कथा : अप्सरा

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

न्वारानको नाम जेसुकै भए घरका र वाहिरका सबैले उनलाई अप्सरा भनेर बोलाउँथे। अप्सरा जन्मँदै साच्चिक्कै लोककथामा वर्णित अप्सरा जस्ती नै थिई। त्यसैले उनले यो नाम पाएकी हुन्। असाध्यै मिलेको जीउडाल, धपक्क बलेझैं लाग्ने तेजिलो अनुहार र ‘न-न-न’ गर्दै सधैं हाँसिरहने स्वाभाव भएकी अप्सरालाई काखमा लिएर खेलाउन सबैजना तछाँड-मछाड गरेर लाग्थे। उनलाई देखेपछि ‘छोरी त अप्सरा नै पाई’ भनेर उनको बाबु आमालाई सबैले फुर्काउँथे। साच्चैकी अप्सरा जस्ती छोरी पाएकीमा उनका आमाबाबु र परिवारका अरू सदस्यहरू पनि कम्ति खुसी थिएनन्।

उनलाई देख्ने जतिले भन्थे, ‘‘छोरी पाउनु त अप्सरा जस्ती पो पाउनु।’’ समय वित्दै गयो र अप्सरा पनि ठूली भई। उनले माध्यमिक तहमा पढाइ थाल्दादेखि नै केटाहरू उनको पछि लाग्न थाले। स्वयम उनका गुरूहरू पनि उनिसँग जिस्किन मन पराउँथे। विद्यालयका शौचालयका भित्ताहरूमा उनको नाम कोरिन थाल्यो। शायद सानैमा सबैले फुर्काएकीले होला उनलाई यस्ता सब कुराहरू सामान्य नै लाग्थे। तर एकदिनको घटनाले उनी झस्किए। त्यसदिन अर्को सेक्सनमा पढ्ने एउटा केटाले उनको हातमा एउटा चिट्ठी थमायो र आफ्नो बाटो लाग्यो। अप्सराले कुनै कुरा सोच्न नभ्याउँदै उनका साथीहरूले उक्त चिट्ठी खोसेर सबैले सुन्ने गरी पढे।

चिट्ठीको शुरूमै लेखिएको थियो, ‘‘हे सपनाकी राजकुमारी अप्सरा, मेरो मुटुको धड्कन, म तिम्रो पागल प्रेमी …।’’ उनका साथीहरूले उनलाई जिस्काए। एउटीले त पहिलो प्रेमपत्र प्राप्त गरेकोमा बधाइ पनि दिए। उता अप्सराको अवस्था चाहिँ अर्कै भयो। उनको अनुहार कालो नीलो भयो। उनले केही बोल्न सकेनन्। यो कुरा उनको गुरूहरूको कानसम्म पुग्यो।

एउटा गुरू जो अप्सरासँग जिस्किन मन पराउँथ्यो, अप्सराको नजीक आएर सोध्यो, ‘‘यो के हो अप्सरा?’’ विचरी अप्सरा केही बोल्न सकिनन्।

गुरूले दोह-याएर सोधेपछि काँप्दै वाक्य फोरिन, ‘‘मलाई केही पनि थाहा छैन सर। मैले चिट्ठी पढेकी पनि छैन।’’ गुरूलाई के चाहियो र, उनी सरासर अर्को सेक्सनमा गए, र उक्त केटालाई कान समाएर बाहिर ल्याई नानाथरी भन्दै भकुर्न थाले। एकछिन त त्यहाँ तमासा नै भयो। कुरा यत्तिक्कैमा सिद्धिएन।

घर फर्कने घन्टी लाग्ने वित्तिक्कै अप्सराको सेक्सनमा पढ्ने एउटा केटाले चिट्ठी दिने केटालाई खाउँला झै गरेर भन्यो, ‘‘मेरो सेक्सनमा पढ्ने अप्सरालाई तैले ‘लभ लेटर’ दिने? अप्सराको सपनाको राजकुमार को हो चिन्या छस् तैँले? नचिन्या भए मलाई हेर साले। मेरो अगाडि तँ भुच्चडको यत्रो आँट?’’ केटाहरू दुई खेमामा बाँडिएर झगडा गर्न थाले। ‘हेडमास्टर’ले दुबै पक्षलाई चेतावनी दिएर घर पठाइदिए। अप्सराको जीवनमा घटेको यो पहिलो नमीठो घटना थियो। समय वित्दै गयो र अप्सरा पनि कलेज जान थाली। यही समयदेखि उनको सोचाईमा परिवर्तन आउन थाल्छ। उनका अघिपछि लाग्नेहरूको लर्को र पेमपत्रहरूको ओइरोलाई उनले गर्वको विषय बनाउन थाल्छ। घरका मानिसहरू उनको सोचाई र व्यहारमा आएको परिवर्तनलाई देखेर तर्सिन थाल्छन्। परिवारको नामञ्जुरीका बावजुद पनि उनी सुन्दरी प्रतियोगितामा भाग लिन्छे र जित्छे पनि। कलेजको पढाई छाडेर उनी मोडलिङ्ग र फिल्मी दुनियाँमा प्रवेश गर्छे। उनको कोठा पुरस्कार र प्रशंसापत्रले भरिन्छ। आउने जानेको लर्को पुरानो घरले धान्न नसक्ने भएपछि एउटा आलिशन भवनमा उनी सर्छिन्।

विवाहका लागि बाबुआमाले दबाब दिन्छन् तर उनी मान्दिनन्। उनले आफ्नो ख्याति, काम र वाहवाहीलाई प्राथमिकता दिन्छे। आमाबाबु बाहेक अरूसँग त उनले नाता नै टुटाउँछे। समयक्रममा आमाबाबुको पनि देहान्त हुन्छ। त्यसपछि बल्ल उनलाई कता-कता आफू एक्लो भएको महसुस हुन थाल्छ। अब उनी ‘आफ्नो मान्छे’को खोजिमा लाग्छे। दिनदिनै प्राप्त हुने प्रेमपत्रहरू केलाउन थाल्छे। त्यसमध्ये केहीसँग फोन, इमेल र भेटघाटको माध्यमबाट कुरा पनि गर्छे तर त्यहाँ उनले पुरूषहरूको बासना र धन मोह मात्र पाउँछे। उनलाई मौखिक रूपमै प्रस्ताव राख्नेहरूसँग पनि उनी कुरा गर्छे। कतिपय त एक रातको लागि भए पनि साथ दिन प्रस्ताव राख्थे। उनलाई विवाहका लागि मौखिक प्रस्ताव राख्नेहरूमध्ये धेरैजसो विवाहित, सम्बन्ध विच्छेद भएका, बलत्कारका अभियोग लागेका, यौनजन्य दुर्व्यवहारका लागि कहलिएका आदि थिए। आफूबाट यो काम हुन नसक्ने भन्ने थाहा पाएपछि बल्ल उनले आमाबाबुलाई सम्झे। तर उनीहरू यो संसारमा थिएनन्। कुनै नातेदारसँग उनले मुख खोल्ने आँट पनि गर्न सकिनन्। त्यसैले उनले आफ्नै लाईनका केटी साथीहरूसँग सल्लाह गरिन्। कतिपयले यो मामलामा मद्दत गर्न नसक्ने बताए भने कतिपयको सल्लाह वासना र धनमोहबाट प्रेरित थिए जुन उनलाई मान्य भएन।

एक दिन उनले एउटी स्कूले साथी नीशासँग यस्तो किन हुन्छ भनी सोध्न पुगी। उनले भनिन्, ‘‘हेर, तैँले आफूलाई अप्सरा नै ठानिस्। के तँलाई थाहा छ एउटी अप्सरा सबैको हुन्छे तर उनको कोही हुँदैनन् भनेर? तँलाई अहिले यही भैरा’छ।’’ नीशाको कुरा सुनेर अप्सरा झन् निराश भइन।

‘‘निराश हुनु पर्दैन, अलि उमेर गो त के भो? तेरो नाम मात्र अप्सरा हो, त्यसैले तैले पहिले आफूलाई अप्सराबाट मान्छे बना, सब कुरा विस्तारै ठीक हुँदै जान्छ।’’ अप्सराले यसमा कुनै प्रतिक्रिया देखाएनन्। उनी नीशासँग विदा भई घर फर्किए। बाटोमा उनले चिने-चिने जस्तो लाग्ने एउटा अधबैसें मान्छे देखे। आफ्नो कारको गति कम गरेर हेरिन, ऊ त उनकै वालसखा नकुल रहेछ।

‘‘ए नकुल, के गरिराखेको हँ?’’

‘‘ओहो अप्सरा पो? के गर्नु नि, ओभरसिएरको जागिर भएकोले यसो साइटमा खटिएको नि।अनि तिमी कताबाट?’’

‘‘निशाकोमा गएर। धेरै पछि भेट भो त।’’

‘‘हो त नि, स्कूल छुटेपछि हाम्रो दुनियाँ पनि छुट्टियो हामी पनि छुट्टियौं। यस्तै हो जिन्दगी भन्या।’’

‘‘खै तिमीले विहेको निम्ता पनि दिएनौ त।’’ अप्सराको जिज्ञासाको प्रत्युत्तरमा नकुलले लामो सास मात्र फे-यो।

‘‘के भो नकुल तिमीलाई?’’ नकुलले केही नबोलेको देखेर अप्सराले सोधिन्।

‘‘यस विषयमा कुरा नगर्ने हो कि?’’ नकुले प्रस्ताव राख्यो।

‘‘ठीक छ, कुनै बेला कुरा गरौंला नि त्यसो भए। अहिले तिमी काममा व्यस्त छौ, म अहिले लाग्छु ल?’’ अप्सराले विदा मागिन्।

‘‘हुन्छ, बाइ।’’ नकुलले अप्सरालाई विदा दिए। नकुल अरू कोही नभएर अप्सरालाई विद्यालयमा ‘लभ लेटर’ दिए वापत गुरूजी र साथीहरूको पिटाइ खाने त्यही केटा थियो। त्यै भएर मसँग रिसाएको होला भन्ठानी अप्सराले। तै पनि उनले निशालाई फोन गरेर नकुलले किन उसको बिहेको कुरा गर्न नमानेको होला भनी सोधी।

नीशाले भनिन्, ‘‘विद्यालयमा कुटाइ खाएको दिनदेखि उसको जीवनमा ठूलो परिवर्तन आयो। उनका बाबु र मामाहरूले उनको विहे गर्नका लागि दुई-तीन पटक कुरा चलाएका पनि थिए तर तिम्रो पागल प्रेमी भएको थाहा पाएपछि कसैले पनि छोरी दिन मानेनन्। र उसले कसैलाई प्रस्ताव राख्ने आँट पनि गरेनन्। अहिले त ऊ कसैसित विहेको बारेमा कुरा गर्न पनि चाहँदैन। हामीले ‘बुढो भैसकिस् विहे गर, केटी बरू हामी नै खोजिदिउँला’ पनि भन्यौ तर प्रत्युत्तरमा ऊ केवल हाँसिदिन्छ। अहिलेसम्म त यस्तै छ। अँ बरू मेरो दिमागमा एउटा जुक्ति फु-यो, बरू तीमीहरू दुईजना विहे गर हामी कुरा मिलाईदिउँला।’’

‘‘सल्लाहको लागि धन्यवाद, विहेको कुरा चाहिँ अब नगरौं’’ यति भनेर अप्सराले फोन राखी।

यता नीशा फतफताउन थाली,‘‘मर तिमीहरू दुबै एक्ला-एक्लै। चाहिने कुरा त गर्नै नहुने। कत्ति चढेकी त? यिनीहरूसँग त अब बोल्न पनि नहुनु भो। अर्ति त यिनीहरूलाई वीषै हुन्छ जहिले पनि।’’ एकहप्ता पछि अप्सराले नीशाको मोबाइलमा फोन गरी। नीशाले लाईन काटिदिए।

अप्सराले नीशालाई एसएमएस गरी, ‘‘तेरो सल्लाहले काम ग-यो, धन्यवाद।’’

(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क ३, मार्च २०१०)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.