कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~

सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही आसले उसले यो पसल किनेको हो। ऊ बारे भन्नु पर्दा भर्खर २४/२५ मात्र लागेको, खाइलाग्दो जीउडाल भएको, हिस्सीलाग्दो गोरो वर्ण भनेर हुलिया दिन सकिन्छ। थप भन्नु पर्दा मेहनती र मिजासिलो पनि छ। फोटोकपी गर्न आउनेहरु पनि उसको हाउभाउ र व्यवहार देखेर सबै खुसी नै हुन्थे। उसको स्वभाव नै भनुँ, आइमाइहरु देखेपछि भने ऊ बढी नै आफनोपन देखाउन खोज्छ।

हरिकृष्णको जीवनको लक्ष्य भनेको पैसा अलि अलि कमाएर विदेश हानिने नै थियो। ऊ सबैसँग यही भन्थ्यो- म कहाँ यहाँ बस्ने मानिस हुँ र। दाहिने हातले प्लेन उडेको हाउभाउ देखाउँदै भन्थ्यो, मौका मिल्ने बित्तिकै सुइत्त हुनु पर्छ।

पसल चलाएको झण्डै डेढ वर्षपछि त्यस्तै आइलाग्यो। अध्ययनको सिलसिलामा काठमाडौं झरेकी अधवैँसे अमेरिकी महिला एकदिन उसको पसलमा फोटोकपी गर्न आइपुगी। दुई चार पटकको भेटघाटपछि दुवै अलि नजिक हुन थाले। हरिकृष्णले उसका लागि ज्यान दिन मात्र बाँकी राख्यो। इमान्दारी, वफादारी जे जे देखाउनु पर्ने हो सबै करामत देखाउन पछाडि परेन। तिनलाई नेपालको सुन्दर प्रकृतिले लोभ्याएको त छँदै थियो, त्यसमाथि हरिकृष्णको मेहनती स्वभाव, नम्रता र इमान्दारीले झनै नजिक्यायो। सुन्दर प्रकृतिको रमणीय वातावरणमा घुम्दाघुम्दै उनीहरु एकअर्कामा बाँधिए।

भिसाको अवधि सकिन लागेकोले अधवैँसे अमेरिकी फर्कने तैयारीतिर लागी। आफू अमेरिका पुगेपछि कागजपत्र मिलाएर बोलाउने वाचा गर्दै ऊ एअरपोर्टको प्रस्थान गेटबाट आफना दुवै हात हल्लाउँदै विदा भई।

उसको विदाईपछि हरिकृष्णको जीवन साथी इन्टरनेट भयो। फुर्सद पायो कि नेट खोलेर बस्न थाल्यो। नेटले उनीहरुको मायाको डोरी अझैं बाटिँदै गयो। नेट चलाउँदा चलाउँदै ऊ अमेरिकाको सपनामा चुर्लुम डुव्न थाल्यो- चिल्ला कारमा गुडेको। आफूभन्दा झन्डै डब्बलै जेठी भएपनि अमेरिकी श्रीमतीसँग सुत्‍न, घुम्न पाएको सपनाले उ लठ्ठीएको थियो। नेपालमै बसेर नेपाललाई बिर्सन थाल्यो।

अमेरिका जाने भिसा हात पारेको दिन उसले बौद्धमै एउटा बारमा नेपाली भएर बितायो। ऊ फर्कँदा अब नेपाली हुने छैन एकजनाले भने। टुरिस्ट भिसा लिएर नेपाल फर्कने सपना उसले पनि नबुनेको हैन। त्यस दिन साथीभाइ र इष्टमित्रसँग उसले राती अबेलासम्म बारमै बसेर खुब धोक्यो।

अमेरिका पुगेपछि उसको दिन चिल्ला कारमा घुम्दै, रेष्टुरेण्ट वार , होटलहरुमा लन्च डिनर खाँदै , बेलाबेलामा क्यासिनोको रमझम अनि डिस्को डान्समा बित्‍न थाल्यो। बिहान अबेला उठेपछि उसकी अधवैँसे गर्लफ्रेन्ड ड्युटी जान्थी। ऊ बाहिरसम्म आएर ‘बाई’ गर्थ्यो। ऊ काममा गएपछि घरका कोठाहरु मूभ गर्ने, सफा गर्ने। खाना बनाउने, चिया पकाउने, र अंग्रेजी सिक्न एलरियो सेन्टर जाने उसको दिनचर्या नै बन्यो।

एकदिनको कुरा हरिकृष्ण सदा झैँ बेलुकाको डिनर तैयार पार्दै टेवलमा सजाउँछ। रिसाएर बसेकी गर्लफ्रेन्डलाई खानाको लागि बोलाउँछ। तर ऊ कोठाबाट टसमस चलिन। ऊ पनि अलि रिसाउँदै बोलाउँछ। अहँ, ऊ आइन, बरु रिसाई तैँ खा भनेर। उसलाई पनि रिस उठ्यो, तँ नखाने भए तेरो खाना तैँ खा भन्दै भांडा हुर्र्याई दियो।

मलाई मार्न खोजेको भन्दै कराउँदै उसले, आई हेट यु , गेट आउट….. गेट आउट…..भन्दै घरवाट निकाली दिइ। ऊसँग निक्ल्नुबाहेक अर्को केही विकल्प पनि थिएन।

केही दिनअघि साना-साना कुरामा ठाकठुक परेको बाहेक अरु त केही भएको थिएन। तिनै कुराले उसको मन फाटेको रहेछ क्यारे। पश्चिमी संस्कृतिमा मन मिलुन्जेल लोग्नेस्वास्नी, ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड। मन नमिलेका दिनबाट अलग्गी हाल्छन्। आ-आफनो बाटो लागिहाल्छन्। हाम्रो जस्तो हजार हण्डर ठक्कर खाएर पनि श्रीमतीले श्रीमान र श्रीमानले श्रीमती भनेर कहाँ बस्छन्। हाम्रो त उखानै छ लोग्ने स्वास्नीको झगडा परालको आगो। एकछिन बाझाबाझ हुन्छ, दुई चार दिन बोलचाल बन्द हुन्छ। दुवै ठुस्किन्छन्। एक दुई दिनपछि एउटाले बोली फुटाउन थालिहाल्छ। अनि फेरि सबै रिसराग बिर्सेर उस्ताको उस्तै।

हरिकृष्ण्को सपना साबुनको फोका जस्तो भयो। बिरानो देश, बिरानो कानून। डुव्न लागेको बेलामा परालको त्यान्द्रो पनि कति सहारा हुन्छ। यहाँ त आफनो भन्ने कोही छैनन्। उसले नेपालीलाई सम्झ्यो। यो शहरमा नेपाली पनि छन् भन्ने त उसले सुनेको थियो तर सजिलो पर्दा उसले खोजी पनि गरेन। खोज्न पनि कहाँ जाने। अंग्रेजी भाषा क्लास जाँदा सिफ्ट नमिलेकोले त्यहाँ भएका नेपालीलाई पनि भेट्न सकेको थिएन। त्यसैले अमेरिकाको फुटपाथ, सडक पेटीमा उसले धेरै दिन बितायो। त्यहीका होमलेसहरुले जस्तै गरेर।

भाषा सिक्ने स्कुल पुगेर शिक्षकमार्फत् एकजना नेपालीसँग भेटघाट भयो। नेपाली साथीलाई भेटेपछि ऊ खुब रोयो। परिचयपछि अर्जुनले हरिकृष्णलाई स्कूलकम्पाउण्डकै छेउको मेचमा बसाले र उसका सबै कुरा सुने।

अर्जुनले उसलाई आफनो कोठामा लिएर आए। उसका चारजनाको परिवारले एक कोठे अपार्टमेन्ट लिएर बसेका थिए। त्यहीँ राखे। आफूले काम गर्ने ठाउँमा लगेर काम सिकाए। होटलमा काम खोजिदिए। ऊ तल्लीन भएर काममा लाग्न थाल्यो। नेपाल छोडेर अमेरिका पुगेपछि जीवनमा उसले पाएको सबैभन्दा ठूलो दुःखबाट उसले विस्तारै मुक्ति पायो।

उसको भिसाको म्याद सकिसकेको थियो। ऊसँग कुनै कानूनी रुपका कागजपत्र थिएन। ऊ गैरकानूनी रुपले अमेरिका बसिरहेको थियो। अर्जुनले उसलाई वकिलकोमा लगे। वकिलको भनाई अनुसार उसले समयमै गर्लफ्रेन्डले निकाल्ने बित्तिकै मुद्दा हालेको भए एउटा नेपालीलाई ल्याएर अलपत्र पारेर छाडेको भनेर जान सकिन्थ्यो रे। तर उसको त्यसरी जाने अवधि गुज्रिसकेको रहेछ। तैपनि वकिलमार्फत् एउटा मुद्धा भने दर्ता गरायो।

हरिकृष्णले अर्जुनको सहयोगमा पहिले होटलमा र पछि ग्यास स्टोरमा काम गर्न थाल्यो। छुट्टै कोठा लिएर बस्न थाल्यो। काममा आउन जान र स्टोरबाट सामान किनेर लान सजिलो होस भनेर साइकल पनि किन्यो। अमेरिकाको जीवन बल्ल रमाइलो हुन थाल्यो उसका लागि। कानूनी हिसाबले बस्न उसले पेपरवाला गर्लफ्रेन्ड बनाउने सोच नगरेको पनि हैन तर यसमा पार लगाउन सकिरहेको थिएन।

संजोगवस अनलाइनमा च्याट गर्दागर्दै एउटी जर्मन केटीसँग उसको भेट भयो। ऊ २२/२४ वर्षकी थिई। उसको दिनचर्या अब फेरि च्याटमा व्यस्त भयो। बिहानै बेलुकै कोठामा अनलाइनमा बसेर च्याट गर्ने। काममा पनि फुर्सद पाउने बित्तिकै कार्ड किनेर फोनमा लामो लामो कुरा गर्न शुरु भयो। उसलाई फेरि नयाँ जीवन पाए जस्तो भयो। जर्मनको सपना देख्दै त्यसैमा चुर्लुम्म डुव्न थाल्यो।

केही महिनाको नेटको माया प्रेमपछि साँच्चिकै उनी उसलाई लिन जर्मनबाट हान्निदै अमेरिका आइपुगी। ऊ आउनुअघि हरिकृष्णले आफू बसेको पुरानो घरको कोठा आफैले रङरोगन गरेर चिटिक्क पार्‍यो। पानी चुहिएको टाटो पनि रंगले पोतर हटायो। ओछ्यान, तकिया, सिरक सबै नयाँ सेट जोडेर कोठा सजाएको थियो। दुवै एकअर्कामा बाँधिएको महसुस उनीहरुले गरे। हनिमुन मनाउने भन्दै केही दिन कामवाट छुट्टी लिएर यताउता घुम्न पनि हिंडे। झण्डै चार हप्ता जति बसेर उनी जर्मन फर्की।

उनी दुई जीउकी भई। गर्भ परीक्षण गर्दा थाहा भयो छोरी रहेछ। हरिकृष्ण छोरीको बाबु बनेकोमा औधी खुसी भयो। फर्कँदा उसलाई पनि लान उसले प्रयत्न गरी हरिकृष्ण मिले जान मन्जुर भयो तर पेपर नभएकोले उसले लान सकिन।

अमेरिकाबाट फर्केर गएको दुई चार महिनामा उसले छोरी जन्माई। काटुकुटी हरिकृष्णसँग मिल्दो थियो उसको अनुहार। मोबाइलमा रहेको फोटो देखाउँदा सवैले त्यसै भन्थे। जर्मन केटीसँगको उठबसपछि उसको आनीबानीमा निकै फेरबदल आएको थियो। उसले रक्सी खान छोडेको थियो। चुरोट खान छोडिदियो। तास पनि कहिलेकाहीँ साथीभाइहरुले कर गर्दा मात्र खेल्ने भएको थियो। यो देखेर अरु सबै ताज्जुब मान्दै थिए। हरिकृष्णले अब घरबास बसाउने भो भनेर खुसी भए।

एकदिन स्टोरमा प्रायजसो ब्वाइफ्रेन्ड लिएर आउने अधवैँसे केटी एक्लै पसेको देखेर हरिकृष्णले उसलाई सोधिहाल्यो। आज ब्वाइफ्रेन्ड खोई त? उसले भनी- दुई महिना हामी सँगै बस्यौँ, उसको आनीबानी ठीक लागेन, त्यसैले मैले उसलाई छाडिदिएँ। उसको पहिलो पोइको त मृत्यु पहिल नै भइसकेको थियो। यस्ता कुरा बताउनलाई उनीहरु अप्ठेरो पनि मान्दैनथे। पश्चिमाहरु मेरा व्वाइफ्रेन्ड,लोग्ने यति मेरी गर्लफ्रेन्ड ,श्रीमती यति भन्न अप्ठेरो नै मान्दैनन्।

भोलिपल्ट पर्सिपल्टदेखि हरिकृष्णको तेस्री गर्लफ्रेन्ड अर्थात् त्यही अधवैँसे केटीसँग उठबस चल्न थाल्यो। ऊ स्टोरमा त प्राय आउँथी नै, अब भने प्रत्येक दिन अझ हरिकृष्ण भएकै समयमा आउन थाली। मौका मिल्दा उनीहरुको गफ लामै हुन्थ्यो। पहिले जर्मन केटीसँग पनि यस्तै लामा लामा गफ हुन्थ्यो। उसले आफूसँग पेपर नभएर दुःख पाएको कुरा पनि राख्यो। स्टोरमा हरिकृष्णका लागि प्राय दिउँसोको खाजा पनि आउन थाल्यो। उनीहरुको सम्बन्ध बाँसको जरा झैं झांगिदै गयो। हरिकृष्णको जन्मदिनको दिन विवाहको प्रस्ताव राखेर उसलाई म सरप्राइज दिन्छु स्टोरमा काम गर्ने अरुलाई भन्थी। नभन्दै केटाकेटीले टालाटुलीको पुतली बनाएर विवाह गरे झैँ उनीहरुको विवाह भयो। हरिकृष्ण आफनो पुरानो कोठाका कामलाग्ने झिटीझाम्टा बोकेर त्यही अधवैँसेको कोठामा बस्न आयो।

अमेरिकामा विवाह गरेर दुवै जना नेपाल आए। पहिलो पटक दुई महिना नेपाल बसेर उसकी अमेरिकी श्रीमती फर्की। हरिकृष्ण बडो भाग्यमानी नै छ। उसलाई कोही जर्मनीबाट भेट्न आउँछन् कोही अमेरिकाबाट। अमेरिकी श्रीमति दोस्रो पटक हरिकृष्णलाई भेटन २२ घण्टे लामो सफर गर्दै नेपाल आई। उनीहरुलाई लागेको थियो अमेरिकाले तुरुन्तै स्वीकार्ला भनेर तर अहिलेसम्म अमेरिकन इमिग्रेसनले स्वीकृति नदिएकोले ऊ दुइ महिना जति बसेर फर्की।

घुम्दैफिर्दै रुम्जाटार भने झैँ, हरिकृष्ण फेरि उही बौद्धकै एउटा घरको कोठामा डेरा लिएर थन्किएको छ। इन्टरनेट चलाउनु उसको नित्य कार्य भएको छ। नेटमा च्याट चलिरहन्छ। तर उसले पहिलेको आफनो इमेल बदलेको छ। नेटले उपहार दिएको जर्मन श्रीमतीसँग अहिले च्याट हुँदैन, इमेल हुँदैन , फोन हुँदैन उसले त्यसलाई रिजर्भमै राखेको छ। ऊ बिचरीलाई हरिकृष्ण नेपाली भन्ने थाहा छ। अरु केही थाहा छैन। च्याटबाट जन्मेकी छोरी लिएर ऊ उतै बसेकी छ। हरिकृष्ण भने कहिले अमेरिकाबाट पेपर आउला र उता हान्निउँला भनी बसेको पनि झण्डै दुई वर्ष बित्‍न लागिसक्यो। तर पनि अमेरिकाको सपना उसले देख्‍न उसले छोडेको छैन। एकदिन त कसो नआउला…..।

August 29th, 2010

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.