संस्मरण : नानापाटेकर र मेरो जन्मदिन

~गीता रेग्मी~

ओहो ! आज मेरो जन्मदिन हो रे । आमाले भन्नुभएको । म चाहिँ गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होइन फुत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको चाहना र आवश्यकता त योजनामा नै थिए म । त्यसै त्यसै रोपिएर उम्रिएकी म । तर पृथ्वी टेकाउन आमालाई कति सकस भएको हुँदो हो । त्यसको भार तिर्न अहम् मान्छेको आयु सक्दा समेत सकेकी छैन । अनि त के गर्व गर्न आफ्नु जन्मप्रति ।

आमाको भार मात्र कहाँ हो र धर्ती माताका लागि पनि केही गर्न सकेकी छैन मैले । त्यसैले पनि जन्मिएको सार्थकता नभेटी म जन्म दिनको उपलक्ष्यमा खुशीयाली मनाउने आँट कसरी गर्नसक्थेँ र । अरुहरुले जस्तो गरेर ।

लमजुङको कुन्छा बजारबाट एक बिहान हिँडेर पुगिने जीताको राईपालीमा २०२७ सालमा जन्मिएकी । छोराको आशा गरेर बसेका घर परिवार मात्र होइन छिमेकीलाई पनि निराश बनाउँदै दोस्रो पुत्रीका रुपमा । रा र री को विभेदले जन्मिँदैदेखि परिवारलाई निराश पारेकी म र मेरो जन्मदिन सम्झन आमाबाबुलाई पनि त्यस्तो खाँचो परेन । (चितवन झरेपछि) भाइबहिनी, म पछि पनि त जन्मिरहे ईश्वरका वरदानका रुपमा ।

हामी बुबाको जन्मदिन मनाउन दिन गनेर बस्थ्यौँ र असार बीस गते रुखकटहर ल्याएर खान्थ्यौँ प्रायः । जब दिदी रीता जापान जानुभयो २०४७ सालमा तबदेखि हाम्रा जन्मदिनका पनि शुभकामना आउन थाले । अचम्म लाग्थ्यो र खुसी पनि भइन्थ्यो ।

विवाह भयो, जन्मदिन त बर्र्सेनि आउने नै भए तर कसैलाई याद नहुने मानौँ म कीरा माकुरा हुँ । घरमा पनि श्रीमानको जन्म दिनको दिनमा पशुपति जान्थ्यौँ । दान पुण्य गथ्र्यौ । वृद्धवृद्धालाई खाना खुवाउँथ्यौँ । आफ्नो त आउँथ्यो र जान्थ्यो ।

एकदिन टि.भीमा नाना पाटेकर र मनिषा कोइरालाको फिल्म आयो अग्निसाक्षी । बनाउँदा बनाउँदै दिक्क लागेर बनाएको मूर्ति जस्तो घिनलाग्दो मुखाकृतिको नानापाटेकरमा भरिएको रिसका ज्वाला स्वर्गकी अप्सरा मेनका वा उर्वशी जस्ती मनिषामाथि खनिँदा नानापाटेकरको आकृति कति साह्रै डरलाग्दो र घीनलाग्दो थियो भने म त्यसको बयान नै गर्नसक्दिन । त्यस्तै रिसाहा र कुरुप मान्छेका रिसमा परेको छिमेकीको जन्मोत्सव ।

उसले त्यहाँ बोलेका डाइलग म प्रत्येक जन्मदिनमा सम्झने गर्छु । पैदा होकर कउनसातिर मारा है, यैसा कौनसा अ‍ैसानकिया दुनियाँमा पैदा होकर, तुमरा क्या कन्टिबियुसन हे देशमे र ढोल बजाकर दुनियाँको निद हराम कर रहे हो ? देश र जनताका लागि केही योगदान गर्न नसक्नेले के को जन्मदिनको खुशीयाली मनाउने भन्ने आसय थियो नानापाटेकरको ।

मनिषाको अगाडि कुरुप, घिनलाग्दो र डरलाग्दो सन्काहा जस्तो लाग्ने नाना पाटेकरको त्यो डाइलग चाँहि साँच्चै नै गजबको थियो । जसले मेरो मन छोयो । त्यसपछिका प्रत्येक जन्मदिनमा म मेरी आमालाई फोन गर्छु । उहाँले नजन्माएको भए म कसरी हुन्थे र ? पेट कति दुखिरहेको छ भनेर सोध्छु । आमा अकमकाउनु हुन्छ । किन पेट दुख्ने ? म ठीक छु । के भनेकी ? तिमीहरु ठीक छौ ? भन्नुहुन्छ । म कुराको पोको खोल्छु मलाई जन्माउँदा तपार्इंलाई कत्तिको पीडा भएथ्यो ? ए ! ल, जन्मदिनको शुभकामना छ भन्नुहुन्थ्यो ।

मेरो मन गजबको द्विविधामा हुन्छ सधैँ । म जन्मिएको म खुसी भएर जन्म दिन मनाउँ या पृथ्वीको बोझ सम्झेर मातम मनाउँ । नाना पाटेकरको डाइलग सम्झँदा साँच्चै म कीरा माकुरा हुँ, जो पृथ्वीलाई दुषितमात्र पारिरहेकी छु । अन्यथा मानव चोला कहिले र कसरी प्राप्त हुने हो, एक बारको जुनी पाएकोमा खुसी मनाउँ, सबै मदर टेरेसा, मेडम क्युरी वा इन्दिरा गान्धी कहाँ भएका छन् र जस्तो पनि लाग्छ ।

दिपकजीको जन्मदिन सँधै पशुपति गएर मनाइन्छ । छोरीको जन्मदिन केक नकाटी जाँदै जाँदैन । छ महिना अघिदखि आफन्तजनलाई बर्थडेको निम्ता दिन्छे । जिन्दगी उसैको त हो जस्तो पनि लाग्छ । आफ्ना अगाडि त नानापाटेकरको डाइलग खडा छ । राष्ट्र र जनताका लागि के योगदान गरेको छस् र जन्मदिनको उत्सव मनाउने बस् । आफूभित्रको कमजोरी केलायो र आफैँप्रति हीन भावना उत्पन्न गरायो । यत्तिकैमा बितिरहे दिनहरु ।

अर्को मनले भन्छ, जन्मदिनको दिनमा त आमालाई शुभकामना भन्नुपर्ने किनकि उनको पो उत्पादन त म । अनि आमालाई फोन गरें, पेट कत्तिको दुखेको छ त ? ‘आमाको स्मृति धमिलो हुन्छ । म नै आमालाई स्मरण गराउँछु । मलाई पाउँदा क्या ? ‘आमा हाँस्नुहुन्थ्यो र सुख समृद्धिको आशीर्वाद दिनुहुन्थ्यो ।

यस पटक चितवनमा माघको ३ गतेदेखि सप्ताह थियो, २ गते आमाको जन्म दिन थियो । भोलिको सबै तयारी सकिएपछि सुजीको हलुवाको केक जस्तो बनाएर क्यान्डिल बालेँ । अनि बुबा र पाहुनाको अगाडि आमालाई राखेर केक काट्न लगाएँ । आमाबुबा मात्र होइन, इष्टमित्रमा समेत खुसीको रौनक देखेँ । आमा त खुसीले दंग । सप्ताह चलि नै रहेको थियो, पाँच गते भाइको जन्मदिन आयो । सधैँ गर्ने जन्मदिनको ‘वीस’ पनि कामको व्यस्तताले सबैले भुसुक्कै भुलेछौँ ।

भजनमण्डली भजन कीर्तन गर्दै थिए, मैले झल्याँस्स सम्झिएँ आज त भाइको जन्मदिन । उही हलुवाको केक बनाएर लगेँ र भनेँ आज मेरो भाइको जन्मदिन ह्याप्पी बर्थ डे भाइ !! आफ्नै जन्मदिन सम्झन नभ्याएको भाइको अगाडि हलुवाकै सही मैनबत्ती र केक थियो, दङ्गदास । भजन टोली भट्याउन थाले भाइको लागि आशीर्वचन । माहोल माघेझरीमा त्यसै त्यसै तात्यो र रम्यो पनि ।

फागुन ७ गते टुप्लुक्क आइपुग्यो । आज मेरा उनीको जन्मदिन । उहाँको जन्मदातृ अर्थात् मेरी सासू आमा पनि यहीँ हुनुहन्थ्यो । उहाँको धाई आमा पनि भएको बेला थियो । सोचेँ आजलाई कसरी स्पेसल बनाउन सक्छु । केटाकेटी सबै पढ्न र पढाउन गएका, सल्लाह गर्न पनि कोही भएन । बर्थ डेको मर्निङ वाकको समय नै यति लामो भयो कि, उहाँ पशुपति जान पनि भ्याउनु भएन ।

बिहानको खान उहाँका साथीसँगै खुवाएर सोच्न थालेँ । के गरुँ ? स्पेशल कसरी बनाउन सक्छु ? बूढेसकालमा केक ल्याउन ठीक कि बेठीक मान्छे को को डाक्ने ? बर्थ डे भएपछि नानापाटेकर नागले फोँडा फिँजाएझैँ आइपुग्छन् । ‘पैदा होकर तुमरा क्या कन्टिबियसन हे र ढोल मचाते हो दुनियाँको निद हराम कर के ।’ फेरी दुविधामा परेँ कसैलाई दुःख दिनु त मेरो मनसाय होइन । सोच्दासोच्दै मनलाई एकत्रित पारेँ, अरु जोकोहीलाई केही गरे पनि नगरे पनि मेरो र छोरीका लागि त उहाँ स्पेशल हो नि । सोच्दै एक बजे केक अर्डर गर्न गएँ । लाज पनि लाग्यो । उहाँको नाम केकमा लेख्न भन्दा पसल्नी नै दङ्ग परिन् र ढिलो आएकोमा गुनासो गर्न थालिन् ।

केक अर्डर गरेपछि, पाहुनालाई फोन गरँे । हल्ला नगरी आउनु ल भन्दै । आफू पकाउन तल्लिन हुन थालेँ । चार पाँच बजेदेखि पाहुना आउन थाल्नुभयो, टाढा जानेहरुलाई ढिला हुने भएकाले खाना खुवाएँ । खाना खाएपछि आमा र धाई आमालाई बर्थ डेसँगै राखेर केक खोज्दा सबै जना दङ्ग दास हुनुभयो । केक काट्ने र बाँड्ने अनि उपहार पाउँदा बर्थ डे मात्र होइन, आमाहरु पनि दङ्ग ।

मेरा श्रीमानलाई जन्माइदिएकोमा आमा र दूध खुवाइदिएकोमा धाई आमालाई उपहार दिँदा उहाँहरुको पनि खुसीको सीमा रहेन । केटाकेटी पाहुनाले दिएको उपहार लिँदा र खोज्दा पैँतालीस वर्ष काटिसकेका मेरा श्रीमानको खुसी साँच्चै चार वर्षे भतिजीको भन्दा कम थिएन । त्यो खुसी र लज्जामिश्रित हाँसोले साँच्चै म त्यसैत्यसै पुलकित भएकी थिएँ ।

जन्मदिन यत्तिमा कहाँ सीमित हुन्छ र ? लस्कर लागेर आउँछन् हाम्रा घरमा । एघारको परीक्षा नजिकिएकाले सधैँ काटिने गरेको छोरीको जन्मदिनको केक यस पटक हजुरआमा, मामा हुँदै बाबुसम्म आइ पुगेको छ । छोरी भन्न थालेकी छ, यस पाला मामुको पनि केक काट्ने । म निरुत्तरित नै रहन्छु । मलाई जन्मदिनको ‘वीस’ का कुरो नै आवश्यक कि अनावश्यक द्विविधा भइरहेको बेला केक काट्ने कुरा कसरी पचोस र ?

यस्तैमा एक दिन मेरो साथी भनौँ या बहिनी गोपीकाकोमा गएको थिएँ, उनीले किनेको नयाँ घर हेर्नका लागि । फर्कने बेलामा सानी छोरी श्रियाले भनी, ठूलो मामु हजुरको बर्थ डे यतै मनाउने है यसपाली, आइस्यो ल ? म हाँसे । नाना पाटेकरलाई सम्झँदै । बर्थ डे मनाउन वनस्थलीदेखि बल्खुसम्म कसरी आउने ? बालसुलभ नखरा पार्दै श्रिया छोरीले भनी ‘म बच्चा भएर हजुरले मलाई विश्वास नगरिसेको ? मामु र हजुरको बर्थ डे सँगसँगै भएकाले एकै ठाउँमा केक काटने क्या ठूलो मामु, आइस्यो है ?’ मुख फुलाएको नखरा पार्छे ।

संयोग थियो हाम्रो जन्म वा एउटा प्राकृतिक नियम । हामीले गाउँमा सुत्केरा खप्याएका थियौँ । त्यसमा अर्को संयोग जु¥यो गोपिकाको विवाह मेरै जन्मदिनको दिनमा भयो । बर्थ डे पनि नजिकै एउटै तिरष्कार मात्र होइन, वात्सल्य र झलुङ्गो समेत एउटै थियो हाम्रो । श्रिया ममाथि मर्का लगाउन छाड्दिन । ठूलो मामु हजुर त हाम्रो स्पेशल ठूलो मामु हो नि, हजुरको बर्थ डे र पापामामुको मेरिज एनिभर्सरी सँगै मनाउने क्या ?

मेरो मातृ हृदय पग्लन्छ । उसलाई मायाले अँगाल्छु र आउने वाचा गर्दै बाहिरिन्छु । बाटाभरि मन श्रियाले नै तानिरही । घरमा छोरी गृष्माले यसपाली त मामुको बर्थ डेमा पनि केक काटने है ? भनेका कुरालाई बेवास्ता गरेकी मैले श्रियाका कुरालाई टार्नै सकिन । उसकी मामु गोपिका र म एकै ठाउँमा जन्मिएका थियौँ ।

म दोस्रो छोरीका रुपमा भने, गोपिका अन्तिम अर्थात् नवौँ सन्तानका रुपमा । हामी दुवैको जन्मले घर परिवार र छरछिमेकमा कुनै महत्व नराखे पनि हाम्रा बच्चाका लागि त लाग्यो हामी महत्व राख्दा रहेछौँ ।

त्यसैले नाना पाटेकरलाई ज्याकी श्राफ लगाएर म लागेँ बल्खु मेट्रो कोलोनीतर्फ बर्थ डे मनाउन । त्यो पनि केक काटेर ।

चलचित्रमा तिन वटा गीत रहेको निर्माणपक्षले बताएको छ । सस्पेन्स कथामा आधारित यो सिनेमाका विषयबस्तुका बारेमा निर्माणपक्षले केही पनि खुलाउन चाहेको छैन । चलचित्रमा विमल ढकालको छायांकन, विकास चौधरीको संगीत छ । चलचित्रको छायांकन २५ दिनमा सकिने बताइएको छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.