कविता : नमूना

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

पछुतो भुलेर
प्रहर काटेकैले
बेदना बिर्सेर
बिन्दास बाँचेकैले
सबै माझ-
नमूना बन्छन् परेवा
प्रशंसा गन्छन् परेवा।
**
जिन्दगी विधामा
नौरस नापेकैले
हर रात, बिहानी
ममता साँटेकैले
सबै माझ-
गन्तव्य बन्छन् परेवा
नजर रोक्छन् परेवा।
**
अमर त्यो जोडीको
वैशिष्ट्य भरेकैले
फक्रँदो यौवनको
कान्ति त्यो छरेकैले
सबै माझ-
नमूना बन्छन् परेवा
कामना शान्तिको गर्छन् परेवा।
**
रीस त्यो रोकेर
रसमा नाचेकैले
ईर्ष्या त्यो छोपेर
सौम्यता साँटेकैले
सबै माझ-
मायामा छाउँछन् परेवा
मृदु गीत गाउँछन् परेवा।
**
कुटिल संसारमा
सौहार्द सोचेकैले
द्वेषभाव नखोपी
मित्रता रोपेकैले
सबै माझ-
उपमा छाउँछन् परेवा
शान्ति-गीत गाउँछन् परेवा।

March 22nd, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.