~अजम्वरध्वज खाती~
दुष्ट भाषा
क्लिष्ट भाषा,
अश्लिल भाषा भाषाहरू
कपट दिलका भाषाहरू,
जहर हुन् यी जहर बोल्छन्
व्यभिचारी हुन्छन् बोलीहरू।
(१)
यी भाषाहरूमा
अनुहारहरू लुकाइएका हुन्छन्
बोलीहरू चपाइएका हुन्छन्
ढाँटेर आफ्नै मुटुलाई
कुराहरू देखाइएका हुन्छन्
अनौठा बोल्छन् अनौठा
विषय छल, प्रपञ्च
भाषा नागवेली हिंड्छन्
यी त्यस्ता गोहीहरू हुन्
आँखाबाट आँसु झार्छन् मन पगालेर
नहुनु हुन्छन्,
नगर्नु गर्छन्।
(२)
किन बोल्छन् मान्छेहरू यस्तो भाषा,
किन रून्छन् यस्तो आँसु
किनभने अझै बाँकी छ
फेरि पनि भ्रम छरेर बिग्रेको बुद्धि उमार्न
त्यही बिग्रेको बुद्धिमा
शेष बिताउन
अन्धेर मचाउन
उल्लु राज गर्न।
(३)
यस्ता भाषाहरूमा कुरा मात्र होइन
कथा लेखिन्छन्
आत्मकथा लेखिन्छन्,
कविता लेखिन्छन्,
प्रबन्ध लेखिन्छन्,
यस्ता भाषाहरूमा लेखिएका ग्रन्थ भेटिन्छन्
पुराण पढिन्छन्, सप्ताह ठानिन्छन्
क्रिया, अन्तर्क्रिया, गोष्ठी र भाषण त के गिन्ती
अनगिन्ती,
यी सबै रचिन्छन् भ्रम जाल
एकथरी मान्छे हुन्छन्
यसरी बाँच्न आफूलाई रूचाउँछन्।
(४)
अचार हो उनीहरूलाई उनीहरूको व्यभिचार
सधै सधै यसैसित खान्छन् गास दुईचार
मिठो हुन्छ रे स्वाद
सर्प हुन् यिनीहरू आफ्नो खुट्टा आफै देख्छन्
अजिंगर हुन्
आहारा भगवानले दिन्छन्
(तब त छन् अझै पनि यी अनौठाहरू)
आफ्नै स्वास्नीलाई
सती साध्वी पनि बनाउँछन् सीता जस्ती
व्यभिचारिणी पनि बनाउँछन्
नाक काटिएकी सुर्पणखाँ जस्ती
स्वार्थ हो स्वार्थ
यसैमा छ भन्छन् परमार्थ
न ऋण सित लाज, न घीनसित शर्म
अनौठा धर्म छ !
अनौठा कर्म छ !
यी निर्घिणी
पाप दुहेर खानेहरूको।
(५)
फेरि पनि किन यी निर्घिणीलाई
सज्जन हुन मन लाग्दो हो
सप्ताह, पुराण र यज्ञहरू सत धर्मात्मा हुन मन लाग्दो हो
एक थोप्ला चन्दन र दुई पैसा दक्षिणा बाँडेर
आफूलाई के बनाउन मन लाग्दो हो?
किनभने
बकुल्ला ध्यान
बकुल्लाको माछा खाने पत्यारिलो धन्दा हो
माछो मार्ने कला हो
बिरालोले क48ठी लाएर साधु बनेको
मुसा खान फरक नपर्ने उपाय हो
भगवान ठान यी बाचाल
यी सबै कुचाल हो कुचाल
कुचालको महाजाल
हेर आज खुलामञ्चमा
भन्दैछ देशलाई –गुहार ! गुहार !
जोगाऊ ! जोगाऊ ! हे कुखुरा जोगाऊ
आउँदैछ कुखुराको काल….,
परबाट स्याल…,
आफै स्याल, कुखुराको काल।
२०६६ पौष २३, बुटवल
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २८ – २०६७ जेष्ठ १९ गते, बुधबार)