कथा : अन्त्यहीन प्रतिक्षा

~माया ठकुरी~Maya Thakuri

ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ यो खीर कति मिठो छ । मैले तिम्रा लागि भनेर आफैँले पकाएकी हुँ । अलिकति चाखिहेर त’ ।’

ओछ्यानमा ठूलाठूला तकियाको आड लिएर निर्विकार रुपमा शून्यतिर टोलाइरहेकी छोरीको ध्यान आफूतिर खिच्ने निरर्थक प्रयास गरिरहेकी हुन्छिन् शान्ता । नौ वर्ष हुन लागेको छ सुमी यसरी नै चेतनाहीन मस्तिष्क र अधमरो शरीर लिएर बाँचिरहेकी । आमा भएकी हुनाले मात्र होला यतिका वर्ष बितिसक्दासम्म पनि शान्ता छोरीको हृदयविदारक अवस्थामा आत्मसात् गर्दै कुनै एक मुहूर्तमा छोरीको चेत खुल्छ कि ?’ सामान्य अवस्थामा आउँछे कि ?’ भनेर हृदयमा ठूलो विश्वास लिएर त्यो सुखद क्षणको प्रतीक्षा गरिरहेकी छन् ।

नौ वर्षअघि जुन आत्मघाती क्षणमा दुई वर्षकी सानी अबोध बालिका सुमी एउटा नवनिर्माणाधीन घरको तेस्रो तलाबाट एकाएक भुइँमा बजारिन पुगेकी थिई, त्यसै दिनदेखि शान्ताको फराकिलो संसार साँघुरिएर छोरी सुमीकै वरिपरि सीमित हुन पुगेको थियो । लामो समयसम्म जीवन र मृत्युसँग जुधेपछि एकदिन बल्लतल्ल आँखा खोलेकी थिई सुमीले ।

महिनौं दिनसम्म बेहोसीको अवस्थामा रहेकी छोरीले बेहोसी भङ्ग भएर प्रथम पटक आँखा खोलेको क्षणमा शान्तालाई संसारभरिको खुसी जम्मै आफ्नो पोल्टोमा परेको झैँ अनुभूति भएको थियो । तर उनको त्यो खुसी धेरैबेर टिकेन । सुमीका आँखा खुला थिए । तर उसको मस्तिष्कका जम्मै द्वार बन्द थिए । यहाँसम्म कि सुमीका आँखाले आफ्नै जन्मदात्री आमालाई समेत चिन्न अस्वीकार गरिदिए । ‘अब यिनी बाँचे पनि जीवन रहनु र नरहनुको कुनै अर्थ हुनेछैन ।’

सुमीको उपचारमा लागेका डाक्टरले भनेका थिए ।’ उसो भए अब हाम्री छोरीले कहिल्यै पनि सामान्य जीवन बिताउन सक्दिन डाक्टर ?’ सानी अबोध छोरीको असामान्य स्थिति देखेर आहत बनेका देवेन्द्रले डाक्टरसँग प्रश्न गरेका थिए ।

‘हेर्नुहोस्, संसारमा कैयौं असम्भव भनेर मान्दै आएका कुराहरु सम्भव नभएका होइनन्, आधुनिक युगको साथसाथै विज्ञानले पनि निकै प्रगति गरिरहेको छ, तर पनि जहाँसम्म मलाई लाग्दछ, तपाईंकी छोरीको केस त्यति सहज छैन । कुनै दिन कुनै क्षण चमत्कार भएर सद्दे र सामान्य भई भने त्यो अर्कै कुरो हो ।’ डाक्टरले सुमीको शारीरिक र मानसिक स्थितिबारे प्रस्ट रुपमा भनेका थिए । डाक्टरले त्यतिखेर भनेको झैँ कुनै अदृश्य चमत्कारको प्रतीक्षामा थिइन् शान्ता । उनको मनमा ‘एक दिन मेरी छोरी यो सांघातिक रोगबाट अवश्य पनि मुक्त हुनेछे’ भन्ने विश्वास थियो ।

उसो त सुमीभन्दा चार वर्षले जेठो सन्तान हिमांशु पनि शान्ताकै सन्तान हो, तर पनि उनी बालिका छोरीको दयनीय अवस्था देखेर मनमनै वेदनाले छट्पटिने गर्दथिन् । छोरीको कष्टकर जीवन देखेर शुद्धि हराएकी जस्ती भएकी पत्नीको एकोहोरो क्रियाकलापले गर्दा देवेन्द्र पनि निकै मर्माहत भएका थिए । शान्ताको सारा समय छोरीको वरिपरि नै बित्ने गथ्र्यो । सुमीलाई नुहाइधुवाइ गरिदिनेदेखि लिएर उसलाई खुवाउने, सुताउने र उसको मलमूत्र सफा गरिदिने सारा काम शान्ता आफैंले गर्न गरेकी थिइन् ।

शान्ताको धेरैजसो समय छोरीको भावशून्य आँखामा आफ्नो चिनारी खोज्दै बित्ने गथ्र्याे । ‘म तिम्री आमा ! हेर यता हेर ‘मलाई हेर ! म ‘‘तिम्री आमा ?’ छोरीको ज्ञानशून्य आँखामा हेरेर अविरल आँसु झार्दै भन्ने गर्दछिन् शान्ता, तर सुमीको निराकार अस्तिष्कले आफ्नी जन्मदात्री आमाको हृदयको पीडालाई रत्तिभर पनि बझन सक्दैनथ्यो । अनौठो कुरो के थियो भने सुमीको मस्तिष्कले काम गर्न छाडेको भए तापनि उसको शारीरिक वृद्धिमा कुनै प्रकारको रोकावट आएको थिएन । आम केटाकेटीहरुजस्तै उसको शरीरको विकास भई नै रहेको थियो ।

साँच्चै भन्ने हो भने शान्ता छोरीको सुषुश्रा गर्दागर्दै स्वयं पनि बालिकाजस्ती भएकी थिइन् । उनी थरीथरीका सानाठूला पुतली छोरीका अघि राखेर ती पुतलीहरुको अघि जीवित प्राणीसँग गरेको जस्तो व्यवहार गर्दै एक्लै बात मारिरहन्थिन् । आमामा आएको अनौठो क्रियाकलापका कारणले गर्दा शान्ताको छोरो हिमांशु उनीबाट दिनदिनै टाढा हुँदै गइरहेको थियो । ‘तिमी आफूले आफैँलाई कमजोर पार्दैछ्यौं । यतिका वर्ष भइसक्यो, तिमीले घरपरिवारको वास्ता गर्न छोडेको । यस्तै हो भने तिम्रो र मेरो सम्बन्धमा पनि धमिलो छाया पर्न बेर लाग्नेछैन, होसमा आऊ । आफूलाई सम्हाल ।’ पत्नीको अकल्पनीय अवस्थालाई दृष्टिगत गर्दै भन्ने गर्छन् देवेन्द्र तर शान्तालाई उनको कुराले लेस मात्र पनि छुँदैन । पाँच वर्षअघिको कुरो हो, त्यस दिन पनि सुमी मुखबाट राल चुहाउँदै शरीर यताउता हल्लाएर एकनाससँग हुँ, हुँ हुँ आवाज निकालिरहेकी थिई । शान्ताचाहिँ छोरीको छेउमा बसेर नानाथरीका पुतली देखाउँदै छोरीको अघि एकनाससँग बोलिरहेकी थिइन् । अकस्मात सुमीलाई के भयो कुन्नि ऊ हुँँ हुँँ गर्न छोडेर मुख बङ्ग्याई बङ्ग्याई घुर्रघुर्र गर्दै ओछ्यानमा छटपटाउन लागी ।

छोरीको दुरावस्था देखेर विस्मित भएकी शान्ताले केहीबेरसम्म अक्क न बक्क भएर छोरीलाई हेरिरहिन् । त्यसपछि अचानक शान्ताको मुखबाट चित्कार निस्क्यो । त्यस दिन डाक्टर आए । उनले सुमीलाई जाँचेपछि मृत घोषित गरे । सुमीको आकस्मिक मृत्युलाई घरका अन्य सदस्यहरुले जुनसुकै रुपमा लिएको भए पनि शान्ताको जीवनमा सुमीको मृत्यु वज्रपातसरह भइदिएको थियो । उनी हरबखत टोल्हाएर बस्ने अथवा रङ्गीविरङ्गी कपडा च्यातेर पुतली बनाएर त्यसैलाई सुमीको प्रतिबिम्बसरह ठानेर उनीसँग बात मारेझैँ गरेर बस्न थालेकी थिइन् । सुमीको मृत्युको आघातले उनको स्मरणशक्ति पनि समाप्त भएको थियो । सुमीको देहावसान भएको धेरै समय बितिसक्दा पनि शान्ताको स्मरणशक्ति फर्किएन । अनि परिवारकै रोहवरमा उनलाई मानसिक अस्पतालमा पठाइएको थियो । सुन्दछु, अहिले यतिका वर्ष बितिसक्दा पनि शान्ताको मानसिक अवस्थामा कुनै प्रकारको परिवर्तन आएको छैन ।

(स्रोत : ठकुरीको कथाकृति ‘आमा जानुहोस्’ बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.