~सृजन सापकोटा~
“भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्।
केदारनाथ तिर्थ जाँदा हाम्रो बाबु-आमाको दुर्घटनामा निधन भएको थियो। सानै थियौँ, त्यति याद छैन बा-आमा बितेको। त्यस्ताका हर्क बुढा हाम्रा भगवान साबित भए। म र मेरो भाइ टुहुरा भएपछि उनैले हामीलाई काठमाडौं ल्याएका हुन। नाताले हर्क बुढा हाम्रा मित-बा हुन्। पहिले काठमाडौं आउँदा हामी गौसालामा डेरागरी बस्थ्यौ। आर्थिक अवस्था राम्रो थिएन। हर्क बुढा नजिकैको काठ-मिलमा काम गर्थे। कुस्ठ रोगले गर्दा उनको एउटा खुट्टा ठुटो थियो, कमजोर र रोगी थिए। त्यही पनि, अलि अलि कमाउँथे, गाँस बास र कपास जुरेको थियो।
आफ्नी स्वास्नी बिहे गरेको दुई महिनामै पोइल गएकी हुनाले हर्क बुढालाई स्त्री-घृणा थियो। यही गममा उनको साँझ सँधै रक्सिन्थ्यो। यथार्थमा भन्ने हो भने रक्सीले उनलाई खान्थ्यो। हर्क बुढाले आफूलाई सम्हाल्न सकेनन्। स्त्री वियोगको खिल उनको मुटुमा गहिरो चुभेको थियो। दिनदिनै मातिन थालेपछि एउटै भएको जागिर पनि खुस्क्यो। त्यसपछि हर्क बुढाले पशुपतिको आँगनमा डेरा जमाए। हर्क बुढा भिखारी भए। भाइ र म ‘खाते’ नामले चिनिन थाल्यौँ।
पशुपतिको सेरोफेरो नै हाम्रो लागि त्यसपछि बस्ने घर र हाँस्ने-खेल्ने मैदान भयो। हर्क बुढालाई अब आफ्नै जोहो गर्न धौधौ भएपछि हामी पनि बरालियौ। बागमतीमा डुबुल्की लाएर शवलाई चढाइएका पैसा, लत्ता-कपडा बटुलेर हाम्रो गुजारा हुन्थ्यो। भाइको उमेर आठ वर्ष र ऊ मभन्दा छ वर्षले कान्छो थियो। ऊ पौडिनमा निकै निपुण थियो। शवलाई चढाइएको जिन्सी बागमतीमा सेलाउने बितिक्कै अरु हामी जस्तै ठिटाहरु सबैलाई उछिनेर उही अगाडि पुग्थ्यो। उसलाई स्कुल जाने रहर थियो र उसको यो इच्छाले मलाई जहिलै पिरोल्थ्यो। दाइ भएको नाताले मैले केही गरेर केवल उसलाई स्कुलमात्र पठाउन सके भने धन्य हुन्थे भन्ने सोच थियो मेरो। साचै भन्नु पर्दा मलाई चमत्कारको खाँचो थियो। नदी पारी गएर खैरेहरुसँग पैसा माग्नु, दर्शन गर्न आउनेका जुत्ता-चप्पल चोर्नु, प्लास्टिक र बियरका बोतल बटुल्नु, शव जलाएर फालिएका काठ नदीबाट निकालेर बेच्नु इत्यादि – यिनै थिए हाम्रो दैनिक जीवनको यथार्थ। आम्दानी थिएन र बाँच्न कठिन थियो। कहिले-काही सेलाइएका पिण्ड खाएर पेट भर्थ्यौ। भोकै सुत्नु कुनै ठुलो कुरो थिएन।
समय बित्दै जादा मलाई बागमतीको किनार बैरागी लाग्न थाल्यो। मलाई पैसा कमाउनु थियो। त्यहा बसेर मैले कुनै पनि प्रगतीको दुलो देखिन। म दैनिक गौसाला जान थाले, नयाँ कुरा सिक्न, उन्नतीका नयाँमार्ग केलाउन। गौसाल नौलो र खतरनाक दुनियाँ थियो। म जस्ता ‘खाते’ ठिटाहरुको भिड थियो यहाँ। कुट-पिट, झै-झगडा सामान्य थियो। आफुलाई गुण्डा भन्नेहरुको पनि कमी थिएन। म दुब्लो भएपनी म कहिलैकोइ सँग डराउदिन थिए। आफुलाई भयन्कर सुरो र बाठो ठान्थे। शायद यही कारणले होला मैले तुरुन्तै आफ्नो रवाफ जमाए। चाडै साथी बनाए।
तर मित्रता सँगै सुरु भयो “डेनड्राइट”। सस्तो अनी तानेपछी रोमान्चक दुनियाँ। भोक नलाग्ने, गजब रहेछ यस्को आनुभुती। अब भोकै सुत्नु परेन, म दङग परे। एक बेलुका भाइलाई यस्को प्रयोग र उपयोगीतको बारेमा भने। उस्ले खासै इच्छ्या देखाएन, तर मैले कर गरे अनी तान्न लगाए। बिस्तारै यो दैनिक जीवनको खाचो भयो। नतानी निन्द्रा नलाग्ने भयो। एकदिन हर्क बुढा र मेरो जम्का भेट भयो। मेरो हातमा डेनड्राइटको प्लस्टिक देखेर उनी मसँग पड्के। मैले मतलब राखिन, राख्न जरुरी पनि सम्झिन।
महिनौ बित्यो। म दैनिक गौसाला जान्थे। एकदिन एउटा साथीले आफुले सफा टेम्पोको खलासीको काम पाएको कुरा भन्यो। म उकुस-मुकुस भए, जुर्मुरिए। मलाई पनि खलासी बन्ने इच्छ्या जाग्यो। बस स्टपमा बसेर हरेकमाईक्रो र टेम्पोको ड्राइभरलाई ‘मलाई खलासी बना!’ भनेर उर्दी गरे। कतिले पिटुम्ला झै गरे,कोइ हास्न थाले, कसैले राम्रै सँग अहिले नचाहिने भने। अनगिन्ती दिन बिते, तर मैले हारमानिन। एक साझ सफा टेम्पो बाट एक महिला उत्रिन। टेम्पो खाली थियो। मैले ड्राइभर लाई खलासी चहिये आफु तयार भएको बताए। उ आफ्नो ‘मोबाइल’मा कुरा गर्दै थियो, मेरो बिन्ती सुनेन। फेरी भने। उस्ले म तिर झर्कदै भन्यो – “#@!%##! डिस्टर्ब गर्छस? दिउ ढल्ने गरी? %#$@!@। ल %%$&#^$, सक्छस भने भर्खर उत्रेकी बुढीको ब्याग थुतेर आइज। ल्याइस भने यो मेरो थोत्रो नोकिया र खलासीको जागिर तेरो भयो। सक्छस?”। मेरो दिमाग रन्क्यो। “ल यही कुर्नु” भनेर म कुदे। पाच मिनेट पछी म त्यही ठाउँमा हाजिर भए, ब्याग का साथ। ड्राइभरको अनुहार रातो भयो। र आफुलाई सम्हाल्दै क्रुर-मुस्कान दिएर भन्यो – “$#$@%#%, डेन्जर रहेछस। तैले केइ गर्छस। खोइ त्यो ब्याग दे मलाई। र यो मोबाइल तेरो भयो आज बाट, मोज गर, मेरो पुरानो सिम छ, नम्बर डिलिट नगर्नु। नाम के हो तेरो?……….. “।
म खलासी भएको कुरा भाइ लाई भने। उस्को मुख उज्यालो भयो। म झन हर्सित भए। मोबाइल देखाए। हाम्रो खुशीको सिमा रहेन। अब चाडैनै स्कुल जानेछस भनेर आश्वासन दिलाए। हर्क बुढालाईपनि खबर गरे। महिनौपछी बुढाको हसिलो अनुहार झुल्कियो। मोबाइल नम्बर एउटा कागजमा लेखेर खुसुक्क खल्तीमा हालेर बुढाले भावुक भई मलाई स्याबासी दिए।
कामको पहिलो दिन, साझ पाच बजे मेरो मोबाइल पहिलो चोटि बज्यो। उठाए। हर्क बुढा सुक्सुकाउदै भाइ बिरामी परेर पशुपती पछाडि भर्र्याङ् छेउको क्लिनिकमा राखेको कुरा खबर गरे। शाहीद गेट बाट गौसाला पुग्न एक घण्टा लाग्यो। हस्याङ-फस्याङ गर्दै क्लिनिक तिर दौडे। क्लिनिक नपुग्दै आर्यघाटमा मैले हर्क बुढालाई टुक्रुक्क बसेको देखे। छेउको ब्रम्हनालमा शब सुताइराखिएको थियो। नजिकै गएर हेरे, हेरिराखे,मानौ समय सदाका लागि रोकियो। म टोलाई राखे।
हर्क बुढाले रुमाल लिएर शबको मुखबाट निस्किरहेको फिज पुछे। रुदै भने – “खै, बिष खायो अरे भन्छन! पारी जंगलमा बेहोस भएर दुई चार जाना ठिटाहरुले बोकेर यहाँ क्लिनिकमा ल्या रहेछन। तीन दिन देखी भोकै थियो रे, के खायो होला एस्ले लौन दैब….. के दिन देख्नु पर्यो यस्तो!”। मेरो स्वर फुटेन। मेरो हात अचानक मेरो खल्तीमा गयो। अलीकता भएको नगद, मोबाइल र एउटा डेनड्राइटको टियुब निकालेर बागमतीमा फाल्दिए। यो देखेर पारी बाट एउटा केटो त्यो असारे बागमतीको भेलमा हाम्फाल्यो। “भगवानले सबै देख्छन बाबु!” – हर्क बुढाले म तिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थाले। बगिरहेकी मैली बागमतीसँग मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्।
(स्रोत : Mysansar.com)