निबन्ध : जय नेपाल

~प्रकाश आस्था~

आमा जस्तै हो देश। देशको हालत जति नै खराव भए पनि देशलाई दुत्कार्न सकिँदैन। देशको नाम बारम्बार सम्झना हुने र साथीभाई माझ नयाँ अनुभुति पनि हुने आशयले पछिल्लो समयमा भेट र विदाईमा मैले ‘जय नेपाल’को अभिवादन प्रयोग गर्न थालेँ। यद्यपि, धेरैले जानेको कुरो हो, अभिवादनको पुरानो नेपाली सैली हो ‘जय नेपाल’। जीवनमा कुनै समय यस्तो पनि लाग्थ्यो ‘जय नेपाल’ मात्र नेपाली काँग्रेस पार्टीको हो र यसको सम्वोधन गर्दा समेत ‘नर्क’मा झरिन्छ। चरम राजनैतिक पुर्वाग्रह र अन्धताले ढाकेको ठिटौले समयमा त्यसो हुनु कुनै अनौठो पनि होइन रहेछ। हिजोको त्रुटि आज बोध हुँदैछ। अनि यतिखेर देशमा कतै ‘जय फलानो गौँडो राज्य र जय ढिस्कानो डाँडो राज्य’का आवाज आइरहेका बेला कताकता यो देशको मायाले गाँजेर या भावनामा बगेर साथीभाई माझ ‘जय नेपाल’ प्रिय बनेको छ। शव्दले मात्रै भएपनि देशको जय भन्न पाउँदा मलाई जुन गर्वानुभुति हुन्छ नि, त्यो कतिपयलाई चाहीँ पटक्क्कै नहुने रहेछ। कैयौँले ‘जय नेपाल’को अभिवादन काँग्रेसको पेवा नै हो भनेर बुझेका रहेछन्।

उसो त करिव एक महिना अघि मात्रै काँग्रेस सभापती गिरिजाप्रसाद कोइरालाले कार्यकर्तामाझ भने पनि ‘जय नेपाल काँग्रेसको पहिचान हो। नेता कार्यकर्ता भेटगाटमा यसले हामीलाई आत्मिय अनुभुती गराउँछ।’ उनले नराम्रो भनेनन्। आफ्ना कार्यकर्तामाझ जय नेपालको अभिवादन अझै विस्तार गरौँ भन्ने उनको कुरो सार्‍है राम्रो हो। तर के ‘जय नेपाल’ काँग्रसको मात्रै ब्रान्ड हो त? यसको ‘कपीराइट’ उसँग मात्रै छ? सोचौँ त एकछिन्। ख्याल गरौँ त विगत। सम्झौँ त शहिद। जन्मेको माटोको जय गाउन के खरावी? हाजिरीजवाफ प्रतियोगिताहरुमा आज पनि प्रश्न सोधिन्छ , ‘नेपाली इतिहासमा जय नेपाल शव्द पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन्?’ विद्यार्थीहरुलाई थाहा छ– शहिद शुक्रराज शास्त्री। त्यो अमर पुत्रको अमरवाणीलाई काँग्रसले श्रद्धाले प्रयोग गर्‍यो। यसमा के खराबी? काग्रेस बिग्रियो होला तर ‘जय नेपाल’ भित्रको भाव त उहि हो। काँग्रेसले जय नेपाल भजाएर खराब काम पनि गर्‍यो होला तर देश आफँैमा कहिले खराव छ? यो माटोमा जन्मेर यो माटोको प्रेमले ‘जय नेपाल’ भन्दा के खरावी? म काँग्रेसको कार्यकर्ता होइन। अन्य कसैको ‘लठ्ठु दास’ पनि होइन। म आम जनता हुँ। म मेरो देशको जय भन्छु।
तर नकारात्मक चिन्तनले ग्रस्त समाजमा हिजोको मेरो त्यही केटौले चिन्तन गाडिएर बसेको रहेछ। साथीहरुसँग ‘जय नेपाल’को अभिवादन गर्दा कतिले त मुखै पो लेप्य्राए। कतिले के पनि भने भने ‘ए भने पछि अब काँग्रेसमा छिरिएछ होइन, भो भो यो जय नेपाल शव्दै प्रयोग नगर्नुस्।’ गजव छ बा, देशको जय गाउँदा देशवासी मुन्टो बटार्छन्। देशको भलो होस् भनेर कामना गर्नुमा खरावी देख्छन्। यसरी ‘जय नेपाल’ भन्दा काँग्रेस बुझेर तर्कनेहरु प्राय बामपन्थी विचारका साथी छन्। तिनलाई म एकचोटी नेपाली कम्युनिष्ट इतिहासमा ‘जय नेपाल’को प्रयोग र प्रचलन नियाल्न आग्रह गर्छु।
शहिद शुक्रराज शास्त्रीले पहिलोपल्ट प्रयोग गरेको ‘जय नेपाल’ त्यसपछि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले प्रयोग गरे। ‘लेनिन जन्माउँछु’ भनेर हिँड्ने कवी गोपाल प्रसाद रिमालले पनि ‘जय नेपाल’लाई श्रद्धाका साथ अभिवादनका रुपमा प्रयोग गरे। आजको नेपाली काँग्रेस अथवा तत्कालीन राष्ट्रिय काँग्रेसले २००७ ताक यो शव्दलाई अभिवादनका रुपमा प्रचलनमा ल्यायो। पछि नेपाल प्रहरीमा पनि ‘जय नेपाल’ अभिवादनको प्रचलन शुरु भयो। त्यो आजसम्म कायम छ।

सिमानाको कारण देश हो तर सिमाना मात्रै होइन। न हो, छिमेकी विरुद्धको एकोहोरो आक्रोस। नेपालमा भारतविरुद्धको ‘सेन्टिमेन्ट’लाई कतिपयले राष्ट्रवादका रुपमा चित्रण गर्छन्। त्यो बेठिक हो। देश भावना हो। देश शहिद हो। आँशु र रोदनको गाथा देश हो। ज्यान फालेर नेपाली सेनाले खनेको जुम्ला खण्डको बाटो पनि देश हो अनि ‘जनमुक्ति सेना’ले कोपेका पैदलमार्ग पनि देश हुन्। भुगोल जत्तिकै नेपालीत्वको भावना महत्वपुर्ण हो देशका लागी। नत्र भने भगवान कोइरालाहरु धुलो र धुवाँको शहरमै रहेर नेपालीका मुटुका भल्वहरु किन फेरिरहेका हुन्थे? तिनलाई किन कोपनहेगन र क्यालिफोर्नियाका चिल्ला सडकमा तेलझैँ टल्कने गाडीहरु ले छुन्थेनन्? भगवान कोइरालाहरुले अवसर नपाएर यस्तो भएको हो? होइन। यसर्थ , देश भावना पनि हो। देश, हामीले बोल्ने भाषा हुन्। हाम्रा पहिचान र संवेदना हुन्। हाम्रो प्रार्थना र पुजा हो। देशको छोटकरी प्रार्थना हो ‘जय नेपाल’। हाम्रो राष्ट्रिय गानको अन्तमै छ, ‘जय जय नेपाल।’

देशकै निम्ति नालापानी र देउथलमा अन्न पानी नभनी लड्यो नेपाली जाती। दुर्गानन्द झा मारिन्छु भन्ने जान्दाजान्दै एकदलिय तानाशाहीमाथी जाइलागे। मरिदिए लखन थापा देश र स्वतन्त्रता भन्दै। तर पनि यहाँ न्याय र अन्याय छ, त्यो जहाँ सुकै हुन्छ। थोरै र धेरैको कुरा मात्रै हो। त्यसको जोड घटाउमा अन्तमा साँचो देश बाँकी रहन्छ। वीरविरंगना र वलिदानको योगले स्वतन्त्रता प्राप्ति भएको देश हो यो। भावना र भुगोलले नेपाल बनेको हो। तसर्थ भावना भन्नु पनि देश हो। ‘जय नेपाल’ भन्दाको जुन ओज हो, जुन उर्जामय उत्तेजना हो, त्यो अरु शव्द संयोजनमा विरलै छ। ‘जय नेपाल’मा सिंगो देश अटाउँछ।

लालसलामको अभिवादन पनि प्रिय छ। तर पनि लाल शव्द रगतसँग निकट छ। रगतले प्राय हिंसात्मक अवस्था या गतिविधीलाई इंगित गर्छ। अब घोषणा गरिनुपर्छ, ‘रगतको युग सकियो।’ आजको समय निर्माणको हो। हिजो ‘क्रान्ति’ सम्पन्न गरेर प्रतिस्पर्धात्मक राजनितीमा आइसकेका नेपाली कम्युनिष्टहरुकै लागी पनि अभिवादनका रुपमा लालसलाम, यसर्थ आज सान्दर्भिक छैन। क्रान्ति या जनआन्दोलनहरु खास विशेष परिस्थितीका उपज हुन्। सधैँ क्रान्ति लडिरहने पनि होइन। सधैँ लडिरहने हो भने नहरहरु कहिले खन्ने?

विद्युत गृहहरु कहिले बन्ने? विज्ञान प्रयोगशाला र विश्वविद्यालयहरु कहिले बन्ने? अबको युग विकाश र एकताको युग हो, हुनुपर्छ। अनि नयाँ युगको मादल घन्किरहेको यो प्रभातमा म देशको जय गाउँछु। प्रवासमा बस्नेहरुले त यो कुरोको झनै महसुस गर्लान्। विश्वकै कुनै पनि कुनामा पुगेको नेपालीलाई मैले भेटेँ भने त भनिहाल्नेछु , ‘जय नेपाल।’

September 18th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.