~विजय महर्जन ‘श्रीजय’~
दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको एक एक जोर्नी दुखेको छ। एघार बजी सक्यो। आज शनिबार लुगा पनि धेरै नै धुनु छ। ह्या, हिजो राती चुरोटको बट्टा कहाँ राखे मैले। बिहान बेडमा एउटा सल्काउन पाएन भने त मलाई चित्त नै बुझ्दैन। अस्ती एकदिन चुरोट सकिएर पसल जान अल्छि लाग्यो है; अनी अर्को कोठाको उही औतारीसँग एउटा चुरोट माग्न गएको त “एकछिन भित्र नै बसौ न बहिनी” रे, त्यस्को नियत मैले नबुझ्ने जस्तो। पहिला बहीनी पछी के के। त्यही पनि त्योसँग त्यसको कोठामा सँगै बस्ने? दिनको पचास चोटी एउटै गीत बजाउँछ। भित्ता भरी शाहरुखको फोटो टाँसेको छ। आफूले आँफैलाई फेरी शाहरुख नै सम्झन्छ, पाखे!
हिजो राती जस्तो बबाल कहिले पनि भएको थिएन। बेलुकी छ बजे देखी ड्युटी सुरु गरेकी, राती खोइ कती बजे तिर घर आइपुगे। शिखरले बाइकमा पुर्याइदियो। शिखर ह्यान्ड्सम त छ। मलाई मन पनि पराउँछु भन्छ। तर मलाई बाल बतलब लाग्दैन। यस्ता केटाहरु धेरै देखिसकेकी छु। केटाहरुको फर्मुला एउटै एउटै हुन्छ। शिखर त्यो रेस्टुराँको पुरानो ग्राहक हो। मलाई पट्याउनको लागि “तिमी यहाँको सबभन्दा राम्री हौ, तिम्रो डान्स मलाई असाध्यै मनपर्छ, तिमी त हिरोनी भन्दा पनि राम्री, तिमीलाई बिहा गर्न पाए त मेरो भाग्य खुल्नेथियो।”, झ्याप भए पछी शिखरले सधैं यस्तै भन्छ। बाहिर भेट्यो भने नदेखेको झै गरेर तर्किने होला, इज्जतदार बाउको बिग्रेको छोरो। मलाई पैसाको लोभ लाग्दैन,सत्य! म धनी भएको भए कस्तो पैसा उडाउँथिए होला? एकचोटी के भयो भने मेरो डान्स सकिए पछी शिखरले मलाई उसको टेबलमा बोलाएर महँगो गिफ्ट दियो, त्यो पनि सुनको। मलाई फकाउन खोजेको थियो। मलाई लिन मन लागेन। अरुले दिएको भए भगवान कसम! त्यसैको मुखमा फ्याँकिदिन्थे। मलाई केटाहरुले दिएको टिप्स पनि लिन मन लाग्दैन। तिनिहरु यसरी नै पहिला चारा फ्याँक्छन् शिकारलाई।
अब उठेर फिका चिया बनाउँछु, अनी चुरोट र चिया पिउँछु। आज दिउँसो निशा आउँछे होली, पुरानो नाम चाँही निर्मला नाम फेरेर निशा। हाम्रो बिजनेशमा यस्तै हो। मसँग काम गर्ने केटीहरुमा निशा मात्र मेरो मिल्ने साथी हो। अरु सब कुकुर कुकुर्नीहरु, मलाई कोही मन पर्दैन। निशा पनि अली बढी उत्ताउली छे। तर त्यसको जिन्दगीको त्यही मालिक, मलाई बाल मतलब। “शर्ट-कट हिड्नु पर्छ बुझिस्? छिटो पैसा कमाउनु पर्छ, की त चोरी नै नगर्नु चोरे पछी अली धेरै चोर्नु”, भनेर सधैं मलाई भाषण छाँट्छे। अस्ती के भयो थाहा छ? त्यसले एउटा अली धनी नै माल फेला पारीछे। राती म नभएको बेला मेरो कोठामा पो ल्याइछे। राती मैले ढोका ढक्ढक्याउँदा बिचरोको सातो पुत्लो उडेछ। सुट लगाएको थियो, हेर्दा खेरी बिहे भइसकेको जस्तो देखिन्थ्यो। मलाई सबभन्दा बढी घीन यस्ता भलाद्मीरूपी भुसिया कुकुरहरु देखेर लाग्छ। बाहिर एउटा अनुहार भित्र अर्कै, पिचासहरु।
अस्ती भर्खर घरमा दश हजार रुपैया पठाएको, अहिले फेरी आमा बिरामी हुनु भयो रे। अर्को हप्ता आमा र बहिनी काठमाडौं आउने रे। हे भगवान! मैले के गर्ने होला? कोठाबाट बाहिर निस्कन हुँदैन, केटाहरु त के हजुरबाहरुले पनि गिद्धे नजरले हेर्छन्। झन घरको माथि माथिबाट जिब्रो पड्काएको सुन्दा त ढुङ्गा टिपेर हिर्काउन मन लाग्छ। यहाँ सरेको भर्खर तीन-चार महीना भएको छ, फेरी अर्को कोठामा सर्नु पर्ने भईसक्यो। ह्या, यस्तो कुरा सम्झदै गयो भने त झन मलाई अहिले नै मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। ह्या म पनि के भा, कहिले काही त आँफै देखेर पनि झोक चल्छ। मान्छेहरुको कुरा काट्ने बानी हुन्छ। मलाई जसले जे सुकै भनोस् म वास्ता गर्दिन। मेरो अगाडि बेइज्जत गर्न लाग्यो भने चाँही झगडा गर्छु। एकचोटी के भयो थाहा छ? एउटा केटाले रक्सीको नशामा मलाई जबर्जस्ती समाउन खोजेको थियो, सालेलाई हिर्काइदिए। यती जोडसँग आवाज आयो कि एकैचोटी होशमा आयो त्यो। सोझी भएको भए त के पो गर्थ्यो होला त्यसले? अरु केटीहरुले मेरो पछाडि म साँडी छु भनेर कुरा काट्छन् रे, जसलाई जे मनलाग्छ भनोस्। मलाई डर नै नलाग्ने चाँही होइन। म सानी हुँदा निकै डरछेरुवाइ थिएँ। अहिले पनि साङ्ला र सर्प देख्यो भने कस्तो डर लाग्छ।
मलाई धेरै टेन्सन लिन मन लाग्दैन। झन शनिबारको दिन बिहान देखी नै कसले टेन्सन लिओस्। तर कहिले काही दिमागमा धेरै कुरा खेल्छ। आमाले मेरो सार्है पिर लिनुहुन्छ त्यसैले बि.ए. पढ्दै छु भनेर भनेकी छु। जहिले पनि यो गर त्यो नगर, त्यो नखा, त्यँहा नजा, यस्तो लुगा नलगा, त्योसँग नहिड, आमा जहिले पनि यस्तै भन्नुहुन्थ्यो। मलाई झ्याउ लाग्थ्यो आमाको कुराले। खुला भएर हिड्न पाउने कहिले होला, काठमाडौं कस्तो होला जस्तो लाग्थ्यो। सत्र बर्षको उमेरमा एस्.एल.सि. दिएर काठमाडौं हिंडेकी थिए। त्यतिबेला नै घरमा बिहेको कुरा चलेको थियो, अहिले कुन चाहीको सेवा गरिरहेकी हुन्थिए होला। टिभीमा देखेको राम्रो राम्रो कुरा लगाउन मनलाग्छ। मेरो सपना भनेको फिलिममा खेल्ने हो। टिभी हेरेर नै डान्स सिक्छु। मलाई सबभन्दा बढी बहिनिको माया लाग्छ। मेरो बहिनिलाई म धेरै पढाउँछु। आमासँग काठमाडौं आएको बेला त्यसलाई धेरै घुमाउँछु। तर धेरै चकचक गरेर त्यसले मेरो दिमाग चाट्छे।
पर्दा खोल्नु पर्यो। ओहो अहिले झ्यालबाट स्वयम्भु प्रस्ट देखिएको छ। हिंडेर यहाँबाट आधा घण्टा पनि छैन, तर म धेरै जाँदिन। मलाई मन्दिर सन्दिर जान त्यती जाँगर आउँदैन। अस्तिनै सरस्वती पूजामा गएकी थिएँ। मानिसहरुको भिड थियो। ए त्यो दिन शोभा दिदी भेट भएको थियो। कस्तो राम्रो राम्रो कुरा गर्ने शोभा दिदीले। मैले धेरै कुरा थाहा पाँए त्यो दिन, दिदी एउटा पत्रीकामा काम गर्नु हुन्छ रे। देश बिदेशको, राजनीतिको कुन्नी के के ठूला-ठूला समाचार सुनाउनु भयो। यस्तो कुराहरु म पटक्कै बुझ्दिन, झन राजनीतिको त ‘र’ पनि बुझ्दिन। आईमाई मान्छेहरुले कसरी राजनीति खेल्छन् होला? “बहिनी यस्तो काममा इज्जत हुँदैन, अर्को काम खोज, क्याम्पस भर्ना होउ, कुनै शिप सिक, अझ पनि ढिलो भएको छैन, शिर ठाडो गरेर बाँच्नुपर्छ।”, शोभा दिदीले भनेको कुराहरुले खोइ किन हो मलाई कस्तो कस्तो बनायो। मोबाईल नम्बर पनि दिएकी छिन्, तर आज सम्म मैले फोन गरेको छैन।
सबै मान्छे शोभा दिदी जस्ता कहाँ हुन्छन् र? मैले त झन यस्ता यस्ता मान्छे भेटेकी छु कि कुरै नगरौ। मैले डान्स गर्ने रेस्टुराँमा धेरै भि.आइ. पि. भनाउँदाहरु पनि देखे, राम्री केटी देखे पछी कुकुरले जस्तो र्-याल काढ्ने, रक्सी पिए पछी सुङुरले जस्तो गती छाड्ने। अझ हामीलाई त उनिहरुको ईशारामा नाच्ने कठपुतली जस्तो सोच्ने। अनी बाहिर चाँही उनिहरु इज्जतदार रे हामी इज्जत नभएका रे। जसले अरुको इज्जत लुट्दै हिड्छ उही इज्जतको धनी, धन भए पछी चोरको पनि इज्जत बढी, मैले सम्पत्ती कमाए पछी मेरो पनि इज्जतको मिटर चड्छ। कतिले त मोबाईलमा फोन गरेर सुत्न समेत दिदैनन्। आमा कसम! यस्तो कुरा सोच्यो भने मेरो कन्सिरी तातिन्छ। धेरै चोटि नराम्रो घटना घटिसक्यो, झगडा त कती कती। यो भन्दा अगाडि बसेको घरमा त घरबेटीसँग नै झगडा गरेर निस्कनु पर्यो। “सधैं राती राती ढिलो आउछेस् तेरो चाला के हो?” भनेर एकदिन झगडा गर्न सुरु गरिन् है; मेरो पालो, “आफ्नो बुढा र छोरो राती राती कहाँ गएर ढिलो फर्किन्छ कहिल्यै चासो लिएकी छौ?” भनेर मुख फर्काएँ। पुलिस नै बोलाउँछु भनेर समेत धम्की दिइन्। धेरै चोटि यो काम छोड्छु भनेर सोचेकी थिएँ तर के गर्ने पैसा नभै जिन्दगी नचल्ने रहेछ। बिस्तारै बानी पर्दै जाने रहेछ, अहिले जसले जे सुकै कुरा काटोस् मेरो रौ पनि हल्लिदैन।
शनिबार जहिले पनि यस्तै हुन्छ मलाई। ह्याङओभर हुन्छ अनी के के कुरा सम्झिएर खल्लो लाग्दै जान्छ। पहिले काठमाडौं आएको बेला त एक्लै खूब रोएँ पनि। अहिले आफूलाई सम्हाल्न सक्ने भएकी छु। धेरै सोचेर मात्र के गर्नु? हुने चाँही केही होइन। रातभरी चन्द्रमामा घुमेको सपना देखे पनि बिहान उठ्दा आफ्नै खाटमा। भात आफै पाक्दैन क्यारे, कोठा सफा गर्नै पर्यो, लुगा धुनै पर्यो। हत्तेरी, निशे पनि आउने बेला भयो। फेरी बेलुकी ड्युटीमा जानु नै पर्यो।
May 30th, 2009
जय, सिड्नी (अष्ट्रेलिया)
(यस कथामा प्रयोग भएका शब्दहरु कसैलाई असभ्य लागेमा क्षमाप्राथी छु।)
(स्रोत : Mysansar.com)