~रामनाथ खनाल~
‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।
थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराईसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।
सुरु सुरुमा त उसलाई यो वेश्वादे रक्सीको झोल देखि वाक्क लाग्थ्यो । तर हिजोआज यो उसको दिन कटाउने माध्यम नै बनेको छ । जीवनको एक अभिन्न साहारा । आल्मारीमा सजाईएका विभिन्न ब्राण्डका ह्विस्की, वाइनहरु यसरी नै जिन्दगीको सहारा बन्छन् भन्ने उसले सायदै सोचेकी थिई । नशाको झोलमा तैरिएर जिन्दगी बाँच्नु पर्छ भन्ने उसलाई के थाहा ?
‘पतझड जीवनमा ऊ किन वसन्तको बहार बनेर आयो र शिशिरयाम नलाग्दै नंग्याएर गयो ?’ उसले यस्तै सोची । र पुनः नशामा हराई । ह्विस्कीको नशाले उसको रक्त प्रवाहलाई खल्लबल्याई दियो । भावना ऊ यसरी बलीरहेकी छे मानौँ, उसको नशा नशामा अग्नीज्वाला दन्किरहेको छ । टेवल अघिल्तिर उभ्याइएको ह्विस्किको नशारुपी पानीले उसको क्रोधाग्नी निभाउन सकेको छैन ।
‘तिमीले जुन सपना देखाएर मलाई तिम्रो मन मझेरीमा भित्र्यायौ, त्यसबाट किन तिमी अनयासै विमुख भयौ ?’ उसले उसलाई प्रश्न गरी । उसको प्रश्न केही भित्तामा ठोकिएर उ भएतिरै फर्कियो र केही रातको सन्नटालाई चिर्दै पर पुग्यो । उसले पुनः प्रश्न गरी– तिम्रो र मेरो दुवै परिवारलाई हाम्रो प्रेमको दोषी करार गरेर भावावेशमा निर्णय गर्दै मझदारबाट मलाई किन आफ्नो जीवनमा लग्यौ ? तिमी यति चाँडै मलाई चटक्क विर्सिएर आफ्नो दुनियाँमा हराउन सक्छौ ?
यतिञ्जेल उसका आँखामा उर्लिएको उप्रतिको रुमानी प्रेम गालाभरी पोखिईसकेका थिए । घरका भित्ताबाट परावर्तित भएर आएको डिम लाईटको मधुर प्रकाशको दोछायाँमा ऊ विल्कुल हराइरहेकी छे । केवल रातको मध्यप्रहर र शुन्यतालाई चिर्दै टिक टिक बजिरहेको घडी साक्षी बनेर भित्तामा ठडिइरहेको छ ।
रक्सीको नशाले मान्छेलाई पागल बनाउँछ या रक्सीको सहारामा मान्छे पागल बन्छ ? मुक दर्शक बनेको रातले उसको चर्तिकलाबाट सायद यस्तै सोचेको हुनुपर्दछ ।
कल्पना र भावनामा बहकिँदा बहकिँदै कतिखेर उसले टेवल अगाडि उभिएको बोतल रित्याईसकिछे उसलाई पत्तै हुँदैन । रातको मध्यता, शुन्यता र निस्तव्धतालाई चिर्दै एकनास बहिरहेको चिसो सिरेटोले उसलाई पुनः विथोलिदियो ।
उसलाई रिमेशको याद अझै गाढा बन्न थाल्यो । हृदयको अन्तष्करणबाटै उसको सम्झना अझै स्पातिलो बन्यो र आँखाबाट उसको माया अझै तरल बनेर अविरल चुहिन थाल्यो ।
रिमेश तिमी यति निर्दयी र क्रुर बन्न सक्छौ भनेर म कसरी कल्पना गर्न सक्थेँ ? मैले त मेरो जीवनका सम्पूर्ण बाटाहरु बन्द गरिदिएर तिम्रै बाटोमा पूर्णतः समाहित भएको थिएँ । थाहा थिएन तिमी अचानक मलाई यसरी एक्लै छोडेर वेपत्ता हुन्छौ भनेर ।
आज तिमीले मलाई छाडेर विदेशीएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । त्यसबिचमा मैैले व्यहोरेको तिम्रो अभाव तिमीलाई अनुमान सम्म पनि गर्न गाह्रो पर्दछ । एउटी विवाहिता महिलाका लागि उसको सवथोकनै श्रीमान् हो । यसकारण म तिम्रो अभावमा हरपल तड्पिएर बाँच्न विवश भएँ । तर तिमीले मलाई कहिल्यै बुझेनौ या बुझ्न आवश्यक नै ठानेनौ ।
तिम्रो सोचाईमा त म सोकेशमा सजाइएकी परिजस्ती भएँ, जो तिम्रो इच्छामा बाँच्न र हाँस्न सकोस् । तिम्रो व्यहारले यस्तै भन्छ । तिमी विदेशीए पछि पत्येक पल म तिम्रो वियोगमै यसैगरी छटपटिएँ । तड्पिएँ । म कसलाई सुनाउँन सक्थेँ मेरा यी पीडाहरु ।
तिम्रो वियोगका कारण मनका व्यथाहरु निको पार्न कहिले रक्सीको सहारा लिएँ । कहिले आफूलाई आँसुको भेल बनेर बगाएँ । बरु आँखाको आँसु रित्तियो तर मनमा झन् ठुलो दुःखको घाऊ बन्दै गयो । जुन तिम्रो सहानुभुतीले मात्र कहाँ निको हुन्छ र ?
अव म पुरापुर रित्तिइसकेको छु । आफूलाई भुलाउने र मन बहालाउने बाहाना पनि छैन म सँग । जिन्दगीमा जसको साथ लागेर जीवन विताउने निधो गरेकी थिएँ र जसलाई सवथोक ठानेकी थिएँ उसैले वास्ता गर्दैन र ख्याल गर्दैन भने आफूलाई के भनेर चित्त बुझाउन सक्छु ? त्यसैले तिम्रो वियोगमा तड्पिएर जुन हेर्दै रात कटाउने र भित्तामा झुण्ड्याइएको घडीको सेकेण्ड, मिनेट एवम् घण्टा हुँदै अघि बढ्ने लामो समयको प्रतिक्षा गर्ने धैर्यता छैन ममा ।
तिमीलाई मैले भनेको थिएँ– ‘रिमेश तिमी विदेश जाँदै नजाऊ, विदेश गएर तिमीले कमाउने पैसा तिमी र म दुवै यहीँ बसेर कमाउन सक्छौँ ।’ तर तिमीले मेरो कुरालाई सुन्न आवश्यक नै ठानेनौ ।
म अनुमान गर्न सक्छु की तिमी द्रव्य मोहमा यति विघ्न हठी भएका थियौ, त्यती वेला मेरो मायाले तिमीलाई केही प्रभाव पार्न सकेको थिएन । अन्ततः म आँखाभरी आँसुको भेल बगाएरै तिमीलाई विदेश पठाउन बाध्य भएकी थिएँ । विदेशीनु तिम्रो रहर थियो या वाध्यता त्यो त म कसरी जान्न सक्छु र रिमेश ?
आफ्नो बारेमा कहिल्यै केही नभन्ने र अर्काको बारेमा धुतेरै भए पनि जानी छाड्ने तिम्रो अन्र्तमुखी स्वभावसँग म थोरै त परिचित थिएँ तर तिम्रो अन्र्तमन नै पढ्ने सामथ्र्य त कहाँ थियो र ममा ?
कलेज पढ्दा या कतै घुम्न जाँदा तिमी आफ्नो बारेमा थोरै भन्ने र अर्काको बारेमा धेरे बुझ्ने कोसिस गथ्र्यौ । त्यसैले मैले तिम्रो बानीसँग घुलमिल नै हुन सकिँन । हाम्रो रुमानी प्रेमताका तिमी औसत प्रेमी झैँ मलाई सपनाको संसारमा बहकाउने पनि गर्दैनथ्यौ ।
मलाई अझै सम्झना छ, तिमीमा धेरै महत्वाकांक्षा चाँही पक्कै थियो । त्यो कुरा तिमीले मनले ढाँटे पनि आँखाले छरपष्ट पारिदिन्थ्यो । तिम्रो स्वप्निलहरु आँखा मेरो प्रेमको गहिराई नियाल्न भन्दा आफ्नो महत्वाकांक्षाको उचाई नाप्न तल्लिन हुन्थ्यो । त्यो कुरा तिम्रो र मेरो एकान्त बसाईमा तिमीले लुकाउँदा लुकाउँदै पनि नफुत्किएको कहाँ हो र ?
हो रिमेश, आफ्नो सपना पुरा गर्न अरुको स्वार्थका ख्याल गर्नुपर्दछ अरुको भावनालाई नजरअन्दाज गर्ने होइन पढ्ने र बुझ्ने कोशिस गर्नुपर्दछ । घरमा अंगालो भरिकी श्रीमती चटक्क छोडेर विदेशीँदा तिमीले आफ्नो शंकालू स्वभाव पनि यहीँ तिलाञ्जली दिन सक्नु पर्दथ्यो । आफ्नो चाहना पुरा गर्न केही कसर बाँकी नराख्ने तिमीले आफ्नी श्रीमतीको अतृप्त चाहना आँखा र मन दुवैले पढ्न सक्नु पर्दथ्यो ।
नविदेशिनु पर्ने तिमी विदेशियौ । त्यसमा मैले गुनासो गर्न छाडिसकेको थिएँ । ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ भन्ने आहान झैँ तिमीले विदेशमा पनि राम्रो गर्न सकेनौँ । या गरेर पनि भनेनौँ । तर मैले तिमीजस्तै आफूलाई शंकालू बनाइन । किनकी म तिमीप्रति समर्पित थिएँ । तिमीले कुनै महिना पैसा नपठाउँदा पनि मैले आफूलाई कमजोर बनाइन किन भने त्यहाँ तिमी मलाई कमजोर होइन समृद्ध बनाउन गएका थियौ सायद । अभावमा निखारिन र रित्तिएर पनि समृद्ध बन्न सिक्न तिम्रै आनीबानी पर्याप्त थियो ।
तिम्रो इच्छामा चल्दा एउटा संसार मैले गुमाईसकेको थिएँ । आफ्नो आमाबाबुको मन उजाड पारेर तिम्रो साथ लागेकी थिएँ म । त्यसकारण तिम्रै चाहना मुताविकै चल्नु मेरो निर्मम बाध्यता थियो । र त म निसन्देश चलेँ । तर विगत एक वर्ष देखि तिमी निर्मम फेरीयौ । त्यहाँ पैसा फल्ने कुनै बोट हुँदैन । छैन । तर पनि दुई/तीन महिनामा मलाई पुग्ने पैसा पठाउन पनि तिमीलाई अल्छि लाग्न थाल्यो ।
पुरुषहरु उस्तै हुन्छन् भनेर म तिमीलाई दोषी करार गर्न र औसत गाली गर्न पनि म चाहन्न । तिमी त्यहाँ के गरिरहेका छौ, स्काइप, भाइवर, फेसवुक सवै बन्द गरेर कुन दुनियाँमा हराएका छौ, या उतैतिर नयाँ घर बसाल्यौ कि भन्ने कौतुहलता मेरो मनमा पनि पैदा हुन्थ्यो । तर पनि मैले तिमीलाई कहिल्यै व्यक्त गरिनँ ।
अव मलाई तिम्रो बारेमा धेरै चिन्ता छैन । तिमीले पठाउने महिना दिन पनि नपुग्ने पैसाको फाँडबारी, कोहीसँग लागिकी या कतै सल्किकी भन्ने तिम्रो अतिरिक्त शंकाबाट म आफूलाई झनै कमजोर बनाउनु छैन । वेलाबखत फोन गरेर अमुहुर्त हिसावले लगाउने लान्छानाको भागिदार आफूलाई कतिञ्जेल बनाऊँ ।
रुप र वासनाले भरिपूर्ण एउटी श्रीमती एक्लै छोडेर बाहिरिने तिमी पुरुषले सोच्नु पथ्र्यो कि तिम्रो जस्तै मन, चाहना र बासना भएकी श्रीमतीलाई आफूबाट पर राखेर म यहाँ आएको छु । तिमीले मेरो चरित्रमाथी प्रश्न प्रतिप्रश्न गरिहँदा अव म तिम्रोपुरुषत्वको बारेमा किन प्रश्न नउठाउने ? मलाई विश्वास छ, तिमीले त्यहाँ मेरो अभावलाई अन्य कुनै हिसावले पूर्ती गरिरहेका छौ । त्यसकारण तिमीलाई मेरो सम्झना कहिल्यै आउँदैन ।
अव मैले आफूलाई तिम्रो अभावमा यसैगरी कमजोर बनाइरहनु भन्दा अगामी यात्रा आफैँ तय गर्नु श्रेयस्कर हुन्छ । तिम्रो प्रतिक्षा गर्नु मेरा लागि निक्कै ढिला हुनेछ ।
मलाई माफ गर रिमेश संसार यस्तै हो । समय तिमीले र मैले चाहे अनुसार मात्रै कहाँ चल्दो रहेछ र ? तिमीले जहाँ छाड्यौ त्यही रहेर तिम्रो प्रतिक्षामा आँखा लोलाउँदै सोकेशकी परी जस्तो कैदी जीवन यापन गर्ने धैर्यता अव ममा रहेन । त्यसैले मैले मेरो बाटो रोजेँ । हिँडे । जीवनका शितयाम मैले तिम्रो न्यानो अंगालोको अभावमा विताएँ । मलाई विश्वास थियो शिशिरको तुषारो फाटे पछि बसन्त आउँथ्यो । आयो । अस्तु ।
(स्रोत : Nepalpati)