कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~Santosh Khatiwada

जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण बताइरहेको थियो । मेरो त्यो दिनको गन्तब्य नेपालगञ्जमा ४६ डिग्री सेन्टिग्रेड तापक्रम पुगेको सुन्दा यात्रा कष्टप्रद हुने कुराले म सशंकित भएको थिएँ ।

मेरो यात्राको सहयात्री सुरज र म त्यो रातको नेपालगञ्जको बसाईपछि भोलिपल्ट बिहानै सल्यानको सल्लिबजारको लागि प्रस्थान ग¥यौं । छिन्चुदेखि करिब ४५ किमिको त्यो यात्रा अत्यन्तै रमाइलो भइरहेको थियो । भेरी नदीको तिरैतिर रफ्तारमा गुडिरहेको हाम्रो गाडी सल्लिबजार पुगेर रोकिँदा दिनको १ बजिसकेको थियो । नाङ्गा र फुस्रा देखिने पहाडको बीचैबीच नागबेली परेका सडक ठयाक्कै भेरी नदीसँग समानान्तर भएझैं लाग्दथ्यो । हाम्रो गाडीबाट देखिने भेरी नदी पारिको पहाडी बस्तिको बारेमा विवेचना गर्दै सुरज र म अगाडि बढिरहेका थियौं ।

पेसामा पत्रकार हामी जाजरकोट जिल्लामा हुन लागेको शान्ति समितिको बैठकका लागि निम्त्याइएका थियौं ।

सल्यानको सल्लिबजार पुगेपछि हाम्रो खाना खाने कार्यक्रम तय भयो । हामी सल्ली रेस्टुराँ एण्ड लजभित्र प्रवेश गर्दै थियौं । मैले बाहिरबाट त्यो लजको फोटो लिएँ । लजको दोस्रो तलाको अटालीमा एक युवती आफ्नो नुहाएर चिसो कपाल झट्कारेर सुकाउने प्रयासमा थिइन् । अटालीलाई बाँसको भाटाहरुले बारेको थियो । ती भाटाहरू टाढाबाट नै कमजोर देखिन्थे । मैले ती युवतीलाई सजग गराउने उद्देश्यले तलैबाट चिच्याएँ ।

‘ए हजुर लड्नुहोला है, बिस्तारै गर्नुहोस् ।’ उनी केही बोलिनन्, अनि छिट्टै कोठाभित्र छिरिन् । हामी खाना खाने टेबुलमा बस्यौं । एउटा अधबैँसे आइमाई काठका फ्ल्याकले बनाएको दराजमा घोप्ट्याएर राखेका थाल र कचौराहरू निकाल्न थालिन् । थाल झिक्दै आफनै शैलीमा चिच्याइन् ।

‘ए निता यहाँ आइज न के गरेर बसिराखेकी… ?’

‘आएँ ।’ एकोहोरो आवाज माथिल्लो तलाबाट आयो । म र सुरज दुवै जना त्यही आवाज आएतिर हेर्दै थियौं । तर उनी खै कताबाट फुत्त भान्साको अगाडि आइपुगिन् । मलाई उनी अघि माथि बसेको अटालीबाट झरिन् कि क्या हो भन्ने लाग्यो । भिजेको कपाल गुटमुट्याएर नकोरिकनै पोको पारेर रुमालले बाँधेकी थिइन् । गोरो उनको मुहारमा पानीका दुई चार थोपा अझै बाँकी थिए अनि ती मोतीजस्तै टल्किरहेका थिए ।

कपालको पानी रुमालले पूरा सुकाउन नसकेर होला कानको पछिल्लो भागबाट चुहिरहेको थियो । त्यो चुहिरहेको पानीलाई उनले आफनो चोरी औंलालाई ढल्काएर माथिदेखि तलसम्म तानिन् अनि चोरी औंलामा भएको पानीलाई झट्कारेर फालिन् र कतै नहेरी त्यो अधवैसें आइमाई (सायद उनको आमा हुनुपर्छ) ले राखेको खानाको थाल बोकेर हामीतिर आइन् ।

उनी हामीतिर पटक्कै हेर्दै थिइनन् । मलाई लाग्यो अघि मैले उनलाई जिस्क्याएकाले उनी रिसाएकी हुन् कि ! उनले खानाको थाल हाम्रो टेबुलमा राख्दै गर्दा मैले सुरजतर्फ हेर्दै भनेँ ‘सुरज, निताजीले बनाएको खाना पक्कै मिठो हुन्छ, बुझिस् ।’ मैले यतिभन्दा उनले खाना पनि हाम्रो टेबुलमा राखिसकेकी थिइन् । उनका थोरै मसिना तर लाम्चा ठ्याक्कै बदामी आँखालाई ठूलो पार्दै पुलुक्क मतिर हेरिन् र उनको ओठलाई दाँयातिर मोड्दै दायाँतर्फका पंक्ति मिलेका सेता दाँतहरू देखाएर मुसुक्क हाँसिन् अनि जवाफ दिइन् ।

‘री खाना मैले पकाएको हैन ।’ उनी सरासर भान्सातिर लागिन् । हाम्रो त्यो दिनको यात्रा जाजरकोटसम्मको थियो । त्यसैले हामी खाना खाएर छिट्टै सल्लिबजार छोडेर अगाडि बढ्नु पर्ने थियो । हामी खाना खाँदै थियौं । एक्कासी आकाशबाट पानी पर्न थाल्यो । पानीमा ओत लाग्न लजभित्र छिरेका मान्छेहरूको भीड बढ्दै थियो । अनि बढेको भीडबाट आवाज आइरहेको थियो । पारीपट्टि अब गाडी जान सक्तैन । मैले भीडले के भन्न खोजेको हो नबुझेकोले भीड मध्येबाट थोरै बुज्रुक जस्तो देखिने एकजना व्यक्तिलाई सोधें ।

‘दाइके भयो ?’ उनले मतिर हेर्दै भने ‘पानी परेकोले अब भेरीमा फेरी नचल्ने भयो, अब वारिपट्टिका गाडीहरू वारि नै रहने भए भनेको ।’ उसको कुराले म थोरै झस्किएँ, हामीलाई त आज नै जाजरकोट जानु पर्ने, अब कसरी जाने ? मैले सुरजतिर प्राश्निक आँखाले हेरेँ । एकछिनमा पानी रोकियो अनि सबै जना ओता लाग्नेहरू त्यहाँबाट बाहिरिए । सायद होटलमा पाहुनाहरू कम थिए । हामी पनि उनीहरूसँगै बाहिरियौं । जाजरकोट जानका लागि केही उपाय छ कि भन्ने सोच्दै उपायको खोजीमा एकछिन भौतारियौं तर अहँ पानी परेपछि फेरी चल्ने सम्भावना नहुँदो रहेछ ।

हामीलाई जाजरकोट जानको लागि सल्लिबजार, देवस्थल गाविस, सल्यान जिल्ला र राकम गाबिस सुर्खेत जिल्लालाई जोड्ने भेरी नदीको झोलुङ्गेपुलबाट पारि गएपछि त्यहाँ जाजरकोट जाने बस लाग्दो रहेछ । हाम्रो गाडीलाई त्यहीँ वारिपट्टि राखेर जाजरकोट जानुपर्ने भएपछि हामी थोरै अन्यौलमा प¥यौं ।

पानी रोकिएपछि सल्लीबजारको तापक्रम पनि थोरै बढेको थियो । हामी भर्खर रोकिएको पानीलाई गाली गर्दै फेरि त्यही हाम्रो पुरानो लजमा आइपुग्यौं । त्यही लजमा फर्किनुमा दुइटा प्रस्ट कारण हुन सक्थे । एउटा हामीले त्यो गाउँमा चिनेको त्यो लज मात्र थियो । अनि अर्को त्यो लजमा एकजना सुन्दर युवती पनि थिइन् । हामी साहुनीसँग चिया बनाउन अनुरोध गर्दै थियौं ।

साहुनीले सोधिन्, ‘बाबुहरू कहाँसम्म जाने ?’ सुन्दरले छिट्टै जवाफ दियो ।

‘जाजरकोट ।’ पानी परेकोले आज फेरी चलेन, त्यसैले अब भोलि जानुपर्ने भयो ।’

सुन्दरले साहुनीसँग अर्को प्रश्न ग¥यो ‘साउनी कोठा त छ होला नि हैन ?’

साहुनीले सहजै उत्तर दिइन । ‘कोठा त छ बाबु तर पारिबाट गाडी लाग्छ नि । गाडीमा गए त भैहाल्छ नि जाजरकोट ।’ हामी आफनो गाडी छोडेर लोकल बसमा जाने मनस्थितिमा थिएनौं । तर हाम्रो कुरा हामीसँगै राखेर मैले साहुनीलाई थोरै जोसिएर सोधेँ ‘‘साहुनी अनि यो भेरी नदीमा गाडी चल्ने पुल बन्दै छ हैन ?’

मेरो प्रश्न सकिन नपाउँदै साहुनी सुस्ताइन ‘बाबु यो बर्षसम्म त सकिन्छ, त्यसपछि यो फेरीको झन्झटै हुँदैन ।’

‘आमा म जान्छु है ?’ एकाएक मिठो आवाज हाम्रो कानमा प¥यो ।

‘ए यता हेर त’ साहुनी चिच्याइन् । कालो रङ्गको टिसर्ट र क्वाटर पाइन्ट लगाएकी अनि बाहिरपट्टि पहेंलो रङ्गको ज्याकेट लगाएकी, अनुहारलाई मेकअपले गुलाबी बनाएकी निता झट्ट हामी बसेकै टेबुल अगाडि आइपुगिन् । उनलाई देखेर मेरो आँखाले अन्त हेर्नै मानेनन्, उनीतिरै हेरिरहेँ । मलाई उनी कहाँ जाँदै छिन् भनेर सोध्न मन लागेको थियो तर सोध्न सकिन ।

साहुनीले सोधिन् ‘कहिले आउँछेस् ।’ भोलि बिहानको कार्यक्रम हो । भोलि बेलुका नभए पर्सि बिहान् ।’

‘ए ल राम्रोसँग गएस् ।’ आमा छोरीको संवाद सकिने बित्तिकै निता हराइहालिनत् । मैले साहुनीलाई थोरै धक मान्दै सोधें । ‘छोरी कता जान लागेकी हुन्, नेपालगञ्ज कि सुर्खेत ?’

साहुनीले खुलेर बताइन् ‘उ जाजरकोट जान लागेकी । राकमबाट बसमा जान्छे । बाबुहरूको गाडी जानसकेको भए बरु त्यसैमा जान्थी होली । ‘हाम्रो कार्यक्रम परिवर्तन गर्न यति कुरा काफी थियो ।

निताविनाको त्यो होटलमा बस्नुभन्दा बिहानको जाजरकोटको कार्यक्रममा जानु हामीलाई एकाएक जरुरी लागेर आयो । साहुनीसँग बिदा मागेर हामी हाम्रो गाडीलाई त्यही होटल अगाडि थन्काएर हिड्यौं, जाजरकोटतर्फ ।

हतार हतार झोलुङ्गे पुल तरेर राकम पुग्दा, नितालाई भेटिन्छ कि भन्ने आशा गरेका हामी उनलाई नभेट्दा निराश भयौं । तर यात्रा गर्नु नै थियो । भेरी गंगा यातायात समितिद्वारा संचालित गाडीको टिकट काटेर जाजरकोट प्रस्थान गर्यौं । हामीलाई राकमदेखि जाजरकोटसम्मको ६२ कि.मि को यात्रा तय गर्नु थियो । त्यो पहाडी बाटोमा पहाडकी सुन्दरी नितालाई कतै भेटिन्छ कि भनेझै गाडी रोक्ने बित्तिकै हामी आशातित भएर ढोकातिर हे¥थ्यौ । हामी जाजरकोट पुग्यौं तर निता भेटिइनन् । नितालाई नभेटिएर अमिलो भएको मनलाई भोलिपल्टको कार्यक्रमको मिठो कल्पनाले खुसी बनाउँदै त्यो रात जाजरकोटमा नै बितायौं ।

‘सम्भब, हेर त ऊ निता ।’ भोलिपल्ट कार्यक्रम स्थलमा एक्कासी सुरजले नितातिर देखाउँदै भन्यो । हिजो बाटोभरि खोजेको नितालाई आफ्नै अगाडि देखिनुले, आँखाहरू खुसीले चम्किला भए । कार्यक्रम सुरु भइनसकेकोले हामीसँग कुरा गर्न समय रहन्थ्यो नै । आफू पत्रकार मान्छे, पेसाले जिज्ञासु अनि पेसा अपनाउनु अगाडि पनि सानैदेखि जिज्ञासु प्रवृत्तिको कारण पनि निता कसरी यो कार्यक्रममा आइपुगिन् भन्ने कुराको जिज्ञासा मनमा थियो । अनि हिजोसम्म पहाडको सानो भात होटलको परिवेशमा देखिएकी निताको भिन्न परिवेश, भिन्न फेसन र भिन्न चालढालले साँच्चै जिज्ञासा सिर्जना गरेकै थियो ।

‘निताजी हिजो कुन गाडीमा आउनुभयो ? हामी पनि हिजै आयौं तर बाटोमा कतै भेटिएन त ?’ मैले कुरा निकालेँ ।

‘बसमा आएको, म राकममा एकछिन भुलेँ । अलि राति नै आइपुगेँ ।’ उनी हामीभन्दा पछि आइपुगिछन् । धत्तेरी हामी के हतारिएर हिँडेको होला भन्ने लाग्यो । निताजी के गर्नहुन्छ भनेर सोधौं भने उनको होटलमा उनले नै खुवाएको खाना खाएको तर फेरि यो पत्रकारहरूको कार्यक्रममा उनको उपस्थितिले मनमा प्रशस्त जिज्ञासा उब्जाएकै थियो ।

मैले अर्को प्रश्न सोधें– ‘भेरी नदीको फेरी सधैं वर्षामा बन्द हुन्छ होला हैन निताजी ? जाजरकोटलाई जोड्ने भेरी नदीको पुल अब अर्को वर्षसम्ममा त बन्छ होला हगि?’

‘एघार वर्षदेखि हरेक अर्को वर्ष पुल बन्छ भन्ने आशामा बसेका छन्पुरा जाजरकोटवासी, भेरीको पुल बन्र्ला र निर्वाध रुपमा गाडी सञ्चालन होला भन्दै कुर्ने यहाँका बासिन्दाको नियति नै भैसकेको छ । यहाँबाट डाइरेक्ट काठमाडौं नाइट गाडी छुटाउने अनि त्यो गाडीमा काठमाडौं पुग्ने सपना बोकेका जाजरकोटबासीहरू हरेक वर्ष राकम जान्छन्, आधा मात्र बनेको पुल हेर्छन् अनि घुटुक्क थुक निल्दै अर्को वर्ष त पक्कै बन्छ भन्ने आशाका साथ फर्कन्छन् । एघार वर्ष यसैगरी बित्यो अरु थप कति वर्ष बित्ने हो थाहा छैन’ फेरि सहज तर व्यङ्गयात्मक मुस्कान निकाल्दै भनिन् उनले । उनको कुराले म अचम्ममा परें ।

जाजरकोटबाट फर्किएको रात हामी उनकै होटलमा बस्यौं । मैले साँझ पख मेरो मोवाइलबाट एउटा म्यासेज पठाएँ । ‘निताजी तपाईंसँगको भेटघाट रमाइलो भयो । हाम्रो कार्य क्षेत्र सायद एउटै भएकोले होला तपाईसँग नजिकिन समय नै लागेन ।’ म्यासेजेको रिप्लाई नआउन पनि सक्थ्यो । तर आउला भन्ने आशामा आँखाहरू मोवाइलको स्क्रिनमा एकटक लगाएर हेरिरहेका थिए । म्यासेज आएन, साँझ बित्यो, खाना खाने समय भयो । साहुनीले खाना लगाइन्, तर म्यासेज आएन ।

रातको करिव १ बजेको हुदोँ हो । हल्लाखल्लाको बीच नारी रोदन प्रस्ट हाम्रो कोठासम्म सुनिन्थ्यो । सुरज र म त्यहीतर्फ लाग्यौं । हाम्रो होटलको भान्सासँगैको कोठाबाट आवाज आइरहेको थियो । कोठाभित्रको रोदन, चित्कार कसैको हैन, निताको थियो । नितासँग म केही नजिक भैसकेको थिएँ सायद उनको पीडा र रुवाईले मलाई पनि विचलित बनायो । आफैंलाई दुखेझैँ भयो । ‘निताजी के भयो ?’ मैले सोधेँ निता बोल्न सक्ने अवस्थामा थिइनन् । साहुनीले जवाफ दिइन् ।

‘हेर्नोस् न बाबु यसलाई कहिलेकाँही यस्तै टाउको दुख्छ सहनै सक्दिन, आज पनि एक्कासि दुखिहाल्यो, कम नै हुँदैन ।’ यो राति हुँदो कहाँ लानु, गाउँमा सानो मेडिकल पसलमात्रै छ, डाक्टर छैनन्, साह्रै गाह्रो भो यसलाई

‘निताको टाउको सुम्सुम्याउँदै थिइन् साहुनीले ।

‘निताजी पहिला पनि दुख्थ्यो ?’ सुरजले प्रश्न ग¥यो । म त स्तब्ध थिएँ, उनको पीडा अनि रुवाईले स्तब्ध ।

‘मलाई माइगे्रन हेडेक हुन्छ यसरी दुखेपछि पेन किलर इन्जेक्शन नै लगाउनु पर्छ अनि बल्ल कम हुन्छ ।’ उनको अनुहार दुखाइले थोरै सुन्निएको थियो । रुन्चे स्वर निकालिन् । मैले साहुनीलाई सोधेँ ‘यहाँ नजिक हस्पिटल कहाँ छ ?’ ‘सुर्खेतमा छ ।’

‘निताजी सुर्खेत जाउँ ।’ उनको आवाज पूरा नसकिँदै मैले भनेँ । मैले हाम्रो गाडीको स्टेरिङ्ग समातेँ, साहुनीले नितालाई लिएर पछाडिको सिटमा बसिन् अनि सुरज अगाडिको सिटमा । मैले भएभरको सीप प्रयोग गरेर गाडी चलाएँ । हामी करिब २ घन्टामा सुर्खेत आइपुग्यौं । माया नर्सिङ्ग होम सुर्खेतमा आकस्मिक सेवा पनि थियो । उनलाई पेनकिलर दिएपछि पीडा कम भएछ, उनका आँखा लोलाए, उनी निदाइन् । म र सुरज बाहिर बसिरहेका थियौं । मेरो मोवाइलमा म्यासेज आयो । म्यासेज निताको थियो । ‘धन्यवाद । तपाईंको सहयोगको लागि, मलाई पीडामुक्त गराउन ठूलै सहयोग गरिदिनुभयो, तपाईंको सहयोग र तपाईंलाई बिर्सन सक्दिनँ ।

म्यासेजले त्यो गर्मीको मौसममा शीतलता थप्यो, रमाइलो मान्यो मनले, रिप्लाई गरेँ, ‘मलाई टाढा नमान्नुस्, म तपाईंको साथी हुन पक्कै लायक छु ।’ उताबाट रिप्लाई आयो ‘मेरो भाग्य ।’

बिहानपख हामी सल्लिबजार फर्कियौं । निताको टाउको दुखाई पनि कम भैसकेको थियो । हामी केही हप्ता त्यहीँ बस्ने भयौं । निता अब खुलेर बोल्न थालिसकेकी थिइन् । उनी र म बिशेष नजिक थियौं ।

बेलाबखतमा सँगै र नजिक हुँदा पनि हामी मोबाइलको सहयोगले म्यासेजमार्फत् कुरा गथ्र्यौं । मैले एक दिन जिस्क्याएर मेसेज गरेको थिएँ । ‘निताजी तपार्इं सुन्दर हुनुहुन्छ, सुन्दरता हेर्नेको आँखामा हुन्छ भन्थे तर हैन रहेछ सुन्दरता त आँखाको ओजमा, मुहारको तेजमा अनि मुस्कानको गहिराइमा हुँदोरहेछ ।’

उताबाट उस्तै रिप्लाई आयो । ‘स्टुपिड, म सुन्दर छैन । तपाईंको म्यासेजले चाँहि सुन्दर बनाएको हो ।’
काठमाडांै फर्कने दिन हामीलाई विदाई गर्न हाम्रो उपभोक्ता समितिका सबै सदस्य उपस्थित थिए । त्यसको बीचमा निता नियाउरो मुख लगाएर उभिएकी थिइन् । सबै जना हाम्रो योजनामा विश्वस्त थिए । त्यो गाउँका मानिसलाई स्वच्छ पानी प्रदान गर्ने त्यो ठूलो संकल्पमा हामी सफल हुनु नै थियो अनि सम्पूर्ण बिदाइमा आएका मानिसहरूको आँखामा स्वच्छ पानी पिउने सपना सजिएको थियो । सपनाहरू सजिएका आँखाहरूले भन्दैथिए, ‘सम्भव, सुरज, तिमीहरू फर्केर आऊ है, हामीहरूलाई सपना बाँडेर, अधुरो बनाइ फेरि आप्mनै संसारमा नहराऊ है । ती सपनाको बीच सायद एउटा अर्को सपना थियो निताको । भीडको बीचबाटै थोरै अगाडि आएर आफ्ना काँपिरहेका सुन्दर तर भावुक ओठहरूबाट मतिर हेर्दै आवाज निकालिन्, ‘छिटो आउनुस् है, कुरी बस्छु ।’ मैलै प्रतिउत्तरमा केही भन्नै सकिन । मुखबाट आवाज निस्किएन । बरु आँखाबाट आँसु पो निस्कियो । गरम टाउको हल्लाउँदै ‘हुन्छ’ को जवाफ दिएँ ।

हामी काठमाडौं आइपुग्यौं । काठमाडौंमा हामीलाई धेरैले सहयोग गर्नुभयो । हाम्रो उद्देश्यको लागि पुग्ने आर्थिक स्रोतको जगेर्ना गरेर हामी पश्चिम जाने तयारीमा जुटयौं । भोलिपल्ट हिँड्नु थियो । नितासँग कुरा नभएको पनि धेरै भएको थियो । काठमाडौं फर्केर आएपछि नितासँग लगभग कुरा भएको नै थिएन, त्यसैले पनि उनलाई भेट्ने कल्पना मात्रले पनि म उत्साहित भएथेँ । लगेजहरू तयार भए, हिँड्ने तयारी भयो ।

एकाएक मोवाइमा म्यासेज आयो, हेरेँ म्यासेज निताको रहेछ । उत्साहित भएर पढेँ । लेखिएको थियो ‘सम्भव हामीले दुःखसुखका कुरा धेरै बाँडेका थियौं, तपार्इं मेरो नजीकको साथी हुनुहुन्छ । त्यसैले बताउँदैछु । मेरो भोलि विवाह छ, तपाईंहरू फर्केर आउँदा म सायद सल्लिबजारमा भेटिन्न होला, म नभए पनि हाम्रो उद्देश्य पूरा गरिदिनु होला बाइ बाइ ।’

निताले अगाडिका म्यासेजहरूमा सधै फेरि भेटौंला लेखेकी हुन्थिन् । ‘बाई बाई हैन, फेरि भेटौंला भन्नुपर्छ किनकी हामी फेरि भेट्नेछौ’ । यो उनको भनाइ थियो । मैले उनको म्यासेजको रिप्लाई लेखेँ ।

‘अल द बेस्ट, राम्रो जीवन साथीको लागि बधाई अनि सुखमय जीवनको लागि शुभकामना ।’ यति लेख्दा आँखाहरू पुरै भिजेका थिए । भिजेका आँखाले सुरजलाई पनि प्रस्ट देखेनन्, उतिर नहेरिकनै उसलाई आफनो मोवाइल दिँदै भने ‘सुरज म अब सल्लिबजार जाँदिन, तिमी एक्लै जाऊ । तर हाम्रो उद्देश्य पूरा गरेर आउनुपर्छ तिमीले ।’ ऊ केही नबोली मेरो मोवाइल हेर्दै बसिरह्यो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : फेरि भेटौंला

  1. Sweetpea says:

    I like your writing Santos ji ,Will you interested writing about my Life story ? Here is my email address and we can communicated .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.