~सरिता तिवारी~
हे देवी !
देखाइदेऊ
यो दैत्यहरूको साम्राज्यमा
तिम्रो बिराट कालीरुप
दुई हातमा चम्चमाइरहेको त्रिशूल
क्रोधले धप्धपाइरेका आँखा
रगत लप्लपाइरहेको जिब्रो
घाँडा घुँडा छुने खप्परको माला
भष्मले पोतिएको अर्धनग्न जीउ !
बालखैदेखि देखेकी हुँ
दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति
तिम्रा चित्र, पोस्टर र थरी थरी कलाकृति
खुबै मन परेको हो तिम्रो सौम्य मुद्रा
आभूषण र वस्त्रादिले सुशोभित
बाघमाथि विराजित तिम्रो ब्रान्डेड तस्बिर
जहीं कहीं देख्छु अझै पनि
फुटपाथमा
पूजाकोठामा
वा आस्थाका नाम अनाम दुकानहरुमा
तर हे दुर्गे !
मलाई हेर्नु छ
तिमीले हुङ्कार गरिरहेको
रौद्ररुप !
जब ताक्थे असुरहरूले देउताहरूको राज
र डग्मगिन्थ्यो स्वर्गको सिंहासन
त्यसपछि तिम्रो अर्चना गर्थे काातर देउताहरु
र तिमी बनिदिन्थ्यौ तिनको सुरक्षाका लागि
अविजित ढाल
ज जसका लागि लडे पनि
आखिर सावित गरेकी हौ तिमीले
अपराजेय वीरता
तर हे महाशक्ति !
तिमीले महिसासुर वध गरेर फर्किएपछि पनि
घुमिरहेको छ पृथिवी
तिमी उभिरहादैमा
कहाँ उभिरहन्छ र घडी ?
युगका युग
कल्पका कल्प
कुन निद्रामा छौ देवी ?
पग्लादा पग्लादैको तामाजस्तो रूप लिएर
कहिले हो तिमी जुरूक्क उठ्ने ?
हेर्नु छ मलाई
दैत्यहरुको संहार गरिरहेको
तिम्रो हिरोइक अन्दाज !
थाहा छ ?
तिमी निदाइरहेको बेला
उनीहरुले तिमीलाई बोक्सी बनाए र बलात् ख्वाए रछ्यान
बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘रन्डी’करार
र नैतिकताको सफेदपोष भिरेर
लेखे धर्मका नाममा पापका मन्त्र
पसे संसद्, बनाए कानुन
तिमी निदाएपछि
अवचेतनमै घोकाइएको हो तिमीलाई
सहनशीलताको अद्वैत वर्णमाला
र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात
त्यसपछि नै थालिएको हो
तिम्रो निरपेक्ष सौन्दर्य पूजन
तिम्रा आँखा र ओठहरुको विज्ञापन
तिम्रा भङ्गिमा र सेक्स अपिलको चर्चा
र सिद्धिएको हो यो चराचर जगत्माथि तिम्रो अपार शक्तिको डिस्कोर्स
यतिबेला
तिम्रो योनीमा हाम्फालेर
सारा लाजहरुले गरेका छन् आत्महत्या
र स्थापित भएको छ
मात्र पाँच इन्चको बर्बर जिनिसको सत्ता
जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ
हरिया दाँत ङिच्याएर गरिरहन्छ
यो फोहरी सत्ताको पहरेदारी
अचाक्ली भो
अतिचार भो
हे महामातृका !
द्वार द्वार
गाउँ-सहर
नरही कहीं खाली ठाउँ
बनेको छ घिनै घिनहरुको साम्राज्य
अबत ब्युँझिदेऊ
यो कठोर निद्राबाट
देखाइदेऊ तिम्रा कोटी कोटी हातहरुको शक्ति
देखाइदेऊ तिम्रो त्यो दुर्लभ रुप
तिम्रो क्रोधको हुन्डरीले
आओस् भयङ्कर उथलपुथल
उठोस् साराका सारा हिमालहरु छिचोल्ने ज्वार समुद्रमा
वा फुटुन् जम्मै महासागरहरु
छिद्रै छिद्रा भएर चाल्नी परोस् धरती
बरू सिद्धियोस् सभ्यता
र रित्तियोस् पृथिवी
चाहिएन,
युद्धबन्दीजस्तो पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी
मलाई लड्नु छ तिमीसितै उभिएर
इतिहासको अन्तिम लडाइ
र वरण गर्नु छ बरू
शहादत ।
प्रकाशित: आश्विन ५, २०७१
(स्रोत : कान्तिपुर – कोसेली)