कविता : ख्याति कमाउन

~बिकुबाबु प्रजापति~

ख्याति कमाउन
सगबगाइरहेका पाइन्छन्
आजभोलि बहु अवतारीहरु
उल्टो सुल्टो जुनसुकै
चाल चलेर होस्
या सक्कली नक्कली
जुनसुकै माल बेचेर होस्

‘जाति भनाउन छटपटाइरहेका
देखिन आउँछन् अव्यवहारीहरु
स्वदेशको धज्जी उडाएर होस्
या विदेशको गुन गाएर होस् ।
संगाती बढाउन रन्थनाइरहेका
भेटिन आउँछन् छलकारीहरु ।

फाइदाका लागि
जुनसुकै काम गर्न पनि तम्सने
सुख चैन प्राप्तिका खातिर
टाङमनि छिर्न पनि लाज नमान्ने
स्वघाती कहलाउन पनि
कति नहच्किने
झुल्किन आइरहेका भेटिन्छन्
आजभोलि वारिपारिहरु ।

जसरी होस् हाँस्न र बाँच्नुपर्ने ठानेर
अधमत्वलाई पनि उत्तम मानेर
निर्लज्जतालाई नै आजको इज्जत जानेर
रमाइरहेका दृष्टिगोचर बन्छन्
धरतीका भारीहरु

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.