~संगीतश्रोता~
महाराज पृथ्वीनारायण शाहसँग
जम्काभेट भयो एक गणतान्त्रिक साँझमा
अचानक कीर्तिपुर पाँगा दोबाटोमा !
मैले सोधेँ-
बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ?
उहिल्यै काटिगएका थियौ किपू-ज्यापूका नाक-कान
के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
मेरो ठाड्ठाडो प्रश्न सुनेर पनि
शालीन देखिए बाजे महाराज
र भने- ‘बाबु, यो गोर्खे-खुकुरीको जमाना होइन
अब कालु पाँडेको कलाले मात्रै पुग्दैन
त्यसैले बोकिहिँडेको छु मैले झोलामा
रातो ल्यापटप र नीलो इन्टरनेट डिभाइस
नेपाल एकीकरण सिरिएलका पहेँला पटकथा
गोर्खाली वीरताका खैरा डकुमेन्ट्रीहरु
हातहातै फेसबुक चलाउन चिल्ला मोबाइलहरु…।
सँगसँगै छन्, आईएनजीओका शोध-निष्कर्षहरु
राष्ट्रिय कानुनका अद्यावधिक विधेयकहरु
पीएचडीका प्राज्ञिक प्रतिवेदनहरु
र, मिडियाका सामाजिक सर्वेक्षणहरु
यिनै त हुन्, यो युगका धारिला हतियारहरु Û’
यति भनिसकेर महाराज पृथ्वीनारायण
मेरो नजिकै आएर सोधे-
‘बाबु, कहाँनिर छ कमरेड मोदनाथ प्रश्रतिको चिहान ?
म उनैलाई दिन आएको हुँ यी सारा उपहारहरु ?’
मैले भनेँ-
‘मोदनाथ प्रश्रति त अझै जीवित छन् बाजे
थानकोटतिर बसेर सायद
उनी लेखिरहेका होलान् नयाँ दिव्योपदेश ।’
जवाफमा चर्को खित्का सुनियो
कीर्तिपुर पाँगा दोबाटोमा
र, अचानक गायब भए महाराज पृथ्वीनारायण
तर, भोलिपल्ट बिहानै
मनुस्मृति गाइरहेका भेटिए, थुप्रै मोदनाथ प्रश्रतिहरु
कोही सिंहदरबारको आँगनमा
कोही संसद् भवनको पिँढीमा
कोही सर्वोच्च अदालतको ढोकामा
र कोही चौथो अंगका मझेरीहरुमा ।
प्रकाशित: कार्तिक २३, २०७१
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )