~विजय महर्जन ‘श्रीजय’~
एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा लागेछ। यात्री दुखाइमा चिच्याउन थालेछन् । “होइन के भयो?” गाँइगुँइ हल्ला फैलिन थालेछ र दुइचार जना जम्मा भएछन्। सबैले “के भयो? के भयो?” भन्दै यात्रीलाई घेर्न थालेछन् । के को भिड रहेछ यो भनेर अरु बटुवाहरु पनि त्यतै तानिएछन्। हेर्दा हेर्दै एउटा भीड जम्मा भएछ।
“ए भाइ के भयो तिमीलाई कसरी इँट्टाले लाग्यो?” भीडबाट आवाजहरु आउन थालेछ।
“यत्रो बर्ष भयो अहिलेसम्म यो घरको इँट्टा खसेको सुनेको थिइन, होइन कसैले इँट्टाले हिर्काएको हुनुपर्छ।”
“राती तर्साउँछ रे भन्ने सुनेको थिँए अब दिउँसै तर्साउन थाल्यो कि के हो यो बङ्लामा?”
“आँखा हेरेर हिंड्नु पर्दैन? टाउको माथि इँट्टा खसुन्जेल पनि के हेरेर बसेको?”
“बिचरालाई दशा लागेको रहेछ।”
“यस्तो पुरानो घर पनि नभत्काएर किन यत्तिकै राखेको होला,यो दोश सरकारको हो।”
“त्यती टाढाको इट्टा खसेर पनि कँही टाउकोमा लाग्छ? यो सब नाटक हो। यस्तालाई त दुइचार झापड लगाएर लखेट्नुपर्छ।”
“बिचराको रगत बगिरहेको छ, कसैले छिटो अस्पताल लगिदेउ।”
“पुलिस बोलाउनुपर्छ, घटनाको छानबिन नभै कही जान पाइँदैन।”
” तातो न छारो के के न होला भनेर हेर्न आएको त यस्तो पो रहेछ, रमितानगरबासीहरुले काम नपाएका।”
“सबैजना अली पछाडि हटिदिनुस् त बिरामीलाई हावा आउन दिनुस्, अली पछाडि पछाडि गैदिनुस्।”
भीड ठुलै भइसकेकोले सडक पनि अवरुद्ध भएको रहेछ। बोल्नेहरु अगाडि सर्दै बोलिरहेका रहेछन् । कोही ट्वाल्ल परेर, कोही खित खित हाँस्दै, कोही तन्की तन्की झ्यालबाट हेरिरहेका रहेछन्। साना मझौला जे जस्ता घटना भए पनि रमितानगरमा यस्तो रमिता भइरहन्थ्यो। अस्ती स्यालले कुखुरा लगेको हल्ला चल्दा, हिजो मरेको सर्प फेला पर्दा पनि रमितानगरमा यस्तै भएको थियो।
***** ***** *****
रमितानगर भित्र खाल्डोपुर भन्ने ठाउँ थियो। सडकहरुको ब्यस्तताको हिसाबले सिङ्गापुर भन्दा बढी थियो खाल्डोपुर। भएछ के भने एकदिन खाल्डोपुरको ब्यस्त मुख्य सडकमा जुलुस निस्किएछ। सवारी चालकहरुले जुक्ती निकालेर साघुँरो गल्लितिर निकास खोज्न थालेछन्। हेर्दा हेर्दै सबै गल्लीहरुमा पनि सवारीहरु कमिलाका ताँती सरह लागेछन् । जीतबहादुर सार्है हतारमा थिए। उनी मुर्मुरिदै भीडलाई उछिनेर फुत्त भाग्ने दाउमा थिए, तर एउटा चौबाटोमा पुगेर अड्किएछन्। चारै दीशाबाट सवारीहरुको लाम आएर त्यही चौबाटोमा अड्किएछ। चौबाटोको बिचमा अघिल्ला सवारीहरु मुखामुख गरिएर रोकिएछन्। पूर्व जानेले पश्चिम जानेलाई पछाडि हटाउन कान खाने गरी हर्न बजाएछ। पश्चिम जाने पनि के कम उसलाई मात्र हतार नभएको हो र! उसले पनि एक मिनट जती हर्नको बटन थिचिराखेछन्। यसरी चारैतिरकाले एकै चोटि सकुन्जेल हर्न बजाएछन्। अली पछाडि हुनेहरुले अगाडि के भएकोछ भन्ने नदेखेर अगाडिको सवारीलाई हर्न बजाएछन्। यसरी त्यो टोल नै हर्नको आवाजले गुन्जाएमान भएछ।
“खै त म यसो जाउँ”, कोही सडकको बिचमा सवारीहरुको भीड छिचोल्दै हिडिरहेका रहेछन्।
“मर्न नसकेकाहरु”, कोही झ्यालबाट धारे हात लगाउँदै रहेछन्।
“के हेरेको? आँखा साँखा फोड्दिउ?”, कोही साइडतिरकोसँग कराउँदै रहेछन्।
“साला अगाडिको गाडीवाला कस्तो लाटो परेछ।”
“हे भगवान! अस्पताल पुग्न हतार भइसक्यो मलाई।”
“आज मेरो फ्लाईट छुट्ने भयो।”
“थुक्क खाल्डोपुरको साँघुरो सडक!”
“खाल्डोपुरबासी त भेडा नै हुन्, जहिलेसुकै यस्तै।”
बल्ल तल्ल ट्राफिक दाई बिचमा पुगेछन् अनी मुखमा सिठी घुसारेर बजाउदै हातको ईशारा गर्न सुरु गरेछन्।
“यिनिहरुलाई पैसा खान पाए पुग्छ। यही हो आउने टाइम?”
“पछाडी ठाउँ भए पो सर्ने, टाउकोमा बोकेर लैजाने?”
“मेरो गाडीलाई छोएर मात्र हेर त! तेरो हो यो सडक?”
“मान्छे चिनेको छस्?”
यसरी निकै बेरको हल्लीखल्ली मच्चिएछ खल्डोपुरको त्यो चौबाटोमा।
खाल्डोपुरको सडकमा मात्र होइन रमितानगरको सबैजसो सार्वजनिक स्थलमा यस्तो तछाँड मछाँड हुन्थ्यो। अस्पातलमा पालो कुर्दा, पधेंरोमा पानी लिना जाँदा, सिनेमा हेर्न जाँदा र मन्दिरमा दर्शन गर्न जाँदा पनि जीतबहादुर यसरी नै अगाडि गएको थियो।
लौ त यस्तै छ रमितानगरको कथा। कथाको गुदी खानुहोस्, बोक्रा सोक्रा फेला परे ठाउँमा फ्याँकिदिनुहोला।
August 24th, 2009
जय, सिड्नी (अष्ट्रेलिया)
(स्रोत : Mysansar.com)