~भवानी पौडेल~
आमा
तिम्रो मलिन चेहरामा
लाली पोतिएको थियो
तिम्रो जीर्ण र रोगी शरीरमा
यौवन भरिएको थियो
तिम्रा उदास आँखाहरूमा
रोशनी चम्किरहेको थियो
तिम्रा काला ओठहरूमा
गुलाब फुलिरहेको थियो
तिम्रो अँध्यारो जीवनमा
जुन चम्किरहेको थियो
तिम्रो घरको मझेरीमा
संगीत बजिरहेको थियो
तिम्रा सम्पूर्ण पीडाहरू
बलि चढिरहेका थिए
एक एक गर्दै
ऐश्वर्यको न्यानो काखमा
त्यतिबेला
म कति खुशी थिएँ आमा
मैले मेरा सम्पूर्ण पीडाहरूे बिर्सिएकी थिएँ
मेरो सपनालाई मैले
आँखाभरी पाएर
तर
जब म म्कल्यास्स ब्यूँझे
त्यो त सपनाको संसार मात्र थियो
आँखा अगाडि थिएँ
उनै पुराना तस्वीरहरू
छट्पटाइरहेका मानव आत्माहरू
आर्तनाद चित्कारहरू
अभावका अजिंगरहरू
विपनाका ती तस्वीरहरूले
मलाई झक्झकाईरहेका थिए
सधै झैं
मेरो सपनाको संसारमा डोर्याउन
मेरी सिकिस्त आमालाई।।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ११ – २०६६ माघ ०६ गते, बुधबार)