~उत्तम कृष्ण मज्गैंया~
नृप फालेर के नौला बनेका भूप हौ तिमी ?
यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी !
गरेनौ काम क्यै मौका तिमीसंग थियो जब
भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ?
योग्यता भन के तिम्रो ? दल , बंडा र चाकरी ?
राजनीति भयो तिम्रो मानौं कमाउ-नोकरी !
साँढेसरि जुधाएर तमाशा हेर्न खोज्दछौ
टुक्राटुक्रा बनाएर नेपाली-मन भाँच्दछौ !
हुलेर धमिलो बाढी राजनीति चलाउँछौ
तिमी आफ्ना विरोधीका घर-छाप्रा जलाउँछौ !
यता भाषण अर्कै छ उता कर्म छ निर्घिनी
कसरी चटके जस्तै बदल्छौ रूप यो तिमी ?
भन्छौ थामिरहेका छौं देशको भार बेसरी
हास्यका पात्र बन्दैछौ हुटिट्याउं भएसरि !
भरोसा कसरी गर्ने ? छौ दरिद्र विचारका
बोली लागिरहेकै छ विक्री-वस्तु बजारका !
जन-विश्वास घट्दैछ घृणाका पात्र हौ बरु
तुच्छ छौ र त टिप्दैछौ विदेशी कनिकाहरू !
स्वाभिमान गुमाएका स्वत्व-नैतिकता पनि
धिक्कार छ तिमीलाई ! योभन्दा भन के दिने ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)