कविता : छाता कहिले फर्काउँछौ ?

~धानी गौतम~

सिमसिम भएर
मनसुन झरिरहेछ मेरो आँगनमा
गमलामा फुलेका थरीथरी फूलका बास्ना बिगार्दै
किन चोर्दै छन् इन्द्रले मेरो घरको सौन्दर्य ?

झ्याल नाघ्दै सिरानीसम्मै पसूँलाझैँ गरी
फैलिन खोज्दै छन् उनले बान्ता गरेका बाछिटाहरु
मलाई पनि किन मन पराइरहेको छैन मनसुनले ?

आँगनका सबै कुनामा
कति पनि रमाइलो नहुँदो हो
मानव निर्मित मूर्तिहरुलाई रुझ्न
किन चहियो र साउनको आशीर्वाद तिनलाई
औँसीको रात छ
चन्द्रमाको दर्शन कसरी गर्न सक्छ मेरो दलानले ?

आकाशलाई पनि
कपासका प्रहरीले घेरेका छन् निष्पट्ट कालो बनाएर
मात्र एक टुक्रा बासी सम्झना जमेको छ
केही दिनअघिदेखि मनको अन्तरकुनामा
जब गर्जेर बादल बर्सिन्छ
पुरानै सम्झना ताजा भएर आउँछ
मात्रै एउटा कुराको उत्तर देऊ-
मबाट तिमीले लगेको नयाँ छाता
भन, कहिले फर्काउँछौ ?

प्रकाशित: कार्तिक २३, २०७१

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.