पुस्तक समीक्षा : ‘राधापुराण’

~ध्रुव पन्थी~Dhruba Panthi

‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ पनि एक-दुई अंक रेडियो वाचनमा सुन्ने मौका मिल्यो, शायद हेटौंडा एफएम मार्फत् हुनुपर्छ हेटौंडामा हुँदा। रेडियो वाचनमा सुनेजतिका अंश निकै रमाइला लागेकाले र पत्रपत्रिकामा पनि राधाको धेरै चर्चा भएकाले ‘राधा’ पढिछाड्ने रहर उम्रिएको थियो। रहर गरे अनुसारकै सन्तुष्टी मिल्यो केही समय अगाडि धरावासीको यो उपन्यास पढिसकेपछि।

धरावासीकै शब्दमा ‘राधा’ एउटा आधुनिक पुराण हो। प्रेमकी प्रतिकका रुपमा पुजिँदै आएकी भए पनि पुराणहरुमा बालचरित्रमा सिमित राखी ओझेलमा पारिएकी पात्र राधालाई नै प्रमुख पात्र बनाउँदै पुराणका देवतालाई सामान्य मान्छेका चरित्रमा ढालेर बुनिएको छ यो आधुनिक पुराणको कथावस्तु। स्वभाविक रुपमा समग्र कथावस्तुमा खासै नवीनता छैन, तर प्रस्तुतीको नवीनताले उपन्यासलाई रोचक बनाएको छ। फेरि हाम्रा पुराणका कथाहरु इतिहासको कुनै कालखण्डमा घटित घटनाका वर्णनहरु नै हुन्, खालि तिनमा पछि देव र दानवका कुरा, माया र तिलस्मका कुराहरु थपथाप पारिएका हुन् पनि भनिन्छ। यदि त्यस्तो हो भने धरावासीको यो उपन्यास पो यथार्थको बढी नजिक हुन के बेर!book cover_radha

उपन्यासको भूमिका पढ्दापढ्दै दिमाग रन्थनिन्छ एकपटक। वास्तविक जीवनका पात्र राखेर वास्तविक जस्तो लाग्ने घटनाको वर्णन गर्दै जाँदा कहाँनेरबाट उपन्यासकारको कल्पनाशीलताले स्वच्छन्द उडान भर्न थाल्छ र उपन्यासको पृष्ठभूमि तयार हुन्छ, त्यसको भेउ पाउन गाह्रो पर्छ। झापाको कीचकवधमा भैरहेको पुरातात्त्विक उत्खननको प्रसंगलाई जोड्दै सोही उत्खननका क्रममा भेटिएको राधाको आत्मकथाका आधारमा उपन्यास अघि बढेको छ। हजारौं वर्ष अगाडि अहिले नबुझिने भाषामा लेखिएको राधाको आत्मकथा एकजना साधुले पढेर सबैलाई सुनाउँछन्। उपन्यासको अन्त्यमा मात्रै ती साधुबाबाको परिचय खुल्छ, ती त अष्टचिरञ्जीवीमध्येका एक द्रोणपुत्र अश्वत्थामा पो रहेछन्।

उपन्यासमा कृष्णको रासलीला, उनका बारेमा चलेका किंवदन्ती आदिलाई निकै रमाइलो ढंगले चित्रित गरिएको छ, कृष्णमा कुनै देवत्व नदेखाई। राधासँगको कृष्णको प्रेमलाई पनि किशोर-किशोरीहरुमा विपरितलिंगीप्रति उत्पन्न हुने स्वभाविक आकर्षणकै सेरोफेरोमा राखेर वर्णन गरिएको छ। व्रजस्थित नन्द रायको घरमा यशोदाको लाडप्यार पाएर चञ्चलताका साथ हुर्किँदै गरेका कृष्ण र उनका दाजु बलराम गर्ग ॠषिबाट कंसको षड्यन्त्रका बारेमा परिचित भएपछि कसरी यमुना किनारको जंगलमा भूमिगत सैन्यदस्ताको निर्माणमा जुट्छन्, कंसका मन्त्री अक्रूर र ॠषि गर्गले कसरी शस्त्रास्त्र तालिम आदिको लागि भित्रभित्रै सहयोग गर्छन्, त्यो सबैको रमाइलो इतिवृतान्त छ उपन्यासमा। हुन पनि कंसजस्तो बलियो तानशाही शासकलाई फुच्चे कृष्ण र बलरामले पराजित गर्नुका पछाडि छापामार युद्धशैलीको कुशलताले काम गरेको कुरा बढी पत्यारिलो लाग्छ।

कंसविरुद्धको युद्धको तयारीका क्रममा चिट्ठीपत्र मार्फत् भए पनि निरन्तरता पाइरहेको राधा र कृष्णबीचको प्रेम युद्धविजयपश्चात् भने विस्तारै अतितको विषय बन्न थाल्छ। पहिलोपल्ट नन्दबाबा, यशोदा र रोहिणीहरु कृष्णको निमन्त्रणामा मथुरा जाँदा कृष्णले मलाई बोलाएका छैनन् भनेर घुर्की लगाउँदै राधा व्रजमै बस्छिन्। दोस्रोपल्ट द्वारिका नगरीको उद्घाटनका बेला पनि कृष्ण आफै नआउञ्जेल उनलाई भेट्न नजाने ढिपी हुन्छ राधाको। तर द्वारिका पुगेर फर्किएकी सखी शशीकलाका मुखबाट कृष्णको आफूप्रतिको लगाव र समर्पणका बारेमा सुनेपछि आफ्नो अड्डी त्यागेर कृष्णलाई भेट्न जाने तरखरमा लागेकी राधा त्यतिबेला छाँगाबाट खसेजस्तै हुन्छिन्, जतिबेला द्वारिकाबाट कृष्णको विवाहको खबर आइपुग्छ। विदर्भदेशकी राजकुमारी रुक्मिणीलाई हरण गरेर विवाह गरेका कृष्णले चाँडै नै अरु सात युवतीलाई पनि हरण गरी पत्नीको रुपमा भित्र्याएको खबरले राधा मात्र हैन, सम्पूर्ण व्रजवासी नै दु:खी बन्न पुग्छन्। तर कृष्ण त कहाँ मान्नेवाला थिए र! नरकासुरको वधपछि उसको जेलमा भेटिएका सोह्र हजार एक सय कन्यासँग एकैसाथ विवाह गर्न पनि कुनै हिच्किचाहट हुँदैन उनलाई। कस्तो अचम्म!

कृष्णको विवाह-प्रकरणका कारण पुरुष जातिप्रति अनि विवाह, गृहस्थ जीवन आदि विधि-विधानप्रति नै आलोचनात्मक दृष्टिकोण बनाउँदै वैष्णवीरुप धारण गरी तीर्थाटन र मानवसेवाको यात्रामा निस्किने टुंगोमा पुग्छिन् राधा। राधाको यात्रामा साथ दिन आइपुग्छे उनकी सखी विशाखा र दुवैजना व्रज त्यागेर मथुरा हुँदै भारतवर्षका नितान्त अपरिचित ठाउँहरुको यात्रामा निस्किन्छन्। विभिन्न जंगल, गाउँ र नदिहरु हुँदै उनीहरुको यात्रा अघि बढिरहन्छ। यात्राले जीवनलाई धेरै नजिकबाट बुझ्न मद्दत गर्ने तर्क गर्दै राधा भन्छिन्:

जीवनलाई साँच्चै नजिकबाट बुझ्नका लागि त आफ्ना सारा अहंहरुबाट विसर्जित भएर भ्रमणमा निस्कनुपर्ने रहेछ। बिल्कुलै अपरिचित संसारमा आफ्ना सारा परिचयहरु गुमाएर।

तर मान्छेको मनस्थिति सधैं एकनास कहाँ रहन्छ र! जीवनका यावत् पक्षलाई चुनौती दिँदै यात्रामा निस्केका भए पनि समयक्रममा त्यही यात्राले जीवनप्रतिको मोह पनि जगाइदिन्छ राधा र विशाखामा। कृष्णप्रतिको वितृष्णा र घृणा सबै हराएर पुरानै प्रेमभाव पो जाग्न थाल्छ राधाको मनमा। त्यसैले उनीहरु द्वारिका हुँदै व्रज फर्किने निर्णयमा पुग्छन्। यसबीचमा यात्रामा एउटी विधवा युवती पिल्ली पनि थपिन पुग्छे। द्वारिकाका लागि हिँडेको राधाको टोली सिद्धाश्रम भन्ने तीर्थमा पुग्दा कृष्णसँग त्यहीँ भेट हुन्छ र कृष्णसित सँगसँगै उनीहरु द्वारिका पुग्छन्। कृष्णले रुक्मिणी लगायत आफ्ना रानीहरुसँग गराएको सहज परिचय र आफ्ना पतिकी पूर्व प्रेमिकाप्रति उनीहरुले दर्शाएको आदर र प्रेम देखेर राधा अचम्मित हुन्छिन्। द्वारिकामा आफ्नै प्रेमको प्रतिकस्वरुप कृष्णले निर्माण गर्न लगाएको अद्भूत वास्तुकलाले भरिपूर्ण ‘राधाभवन’ अगाडि पुग्दा कृष्णको मायालाग्दो अनुहार देखेर राधा आफैलाई प्रश्न गर्छिन्:

मलाई बिर्सिएर, एकैपल्ट पनि नसम्झिएर, लगालग हजारौं आइमाईसँग विवाह गर्ने कृष्ण के यिनै हुन् त?

तर पनि राधाको मनभित्रको उकुसमुकुस त कायम नै थियो, त्यसैले कृष्णलाई आफ्नो वचनको किन पालना नगरेको भन्दै थुप्रै प्रश्नहरु गर्छिन्। राधाका सबै प्रश्नको सोझो उत्तर कृष्णसँग कहाँ थियो र! आफ्नो लाचारी प्रकट गर्दै उनी भन्छन्:

मैले के गरेँ, किन गरेँ, किन गरिरहेको छु भन्ने कुरा अझै मलाई थाहा छैन। म कहाँबाट बहकिएँ, मलाई केले यसरी बहकाएको हो, म कहाँ पुगुँला पनि थाहा छैन। साँच्चै भन्दै छु राधा, मैले आफूलाई के बनाउनुपर्थ्यो, के बनाएँ। म आफैँ आफूदेखि विरक्त छु।

उनी आफ्नो प्रतिरक्षामा अगाडि भन्छन्:

जहाँजहाँ युद्धमा गइयो, विजयमालाका रुपमा राजकुमारीहरु फेला पर्दै आए। तिनलाई स्वीकार्नुपर्ने प्राविधिक बाध्यताहरुले एक-एक गर्दै पत्नीहरु थपिँदै गए। मैले नचाहँदानचाहँदै पनि तिनीहरु मेरा प्रिय पत्नी बन्दै थिए। जब तिनीहरु मेरा अघि पर्थे, कुनै न कुनै कुरामा तिनीहरु तिमीसँग मिल्थे। यसरी टुक्राटुक्रा बनेर तिमी छरिएकी छ्यौ राधा मेरा पत्नीहरुमा। … मभित्र तिम्रो प्रेमले पारेको जुन खाडल थियो, त्यसलाई भर्न एक-एक गर्दै मैले विवाह गर्दै गएँ, तर ती कुनैले पनि त्यो प्रेमको अथाह खाडललाई भर्न सकेनन्। त्यो त झन्-झन् गहिरो पो हुँदै गयो। प्राप्तीभन्दा प्रतीक्षा नै मूल्यवान् रहेछ। अहिले पनि तिमी मेरा लागि जति महान छ्यौ, के टुंगो थियो र राधा? हाम्रो विवाह नै भएको भए पनि यो प्रेम यत्तिकै दिगो रहन्थ्यो भन्ने।

कृष्णका कुराले र आत्मीय व्यवहारले प्रभावित भएकी भए पनि द्वारिकामा लामो समय बस्नु भनेको कृष्णकी नयाँ रखेल्नी हुनुभन्दा बढी हुँदैन भनेर राधाले द्वारिका छोड्ने निर्णय लिन्छिन्। कृष्णले व्रजवासी सबैलाई द्वारिकामै व्यवस्था गरेर राखेका हुनाले राधाका लागि त्यहाँबाट हिँड्नु दोस्रोपल्ट व्रज त्याग्नुजस्तै थियो। यसपालीको यात्रामा विशाखा त जाने भइन, तर पिल्लीले भने सँगै जाने कुरा गर्छे र उनीहरु हिमालय क्षेत्रतिरको यात्राको तयारीमा लाग्छन्।

पुराणहरुमा वर्णन गरिएको र यस उपन्यासमा देखाइएको कृष्णको चरित्र जति बुझिनसक्नु छ, त्यति नै बुझिनसक्नु छ कृष्णप्रति राधाको दृष्टिकोण पनि। उनी उत्तिखेरै कृष्णप्रति आशक्ती देखाइरहेकी हुन्छिन् भने उत्तिखेरै कृष्णकै कारण सम्पूर्ण पुरुष जातिप्रति घृणा पनि। एक ठाउँमा राधा भन्छिन्:

कृष्ण कस्तो मान्छे हो, मैले कहिल्यै बुझ्न सकिनँ। उनको अनुपस्थितिमा कैयौँ दुर्गुणहरु, अव्यवस्थाहरु, हेपाहाप्रवृत्तिहरु सम्झेर म दिक्क हुन्थेँ, आलोचना गर्थेँ, रिसाउँथेँ। अरुसँग उनका नराम्रा बानीहरुको चर्चा गर्थेँ, तर जब उनी मेरा सामु पर्थे, म सब कुरा बिर्सन्थेँ।

राधा र पिल्ली यात्रामा निस्किने अघिल्लो दिन हस्तिनापुरबाट कौरवहरुसँग पाण्डवहरुले जुवामा सर्वस्व हारेको र उनीहरु वनवास जानुपर्ने भएको खबर आउँछ। सोको यथार्थ बुझ्नका लागि हस्तिनापुरतर्फ जाने भएका कृष्णले राधालाई पनि हस्तिनापुरसम्म सँगै जाने प्रस्ताव गर्छन्। राधाले कृष्णको अनुरोध टार्न नसकेकिले राधा, पिल्ली र कृष्ण तीनजना सँगै हस्तिनापुरतर्फ लाग्छन्। बाटोमा कृष्णले पाण्डव र कौरव लगायत भारतभरिका राजा-रजौटाका बारेमा र तिनीहरुबीचका द्वन्द्व-संघर्षका बारेमा राधालाई अवगत गराउँछन्। कृष्णबाट पाँच पाण्डवकी एक्ली पत्नी द्रौपदीका बारेमा सुनेपछि उनलाई भेट्ने रहरले राधा पनि हस्तिनापुरमै रोकिन्छिन्। शुरुमा कुन्ती माताबाट नपुंसक पतिकी पत्नी भएर बाँच्नुपर्दाका पीडाका कथा सुनेर पग्लिएकी राधालाई त्यतिबेला कुन्ती माताका कथाहरु फिक्का लाग्न थाल्छन्, जतिबेला कुन्तीकै आज्ञाका कारण द्रौपदी पाँच-पाँच जनाकी पत्नी भएर बस्नुपरेको यथार्थ उनलाई थाहा हुन्छ।

द्रौपदीसँगको भेटपछि राधाको यात्रा हिमालय क्षेत्रमा अघि बढ्छ र त्यसक्रममा बहुपतिप्रथा हुने शेर्पा समुदायका मान्छेलाई भेटेपछि उनी सोँच्न पुग्छिन् – माता कुन्तीले कतैबाट यो शेर्पा परम्परा सुनेकी त थिइनन्? हिमालय क्षेत्रका मुक्तिनाथ, काठमाडौं उपत्यका हुँदै पूर्वको कोच राज्यसम्म पुग्दा तीर्थ-तीर्थ चाहार्दै कृष्ण आफ्नै खोजीमा हिँडिरहेको कुराले राधामा फेरि कृष्णसँग भेट हुने इच्छा प्रबल भएर आउँछ। कृष्णसँग भेट हुन द्वारिका जाने योजना मनमा राखेर राधा र पिल्ली केही समय कोच राजा वीरसिंहको दरबारमा बस्न पुग्छन्। खासमा त्यहीँ बस्दाको एकान्तको सदुपयोग गर्दै राधाले यो आत्मकथा लेखेकी हुन्छिन्। उता पाण्डवहरुको वनवास र गुप्तवासको अवधि सकिएपछि राज्य बाँडफाँडको विवाद चर्किएर कौरव र पाण्डवबीच युद्ध हुने निश्चित हुन्छ। युद्धमा पाण्डवपक्षको सहयोगका लागि वीरसिंह पनि आफ्नो फौज लिएर कुरुक्षेत्रतर्फ लाग्ने भएपछि कृष्णलाई भेट्ने उद्येश्यले राधा र पिल्ली पनि वीरसिंहसँगै त्यतै लाग्ने निधो गर्छन्। राधाहरु तीन साता लगाएर कुरुक्षेत्र पुग्दा अठार दिनसम्मको युद्ध समाप्त भैसकेको हुन्छ। त्यहाँ युद्धपछिको विभत्स दृश्य र भयानक सन्नाटाबाहेक केही बाँकी हुँदैन।

यसरी कथा त टुंगिन्छ तर सो कौरव-पाण्डव युद्धकै एक पात्र अश्वत्थामामाथि स्रोताहरुले प्रश्न तेर्स्याउन भने छाड्दैनन्। महाभारतको कथा पढेका आधारमा पाण्डवहरुप्रति सहानुभूति राख्ने स्रोताहरुबाट एकपछि अर्को प्रश्न बर्सिएपछि कौरव पक्षबाट लडेका अश्वत्थामा लामो सास तान्दै भन्छन्:

तपाईंहरुको भनाइ जायज छ। हजारौँ वर्षदेखि पढ्दै आउनुभएको कथालाई नपत्याए केलाई पत्याउनु तपाईंहरुले। मैले पनि पढेको छु त्यो पुस्तक। तर साह्रै रिसउठ्दो र हाँसउठ्दो लाग्छ मलाई त्यो। कैयौँ वर्षअघि एक दिन व्यासजीसँग अनायासै भेट भएको थियो। मैले त्यस कृतिको चर्चा गर्दा त्यस बेला त्यस्तै लेखियो, पछि संशोधन गर्नुपरे मिलाउनेछु भन्नुहुन्थ्यो। शायद त्यसको संशोधन हुन बाँकी छ। त्यो पुस्तक त एकपक्षीय छ। पाण्डवहरुको पक्षमा। जित्नेहरुको पक्षमा। लेखकहरु मुक्त र स्वतन्त्र भएनन् भने साहित्यको अवस्था यस्तै हुन्छ।

अश्वत्थामाको आरोप साँचो होला त? व्यासजी भेटिए भने हामीले पनि राम्रैसँग केरकार गर्ने हो कि?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.