समीक्षा : अल्पायुका स्रष्टा हिरामणि शर्मा पौडेल

~डिल्लीराम मिश्र~

कला साहित्य समाजको आँखा हो र यसको अभावमा मानिस अन्धो हुन्छ । कला साधनाको माध्यमबाट जनतालाई जागरुक बनाई समाजको पुनः निर्माण गर्न सकिन्छ भन्ने शाश्वत मान्यता राख्ने समालोचक एवं अनेक भाषाका अध्येता हीरामणि शर्मा पौड्याल परमधाम भएको पनि आज २२ वर्ष बितिसकेको छ ।

नेपाली समालोचना र भाषा क्षेत्रका अत्यन्तै क्रियाशील अध्येता पौड्यालको निधन ४४ वर्षको कलिलो उमेरमा २०४६ साल कात्तिकमा भएको हो । उनको जन्म वि.सं. २००३ साल पुसमा चितिपानी फलेवास पर्वत जिल्लामा भएको हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा उपप्राध्यापकमा कार्यरत शर्मा त्यसै वर्ष सामाजिक यथार्थवादी धाराका केही उपन्यासहरूमा विद्यावारिधिका लागि शोधकार्यमा संलग्न थिए तर प्राणघातक क्यान्सर रोगका कारण अल्पायुमै उनले मृत्युवरण गर्नुप¥यो । उनको असामयिक निधनबाट नेपाली भाषा साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको छ । यति छोटो जीवनकालमा पनि उनले नेपाली भाषा र समालोचनाको क्षेत्रमा आधा दर्जन कृति प्रकाशित गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एमएसम्मको अध्ययन गरेका हीरामणिले जीवन युद्धमा अनवरत संघर्ष गर्दै आफ्नो जीवनकाललाई त्यसै बिताएनन् । नेपाली साहित्यको अध्ययन, अनुसन्धान, भाषाको खोज र विश्लेषणमा उनको सम्पूर्ण समय व्यतित भयो । अध्यापनका क्रममा उनले समयको हदैसम्म सदुपयोग गरेका थिए । उनी २०३४ देखि २०४६ सालसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा र केन्द्रीय क्याम्पस कीर्तिपुरमा क्रमशः सहायक प्राध्यापक र उपप्राध्यापक सेवामा रहेका थिए । त्यसअघि उनले आफ्नै जिल्ला पर्वतका माध्यमिक विद्यालयहरूमा अध्यापन गराएका थिए । उनले प्रतिभा र आलोक जस्ता साहित्यिक पत्रिकाको सम्पादन, विभिन्न गोष्ठी, सेमिनार आदिमा सहभागी हुँदै कार्यपत्र प्रस्तुत गरेका थिए । सम्बन्धित क्याम्पसहरूमा विषय शिक्षण समितिका सदस्यदेखि अध्यक्ष हुँदै विद्यालय संस्थापन जस्ता सामाजिक सेवाका अतिरिक्त साहित्यिक सेवामा समेत शर्मा संलग्न रहँदै आएका थिए ।

नेपालमा अनेक भाषा छन्, अनेक जातजातिहरू छन्, तिनको खोजी र विश्लेषण गर्ने काम धेरै नै बाँकी छ भन्ने हीरामणि अल्पायुमै गए । थोरै समयमा यस क्षेत्रमा रहेर उनले बोटे, कुमाल, पर्वती भाषाको खोज र विश्लेषण गरी जुन योगदान दिएका छन्, त्यो ज्यादै महत्वपूर्ण कार्य हो । भाषिक खोज र विश्लेषण हीरामणिको महत्वपूर्ण रचनात्मक सत्प्रयास हो । १२ वर्ष त्रिभुवन विश्वविद्यालयको अध्यापन क्षेत्रमा रहेका हीरामणिका २०४१ देखि २०४६ सालसम्म विशेष गरी नेपाली भाषा र समालोचनाको क्षेत्रमा केही महत्वपूर्ण कृतिहरू प्रकाशित भएका छन् । यही क्रममा २०४१ म प्रकाशित ‘समालोचनाको बाटोमा’ नामक उनको कृति समालोचनात्मक प्रतिभाको पहिलो उपलब्धि हो ।

त्यसैगरी भाषिक शोध अध्ययन अन्तर्गत भोटे भाषाको अध्ययन २०४२ र कुमाल भाषाको अध्ययन २०४३ पर्छन् । पर्वती भाषिकाको स्वरूप र संरचना तथा अनुसन्धान परिक्रमा २०४४ एवं रचना विवेचना, २०४६ उनका समालोचनात्मक कृतिहरू हुन् । उनको समालोचनाको बाटोमा पुस्तकले बाग्लुङबाट प्रदान गरिने २०४३ सालको रत्न श्रेष्ठ पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार साहित्यकार प्रेम छोटाले आफ्नै आमाको नाममा २०३४ सालमा स्थापना गरेका हुन् । समालोचनामा प्रगतिशील धारणालाई महत्व दिने हीरामणि चरम अध्ययनशील स्रष्टा थिए । समालोचनाहरूलाई अति सूक्ष्म रूपमै भए पनि प्रगतिवाद दृष्टिकोणतिर झुकाव देखाउनु र समालोचनाको भाषालाई आलंकारिक बनाउन प्रयास गर्नु स्रष्टा पौड्यालको विशेषता हो ।

नेपाली भाषाको प्रगतिवादी समालोचना, साहित्य र अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण सेवा गरेबापत उनलाई मरणोपरान्त २०४८ सालको साहित्य सन्धया पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार हीरामणिकी धर्मपत्नी इन्दिरा पौड्याललाई प्रदान गरिएको थियो । अध्ययनका सिलसिलामा नेपाललगायत भारतवर्षको पनि अध्ययन भ्रमण गरेका हीरामणि शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुने निश्चय भएपछि उनी मृत्युको फन्दामा परेको कुरा उनका सहपाठी स्वर्गीय प्राध्यापक घटराज भट्टराईले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी उनको निधन हुनु केही महिनाअघि कीर्तिपुरमा स्तम्भकार जयदेव भट्टराईसँग उनले यस्तो गुनासो राखेका थिए– यदि स्वास्थ्य राम्रो भइदियो भने संस्थागत सहयोग नपाए पनि व्यक्तिगत रूपबाटै भए पनि केही काम त गर्न सकिन्छ भन्ने विश्वासमा छु, भन्दै सामाजिक यथार्थवादी धाराका केही नेपाली उपन्यासबारे शोध, दनुवार भाषाको अध्ययन, तेस्रो समालोचना संग्रह प्रकाशन, समाजवादी यथार्थवाद स्वरूप र संरचना जस्ता कृतिहरूको लेखन र शोधकार्य पनि उनको निधनसँगै अलपत्र परे । उनको अल्पायुमा भएको दुःखद निधनका कारण नेपाली साहित्यमा गुणात्मक क्षति भएको छ भने अब त उनको योगदानको चर्चा परिचर्चा पनि हुन छाडेको छ । नेपाली साहित्यमा कविता र निबन्ध पनि उनका लेखनका विषय हुन् तर उनको उर्वर क्षेत्र भनेको भाषिक अध्ययन र समालोचना नै हो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.