~प्रेम वली~
एक दिन मेरो बिल्ली
सुटुक्क पुगेछ दिल्ली
कसैले बनाएछन् उसलाई
उल्लीबिल्ली
कसैले बनाएछन् सिल्ली
तर ऊ अझै ठान्दैन
कसैले उडाएको छ
उसको खिल्ली ।
बिरालोको चालमा गए पनि
बाघ भई फर्किन्छ
के शक्ति पाउँछ उता
यता मेघझैँ गर्जिन्छ
सानै दिल्लीलाई भेटे पनि
ठूलै डिङ हाँक्या छ
के शक्ति लिएछ
सरकारै ढाल्न आँक्या छ
यहाँको बिल्ली मेरो
उता गएपछि
खै कसरी
दिल्लीको कुत्ता बन्छ
यहाँ हुन्न हुन्न भने पनि
त्यहाँ जे पनि हुन्छ भन्छ
मलाई जति ढाँटे पनि
त्यहाँ सत्य कुरा फलाक्छ
कसरी भन्ने मेरो बिल्ली
दिल्लीभन्दा चलाख छ ।
मसँग हुँदा
दिल्लीलाई नानाथरीका
गालीगलौज पोख्दछ
दिल्ली पुगेपछि
मातापितालाई झै
घप्लक्क चरणमा ढोक्दछ
कुन बिरालोले मुसा मार्छ
दिल्लीले एक एक जोख्दछ
त्यसैले
कहिले यो बिरालो
कहिले त्यो बिरालो
काखीमा च्यापी बोक्दछ
अगाडि दूध देखाइ बिल्लीलाई
मजाले पछिबाट लात्तले ठोख्दछ
बिचरा बिल्लीलाई के थाहा
यो मामलामा
दिल्ली कति पोख्तछ ।
(स्रोत : श्री रुपरेखा)