~किराँती भोगेन एक्ले~
हजुर म दिलबहादुर लिम्बु
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सनकी सिपाहीको
यो सम्पतिले पुरिएको सहरमा
सयौँ तले खण्डहरहरुको घुइँचोभित्र
मेरोलागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको
के थियो मेरो त्यस्तो बिराम्
यो समाजमा उभ्याउन नसकेर आफूलाई भागेको म
यो समाजबाट अर्घेलो भई खेदिएको म
कसको लागि त्यत्रो खतरा बनेँ
र मेरो खप्परमा सजाय गोली लेखियो
के म दिनदहाडै सहरमा गर्जने ताइलो थिएँ ?
कि शरीरमा बारुद भरेर निस्किएको आत्माघाती थिएँ हँ ?
मैले लिखासिङहरुको घरबारी खरबारी लुटेको थिइनँ
न मैले अराजकता नै फैलाएको थिएँ यो मुलुकमा
होला, बिराएँ हुँला केही
एउटा नाबालकले ओछ्यान मुतेजस्तो
नपाएर साथीभाइको जस्तो खेलौना
हिनताबोधले तडपिएको बेला
तमासा मच्याएँ हुँला उफ्रिएर
यत्तिकैमा गुमाएर होस
ठोकेर मेरो निधारमा गोली
उतार्नु मिल्थ्यो त रिस अभिभावकले ?
मेरो रगतको रङ्ग पनि उस्तै त थियो
उसकै जस्ता थिए होलान् सपनाहरु पनि धेरै
मेरो तस्वीर सिरानीमा राखेर सुत्ने पत्नी
बाबा कुरेर बसेका बचेराहरु
म फर्की आउने बाटो हेर्ने धमिला आँखाहरु
उस्तै त थिए मेरा पनि उसको जस्तै
खै त मानवता ?
खै त यो सभ्य समाजको
सभ्य तालिमप्राप्त विवेक ?
थुप्रै सपनाहरु किन्न निस्किएको म परदेश
यो जाली समयले आज उल्टै मलाई बेची दिएपछि
जीवनलाई बगाउन नसकेर अरु धेर
किनारा लाग्दा एकाछेउ
यो मान्छेहरुको सहरमा
म एउटा मान्छे
मान्छे हुनुको पहिचान हराएर
अमान्छे बाँचेको बेला
ममा मान्छे खोज्दै मलाई
एउटा मान्छेले नै निलेको छ आज
ठूलो माछाले सानो माछा निले जस्तो स्वात्तै
महिनौँदेखि भोक र शोकले गलेको ज्यान
बाउँठिसकेका हात गोडाहरुमा के थियो र पाइन
एउटा हट्टाकट्टा सिपाहीलाई लतार्ने
के थियो र त्यस्तो शक्ति ममा
र ऊ सुरियो मेरो निधारमा गोली दाग्न
होसियार
ऐ हेनेन्सी रोडबासी मोहमद आलम
सामसोइपो पार्कबासी अपो,लोयम र स्युख्यङहरु
आकाशे पुलमुनि ओतिइ हिँड्ने मेरा सजातिहरु
यो माउसुलीहरुको स्वर्णद्वार
पुतलीहरुको पासो
यो कालो माकुरी जालोले
भोलि तिम्रो पनि परिचय माग्न सक्छ
तिम्रो पनि थातबास खोज्न सक्छ
र त्यो बेला
नरन्कनु तिमी आफ्नो परिचय हराएको झोँकमा
नभन्नु उसलाई आफू बेवारिसे, बेघरबार भएको सत्य
नत्र उसले आफ्नो बहादुरी देखाउन सक्छ
मलाई जस्तै निधारमा तिमीलाई पनि गोली ठोक्न सक्छ
ड्याङ, ड्याङ, ड्याङ ।
March 22nd, 2009
(१७ मार्च २००९ का दिन हङकङको होमान्तिनमा प्रहरीको गोलीबाट एक नेपाली दिलबहादुर लिम्बुको मृत्यु भयो। क्यान्टोनिज भाषामा प्रहरीले दिएको चेतावनी नबुझेकै कारण उनलाई गोली हानिएको त्यहाँका मानवअधिकारवादी संस्थाहरुले बताएका छन्। लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप यो कविता)
(स्रोत : Mysansar.com)