~प्रकाश प्रसाईं~
साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए। डाँडा माथिको घाम ओरालो झर्दै थियो।
उनी एकदम अत्तालिएकी जस्ती देखिन्थिन्। निधारबाट चिटचिट निस्केका पसिना उनको चिउँडोभन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा पनि बढी उनी हतारिएकी थिइन्। परबाट उनलाई एउटा हुलले पछ्याइरहेको थियो। उनी अत्तालिंदै अगाडि पछाडि हेर्दै, हुन सक्ने दुर्घटनाबाट आफूलाई बचाउन प्रयासरत थिइन्।
उनलाई चारैतिर पर्खालले घेरिएको आभास हुन थाल्यो। डाँडापाखा अनि खोलाहरुले समेत उनको बाटो छेके झैँ लाग्यो। त्यो हुलको नियतमाथि जो कोहीले अनुमान गर्न सक्थ्यो। केही क्षणपछि त त्यो हुलले चारैतिर बाट उनलाई घेर्यो। चारैतिरबाट शिकारीले घेरिएको प्राणी जस्तो निरीह थिइन् उनी। सम्भवतः ती पहिलो जुनीमा गिद्द थिए, र त यस जुनीमा मानवरुपी नक्कली आवरणले ढाकिएर आफ्नो गिद्धत्व देखाई एक नारीको अस्मिता लुटिरहेका छन्। उनी आफूलाई ती गिद्दहरुको पन्जाबाट फुत्काउने असफल प्रयास गर्दै थिइन्। आखिर उनको संघर्ष सफल हुन सकेन र जमिनमा मुढो लडे झैं गर्ल्याम्म ढलिन्।
ती रक्तपिपासु पौडिए, लाडिए उनको अस्मितामाथि, चुम्नसम्म चुमे उनको नारीत्वलाई। उनको शरीर एकाएक भारी भए झैँ लाग्न थाल्यो, जमिन झन् झन् भासिए झैँ लाग्न थाल्यो। आकाश खसेर किचे झैँ लाग्न थाल्यो। उनको सहनशीलताले सीमा नाघिसकेको थियो। त्यसैले होला उनी चेतनशून्य बनिसकेकी थिइन्। के छोड्थे ती मानवरुपी रक्तपिपाशुहरुले। नंग्याइरहे, चिथोरीरहे। कसले बुझ्ने उनको पीडा, अनि आँखाबाट खसेका बलिन्द्र आँशुका थोपाका मोल ?
अचानक उनले परबाट एक हुल उनीतिर आउँदै गरेको देखिन्। मनमा आशाका लहर जागेर आयो, सहारा पाउने अपेक्षामा। त्यो हुलले उनलाई कठोर संघर्ष गरेर ती रक्तपिपासुहरुबाट छुटायो। बल्ल उनले सन्तोषको लामो सास फेरिन्। उनलाई आफ्नै चिताबाट उठेर पुनर्जीवन पाएको महशुश भइरहेको थियो। तर दुर्भाग्य, त्यो हुल पनि अघिल्लो भन्दा पृथक हुन सकेन। उनलाई सहारा दिनुको सट्टा अर्थात् उनको नग्नतालाई छोपी लाज बचाउनुको सट्टा उनको नग्नताबाट आफ्नो प्यास तृप्त पार्न उनीहरु पनि ऊद्दत रहे। जहाँ पायो त्यही आफ्नो पंजा फैलाउन थालेका थिए। सायद उनी अब अभ्यस्त भइसकिन्, कि ती गिद्धहरुका लुछान र चुडानबाट उनका अंग-अंग अब निर्जीव झैँ भएका थिए। सब उनका आशाहरु पनि जड झैँ भैसकेका थिए, मुक्त हुने आकांक्षाहरु।
त्यसैबेला अर्को हुल पुन: उनीतिर पाइला अगाडि बढाइरहेका थिए, उनलाई मुक्त पार्ने दृढताका साथ। तर अचम्म, कसरी भरोसा गर्ने ती नव आगन्तुक हुलको। अरु त आएपछि नांगिएका थिए, तर यिनीहरु त आउनु अगावै नांगिसकेका छन्। …… बिचरी उनी ढलिदिएकी छिन् जड बनेर, मन चाहेको गर्नलाई । बिचरी उनि, बिचरी नेपाल आमा ……………………….।
(स्रोत : Mysansar.com)