एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू ।
अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र । अविनाश मेरो निकटम मित्र । मेरो गाउँको प्रिय डाक्टर । जसले आफ्नो पेशालाई पूर्णरुपमा गाउँलाई समर्पित गरेको थियो । आर्थिक उपलब्धिभन्दा पनि विशुद्ध सेवामुखी अभियानमा लागेको थियो ऊ । उसको नामको साइनबोर्ड सडकछेउमा देखेपछि मेरा आँखाले बसपार्कको भीडमा अविनाशलाई खोज्यो र खोज्दा-खोज्दै अतीतका धमिला कुहिरोभित्र हराएर फेरि म स्मृतिको गाउँ पुगेँ ।
जहाँ अविनाश थियो, म थिउँ, थिए दुःखका सिउँडी र धमिला झझल्काहरू । अविनाश, मात्र एउटा हेल्थ असिस्टेन्ट थियो । तर उसका अनुभव लगनशीलता र मेहनतले ऊ कुनै डाक्टरभन्दा कम थिएन र नै गाउँमा डाक्टर अविनाशको नामले परिचित थियो ऊ, सरल सर्वप्रिय । गाउँका सबै युवाहरू गाउँबाट पलायन भए तापनि एउटा कोसेढुङ्गा भएर गाउँमै अडिग भई बसेको थियो ऊ । खै ! किन हो, ऊभित्र शहरमुखी सपना र सुखसयलका ईच्छाहरू कहिले झयाङ्गिएनन् । बीसौं वर्षदेखि ऊ मात्र, जीवन-निर्वाहको मुर्दाघाट त्यो दुःखीगाउँ कुरिरहेको थियो । सन्तोषम् परम् सुखम् -त्यहाँबाट जे जति प्राप्त गर्थ्यो, त्यसैमा सन्तुष्ट थियो ऊ ।
निकै वर्ष हेल्थपोष्टको जागीर खायो उसले । जुन हेल्थपोष्ट पुग्न उसको र मेरो गाउँबाट साइकलमा झन्डै डेढ-र्दुइ घन्टा लाग्थ्यो । घरैबाट ऊ हेल्थपोष्ट धाउँथ्यो । खै ! के कारणले हो, केही वर्षपछि त्यो हेल्थपोष्ट पनि उठ्यो, एकाएक एउटा दुर्गम पहाडमा सरुवा भयो ऊ । त्यसपछि उसले पहाड नजाने निर्णय गर्यो र हेल्थपोष्टको जागीर छाडेर गाउँमा नै क्लिनिक खोलेर बस्यो । त्यसबेला सुरक्षित र रमाइलो नै थियो गाउँ । जहाँ बैंक थियो, थाना थियो । केही सरकारी कार्यालयहरू थिए । जब गाउँमा असुरक्षा बढ्यो अनि सुरक्षाको जिम्मा लिएर बसेको थाना पनि उठ्यो । बैंक र सरकारी कार्यालयहरू पनि उठे । गाउँमा हत्या हिंसा र आतङ्क बढ्यो अनि हुनेखाने परिवार पनि पलायन भए गाउँबाट । तर अभाव गरिबीले गाँजेका गाउँलेहरू भने त्यही अभागी गाउँ रुङेर बसे, जसमध्ये अविनाश पनि थियो । ऊसँगै गाउँ रुङ्नेमा मेरी बूढीआमा हुनुहुन्थ्यो । मैले उहाँलाई आफू बसेको ठाउँमा ल्याउन चाहेर पनि कहिले ल्याउन सकिनँ -’बाबू ! अब म कति नै बाँच्छु र ! मलाई यो बुढेसकालमा अन्त नलग, यहीँको कोशीमा मर्न दे ।’ उहाँको लिँडेढिपीले सधैँ पराजित हुन्थेँ म । र यदाकदा त्यो गाउँ जान्थेँ । त्यहाँ जानुपर्ने एउटा बाध्यता थियो, किनकि त्यहाँ आमा हुनुहुन्थ्यो, आमाका एक र्दुइ माउ बस्तुभाउ थिए । एक र्दुइ कित्ता जग्गा थिए । त्यसैलाई रुङेर बस्नु भएको थियो आमा । जसरी अविनाश बसेको थियो । म आमा भेट्न जाँदा आफ्नो अधिकांश समय अविनाशसँग बिताउँथे । ऊसँग बिताएका क्षण एउटा रमाइलो क्षण हुन्थ्यो । ऊसँगको भेटले पुनः मेरो बाल्यकालको स्मृतिको नवीकरण हुन्थ्यो । ऊ र मेरो भेट भएपछि लोकल रक्सीले टन्न मात्थ्यौं हामी र अतीतका हाँगामा सुख-दुःखका सैसैला खेल्थ्यौं । त्यसबेला एउटा बेग्लै आनन्दको अनुभूति हुन्थ्यो ।
‘के जानू त्यो गाउँमा धूलो खान ।’ मसँगै सहरमा बसेकाहरू मैले गाउँ जाने कुरा गर्दा ओठ लेप्र्याउँथे, सम्भवतः उनीहरु त्यो अभागी गाउँलाई सम्झन चाहदैंनथे, आफ्ना विगतका घाउ कोट्ट्याउन चाहँदैनथे । तर खै ! किन हो, मलाई भने त्यही गाउँ प्यारो लाग्थ्यो । त्यहीँको हावापानी ढुङ्गा माटो प्यारो लाग्थ्यो । कोट्ट्याउँदा विगतका त्यही घाउ प्यारो लाग्थ्यो । तर आमा खस्नुभएपछि भने गाउँ र मबीचको दूरी टाढियो ।
‘क्षितिज ! हिँड आज मेरो पेसेन्ट हेर्न ।’ म गाउँ गएको बेला अविनाश मसँगको भेटमा आग्रह गथ्र्यो उसको विरामी हेर्न जाने ।
‘कुन रोगको पेसेन्ट हो ?’ म सोध्थेँ ।
‘उही त हो ,रातो भाले क्वँउँ क्वँउँ ।’ जवाफमा ऊः हाँस्थ्यो ।
‘अर्थात् डेलिभरी केस ? ऊसँगै म पनि हाँस्थेँ ।
मलाई गाउँमा समय बिताउनु थियो, त्यसैले विरामी हेर्न जाने अविनाशको आग्रहपछि म ऊसँगै लाग्थेँ, उसले चलाउने गरेको साइकलको पछाडि बसेर । त्यसपछि ऊ विरामी हेर्न गाउँले घरको अँध्यारो कोठाभित्र पस्थ्यो, म चुपचाप उसको पट्यारलाग्दो प्रतीक्षामा बाहिर सिकुवामा बस्थेँ ।’
‘ल, छोरा भयो, भोज ख्वाउनुस् ।’ च्याँहार-च्याँहार बच्चा जन्मिएको आवाज आएपछि प्रसुती कार्य सकेर प्रफुल्ल मुद्रामा निस्किन्थ्यो अविनाश हात पुछ्दै । नवजात शिशुका बाबू ङिच्च हाँस्थे र टाउको कन्याउँदै आफ्नो विवशता पोख्थे -’कति भो कुन्नि डाक्टरसा’बको फिस ? फिस त मकै पाकेपछि मात्रै होला ।’ उनको अनुहारमा छोरा जन्मिएको खुसीभन्दा पनि फिस तिर्न नसक्नुको पीडा स्पष्ट झल्किन्थ्यो ।
‘आ…, फिस भनेको लिँदै गरुँला नी । कुखुरा छ कि छैन ? ल, कुखुरा काटेर एक बोतल बिजुलीपानीको व्यवस्था मिलाउनुस्, मेरो साथी पनि आएको छ ।’ गोजीबाट सयको नोट झिकेर आदेश दिन्थ्यो ऊ घरधनीलाई ।
‘सुत्केरीका लागि पालेको कुखुरा छ नी, डाक्टरसा’बलाई ख्वाई हाल्छु नी ! विचरा सोझो गाउँले अप्ठ्यारो मानी-मानी रुपियाँ समाउँथ्यो र रक्सी खोज्न बाटो लाग्थ्यो ।
‘धत् ! भर्खर सुत्केरी गराएको छस् यहाँ बसेर कुखुरा र रक्सी खाने ?’ मलाई अप्ठ्यारोसँगै घीन-घीन लाग्थ्यो उसको प्रस्तावप्रति ।
‘ल, भाउजू सुत्केरी भएको दिन तैंले भाउजूलाई पकाएको मासु खाइस् कि खाइनस् ? त्यस्तै त हो नि ! बिचराहरू फिस दिन सक्दैनन्, यही हो फिस ।’ ऊ आफ्नो तर्क राख्थ्यो ।
‘बिचरासँग कुखुरा छ कि छैन, यसरी बाध्य पार्नुहुन्छ ?’ उसको प्रस्ताव प्रति म आपत्ति जनाउँथेँ ।
‘कुखुरा भएर नै भनेको हो, नत्र पैसा दिएको छु किनेर ल्याउँछन् । म कहिले कसैलाई बाध्य पार्दिन यार ! के गर्छस् ! मन राख्न पनि खाइदिनुपर्छ नत्र फेरि डाक्टर ठूलो भो’ भन्छन्, यही त छ गाउँमा रमाइलो ।’ अविनाश अझ स्पष्टिकरण दिन्थ्यो । र टन्न हामी रक्सी र मासु खाएर सुत्केरी निवासबाट बाटो लाग्थ्यौं ।
स्मृतिको अर्को दृश्य फेरि मेरो आँखामा आउँथ्यो ।
‘हजुर ! मेरो छोरा सिकिस्त छ, बचाइ दिनुपर्यो ।’ उसका क्लिनिकमा बिरामीहरू आइरहन्थे ।
‘के भयो ?’ ऊ सोध्थ्यो ।
‘हनहनी ज्वरो आएको छ, खालि बिचेतका कुरा मात्र गर्छ डाक्टरसा’ब !’
‘कति वर्षको छ छोरो ?’
‘चार वर्षको ।’
‘पैसा कति छ ?’ लोलोपोतो नगरी स्पष्टवत्ता ऊ सीधै सोध्थ्यो ।
‘कति हुनु गरीब मोरोसँग ? यी गोडा पच्चिसेक रुपियाँ छ, त्यो पनि अनेक जोरजाम गरेर ल्याएको ।’ बिरामीको बाबु मुठ्ठी खोल्थ्यो । मुठ्ठीमा पसिनाले भिजेको खुद्रा पैसाले गाउँलेको गरिबी स्पष्ट झल्किन्थ्यो ।
उसको विवशतामा गम्भीर हुन्थ्यो डाक्टर । र आफ्नो र्दुइटै हात खुइले टाउकोमाथि राखेर सोच्थ्यो ऊ, यो न्यून बजेटले कुन औषधि लेखूँ ?
‘अविनाश ! पच्चीस रुपैंयाले विचराको छोराको ज्वरो निको हुन्छ त ?’ अविश्वाशसहित म खुसुक्क उसको कान फुक्थेँ । किनकि, म बसेको शहरमा एक हजार रुपैंयाले पनि सामान्य ज्वरो निको हुन धौ-धौ पथ्र्यो ।
‘कोशिस गर्छु, आफूले सकेसम्म त मर्न दिनु भएन नी ।’ ऊ अझ गम्भीर हुन्थ्यो र दराजबाट औषधिका केही गोटी निकाल्थ्यो । सम्भवतः त्यो गोटी ज्वरो आउँदा अधिकांश विरामीले प्रयोग गर्ने सिटामोल अथवा पारासिटामोलको गोटी हो ।
‘यत्रो ठूलो ट्याबलेट चारवर्षे प्यूसोले निल्न सक्छ त ?’ जिज्ञासाबस म फेरि सोध्थेँ ।
‘उपाय छ, तँ हेर्दै गर न ।’ ऊ गोटीको सबै खोल च्यात्थ्यो र तीन चारवटा गोटीलाई सानो खलबच्चामा हालेर कुट्न थाल्थ्यो । कुटिसकेपछि त्यसमा ग्लूकोज हालेर कुटिएको धूलो ग्लूकोजसँग फिट्थ्यो र आठ दसवटा पुरिया बनाउँथ्यो ।
‘एलोपैथिक औषधिमा होमियोपैथिक फर्मुला ?’ म हाँस्थेँ ।
‘के गर्छस् ! यो बाध्यता हो । अझ हेर्दै गर, म के के गर्छु ।’ त्यसपछि फेरि ऊ जादुगरझैं दराजबाट झोल औषधिको बोतल निकाल्थ्यो र बिर्को खोल्थ्यो, अर्को बोतलमा चार भागको एक भाग झोल खन्याउँथ्यो र बिरामीको बाबुलाई दिन्थ्यो । -’ल यो एक बोतल औषधिको दाम साठी रुपैँया हो, यो चार भागको एक भागको दाम पन्ध्र रुपिया भयो, दस रुपियाँको यो अर्का औषधि । डोज पुर्याउन पर्छ, भोलि फेरि पन्ध्र-बीस रुपैँया लिएर आउनू र अरु औषधि लग्नू ।’ ऊ परामर्श दिन्थ्यो ।
‘हस् डाक्टरसा’ब ।’ खुसी हुन्थ्यो बिरामीको बाबु ।
‘अनि तेरो फिस ?’ बिरामीको बाबु गएपछि म सोध्थेँ उसलाई ।
‘उनीहरूको माया नै मेरो फिस हो । हेर न, जिन्दगी कति कहालीलाग्दो छ । यही गरिबी अभाव देखेर नै मलाई यो ठाउँ छोड्न मन लाग्दैन ! साह्रै माया लाग्छ मलाई यहाँका मान्छेको । यिनीहरूकै सेवाले भातसम्म खान पुगेकै छ, धेर किन चाहियो ? थन्काउने पैसा भने कमाउन सकिएको छैन, ठीकै छ । हेरुँ जिन्दगी कहाँसम्म चल्छ ?’ एकाएक भावुक हुन्थ्यो ऊ । मलाई अचम्म लाग्थ्यो यो कवि हृदयको मान्छे कसरी डाक्टर भयो ?
‘अनि अम्बिकाको के छ खबर ?’ उसको क्लिनिकको दृश्यले नमीठो गरी घोँचेपछि म प्रसङ्ग फेर्थेँ ।
‘के हुनु, हजुरआमा भएकी छ । हामी पनि बूढो भएछौं यार ।’ ऊ हाँस्थ्यो ।
‘अनि अनु कहाँ छे ?’
‘ऊ लोग्ने छाडेर बसेकी छे । जाने हो ? खाँचो-गाह्रो टार्छे । पहिले कट्टर थिई अहिले उदार भएकी छे ।’ रसिक ऊ अझ रसिक बन्थ्यो ।
‘सुजाता ?’
‘उमेरभरि बूढीकन्या बसी, अहिले बूढो शर्मासरसँग लव गरेर बसेकी छे ।’
‘के गर्छस् ! समयमा हामीलाई पत्याईन । तैंले र मैले जमानामा संयुक्त लवलेटर लेखेकै हो, जवाफ नै दिईन ।’ ऊसँगै म पनि रसिक बन्थेँ ।
‘पुर्पुरोमा नभएपछि त्यस्तै हो ।’ ऊ थप्थ्यो ।
अविनाशको बारेमा सोच्दा-सोच्दै ऊ र मबीचका सम्पूर्ण विगत सोँची सकिएछ । झसङ्ग हुँदै म विगतबाट पुनः वर्तमानमा ओर्लन्छु । व्यस्त बसपार्कमा मेरो आँखाले अविनाशलाई खोजिरहेको छ । ठ्याक्क आँखा नजिकको फलफूल पसलमा ठोकिन्छ । ऊसँगै निरुता भाउजू छिन्, छोरी अञ्जली छे, अनि छोरा सौगात ।
‘अविनाश ! सम्बोधन गर्छु उसलाई । उदास छ ऊ । उसका आँखा कताकता हराइरहेझैं लाग्छ । फलफूल पसलमा फलफूल र मिनिरल वाटर किनिरहेको छ ऊ । ‘के हो यो बेडिङबिस्तारा लिएर कहाँ जान आँटिस् ?’ सोध्छु म ।
‘हेरुँ जिन्दगीले कहाँ पुर्याउँछ ।’ दार्शनिक अभिव्यक्तिसँगै स्वभावअनुरुप ङिच्च हाँस्छ ऊ । ‘तिमीहरू जाँदै गर म आउँछु ।’ भाउजू अञ्जु र सौगातलाई सामान राखेको ठाउँमा जाने आदेशसँगै उसले मलाई तानेर सडकको एक छेउमा पुर्याउँछ ।
‘क्या हो ? पूरा बसाइँ नै सरेजस्तो छ ?’ म फेरि खोतल्छु उसलाई ।
‘तिमीहरूले समयमा नै गाउँ छोड्यौ, बुद्दि पुर्यायौ, कमसेकम आफ्नो व्यवस्था त बाँध्यौ । यी, म आज गाउँ छाड्दैछु । अनिश्चित छ आफ्नो भविष्य । आफू जन्मेको हुर्केको ठाउँ छोड्दा असाध्य नरमाइलो लाग्दोरहेछ क्षितिज ! के गर्नु ! छाड्नु पर्दोरहेछ बाध्य भएपछि ।’ भावुक र गम्भीर छ ऊ, एकाएक आँखा रसिएको छ उसको ।
‘किन क्लिनिक चलेन र गाउँ छाडिस् ? सेटल भइसकेको गाउँ त्यसरी छोड्नु हुने थिएन ?’ म सुझाव दिन्छु ।
‘चल्ने नचल्ने त तँलाई थाहा छँदैछ नी ! जेनतेन गुजारा चलेकै थियो तर त्यहाँ बस्न सकिएन र हिँडियो, द्याटस् अल, धेर नसोध ।’ ऊ प्रतिबन्ध लाउँलाझैं गर्छ मेरो प्रश्नमाथि ।
‘अनि कहाँ जान लागिस् त ? कमसेकम जाने ठाउँको त जानकारी दिएर जा ।’ थेत्तरो म अझ कोट्याउँछु उसलाई ।
‘समयले जता डोर्याउँछ उतै । हिँड जाने बेलामा एकपल्ट भाउजूलाई पनि भेट, केटाकेटीलाई पनि हेरेर जा, फेरि भेट हुने हो कि होइन ।’ तरक्क आँसु झार्छ ऊ ।
‘यति ठूलो निर्णय गर्नुअघि एकपल्ट मसँग त सल्लाह लिन्थिस्, म तेरो दुःखको साथी होइन ?’
‘मेरो ब्रेनले काम गरेन र मैले कसैसँग परामर्श लिन सकिनँ अनि मैले एकल निर्णय गरेँ गाउँ छाड्ने । सरी यार मलाई माफ गर !
‘अनि गाउँ छाड्नुपर्ने कारण ?’ मैले अझै खोतल्छु उसलाई ।
मौन रह्यो ऊ जवाफमा केही बोलेन ।
ऊसँगै म सामान राखिएको त्यही ठाउँमा पगेँ जहाँ बस कुरेर सौगात अञ्जली र भाउजू बस्नुभएको छ ।
‘भाउजू ! अनि कहाँ जाँदै हुनुहुन्छ ? यो केही बोल्दैन ।’ अविनाशले आफ्नो गन्तव्य स्पष्ट नगरेपछि म भाउजूसँग सोध्छु । अविनाशझैं उदास र विक्षिप्त देख्छु उहाँको अनुहार ।
‘बाबु ! तपाईलाई किन ढाँट्नू ? मेरो माइती सिमरा जाँदैछौं । अझै त्यहाँ बस्ने हो भने कि त उहाँ बहुलाउनु हुन्छ, कि त आत्महत्या गर्नुहुन्छ । आखिर त्यहाँ पनि के थियो र बाबु ! यतिका वर्ष डाक्टर भएर बसे पनि एउटा घर बनाएर बस्न सकेका थिएनौ ।’ एउटा गह्रुँगो पीडा थियो भाउजूको शब्दमा ।
‘अनि त्यहाँ क्लिनिक चल्छ । ‘ म फेरि सोध्छु ।
‘चल्ला, चलेन भने फेरि अर्को ठाउँ छँदै छ नि ! फेरि यो यात्रालाई निरन्तरता दिउँला । त्यहाँ पनि के चलेको थियो र तँलाईं थाहा छँदैछ नि ।’ अनुराग थप्छ ।
‘ आफू जन्मेको हुर्केको गाउँ नै छा्रडनु पर्ने कारणचाहिँ के पर्यो अविनाश ! मलाई भन्न मिल्दैन ?’ ऊ नपग्लिएपछि फेरि आग्रह गर्छु म उसलाई ।
‘फिस त परै जावोस् केटाकेटीले निल्न सक्दैनन् भनेर सिटामोल कुटेर ग्लूकोजसँग मिसाएर ख्वाउने एक सुकाको डाक्टरले एकलाख चन्दा कहाँबाट दिनू ? सँधैको टर्चर सहन सकिनँ, त्यसैले अलविदा गरेँ गाउँलाई ।’ ऊ एक्कासी भक्कानियो ।
उसको जवाफले स्तब्ध हुन्छु म ।
‘ल गाडी पनि आयो सम्झँदै गर यार ! व्यवस्थित भउँभने कन्ट्याक्ट गरुँला, नत्र फेरि भेट होला, कतै-कुनै यस्तै मोडमा । भेट भएन भने पनि एउटा साथी थियो भनेर सम्झनू ।’ हतारिन्छ ऊ ।
गाडी आउँछ । ऊ सामान लाद्ने उपक्रममा छ । कुल्लीहरु हतारिएका छन् । भाउजूसँगै केटाकेटीहरू हतारिएका छन् । म ऊसमीप शव्दहीन उभिन्छु, उभिरहन्छु । ऊ नहिडुन्जेल, ऊ चढेको गाडी नअस्ताउन्जेल । र, हल्लाउँछु ऊसँग बिदाइका हात ।
शुभयात्रा -अविनाश !शुभयात्रा !!
2008
(स्रोत : Nepal.hk)