~कुलचन्द्र वाग्ले~
मेरो गाउँ
जसले सहरमा हिँड्न सिकायो,
जो स्वयं हिँड्न सक्थेन
लडीबुडी खेलाउँदै
उसले मलाई हिँड्न सिकायो,
तातेताते गर्दै उभिन लगायो
दरो खुट्टा टेक्न सिकायो,
बर्खामा हिलो
हिउँदमा धेरै बेर कुहिरोको चिसो ओढ्ने
गर्मीको तातोमा फुस्रोधुस्रो तर
बर्खादेखि हिउँदसम्म हरियो फाँट
चारैतिर हरिया पहाडको
चौघेराभित्र बन्दीजस्तै,
धर्तीको नितम्बभेदी
बगेका खोला, खोल्सी र मादी नदी
धेरै परिवर्तन भोगेर पनि
फेरि उस्तै उस्तै
मेरो गाउँ,
आफू नहिँडेर पनि मलाई हिँड्न सिकायो
सधैँ आफ्नै रंगमा नरंगा
न रंगको हो वा
कसैले रंगाउनु पर्दैन भन्यो कि
कि भन्यो आफ्नै रंगमा छु
मेरा गाउँ नरंगा,
जो स्वयं बोल्न जानेन तर
उसले मलाई बोल्न सिकायो
आफ्नो आवाज सापटी दिएर
मेरा गाउँ,
हो, उसले नै मलाई धेरै सिकायो
हाँसो बुझायो
दुःख-सुख नजिकैबाट पढायो
हिँड्न लगायो र दगुर्न पनि सिकायो
ऊ भने त्यही, उस्तै उस्तै ।
प्रकाशित: कार्तिक २३, २०७१
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )