~महेन्द्र महक~
गोलो गोलो अनुहार । आँखामा गाजल । सानो ल्वाङ्गे फुली । रातो लिपिस्टिकले कामुक देखिएका गोल गोल रसिला ओठ ।
नुहाएर सुकाउन फुक्का छोडेको भिजेको कपाल । कसिलो छाती । रातो कुर्ता सलवारमाथि कालो रंगको छालाको ज्याकेट ।
ऊ साँच्चै सुन्दर थिइ । काउन्टरनेर उभिएकी ऊ साँच्चै बैंशकी मूर्ति थिई ।
होटेल देउराली ।
फिदिमबाट बिहान पाँच बजे हिडेको हाम्रो बस दिउँसो बिर्तामोड पुगेको थियो । गाडी ग्यारेजमा टुटफुट मर्मतका लागि छोडेर आएको थिएँ म होटेल देउरालीमा ।
बस कन्डक्टर राजुले बाइकबाट देउराली होटेलसम्म छोडेर गएको थियो । बाइकबाट नओर्लेर नै एक जना काम गर्ने केटालाई भनेर गएको थियो राजु– उहाँ हाम्रो नयाँ ‘गुरू’ हो । जे अर्डर गर्नुहुन्छ, दिनु है !
माघको महिना । हिउँदका दिन । चिसो मौसम । हुस्सुभित्र हराउँदै गएको झापा ।
तर म तात्तिदै थिएँ ।
एउटा ‘भर्जिन’ र एक प्लेट मासुका साथ ।
नसा लाग्दै गएपछि ऊ सुन्दर आइमाइबाट अप्सरा बनी ।
ऊ अप्सरा ! कामुक अप्सरा !
यो केवल मेरो आँखाको दोष थियो । मातको दोष थियो । पुरुष मन उद्धेलित भएपछि देखिने भ्रामक कल्पनाको दोष थियो ।
पिउन सिकेदेखि नै एउटा अजीवको बानी छ । मात चढेपछि मलाई सुत्नुपर्छ– शान्तपूर्वक । आरामदायी ओछ्यानमा । हिउँदको चिसोमा एउटा क्वाटर रक्सी र दुई प्लेट मासु खाएपछि दिनभरिको थकानले गर्दा निद्राले लठ्ठ बनायो ।
‘सुत्न पाइन्छ ?’
मैले गलत मान्छेलाई गलत तरिकाले गलत प्रश्न सोधेछु ।
‘पैसा लाग्छ सुतेको त हौ !’ उसले छिल्लिदै भनी ।
लठ्ठिएका मेरा आँखा स्थिर थिएनन् । धन्न मातिएको शरीरका साथ म स्थिर उभिएको थिएँ, जेनतेन ।
‘हाम्रो स्टाफ कहाँ सुत्छ ? म सुत्न चाहन्छु !’ पछिल्ला तीन शब्दमा मैले विशेष बल दिएँ तर सानो आवाजमा ।
उसले की बक्सबाट एउटा चाबी उठाइ र मेरो अघिअघि हिँडी । म उसको पछिपछि ।
उसको पहिरन– उसको श्रृङ्गार– उसको बैंश । ऊ काउन्टरनेर उभिएर ग्राहकहरुसँग गरेको सामान्य कुराकानी । काम गर्ने केटाहरुलाई अह्राएको सानो सानो काम ।
मलाई लागेको थियो ऊ यस होटेलकी मालिक्नी हो । होटेल साहुनी हो ।
त्यसैले उसले बोलेको एउटा वाक्य ‘सुतेको त पैसा लाग्छ हौ !’ को दोहोरो अर्थ निकाल्ने धृष्टता गरिनँ ।
मलाई ढोका खोल्दिएर ऊ एक शब्द नबोली फर्की ।
राती दश बज्नै लागेको बेला उसैले उठाइ मलाई ।
अघिसम्मको फुक्का कपाल मज्जासँग कोरेकी थिई, क्लिपले बाँधेकी थिई बाक्लो केश । घुँघरिएको कपालको झुप्पा काँधमा सुन्दरताका साथ बसेको थियो । कानको झुम्का ट्युबलाइटको उज्यालोमा झल्किन्थ्यो उसले टाउको हल्लाउँदा ।
‘धत् ! घरकी कालीको कसम !’ मैले आप्mनो मनलाई शान्त पारेको थिएँ ।
‘खाना खाने होइन ?’ उसले भनी ।
‘बेला भयो र ?’ मैले लामो सास लिएँ, तन्द्राबाट ब्यूँझिएँ र घडी हेरें । ‘मलाई खाना खान उठाइदिएकोमा धन्यवाद है !’ मैले कृतज्ञता प्रकट गरें ।
ऊ मुस्काई मात्र ।
‘अरुले खाइसके ?’
‘खाँदै छन् !’
‘ए !’
म बाथरुम पसेपछि ऊ पनि कोठाबाट बाहिरिइ ।
खाना खाँदा उसले पनि सर्भ गर्दै थिई, मासु–भात–तरकारी–अचार ।
रक्सीका क्वाटर ।
खुर्सानी ।
यतिबेला काउन्टरमा एउटी मोटी आइमाई बसेकी थिई । आइमाई नजिकै बसेको ७/८ वर्षको बालकको हातमा रिमोट थियो । टिभीमा बारम्बार ऊ च्यानल बदल्दै थियो । १०/११ वर्षकी बालिका केही लेख्दै थिइ काउन्टर नजिकैको एउटा सानो टेबुलमाथि ।
होटेल साहुनी त्यो मोटी आइमाई रहिछे । मैले आपैmलाई आश्वस्त पारेँ ।
‘बाला सुन्दरी को हो त ?’ मेरो मनले अर्को प्रश्न ग¥यो । ऊ अलिपरको टेबुलमा तरकारी थपिदिदै थिइ ।
मोटी आइमाई र मेरो गाडी साहुबीच कुराकानी हुँदै थियो । तर म अलि परको टेबुलमा थिएँ, के कुरा भयो ? सुनिएन । उनीहरु सानो आवाजमा बोल्दै थिए ।
‘ए शीला ! यहाँ आ त ।’ मोटी आइमाईले बोलाएपछि बालासुन्दरी काउन्टरनेर पुगी ।
बल्ल थाहा पाएँ, बालासुन्दरीको नाम ‘शीला’ रहेछ ।
उनीहरुबीच केही कुराकानी भयो ।
एकछिन पछि मेरो बसको साहु र शीला बाइकमा कतै जाँदै थिए ।
‘साहुले आप्mनै रुममा लाँदैछ के गुरू ! के वाल्ल परेको ?’ मसँगै खान बसेको मेरो खलासीले मलाई बतायो ।
तीनवटै बसका स्टाफ र साहुसमेत देउराली होटेलमा नै बस्नुको कारण बल्ल थाहा पाएँ ।
‘भोलि मेची बन्द !’ ठट्यौलो पाराको राजुले भन्यो । ‘खाना खाएर अहिले नै ससुराली जानु प¥यो । बन्द अनिश्चित रहेछ ।’ राजु चन्द्रगढी जाने सोचमा रहेछ ।
‘ढुक्क भ’र बसे हुन्छ गुरू !’ उसले मलाई आश्वस्त पा¥यो ।
‘कसको रहेछ बन्द ?’
‘लिम्बुवान ! खम्बुवान ! के के हो के के ?’ उसले अनुमानमा भनेको हुनुपर्छ । हाम्रो लागि मुख्य कुरा बन्द थियो । जोसुकैले बन्दको आव्हान गरे पनि आखिर बन्द त बन्द नै थियो ।
खाना खाएर म पहिला सुतिरहेको कोठामा सुत्न गइहालेँ । खलासी भाइ गाडीमा सुत्यो । साहु आप्mनै रुममा शीलाको जवानी ओढेर । राजु ससुराली दौडियो राती नै ।
***
बिहान शीलाले नै मलाई ब्यूँझाई ।
‘सुतेकालाई ब्यँुझाउने ठेक्का नै हो कि यसको ?’ एकाबिहानै उठाएकोमा रिस उठ्यो झनक्क ।
‘किन उठाएको यति सबेरै ?’ निद्रालु आँखा र रिसाहा बोलीका साथ भनें, ‘आज बन्दको दिन त अबेरसम्म सुत्न मन थियो ।’
उसले चियाको गिलास हातैमा दिई ।
‘घर कहाँ हो तपाइँको ?’ उसले सोधी ।
अप्रत्याशित प्रश्न । अप्रत्याशित समय ।
‘घर पश्चिमतिर पर्छ ।’ निर्लिप्त भावमा मैले जवाफ दिएँ ।
‘ए !’
‘तपाइँको नि ?’ मैले औपचारिकतावश सोधें ।
‘मेरो… तेह्रथुम हो ।’ उसले सोचेर जवाफ दिई । जवाफ दिँदा उसको मुहारको रंग उडेको थियो ।
उसको मुहारमा लागेको बादल मलाई राम्रो लागेन । त्यसैले भनिदिएँ, ‘तपाइँ हिजो खुब राम्री देखिनुभएकी थियो ।’
‘आज छैन र ?’ उसको मुहारमा रंग चढ्यो ।
‘आज राम्री हिजो चाहिँ साह्रै राम्री ।’ यसो भनेर म उठें बाथरुम जानलाई ।
ऊ मुस्कुराई । मुस्कुराउँदा ऊ झन् सुन्दर देखिइ ।
म बाथरुम छिरेपछि ऊ पनि रुमबाट बाहिरिइ ।
***
तीन दिनसम्म लगातार बन्द भइरह्यो । तीन दिनसम्म म पनि होटेल देउरालीमा बसिरहें ।
तीनदिनसम्म शीलासँग हाँस्दाबोल्दा ऊ मेरो नजरमा बदलिदै गई ।
पहिलो दिन ऊ अप्सरा थिई ।
दोस्रो दिन ऊ केवल सुन्दर आइमाइ बनी ।
तेस्रो दिन केवल आइमाई ।
अब त मनले एउटा प्रश्न उठाउँछ । उसले यस्तो धन्दा किन गर्छे ? छिः ! कता–कता घृणा उब्जियो मनभित्र । र, पनि तपाइँ सम्बोधन तिमीमा झार्न खोजें, सकिनँ ।
धेरै पटक उसलाई उस्तै मोहित पार्ने श्रृङ्गार गरी रिक्साबाट कतै जान देखेको थिएँ । बुधबारे वा अझ पर कतै । थाहा भएन ।
तर ऊ जान्थी । र, म माथिको टपमा बसेर ऊ गइरहेको हेर्थेँ । ऊ मुस्काउँथी । म पनि बदलामा मुस्काइदिन्थें ।
(मुस्कान सार्वभौम भाषा रहेछ ।)
होटेलका हरेक कोठाका ओछ्यान उसको बैंशले तात्तिएका छन् । कुनै न कुनै दिन । कुनै न कुनै समय ।
उसको धन्दा चल्थ्यो । होटल नचलेर पनि चल्थ्यो । बन्दमा पनि व्यापार चलेकै हुन्थ्यो ।
बन्दले बैंशलाई रोक्न सकेको थिएन । सक्दैन पनि ।
एउटा पुरानो पत्रिका (कुनै ग्राहकले छोडेको हुनुपर्छ) रुफटपमा बसेर पढिरहेको थिएँ । एक्कासी उसले पछाडिबाट अँगालो हाली ।
‘के पढ्दै हो ?’ उसले प्रेमिल आवाजमा सोधी । लाडिएर, लठारिदै । मानौं कि मेरी श्रीमती माया गरेर सोधिरहेकी थिइन्– मानौं कि उनी मलाई फकाउन खोज्दै थिइन्– मानौं कि म रिसाएको लाई मनाउन खोज्दै थिइन् ।
तर, अहँ ऊ कसैकी स्वास्नी थिइनँ ।
ऊ सबैकी स्वास्नी थिई ।
सोध्न मन थियो– ‘के गरेको यो ?’ तर यस्तो सोध्नुको तुक थिएन । ‘अँगालो’ मार्नुको अर्थ उसलाई थाहा थियो, मलाई थाहा थियो । बरु जवाफ दिएँ, ‘पत्रिका पढेको नि ! टाइमपास गर्न अरु केही भएन ।’
‘आपूmले नै चासो नदिने ! अनि कसरी हुन्छ टाइमपास ?’ यसो भनेर उसले आफ्नो अधरको लाली मेरो गालामा प्रत्यारोपण गरिदिइ ।
फेरि पनि सोध्न सकिनँ, के गरेको भनी । यसको अर्थसँग पनि हामी दुवै जानकार थियौं ।
‘शीला ! शीला !’ उसको मालिक्नीले उसलाई बोलाउँदै थिइ ।
मलाई किंकत्र्तव्यविमूढ अवस्थामा छोडेर ऊ तल ओर्ली ।
पाँच मिनेट पछि एक जना लोग्ने मान्छेका साथ उसलाई कोठा नम्बर एक सय सातमा पस्दै गरेको देखें ।
म उस्तै गरी पत्रिका हेरिरहें ।
***
म सजग छु र वफादार छु आप्mनो जीवनसाथीप्रति । यो वफादारिताको गुण मेरो वैवाहिक जीवनमा धेरै पछि मात्रै थपिएको हो । अन्यथा शीलाजस्ती अप्सराहरुको अगाडि ठूला–ठूला ऋषिमुनि त पग्लिएका छन् भने म मुला ड्राइभर न हुँ । मेरो जीवनबाट मीना हराएपछि मात्रै म वफादार बनेको हुँ ।
मीनाका लागि यो केवल रोमान्स थियो । मेरा लागि पनि ।
उसले विवाहको सोच बनाएकी थिइनँ । म पहिलादेखि नै एउटी छोरीको बाउ । कान्छी भित्र्याउने कुनै सोच थिएन ।
मीना र मेरो सम्बन्ध केवल सम्बन्धका लागि थियो । अन्यथा कुनै सम्बन्ध नै रहने थिएन । हामी जानीजानी एकअर्काप्रति नजिकिएका थियौं । हामीले जानीजानी सम्बन्ध बनाएका थियौं । यो सम्बन्ध केवल आनन्दका लागि थियो । रोमान्सका लागि थियो ।
तर उसको महिनावारी रोकिएपछि भने हाम्रो चेत हरायो ।
बच्चा रहेपछि मात्रै उसले विवाह गर्नुपर्छ भनेर दबाब दिन थाली । तर, मलाई मञ्जूर थिएन । मैले उसलाई सम्झाएँ, विवाह गर्दा हामी दुवै बर्बाद हुन्छौं भनेर । आखिर केही सीप नलाग्ने देखेपछि उसले एबोर्सन गर्ने भई ।
त्यतिबेला गर्भपतन गैरकानुनी थियो । त्यो समयमा १५/२० हजार मेरो लागि ठूलो रकम थियो । साह्रै मुश्किलले पैसा जुटाएर मैले ऊबाट पिण्ड छुटाएको थिएँ ।
यस दुर्घटनापछि मैले कसम खाएँ, जिन्दगीमा कुनै परस्त्रीलाई बदनियतले स्पर्श पनि गर्ने छैन ।
शीलाको वैंशले मलाई नलोभ्याएको होइन । झन् ऊ आफै मप्रति समर्पित हुन तयार थिइ । तर बैंशको मातभन्दा बलियो भइसकेको थियो मेरो नैतिकता ।
मलाई काकाले एम्बुलेन्स चलाउनका लागि मेरै जिल्ला बोलाउनु भएको थियो । सरकारी अस्पतालको एम्बुलेन्स चलाउन पाउने भएपछि म पनि घर फर्किदै थिएँ ।
घर फर्किन लागेको दिन त शीलाले मेरो जनेन्द्रीय नै समाती र चुनौती दिँदै भनी, ‘के हो ? तपाइँ त मलाई हिजडाजस्तो पो लाग्यो हौ ।’
‘आइमाई देख्नबित्तिकै होसहवास गुमाउनु मात्रै मर्दानगी होइन, आपूmलाई आप्mनो नियन्त्रणमा राख्न त्योभन्दा अझ ठूलो मर्दानगी चाहिन्छ ।’ मैले उसलाई जवाफ फर्काएको थिएँ ।
मेरो जवाफमा उसको शीर निहुरियो ।
‘होटलमा काम गर्दासम्म कसैले पनि मलाई ‘तपाइँ’ भनेन, तपाइँ मात्रै हो मलाई इज्जत दिने मान्छे । मलाई लोग्नेमान्छेहरुले एक गिलास पानीभन्दा बढी देखेनन्– तपाइँले मलाई मान्छे भएको अनुभूति गराउनु भो ।’
उसले शीर उठाउँदा उसका आँखा आँसुले भरिएका थिए । ‘भाँडा मिस्दा–मिस्दै म यो पेशामा लागेँ ।’
‘घरपरिवारले केही हेर्दैन यस्तो अवस्थामा पनि ?’ उसका आँशु सबूत थिए, यो उसले रोजेको पेशा थिएन ।
‘घर भए पो घरकाले हेर्छन् ।’
म केही बोलिनँ । मेरो प्रश्नमा नै प्रश्न लागेको थियो ।
‘सुकुम्बासी बस्तीमा म आमा र बहिनीका साथ बस्थें । एउटा आर्मी केटासँग चिनजान भयो । बिहे भो । तर संकटकालको कुरा, ऊ मलाई छोडेर कहाँ गयो, थाहा छैन । बा हामी सानै छँदा हामीलाई छोडेर कहाँ गए, थाहा छैन । बहिनी काठमाडौं पसी, पछि त्यतैबाट कुवेत । धेरै वर्ष भयो, उसको बारेमा मलाई केही थाहा छैन । आमा बित्नुभयो । मेरो एउटा छोरा जन्मियो । सन्तान हुर्काउन धेरै गाह्रो हुन्छ । धेरै ।
त्यसपछि यस होटेलमा भाँडा मिस्ने काम पाएँ । महिनामा दुई हजार पच्चीस सय कमाउने मलाई एकै रातको एक हजार १५ सय दिनेहरु आउन थाले । शुरु–शुरुमा मलाई अप्ठ्यारो लाग्यो । मरिगए गर्दिनँ यस्तो काम भन्ने लाग्यो । तर, सँधै हुँदो रहेनछ । म हारेँ ।
होटलले संरक्षण दिन्छ । होटलले आधा राख्छ । आधा मैले । कोठाको ग्राहकले आफै दिन्छ ।
छोरा बोर्डर्स छ । अहिले त सानो छ पछि के हुने हो थाहा छैन ।’
‘तपाइँ मलाई राम्रो लाग्यो । त्यसैले यत्ति कुरा भने, अन्यथा नलिनू ।’
उसले आँसु पुछी । अवरुद्ध गलाका साथ भ्mयालबाट बाहिरतिर हेरी ।
यति छोटोमा उसले बिताएको सम्पूर्ण जिन्दगी सुनाएकी थिई मलाई । एउटा बृहत उपन्यासलाई आप्mनै अगाडि उभिएको देखेथेँ मैले शीलाको रुपमा ।
त्यो बेला मैले यत्ति भन्न सकें, ‘जिन्दगी साँच्चै कठोर छ । निर्दयी छ जिन्दगी धेरैका लागि ।’
नाइट बस भेट्ने गरी तयार भएर म होटलबाट निस्कदै गर्दा ऊ कुनै लोग्नेमान्छेको बाइकमा सवार भइ कहीँ कतै जाँदै थिई ।
कहीँ कतै…। यसरी लोग्नेमान्छेको बाइकमा सवार भई कहीँ कतै जानु उसको पेशा थियो ।
(२३ सेप्टेम्बर २०१३, कार्गो एडमिन, दुबई)
(स्रोत : Nepalpati)