~पूर्णबहादुर बस्नेत~
मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त खालि ‘दिदीलाई सन्चो छैन, जा। दिदीले बोलाएकी छ’ भनेपछि फुरूङ्ग हुँदै म दिदीघर आएकी थिएँ।
उमेरले ठूली भए पनि घरकी दौँतरी, साथी जे भने पनि दिदी नै हुनुहुन्थ्यो। त्यस्ती साथीको बिहे भएर पराइ घरमा गएपछि मलाई नियास्रो त अवश्य लागेको हो। तर दिदी त झन् पुतलीजस्तै भएर रातो साडीमा भिनाजुसँग हिँड्दा उनको उज्यालो अनुहारले मलाई खुसी तुल्याएको थियो। लोग्ने पाएपछि आइमाईको जिन्दगी पूरा हुन्छ कि जस्तो भान भएको थियो मलाई। दिदी निकै खुसी देखिन्थिन्। त्यही दिनदेखि हाम्रो बाल्यपन र साथित्व समाप्त भएजस्तो लाग्यो। लड्ने, चल्ने, जिस्किने सबै औपचारिक रूपमै समाप्त भएका थिए। दिदीमा प्रौढता आएजस्तो लाग्यो। उनले वास्तविक जीवनमा प्रवेश गरिन् कि भन्ने लाग्यो। मैले दिदीको खास गरी प्रशसन्नताले यो अनुमान लगाएकी थिएँ। मैले दिदीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न थालेछु अनायासै। हाम्रो दूरी त बढेजस्तो लाग्यो। त्यसैले हुनुपर्छ, मेरो मनको भित्री कुनै कुनामा पनि घरजमको बीज टुसाउन थालेछ क्यार। मैले पनि मीठो सपना देख्न थालेँ। मलाई पनि एउटा लोग्नेको रहरले कुत्कुत्याउन थाल्यो।
दिदी घर जानका लागि मलाई करिब सात किलोमिटर बसमा चढ्नुपर्छ भने एक किलोमिटर पैदल पनि हिँड्नुपर्छ। बिहान खाना खाएर हिँडे पनि गाडीहरू मान्छे टन्न भरिएपछि मात्र हिँड्ने हुनाले लगभग साँझ म दिदीको घरमा पुगेँ। त्यतिबेलासम्म पनि भिनाजु कामबाट फर्किनुभएको थिएन। घरमा दिदी मात्रै एक्लै। तर आमाले भनेको ‘बिरामी’को अर्थ त अब मात्र मैले बुझेकी थिएँ। दिदी त मजाले आराम गरेर बसिरहनुभएको रहेछ। मैले आमाले त तपाईंं बिरामी हुनुहुन्छ भन्नुभएको थियो भनेपछि उहाँ झन् हाँस्नुभयो र मलाई झनै रहस्यमा राख्नुभयो। एकछिन बसेर चिया खाइवरी गरेपछि उहाँले कुरा खोल्दै जानुभयो। मेरी दिदीको पहिलो गर्भबाट कुनै शिशु जन्मने बेला भएको रहेछ। यो थाहा पाएर म झन् खुसी भएँ। म कति दिन बस्नुपर्ने हो, थाहा थिएन। तर, पनि मेरो पढाइको विदा भएकाले चिन्ता गर्नुपर्ने खास कुनै कारण थिएन। म जति दिन पनि बस्न सक्थेँ। मलाई मेरो रहरले अझ सताउन थाल्यो। आमा बन्ने सपना, आमा बन्दाका खुसीहरू, नवजात शिशुमा पोख्न सकिने मातृत्व। एउटा रहर, रहस्य र गौरवको विषय बन्न पुग्यो मेरो लागि त्यो। त्यसो त बिहे भएकै दिनदेखि त्यस्ता निजात्मक कुरा सोध्ने अधिकार गुमाइसकेकी थिएँ मैले। दिदी केही पराइ हुनुहुन्थ्यो मदेखि। बालापनका कुराहरू, बालापनका लहडीपन, स्वभाव सबै सखाप भएका थिए, दिदीको सिउँदोमा भरिएको सिन्दूरले छोपेको थियो हाम्रो नजदिकीलाई। उहाँको गृहस्थी जीवनले हामीलाई अलग्याएको थियो। उहाँ कुरा झिक्नुहुन्नथ्यो भने मैले उहाँलाई दाम्पत्य जीवनका सुखद् क्षण–प्रतिक्षणका बारेमा सोध्न सक्दिनथेँ। यसले कता–कता नमीठो लागेर आउँथ्यो तर पनि उहाँलाई आदर गर्दा र उहाँको सुखद दाम्पत्य संसारलाई देखेर मेरो मन सन्तोष थियो। यी कुरालाई स्विकार्नुपर्दो रहेछ भनेर मैले बुझ्न थालेकी थिएँ।
भोलिपल्ट शनिबार, दिदी नजिकैको स्वास्थ्य चौकीमा नियमित परीक्षणका लागि जानुभयो। शनिवार स्वास्थ्य चौकी बन्द भए पनि त्यहाँकी एक कर्मचारी दिदीकी साथी। उनी त्यही नजिकै बस्ने हुनाले दिदीले पहिल्यै कुरा गरी परीक्षणका लागि जानुभयो। त्यसले गर्दा उठेको पेट लगेर जुन अलिक संकोच लाग्न सक्थ्यो, त्यसबाट दिदीलाई छुटकारा मिलेको थियो। हुन त म पनि उहाँको साथैमा जानुपर्ने हो, तर घरमा धुनुपर्ने कपडाहरू धेरै रहेछन्। निकै समयदेखि घरको सरसफाइ पनि भएको रहेनछ। गर्नुपर्ने कामहरू थुप्रै थियो। भिनाजुले घरायसी काम नगर्ने भएकाले दिदी आराम गर्नुपर्ने स्थितिमा पुगेपछि कपडा, सामान आदि सम्पूर्ण अस्तव्यस्त भएका रहेछन्। त्यसकारण म घरमै बसेर कपडाहरू धुन र सरसफाइ गर्न थालेँ। काम गर्दै जाँदा एकछिन पनि कुनै कामका लागि भिनाजुले मलाई कोठामा बोलाउनुभयो र भन्नुभयो— ‘कति काम गरिरहेकी?’
‘कपडा धेरै छन् भिनाजु, अहिले फेरि सकिँदैनन्। फेरि कोठाहरू पनि बढार्नुपर्छ।’ मैले भनेँ।
‘एकछिन बस न, कपडा एकछिन पछि धोए भइहाल्छ नि!’ भिनाजुले भन्नुभयो।
मैले विरोध पनि गरिनँ। चुपचाप बसेर टिभी हेर्न थालेँ। भिनाजुले च्यानल बदल्दै जानुभयो र एउटा च्यानलमा अडिनुभयो। जो मेरा लागि हेर्नु त्यति सहज थिएन। मैले ‘म कपडा धुन जान्छु भिनाजु’ भनेर फुत्कने प्रयत्न गरेँ तर उहाँले नै तानेर मलाई खाटमा बसाउनुभयो। उहाँको इच्छा बुझ्न मलाई समय लागेन। कता–कता मलाई पनि पुरूष स्पर्शले नशा लाग्न थालिसकेको थियो। म पनि पुरूषको बलियो बाहुपासमा बाँधिन चाहन्थेँ तर भैदियो चेतनाको खडेरी। मैले उहाँ भिनाजु भनेर सोच्न सकिनँ भने उहाँ पनि साली भनेर सिमानामै बस्नुभएन। उहाँको भित्री मनसायअनुसारका कामहरू उहाँले सुरू गर्नुभयो। मैले त्यसो नगर्न भनेर विरोध त गरेँ तर उहाँले जिद्दी गर्नुभयो। मैले ठूलो विरोध पनि गर्न सकिनँ। डरले हो वा लाजले हो, भिनाजुप्रतिको सम्मानले हो या कुनै पुरूषले मलाई छोएपछि म पनि तरङ्गित भएँ। मैले केही थाहा पाउन सकिनँ। म बेहोसजस्तै भएँ। म लठ्ठिएछु। भिनाजुले चाहेको भयो त्यसबेला। घटिसकेपछि मैले आफूलाई आफू चुकेँजस्तो लाग्यो। ग्लानि र क्षोभले म कालीनिली भएँ। एउटा अपराधबोधले भित्रभित्रै चिर्न थाल्यो मलाई। मेरा आँखामा आँसु आए। भिनाजुले सम्झाउनुभयो र हँसिलो अनुहार लिएर काममा जान भन्नुभयो। उहाँले भन्नुभयो, ‘हेर, यस्ता कुरा भए पनि लुकाएर राख्नुपर्छ। तिम्री दिदीसँग छुट्टै सुत्न थालेदेखि मलाई पनि निकै तिर्खाले सताएको थियो। हुन त मैले आफूलाई रोक्नुपर्ने, तर सकिँदो रहेनछ। हामीबीच जे भयो, त्यसलाई हामीले यही कोठामा बन्द गर्नुपर्छ।’
मैले आफूलाई सम्हाल्न निकै गाह्रो भएको ठानेँ। मैले काम त गरिरहेँ तर म होसमा थिइनँ। भिनाजुको स्पर्शले जुन आनन्दको अनुभूति दिएको थियो, अहिले सबै त्यो सम्झेर घृणा लाग्न थाल्यो। मैले आफैँले आफूसँग नजर मिलाउन सकिनँ। मेरो मनले भिनाजुमाथि केवल दिदीको अधिकार भएको ठान्थेँ। आज मैले मेरै दिदीमाथि अन्याय गरेकोजस्तो लाग्यो। अर्को मनले भिनाजुले पनि त मर्यादा कायम राख्नुपर्ने भन्ने सोच्थेँ तर बढी दोषी आफूलाई मान्ने थालेँ। एकछिन पनि फेरि भिनाजुले धेरै नसोच्न र अनुहार नियाउरो नबनाउन भन्नुभयो। प्रयत्न त मैले पनि त्यही गरिरहेकी थिएँ तर मनका छालहरूलाई यो अनुहारले छेक्न सक्दो रहेनछ। कति नै बल गरे पनि ल्याइछाड्दो रहेछ अनुहारमा। आँखाहरू बोलिदिँदा रहेछन्, ओठहरू बोलिदिँदा रहेछन् र अनुहारका सम्पूर्ण अवयवहरूले चिच्याई–चिच्याई भनिदिँदा रहेछन् कि मनभित्र के चल्दै छ भनेर।
बेलुकातिर स्वास्थ्य चौकीबाट दिदी आउनुभयो। मैले अलिअलि टाउको दुखेको बाहना गरेँ। एक–दुई दिन म सामान्य अवस्थामा फर्किन सकिनँ। भिनाजुसँग त्यति नजिक जान पनि सकिनँ। उहाँ भने दिदीलाई सुनाएर अझ रमाइलो गरिरहनुभएको थियो, ‘अब सालीको बिहे गरिदिनुपर्छ।’ ‘मेरी साली पनि अब त ठूली भइसकिन्’ आदि इत्यादि। यसले कता–कता मलाई अपमान गरेको महसुस हुन्थ्यो। भिनाजु राम्रो मान्छे होइन भन्ने धारणा बन्न गयो मेरो। उहाँ फेरि ती हर्कत दोहोर्याउने पक्षमा हुनुहुन्थ्यो तर मेरो होस फर्किसकेको थियो। मलाई क्यै गरी उहाँले दोस्रो पटक हासिल गर्न सक्नुभएन। मैले मेरो मर्यादा र सीमा बुझिसकेकी थिएँ। मलाई अब अरू नग्न नृत्य गर्नु थिएन, त्यो पनि आफ्नै दिदीलाई धोका दिएर। अब म भिनाजुको चंगुलबाट निकै टाढा थिएँ। उहाँको व्यक्तित्व मैले निकै तल्लो स्तरको पाएँ। श्रीमती गर्भवती हुँदा केही दिन वासनाको तिर्खा खप्न नसक्ने पुरूषहरू नामर्द हुन् भन्ने बलियो धारणा बनिसकेको थियो मेरो। यी जहाँ पनि मुख मार्दै हिँड्छन्, यिनीहरू श्रीमतीप्रति बफादार हुन सक्दैनन्। यिनीहरूको चरित्रको विश्लेषण गर्दा नै मेरो घृणाको तौल निकै बढेर आयो। यस्ता पुरूषहरूलाई देख्दा मलाई पुरूष शब्दप्रति नै वितृष्णा हुन थाल्यो।
दिदीले एउटी शिशुलाई जन्म दिएपछिका केही समय मैले त्यहाँ बिताएर घर फर्कें। भिनाजुले मसँग गरेको व्यवहार मैले कसैलाई पनि भनिनँ, भुल्ने प्रयत्नमा थिएँ। त्यसयता दिदी पनि एक–दुई पटकभन्दा बढी आउनुभएको थिएन हाम्रो घरमा। त्यो घटना एउटा नराम्रो सपनाजस्तै लागिरहेको थियो। मैले बुझेकी थिएँ, त्यसलाई भुल्नु नै उचित हुन्छ। गल्ती त मबाटै पनि भएको हो तर अब त्यसैलाई मनमा लिएर कुनै फाइदा थिएन। म आफ्नो पढाइतिर मन लगाउन थालेकी थिएँ। भिनाजुसँग पनि सामान्य बोलचाल हुन थालेको थियो। तर आफूले चाहेजस्तो कहाँ हुन्छ र जीवनमा? दिन, हप्ता गर्दै मैले मनैमनमा त्यो नमीठो याद दबाउने चेष्टा गर्दागर्दै पनि त्यो झन् पहाडै बनेर मेरो जीवनमा आइदियो। मासिक रोकिएपछि मेरो त सासै अड्किएजस्तो भयो। झन्न रिङ्गटा लाग्यो। कसलाई गएर के भन्ने? मैले सोच्नै सकिनँ। स्कुले साथीहरूमध्ये पनि विश्वासिला कोही पाउन सकिनँ। मेरो धारणा र मेरो मभित्रको स्त्री पनि त्यतिबेला मर्नुपर्ने भयो। जति नै घृणा गरे पनि मैले यो कुराको आधार बनेको भिनाजुलाई भन्नुपर्ने भयो। त्यहीलाई मैले नैतिकहीन, चरित्रविहीन भनेर आफ्ना धारणालाई बलियो बनाएकी थिएँ, तर आज उसैकहाँ गएर बिन्ती बिसाउनुपर्ने भयो, किनकि मेरो अहिलेको हालतको जिम्मेवार पनि त्यही पुरूष थियो। केही समस्याको समाधान उसले निकाल्न सक्ला कि भन्ने आशाले म दिदीघरतिर लागेँ।
एकान्तमा पाएर भिनाजुलाई सबै कुरा दर्साएँ। तर त्यहाँ समाधान निस्किएन। बरू समस्या विकराल बनेर आयो। उहाँले आफूमाथि आइपर्ने, दिदीको नजरमा गिर्नुपर्ने र ससुरालमा हेयको दृष्टिले हेरिनुपर्ला भन्ने बोधले समस्याको गुपचुप समाधानतिर लाग्न सक्नुभएन, बरू सजिलै कसरी बच्न सकिन्छ त्यतातिर उहाँको विचार गयो। उहाँले ठाडै इन्कार गर्नुभयो। अझ दिदीलाई भनेर मलाई आरोप लगाएको भन्नुभयो। त्यतिबेलमै दिदी पनि रिसाउँदै मलाई त्यहाँबाट तुरून्तै निस्केर जान भन्नुभयो। मैले त्यहाँ सहारा पाइनँ। बिहेपछि औपचारिक रूपमा समाप्त भएको दिदी र मेरो नाता अनौपचारिक रूपमा पनि डढेर खरानी भयो। सानोमा मायाले लड्थ्यौँ। अहिले त्यसलाई हाम्रो समयको फेरोले कथा बनाइदिएको थियो। हामी एउटै नदीको पानी, अहिले रूप परिवर्तन गरेर एक नदीका दुई किनारा बनेका थियौँ। मैले त्यहाँबाट घर जानुभन्दा तेस्रो विकल्प देखिनँ तर समयले त मलाई लघारेकै थियो। म घर पुग्नुभन्दा पहिले नै दिदीले घरमा मैले कसैको गर्भ बोकेको कुरा भनिदिइसक्नुभएको रहेछ। भिनाजुले जुन शैलीले दिदीलाई भन्नुभयो, त्यसैबाट ममाथि घटिरहेको विषयले आकार लिइरहेको थियो। उहाँ दिदीको सामुन्ने सत्य बोल्न नसकेर आफू निर्दोष बन्नुभयो। त्यसले उहाँको परिवार त बच्यो, तर मेरो त जिन्दगी नै उजाडिने अवस्थामा आइपुगेको थियो।
त्यो विषयको रूप र आकार त्यस्तै बन्दै गएकाले मैले मेरै जन्मघर, मलाई जन्म दिने आमा–बाबुबाट पनि सहारा र सहयोगको आधार पाइनँ। घरको आँगनमा टेक्नेबित्तिकै त्यो आँगन पनि बुवाका दुर्वचनले पराइ भयो। उहाँका वचनहरू निकै बिझेर आए मलाई। भन्नुभयो– ‘दिदीको घर त बिगार्न आँटिस्, हामीलाई पनि कहीँ मुख देखाउन लायक छोडिनस्।’ यिनै वचन हुन्, जुन मेरो बुवाको मनबाट निस्केका थिए। दिदीले त मलाई देखिसक्नु भएन। अब जन्म दिने बाबु–आमाले पनि मेरो विश्वास गर्नुभएन र मलाई परित्याग गर्नुभयो। मलाई आफ्नै कोखबाट जन्म दिएर लाम्टा चुसाएकी मेरी आमाले त योसम्म भन्नुभयो– ‘बरू कतै गएर मरे, इज्जत त जोगिन्थ्यो।’ म दुवैतिरबाट बहिष्कृत गरिएँ।
मलाई लड्न मन लागेन। मेरी संगिनीसरह खेलेकी, हाँसेकी दिदी, मलाई मेरो रगतसँग परिचित, म रोए पनि रूवाइको माग बुझ्ने मेरी आमा, मलाई मुटुको टुक्रा सम्झने बाले मलाई एक वचन सोधेर पनि वास्तविकता बुझ्ने चेष्टा गरेनन्। मलाई आफू गर्भवती भएको, आफू बिग्रिएको या अब मेरो भविष्य के होला भन्ने चिन्ताले भन्दा पनि अहिले आफन्तीहरूले गरेको व्यवहारले निकै दुखेर आयो। मानिसहरू कसरी पराइ बन्दा रहेछन्। किन यसरी आफ्नै रगतका डल्लामा पनि विश्वास हुँदो रहेनछ। मेरो बैँसमा कोही पोखिएर छ्याल्लब्याल्ल हुँदा पनि हिलोजति सबै मेरै निधारमा कसरी पोतिन आइपुग्दो रहेछ, बिस्तारै अनुभव गर्न थालेकी थिएँ। मेरो आत्मसम्मानका लागि मलाई लडेर आफ्नो हक–अधिकार लिने कुरा थाहा थियो। मैले गल्ती नै गरेको भए पनि त्यसमा अरू कोही पनि सामेल थियो भन्ने मैले सावित गराउन सक्थेँ। किनकि प्रकृतिले नारी भनेर हाम्रो संरचना बनाइसकेपछि पुरूषको विर्यविना हाम्रो पेट आफै फुल्दैन। यति कुरा त समाजले बुझ्छ होला नि। तर खै कसरी अचानक मन मरेर आयो। अधिकारले मेरो जीवन रंगिन हुँदैन कि जस्तो लाग्यो। त्यो फगत एउटा हावामा नाङ्गो तरबार नचाउनुजस्तो हुन्छ कि लाग्यो। मसँगै कपाल लुछेर खेली ठूली भएकी मेरी दिदीको घर याद आयो। दिदीको घरबार नबिग्रियोस् भन्ने तीव्र आकांक्षाले निधार मुजा पारेकी मेरी आमाको अनुहारमाथि दया लागेर आयो। गाउँमा इज्जतको पगरी पुगेका मेरा बाको सम्मानप्रति माया लागेर आयो। मेरो त जिन्दगी धागो चुँडाइएको चङ्गा भएको थियो तर जिन्दगीमा घरबार, इज्जत र आकांक्षाका लामा उडान भर्नेका धागाहरू बलिया नै भए हुन्थ्यो चाहन्थेँ। मलाई ती धागाहरू चुँडाल्न मन भएन। कतै न कतै यादमा भए पनि ती मसँगै आएर ठोकिन्थे। ती रङ्गीन चङ्गाहरू देखेर मेरो रङ्गहीन चङ्गा पनि त्यसैमा भुल्छ कि भन्ने भ्रम बनाउन थालेँ मैले। मेरो मुटुको आवाजले मलाई कमजोर पारिरह्यो। मेरो दिमाग शून्य भयो र मलाई सम्बन्धको जालोले बेरिरह्यो नउक्सिने गरी। आफ्नै दिदीको, आमाको बुवाको मनलाई घोपेर मलाई न्याय र सम्बोधनको चाहना भएन मलाई। मैले अधिकारका लागि लडेर दिदीको स्नेह, बाको अभिभाकत्व, आमाको मातृस्नेह पाउन सम्भव थिएन। एक टुक्रा जमिन, एक आकाशको तिरस्कार मलाई सानो लाग्न थाल्यो। त्यसैले मेरो मूल्यमान्यता झनै भत्काउने, झनै मेरो बचेखुचेको स्वाभिमानलाई भत्काउने डरले आत्तिएँ म। त्यसैले जिन्दगीलाई एउटा गुमनाम परिचय दिने अठोटले गन्तव्यहीन दिशातिर आफ्ना पाइलाहरू बढाएँ बिस्तारै।
September 18th, 2010
(स्रोत : Mysansar.com)