हामीभित्रका प्रत्येक व्यक्तिको आफ्नै व्यक्तित्व छैन । लेखकलाई बोकेर डुलाइ दिने भाटहरू पनि चाहिँ रहन्छ । लेखनलाई उनी एक आधुनिक अपराध ठान्छन् । बाँच्नका लागि गरिएको अपराधलाई फुकाउँदै उनी लेख्छन्- ट्युसनको फिले निर्वाह गरिरहेकाहरूलाई त यो नै पनि मेरो मायाभन्दा कता हो कता महान् लाग्ला । जस्तो नोट लेखेर माधवलालले ‘ब्रहृमानन्द’ वा ‘रस’ को साक्षात्कार गरिरहेछन् । क्युरियोका गाहकीले शङ्करलाई हैन, ढुङ्गा वा धातुका वस्तुलाई महत्त्व दिन्छन् तर शङ्कर चाहिँ त्यही ‘महत्त्व’ बाट लाभान्वित हुन पाएकोमा सार्थकता बोध गर्छन् ।
न्यायाधीश भएर अपराध केलाउने रामकृष्णलाई के थाहा छ कि उनले आफैँले आफ्नो विरोधमा कति अपराध गरिसके । मानूँ नमरेर बाँच्नै सकिन्न र बाँच्नलाई अपराध गर्नैपर्छ । मानूँ रहेछ अपराध र मानिसहरू दुवै पर्यायवाची शब्द हुन् । प्रत्येक मान्छे व्यक्तित्व, प्रतिभा इतिहास, घटना र मृत्यु हो । बाध्यतामा जिइरहेको कृष्णचन्द्रको मृत्यु स्वाभाविक हो भन्दै लेखकीय मृत्युको सन्दर्भमा नै यो चिन्तन प्रस्तुत भएको छ । मृत्युबाट जीवनबोध गर्ने लेखकीय मन यहाँ सहज भएर आएको छ । भौतिक यथार्थ र अन्तिम यथार्थको विसङ्गति निबन्धमा चिन्तनगत आधार भएको छ ।
लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ को चिन्तनगत आधार ‘पेनपिक्चरमा एब्स्ट्रयाक्ट शैलीको प्रयोग’ हो । पेन्टिङमा आउने अमूर्त शैली शब्द तस्बिरमा उतार्ने सन्दर्भमा जीवनको वर्तमान खोतल्दै जाँदाको अनुभूति यस निबन्धमा आएको छ । आफ्नो परिचय, मानिसका दैनिक क्रियाकलापभित्र जीवनको अमूर्त भोगाइको चिन्तन यस निबन्धको विशेष पक्ष हो । प्रातः काल-मध्यान्ह, साँझ-भएर डस्ने बचाइको एक भाग, समाचार र घटनासँग जोडिएको अर्को भाग, मान्छेका छलकपट, धोखा हत्या, खुसी हाँसो, रोदन, क्रन्दनको अर्को पक्ष, चिन्तनको सभ्यताको अर्को यात्राभित्र मान्छेको अर्थ अमूर्त छ भन्ने सन्दर्भमा यिनको मत छ – म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, केही पनि हुने छैनन् । सिमाना रेखालाई एब्स्ट्रयाक्ट चित्रण गर्न सक्दा मन पनि चित्रण गर्न सकिने मत जोड्दै जीवनको वास्तविकता यसप्रकार हेरिएको छ- रियलिस्टिक चित्रणमा त म एउटा प्याज हुँ- रङ्गहीन, पत्रै पत्रले मोडिएको, अनन्त, दुर्गन्ध र गहिराइ । जीवन खोतल्दै जाँदा अनन्त लाग्नु, दुर्गन्ध भेटिनु र गहिराइमा हराउनु हो भन्ने चिन्तन आत्मपरक आधारबाट यस निबन्धमा प्रस्तुत गरिएको छ । जीवनको शून्यपन र बचाइको रागभित्रको विसङ्गत नै यस निबन्धको चिन्तन हो ।
पोखरेलको ‘मेरो मान्छे’ निबन्धको चिन्तनगत आधार आफ्ना निबन्ध लेखनमा आउने तथ्यको चिनारी नै हो । आफ्ना निबन्धको लेखनगत चिनारी सामाजिक आधार र जीवनजगत्प्रतिको दृष्टिकोण यस निबन्धको चिन्तनगत पक्ष हो । निबन्धमा सिलो गरिएको मान्छे नै मेरो मान्छे भएको तथ्यसँगै भनिएको छ- मैले सबभन्दा मन पराएको मान्छे म आफैँ हुँ, किनभने हरेक मान्छेलाई सबभन्दा मनपर्ने मान्छे ऊ आफै हुन्छ । त्यसैले निबन्धमा मैले सबभन्दा प्यारो गरेको मेरो मान्छे म आफैँ हुँ । निबन्धमा आफ्ना अनेक रूप हुने, रबर तन्काएझैँ मान्छेको अर्थ तन्काउने, निबन्धका पात्रलाई खेलाउने, जस्ता पक्षबाट निबन्धकार आफ्नो चिन्तन यसरी प्रस्तुत गर्छन्- म पनि विश्वलाई मेरै आँखाबाट मेरै बिन्दुबाट, मेरै चस्माका सिसाबाट हेर्दाे रहेँछु । ठीक/बेठीक, ठूलो सानो, मोटो मसिनो सबै कुरो नाप्ने मेरो गजो नै म आफै हुँ ।
निबन्धकार ‘मेरो मन नै मेरो प्रयोगशाला हो’ भनी त्यही प्रयोगशालामा आफ्ना सामाजिक क्रियाकलापको अभिलेखन गर्छन् । निबन्धमा अनुशासन र सङ्कल्पको खोजी गर्ने निबन्धकारको चिन्तनगत आधार हो म मान्छेको बहुरूपी स्वरूप जसरी हेर्छु मेरा पाठकलाई त्यसैगरी त्यस्तै देखाउँछु । आफ्ना चिन्तन संश्लेषणभित्र पाठकलाई डोर्याउने र अवधारणा निर्माणमा सघाउने विचार यस निबन्धमा आएको छ । यसरी चिन्तन आत्मीकरण भएर निबन्धमा साटिएको हुन्छ । निबन्धकारहरू आफ्ना चिन्तनभित्र समाज पढ्छन्, जीवनबोध गर्छन् र त्यस बोधको जानकारी पाठकलाई दिन्छन् । आफू जीवनजगत्को एक दृष्टिकोणमा उभिएर त्यसको चिनारी पाठकमा साट्ने कार्य निबन्धकारको हो । यही आत्मीय सम्बन्ध आत्मपरक निबन्धको चिन्तनगत आधार हो ।
४.२.५ हास्यव्यङ्ग्यगत आधार
निबन्धकारहरूले आत्मपरक ढङ्गबाट हास्यव्यङ्ग्य प्रस्तुत गर्छन् । समाजका विसङ्गति र यथार्थको प्रस्तुति हास्यव्यङ्ग्यका आधारमा गरिएको हुन्छ । यहाँ चयन गरिएका निबन्धमा सामान्य व्यङ्ग्य मात्र आएको छ ।
देवकोटा आफ्ना निबन्धमा चिच्याहट लाग्ने समालोचना, चस्मावाल आधुनिक पाठक, मन्त्रवृत्ति, दोतर्फी व्यापार, म्लेच्छ पङ्क्ति, माकुराजाले मगज, सिङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्नु, म नै तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु भनी सामान्य हाँस्य र बढी व्यङ्ग्यको पुट दिन्छन् ।
प्रधानका लेखनमा पनि हास्यभन्दा व्यङ्ग्य नै आएको छ । उनका लेखनमा मास्टर कृष्णचन्द्र आफूलाई उदङ्ग्याएर पल्टिराखेको फाइलझैँ बसिरहन्छ, कृष्णचन्द्रको लेखक बाँचेको छ रोगीझैँ, ऊ लेखिरहन्छ- ओखतीको विज्ञापन, भोजनको निम्तो पर्चा, पम्पलेट, कसैको नयाँ वर्षको शुभकामना, लेखकलाई त बोकेर डुलाइदिने भाटहरू पनि चाहिरहन्छ, आदि सन्दर्भबाट व्यङ्ग्यात्मक अभिव्यञ्जना गरिएको छ । लेखक जीवनप्रतिको मृत्युबोध गरी लेखिएको यस निबन्धको सम्पूर्ण बनोट व्यङ्ग्यात्मक छ । लामिछाने हाँस्न जान्नु पनि कला हो। आज भगवान् डिप्लोमेट पनि छ पुरेतजस्तै। सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण । आदि सन्दर्भमा व्यङ्ग्यात्मक भाव भर्छन् । आफूसँग घुलिएर आएको यो व्यङ्ग्य आत्मपरक र आत्मीय छ ।
पोखरेलका निबन्धमा पनि सामान्य व्यङ्ग्य आएको छ । यिनका लेखनमा पढेलेखेको हल्लुडे डाक्टर, ब्रहृमाजीको बुद्धि नपुगेर चन्दनको बोटमा फूल फुल्दैन, उखुको आँख्ला हुन्छन् फल लाग्दैन । बेलाबेलामा छोराछोरी र श्रीमतीले चिमोटिदिएपछि मात्र आफ्नो यथार्थमा फर्किन्छु । गरुड पुराण सुन्दा पनि टुँडिखेलको घमण्डी भाषण सुन्दा पनि मलाई ओठ लेब्य्राउन मन लाग्छ जस्ता पक्षमा व्यङ्ग्यात्मक टिप्पणी आएको छ । आफ्ना केन्द्रबाट व्यङ्ग्यात्मक टिप्पणी गरिएको यो सन्दर्भ आत्मपरक छ । हास्यव्यङ्ग्य निबन्धको आधार आफ्ना केन्द्रबाट हास्यव्यङ्ग्यको उपयोग गर्नु हो । हास्यव्यङ्ग्य निबन्धमा यो प्रवृत्ति केन्द्रीय भएर आउँछ ।
४.२.६भाषा प्रयोगको आधार
निबन्धमा प्रयोग हुने भाषाका आधारमा पनि आत्मपरकता छुट्याउन सकिन्छ । प्रायजसो ‘म’ ‘हामी’का केन्द्रबाट आत्मपरक अभिव्यक्ति प्रस्तुत हुन्छ । देवकोटा आफ्ना लेखनमा ‘अब म पङ्खफुक्का छु’ बाट आफ्नो भाषिक पक्ष र आत्मपरक सन्दर्भको परिचय दिन्छन् । मनका ‘पङ्ख फुक्का’ तरङ्गमा देवकोटा आत्मीय बन्छन् । प्रधानका लेखनमा व्यक्ति कृष्णचन्द्रले लेखक कृष्णचन्द्रलाई चिनारी दिएको छ । घरी ऊ र घरी म हामीका उपयोगबाट आत्मिक घोलन गर्ने प्रवृत्तिगत नौल्याइँ यस निबन्धमा आएको छ । लामिछाने बाङ्देल र व्यथितलाई सम्झँदै आफ्ना मनका तरङ्गमा हराउँछन् र ‘म पनि मेरो मनलाई एब्स्ट्रयाक्ट चित्रण गर्न सक्छु’ भन्दै आत्मपरक आधार दिन्छन् । यसरी नै पोखरेलका लेखनमा पनि ‘मेरो मन नै मेरो प्रयोगशाला हो’ भनी त्यस किसिमको लेखनको आधार देखाइएको छ । यी सबै आधारबाट हेर्दा वस्तुपरक भाषा तटस्थ हुने र आत्मपरक भाषा व्यक्तित्वको प्रभावबाट व्यक्त हुने तथ्यगत निष्कर्षमा आउन सकिन्छ ।
५.निष्कर्ष
आत्मपरकता अभिव्यक्तिको एक ढाँचा हो । निबन्ध लेखनमा यो ढाँचा स्पष्टसँग छुट्टएिको हुन्छ । नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटाबाट यस ढाँचाको प्रयोग भएको हो । आत्मपरक लेखन व्यक्तित्वको प्रकटन, पर्यावरणीय प्रभावको संश्लेषण, सामाजिक-सांस्कृतिक पक्षको आधार, चिन्तनको केन्द्रीयता, हास्यव्यङ्ग्यात्मक आधार तथा भाषा प्रयोगबाट छुट्टिन्छ । नेपालीमा आत्मपरक लेखनको खोजी निबन्धमा मात्र सीमित हुनु हुँदैन । यसतर्फको अध्ययन, अन्वेषणमा चिन्तन हुनु पनि अनुसन्धेय पक्ष नै हो ।
हाल- कीर्तिपुर, चैत ४, २०६६
(स्रोत : मधुपर्क २०६७ जेठ)