~तृष्णा कुँवर~
‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर थकाइ मार्न नपाउँदै चौकामा गुइँठा सल्काउनै आँटेकी झिनकीको कानमा तातो झिर रोपियो।
बलिरहेको हातको ढिबरी पत्तै नपाई भुर्इंमा खसेर अँगेनाभरि मट्टीतेल छताछुल्ल भयो । घरै डढाउने हो की झैं गरी चुलामा आगोको ज्वाला दन्किदा पनि जोइपोइ बेखबर एकअर्कालाई हेरेर केही ट्वाल्ल परिरहे। स्कुलबाट फर्केपछि साँझपख सधैं चुनरी घाँस काट्न निस्किन्थी, एउटा गाई र दुईटा बाख्रा अधिंयामा पालेकीले घाँस ल्याउनुपर्ने जिम्मा उसैको थियो।
कक्षामा सधैं पहिलो हुने विद्यार्थी, मास्टरहरूको दबाबमा परेर स्कुलबाट उसका दादाले नाउँ कटाउन सकेका थिएनन् । चुनरीकी माई छोरीलाई पढाउनुभन्दा गतिलो घर खोजेर बिहेदान गर्न गनगन गर्थिन्। हरेक वर्ष ‘आगे साल ओकर नाउँ कटा देब’ भन्दै झिनकाले जसोतसो चुनरीलाई दस कक्षासम्म घिसारेर ल्याए।
लुगा फेर्दा ढिलो होला भनी स्कुलबाट फर्कनासाथ स्कर्टको दुवै खल्तीमा चिउरा हालेर फाँको मार्दै चुनरी सधैंझैं घाँस ल्याउन घरबाट निस्की। खाँची र खुर्पा बोकेर गाउँ दक्षिणको रहरबारीमा पसेको एकदुई जना गाउँलेले देखेका रहेछन् । झमक्क साँझ नपर्दै चुनरी सामुहिक बलात्कारमा परिछ।
पहिले नै रहरबारी भित्र लुकेर उसैलाई ढुकी बसेका केटाहरूले मुख छोपेर भित्र तान्दा डरले बेहोस उसको ज्यानमाथि के के भयो कसैले पत्तै पाएनन् । घाँस लिएर आउँदै होली भनेर माईले पनि उति सोधखोज गरिनन् । खेत जोतेर थाकेका झिनका हलोजुवा थन्क्याएर छिमेकीको आँगनमा कक्कडको चिलिम तान्न थाले।
अँध्यारो गहिरिन थालेपछि लोटा लिएर रहरबारीमा दिसा बस्न गएको मान्छे चिच्याएपछि सबै गाउँले उतै ओइरिए । च्यातच्युत कपडामा रगतपच्छे उत्तानो परेकी छोरी देख्दा झिनकालाई चट्याङले हाने जस्तो भयो । चुनरी मर्ली बाँच्ली उसले सोच्नै भ्याएन, इज्ज्त बेइज्जत सोच्नुपर्ने अप्ठेरो ठाउँमा झिनका बसेको छ, उसको समाजले अब कुरा मात्रै काट्ने त हो नि।
जीवनको धुकधुकी बाँकी रहेकी छोरीलाई काखामा राखेर अस्पताल पुर् याउने जोहो गर्नु त परै जाओस् त्यहाँबाट मुख लुकाएर कसरी भाग्नु जस्तो भयो । उसलाई सबैले थुकेको थुकको छिट्टा आफ्नो मुखमा परे जस्तो भान भयो, मैलो गम्छाले मुख निधार पुछ्दै घरतिर हुर्रियो।
‘हे भगवान् ! मलाई लकवा (पक्षघात) ले मारे हुन्थ्यो, हे गोरखनाथ बाबा ! मेरो दिमाग फुस्के हुन्थ्यो, हे गंगा माई ! मेरो प्राणपखेरु अहिले नै उडे हुन्थ्यो’ भन्दै गम्छाले आँसु पुछ्दै झिनकाले सम्झे जतिका भगवान्सँग अपशकुनी वरदान माग्न थाल्यो।
अपाहिज भए बरु सबैले सहानुभुति गर्लान्, बौलाउन पाए आफ्नो चेतनाले काम नगर्ला, मर्न पाए त झन केही देख्नै पर्दैन्थ्यो भन्दै अलापविलाप गरिरहेको झिनकालाई सम्हाल्न सम्झाउन छाडेर झिनकी रहरबारीतिर दुगुरी । अहिलेसम्म कसैले पुलिसलाई खबर गर्न भ्याएको छैन।
चुनरीका काकाकाकीले बेहोस भतिजीलाई लडियामा लादेर अस्पताल पुर्याउने तरखर गर्न लागेका रहेछन्, ‘रामराम ! अधर्मीहरू !’ भन्दै तमासा हेर्नेको घुइँचो बढ्दो छ। चुनरीको खुट्टा हुँदै चुहिएको रगतले लडियामाथि ओछ्याएर उसलाई सुताइएको दरी र पराल भिजाइरहेछ, काखमा निष्प्राण छोरीलाई देख्दा झिनकीको कलेजो मुखसम्म आउला जस्तो भयो। झिनकी रुँदै महिनौंसम्म अस्पताल धाएर जसोतसो छोरीलाई बचाइ।
घटनास्थल मुचुल्का र अस्पतालको रिपोर्टले चुनरी सामुहिक बलात्कारमा परेको पक्का भएपछि झिनकालाई कसैले किटानी जाहेरी हाल्न उकास्यो । ‘बिहे गरेर दिनु पर्ने जात हो, अभागी रै छे, अब जे भो भो झन् हल्ला नगरौं आफ्नै बेइज्जत हुन्छ’ भनेर झिनकी मान्दै मानेकी थिइन् तर झिनकालाई न्याय पाइएला भन्ने भन्दा पनि बलात्कारीमध्ये कुनै एकलाई छोरी सुम्पन पाए हुन्थ्यो भन्ने आस थियो।
उनीहरूलाई गाउँमा बस्नै गाह्रो भइसक्यो। चुनरी सबै बलात्कारीलाई चिन्छे तर बोल्न डराउँछे, उनीहरू आफ्नै समुदायका केटाहरू हुन तर ठुलाठालु र नेताका बिगडैल छोराहरू। झिनकामाथि स्थानीय छोटेबडे नेताहरूको ठुलो दबाब पर्र्यो उनीहरूले सीमापारीतिरको केटासँग चुनरीको बिहे गरिदिने आश्वासन दिएर मामिला मिलापत्रमा टुंग्याए।
पुलिसले समेत अदालत जानुभन्दा गाउँमै कुरा सामसुम पार्न ठुलै भुमिका खेल्यो । कुरो मिलाउनेहरूले आरोपितहरूबाट राम्रै रकम कुम्ल्याए रे भन्ने पनि सुनियो। गाउँमा एकदुई जनाले त मोटरसाइकल नै चढे । सुर हराएकी चुनरी भने मरेतुल्य भई, सरकारले दिएको विद्यालयस्तरको निःशुल्क शिक्षा उसको लागि काम लागेन, सरकारले गरेको बालिका शिक्षामाथिको लगानी उसले उठाउन पाइन, सरकारले दिएको छात्रवृत्ति उसका लागि बेकार भयो।
एसएलसी पास गरेर नर्स पढ्ने सपना तुहियो, कुन मुखले स्कुल जाने ? आफ्नै बाबुसँग त बोल्न डर लाग्छ । झिनका रक्सी खाएर सधैं स्वास्नीसँग झगडा गर्छ, ‘अब यो करमजलीलाई म कहाँ फालौं ? वारिपारि पचासौं गाउँमा यसको बेइज्जतीको हल्ला छ, अब यो मेरै आँगनमा कुहिने भै’ मानौं यो सब चुनरीकै दोष हो।
एक दिन झिनकाले चुनरीले देख्ने गरी गहुँबालीमा छर्ने कीटनाशक औषधि राखिदियो। चुनरी त्यही मेटासिड खाएर मरी। ‘अच्छा भैल’ जन्मदिने बाबुको छातीभित्रैबाट गला चिर्दै चिसो स्वर निक्स्यिो, त्यो स्वरको कम्पन झिनकीले मात्र महसुस गर्न सकी।
डोलीमा सजाएर पठाउनुपर्ने छोरीको अर्थी उठ्दा झिनकीले गाउँ नै उचालिने गरी रोएर चित्त शान्त पारेकी थिई रे। ‘मरी, दुःख लुकाइ, राम्रै भयो’ भन्ने आसयका कुराहरू गर्दै झिनका चुनरीलाई खोला किनारमा पोल्दै गर्दा खुब रोएको थियो रे । चुनरी मर्नु परेको सामाजिक कारण कसैले देखेन, गाउँ समाज सबैले अभागले उसलाई मृत्युको मुखसम्म पुर्याएको कुरा गरे।
ऊ बलात्कृत हुँदा र आत्महत्या गर्दा न त्यहाँ पुलिसले धेरै अनुसन्धान गर्नुपर्र्यो न त गाउँलेहरूले चौकीथाना घेराउ गरे । न त दलहरूले यसमा चासो राखे, न त त्यहाँ मिडियाले नै केही खोतलखातल गर्र्यो, न त त्यहाँ एनजीओ आईएनजीओ पुग्यो, न त त्यहाँ महिला अधिकार र मानवअधिकारको वकालत भयो।
झिनका अनपढ गरिब, त्यसमाथि मधेसी, उसको चेतनाले कुरा लुकाउनमै कल्याण देख्यो। त्यो गाउँका सबै अनपढ थिएनन, त्यो गाउँमा सबै असभ्य थिएनन्, मधेसीहरू मध्येकै कोही मास्टर पनि थिए, वकिल पनि थिए, पुलिस पनि थिए नेता पनि थिए, तर चुनरीका लागि न्याय अन्यायको व्याख्या गरिदिने कोही भएन । दोषी समाजमा मर्दानगी देखाएर बाँच्ने, निर्दोषीलाई अस्पतालले बचाए पनि समाजले मार्ने।
चुनरी मर्नुको दोषी पुलिस पनि हो, वकिल पनि हो, मास्टर पनि हो र नेता पनि हो, अझ सबैभन्दा बढी दोषी त उसको आफ्नै समुदाय हो ।
मुखमा भोटे ताल्चा लगाएर गुपचुप गुपचुप मामिला सल्टाउन सकेसम्म सबैले झिनकालाई सघाए। घटना धेरै पुरानो हैन, भर्खरै मुलुकमा गणतन्त्र आएको बेलातिरको हो । गणतान्त्रिक मुलुकमा एउटी आशालाग्दी मधेसी किशोरी गुमनाम मराइ मरी।
अच्छा भैल भन्नु पर्ने, निर्दोष छोरी मरीदिएर बाबुको इज्जत फर्किने त्यो हिजोको समय थियो। तर आज अर्कै समय आइसकेको छ र अझै अर्कै समय आउनेवाला छ। आज मधेस संसारले देख्ने गरी आन्दोलित छ। झिनकी हुलका हुल आइमाइहरू आफ्नो घर छेवैबाट लोग्नेमान्छेसँगसँगै कदममा कदम मिलाएर जुलुसमा गएको देख्छे।
अघिल्लो हप्ता पेट दुखेर सदरमुकामको अस्पतालमा जँचाउन जाँदा बाटामा आइमाइहरूले म१चमा उक्लेर भासनभुसन गरेको पनि देखी । त्यति कुरा नबुझे पनि सुनुँसुनुँ लाग्यो। ‘लौ यो त यहाँ भासन सुन्न पो अल्झेकी रैछ, लौं हिँड छिटो जाउँ, अब जुलुस हिँड्ने बेला भयो, पुलिसले लखाट्छ फेरी, बेकारमा टाउको फुटाइ हुन्छ झिनकीका संघरियाहरूले उसलाई तान्दै अस्पतालतिर लगे।
‘मेहरारुओके दिन आ गैल, अच्छा भैल’ (आइमाईका पनि दिन आए, राम्रै भयो) ऊ फर्की फर्की भासन गर्ने आइमाईतिर हेर्दै अगाडि बढी। आज ऊ यही भाषण सुन्न र आइमाईहरूले कसरी जुलुसमा नारा लगाउने रहेछन् भनेर हेर्न झिनकालाई थाहै नदिई एक्लै आएकी हो।
अलि अग्लो छेउमा कोही महिला बोलिरहेकी छन्, ‘हामीलाई यो देशले नागरिक ठानेन, हामीलाई यो देशले नेपाली मानेन, हामीले आफ्नो अधिकार मागेर पाएनौं भने खोसेर पनि लिनु पर्छ’, भोजपुरीमा बोलिरहेकी ती महिलाको स्वर झिनकीको कानमा टड्कारै सुनियो।
‘हैन चुनरीले यस्ता कुरा कहिल्यै गरिन्, किताबमा लेखेका कुरा कहिलेकाहीँ मलाई पनि सुनाउँथी, उसको किताबमा धोती कुर्ता लगाएको मान्छेको पनि चित्र देखाउँथी, किताबमा त हिमाली पहाडी मधेसीले हातेमालो गरेको देखेकै हो, के त उसो भए यी कुराहरू किताबमा मात्रै देखिएका हुन्, व्यवहारमा यी नेताले भनेझैं हामीमाथि विभेद भएकै हो? उसो भए चुनरीको किताब झुटो कि यो नेताको बोली साँचो ?’ वरिपरी उभिएकाले पररर ताली बजाए, उसले पनि बेसुरमा ताली बजाई।
जन्मले नेपाली, कर्मले नेपाली । चुनरी अहिलेसम्म १५, १६ क्लास पढिसक्थी, जान्नेबुझ्ने भइसक्थी, भाषण गरेर सारा मान्छेलाई एकोहोरो पार्न सक्थी, बाँचेकी भए आज ऊ नेता, मन्त्री भइसक्ने थिई । उसले यो समाजमा आइमाई सजिलै मर्नु नपर्ने कानुन लेख्न पाउँथी कि?
त्यो घटनाको एक महिना अगाडि चुनरी १६ वर्ष पुरा भएकी थिई, बजारको सेतोघरसम्म गएर उसले र चुनरीलेसँगै नागरिकता बनाएको सम्झी। नागरिकता पाएको दिन खुसी हुँदै चुनरीले त्यसलाई चुमेकी थिई, फर्कंदा बाटोभरि उसले नागरिकताको अर्थ बुझाउँदा ए यो त ठुलै कुरा पो हो कि भन्ने लागेको थियो।
भाषण सुनेर झिनकीलाई चुनरीले भनेझैं यो राज्यले नागरिकता दिएर हाम्रो पहिचान गरेको हो रहेछ कि होइन रहेछ भनेर दोधार भइरह्यो । पहिचानको नागरिकताबाहेक अर्को अर्थ पनि हुन्छ भन्ने कुरा बुझ्न झिनकीले यस्ता अरू भाषणहरू पनि सुन्नुपर्ने हुन्छ। मञ्चमा कुर्तासुरुवाल लाएर निर्धक्क बोलिरहेकी युवतीमा चुनरीको अनुहारको छाया देखियो।
मुटुदेखि नै एउटा कम्पन छुट्यो, चुनरीलाई सम्झी, ‘माई मैले आज स्कुलमा धेरै मान्छेको अगाडि बोलेर यो पुरस्कार पाएको’ भन्दै छोरी फुरुकफुरुक परेको सम्झी । ‘के के बोलिस् नि ? बोलेर पनि हार जित हुन्छ र ?’ भन्दा उसले ‘हामी यो देशको नागरिक हो, हामी यो राज्यको पहरेदार हो, हामीले यो देशको रक्षा गर्नुपर्छ, हामीले यो देशको विकास गर्नुपर्छ, हामी जिम्मेवार नागरिक बन्नुपर्छ’ भनेर आफुले बुझ्ने भाषामा अर्थ्याएको सम्झी।
आफ्नो स्कुलमा कार्यक्रम हुँदा ‘हजार काम छोडेर भए पनि हेर्न आउनु है माई’ भन्दै चुनरीले वाचा गराएको दिन सम्झी । छोरीले बोलिसकेपछि अरूले ताली बजाएको देखेर आफुले पनि हात चिलाउन्जेल ताली पड्काएको सम्झी । आँखाबाट सललल आँसुका धारा छुटे।
खेलमा जितेको भन्दै कति पुरस्कार लिएर आउँथी, स्कुलमा माइक समातेर कति राम्रो गीत गाउँथी, कति राम्रो भाषण गर्थी। झिनकी चुकचुकाउँदै आफ्नो कोख छामेर उभिइरही, जहाँ उसले नौ महिना चुनरीलाई लुकाएकी थिई त्यहाँ नमीठो पीडाको लहर उठ्यो।
‘चुनरी आज बाँचेकी भए यसैगरी भासन गर्थी, जुलुसमा गएर त आइमाईहरू नेता, मन्तरी हुँदा रहेछन्। परारै सालको मधेस आन्दोलनमा जुलुसमा गएर भासनभुसन गरेको हुनाले पारी बिहारबाट बिहाएर आएकी रामसुन्दरजीकी बुहारी चितरानी मन्तरी भएकी थिइन्, उनलाई त नाम लेख्न पनि राम्रोसंग आउँदैन मन्तरी कसरी चलाउँछिन् भनेर गाउँभरि हाँसो भएको थियो, मेरी छोरी चुनरी त यही धर्तीमा जन्मेकी, जन्मले नेपाली कर्मले नेपाली, अहिलेसम्म पन्ध्रसोर किलास पढिसक्थी, जान्नेबुझ्ने भइसक्थी, भासन गरेर सारा मान्छेलाई एकोहोरो पार्न सक्थी, बाँचेकी भए आज ऊ नेता, मन्तरी भइसक्ने थिई।
मन्तरीहरूले यो देश चलाउने कागजमा कानुन लेख्न पाउँछन रे, उसले यो समाजमा आइमाई सजिलै मर्नु नपर्ने कानुन लेख्न पाउँथी कि? नेताहरूले समाज बदल्छन रे, चुनरीले अरू निर्दोष चुनरीहरू बाँचिरहने समाज बनाउन सक्थी की?’ सम्भावनाको प्रश्नैप्रश्नले घेरिएर झिनकी भीड भित्रभित्र पस्दै गई। मानौं ऊ भीडमा चुनरी खोज्दैछे।
२०७२ फाल्गुन २६ बुधवार
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)