~चन्द्र गुरुङ~
एउटा फूल
राखिदेउ त्यो सुनसान काखमा
गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।…
आफ्नो सन्तानको यादमा रोइरहने
उजाड मरुभूमि बनेको यो आमा मनमा
चलोस संवेदनाको बतास ।
अर्को फूल टिपेर
सिउरिदेउ त्यो तरुनीको केशराशिमा ।
बेपत्ता प्रेमीको यादमा तडपिरहने एक्लो साँझ,
चकनाचूर सपना, र
मरणासन्न बनेको रहरलाई
हुनेछ अलिकति साथ ।
एउटा अर्को फूल
सजाइदेउ त्यो साथीको छातिमाथि देब्रे खल्तीमा ।
हराइरहेका बा–आमा पर्खिरहेका व्यग्र आँखा
आशिर्वाद लुटिएको शिर, र
रंग खोसिएको इन्द्रेणी जस्तो मुहारमा
कोरिने छ एक धर्को आशा ।
एउटा फूल
देउ आफ्नो भत्किएको संसार टुलुटुलु हेरिरहेकालाई ।
घाइते इच्छाहरू,
सौन्दर्य मासिएको बगैँचा जस्तो ओठ, र
जीवन निर्जन बगर बनेको समयमा
भरिनेछ केही उमंग ।
एउटा फूल
देउ त्यो वृद्ध जोडीलाई
आकाशबाट एउटा चम्किलो तारा बिलाएझैँ
यिनका बूढौली आँखाका गहराइबाट ज्योति गुमेको छ , र
खुशीहरू अपहरित भएकाछन् ।
यी अँध्यारा रातहरूमा
मुस्कुराउने कोशिश गर्नेछन् जून–तारा ।
एउटा फूल चढाउ
खेतबारीसित बगेर गएका सपनाहरूलाई,
घरसित भत्केका सुखशान्तिलाई, र
जीवनबाट हराएको सुगन्धलाई ।
पक्कै, यस उपहारले घाइते क्षितिजमा
फैलिने छ थप जिजीविषा ।
र,
एउटा फूल चाहिँ
अर्पण गर माटोमुनि पुरिएका खुशीहरूका लागि ।
सुनसान मनको ओडार, र
उजाड जीवनको बगैँचा ।
हो, यी फूल गजब हुनेछन् घोर निराशामा
कोर्ने छन् थप रंगहरू ।
साथी !
यही हो समय, बाँड फूलहरू असंख्य–
दया र मायाको फूल
भरोसा र विश्वासको फूल
मन र मानवताको फूल ।
बाँडेनौँ भने अहिले, ओइली जानेछन् व्यर्थै
हृदयको गमलामा हुर्किरहेका
यी सुन्दर फूलहरू ।
(स्रोत : EGkabita)