~स्मारिका पौडेल~
जब हामी भक्तिभाव, माया–प्रेम, राग–अनुरागको चरममा पुग्छौं तब हामी फेरि स्टार्टिङ प्वाइन्टमै पुग्छौं । जब हामी सिद्धियो भनेर दंग पर्छौं नि तब फेरि सुरुवातमै पुगेर रोकिएका हुन्छौं । यो कुरालाई यसरी बुझौं । हामीलाई भोक लाग्छ, हामी पकाउँछौं मीठा मीठा परिकारहरु स्वाद मानी मानी खान्छौं तर के यत्तिमै सिद्धिन्छ त ? के त्यो खाएको पेटमै रहन्छ त सधैं ? के आजै अन्त्य हुन्छ त सृष्टि ?
के यतिमै सीमित छ त सृष्टि ? महापुरुषहरु भन्ने गर्छन् नि यो संसार एक मायामोहको जन्जाल हो तर के यो मात्र पूर्णता हो र ? उसो भए पूर्ण के हो त ? यो सृष्टि मायामोहको जन्जालै हो भने हामी किन उठ्दैनौं यसबाट ? किन ?
जब हामी चेत्दै चेत्दै चेतनाको चरममा पुग्दछौं तब हामी फेरि अचेत हुँदै जान्छौं । बढी प्रकाशले आँखा तिर्मिराएजस्तो । मैले हिजो मात्र कुनै च्यानलबाट ओशो रजनीशको चेतना बारेमा वचन सुन्ने अवसर पाएँ चेत कसरी हुन्छ ? चेतना के हो ? यो कसरी विकास हुन्छ ? र यसको जड के हो त ? उनी भन्दै थिए, हामीलाई हाम्रो टाउकोको थाहा त्यही बेला मात्र हुन्छ जतिबेला यो दुख्छ । हामीलाई हाम्रो शरीरको पत्तो त्यही बेला मात्र हुन्छ जतिबेला त्यसमा चेत हुन्छ । ठ्याक्कै बालापन जस्तो । एउटा बालकलाई थाहा हुँदैन नि आगोले पोल्छ, सियोले घोच्छ, लडे दुख्छ ।
त्यसैगरी मायाको चरम पनि ‘बिग जिरो’ नै हुन्छ । जब हामी अति माया गर्छौं नि यति माया नि त्यही मायाले हामीमा चेतनाको विकास गराउँछ । हामी मायाबारे सेन्टिमेन्टल भइराखेका छौं । जब माया बानी बन्दै जान्छ र त्यही बानी चरममा पुग्छ तब हामीले त्यही काम गरेको नि पत्ता पाउँदैनौं । जस्तै हामी कतिखेर भोक लाग्छ भनेर कुरेर बस्दैनौं । बानीको कुनै विकल्प छ त ? माया पनि त्यस्तै हो । मैले यही कुरा सधैं सबैलाई बुझाउन खोजेँ । सधैं सबैले सोधे मलाई हामी तँलाई माया गर्छौं के तँ गर्छेस् ? मलाई झोक चलेर आउँछ क्या, उसो भए भातले पनि मलाई माया गर्छ, खाइन्छ । मबाट पच्छ र निस्कन्छ । उसो भए के म त्यो भातलाई म्वाइँ खाएर फ्रेम गरेर राखुँ ननसेन्स ।
मेरो त झन् कुरै नगरौं मेरो अवस्था डेढ वर्ष बच्चा जस्तो भएको छ । उसको हातमा केही नभएको बेला एक्लने हुँदा पनि उदंग हुनेछैन । जब सबै वरिपरि हुन्छन् हातभरि मिठाइ खेलौना साथी त्यही बेला पनि ऊ रोइराखेको हुन्छ । एउटा हिन्दी उखान जस्तो जब दाँत थे तब चने नही थे । जब दाँत हि नही तो लौट के चने चबान पड रहे है ।
एउटा अर्को उखान नि छ क्या । जब जेब मे नही है दाने अम्मा चलि भुनाने । यो उखान मेरो जीवनमा बडो लागू हुन्छ । के छैन र मसँग ? तर खै मन ? सबै थोक पाएर मनै गुमाइस् त के पाइस तैंले । रहरै सबै पुग्दै गएपछि न बाँच्नुको कुनै अर्थ छ न मर्नुको कुनै तात्पर्य । जब स्वयं सृष्टि तेरो पाउमा आएर निहुरिन्छ नि जुन हरेक प्राणीको उत्कट चाहना हो । ईश्वर आओस् मेरो समिपमा र म त्यसको मुखमा थुक्न सकुँ । भनुँ कि हेर तेरो राज्यमा बडो अत्याचार भयो ममाथि । जब ऊ सामुन्ने छ, आँऽऽ गरेर मुख बाएर बसिराछु, अनि त्यो भगवान मोरो निर्लज्ज पापी, मेरो हात समाई मलाई भन्नेछ तँ डाइरेक्ट मेरो अण्डरमा थिइनस् त्यै भएर दुःखी भइस् ।’ यो जीवनको सत्य हो ।
(स्रोत : श्री रुपरेखा)