~घनश्याम ओली~
पृष्ठभूमि वा पूर्वपीठिका
कविता संसारको सबभन्दा जेठो साहित्य हो । सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविताको सबभन्दा जेठो साहित्य वा ग्रन्थ ऋग्वेद हो । ऋग्वेद संसारको सबभन्दा पहिलो कविता हो । ई.पू. १५०० देखि ४५०० वर्षमा वैदिक युग पूरा भएको थियो । वेद चार प्रकारका छन्– ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद । त्यस्तै चार भाग छन्– संहिता, ब्राह्मण, आरण्येक र उपनिषद् । संहिता मन्त्र हो । ब्राह्मण व्याख्या, आरण्येक चिन्तन र उपनिषद् ज्ञान । वैदिक ऋषिका पहिला ऋषि दीर्घतमा हुन् ।
साहित्य भाषिक अभिव्यक्ति हो । त्यो भाषिक अभिव्यक्ति जसले हित गर्छ । साहित्य भनेको भाषिक कला हो । साहित्य सामान्य र विशेष हुन्छ । यावत् भाषामा लेखिएका कुरा साहित्य हो । त्यो सामान्य साहित्य हो जसलाई वाङ्मय भनिन्छ । रागात्मक भाषा वा ललितभाषा, लचिलो, खारिएको भाषामा लेखिएको साहित्य विशेष साहित्य हो । साहित्य चार किसिमका छन्– कविता, आख्यान, नाटक र निबन्ध । साहित्यका लागि आवश्यक चीज– भावना, कल्पना, विचार र शैली हो । भावना भित्री पक्ष वा मुटु पक्ष हो भने विचार बौद्धिक पक्ष ।
कविता साहित्यको एक प्रमुख भाग हो । कुङ शब्द वा धातुबाट अच्+इ प्रत्यय लागेपछि कवि बन्छ । कबृ वर्णे धातुबाट पनि कवि बन्छ । त्यसपछि कवि ः मनीषि, परिभ स्वयम्भू अर्थात् कवि भनेको मनीषि, परिभ र स्वयम्भू हो । कवि भनेर सृष्टिकर्तालाई भनिएको हो । अर्थात् ईश्वर नै कवि हुन् । त्यसपछि शुक्राचार्य (राजनीतिशास्त्रका प्रणेता) लाई पनि कवि भनिएको छ । उसना भार्गवत् कवि शुक्राचार्यको अर्को नाम हो । कवि+व्यत्बाट काव्य हुन्छ । कवि+आबाट कविता हुन्छ । कवेर्भाव कर्म वा कविता भनेको छ । कविको भाव वा कविले गरेको कर्मलाई कविता भनिन्छ । वैदिक सूत्रका निर्मातालाई तेस्रो कवि भनिन्थ्यो । संस्कृतका महाकाव्य लेख्ने पहिला व्यक्ति बाल्मीकि व्यासलाई कवि भनिन्थ्यो । ललित कृतिका स्रष्टहरुलाई कवि भनिन्थ्यो ।
नेपाली भाषाको जन्म ११ औं शताब्दीमा भएको हो भन्ने कुरा विद्वान्हरुले स्वीकार गरेका छन् । यसका लेख्य प्रमाणहरु १३ औं शताब्दीमा आएपछि अभिलेखहरुमा देख्न पाइन्छ । पूर्णप्रकाश यात्रीका अनुसन्धानबाट वि.सं. १०३८ को भनिएको दुल्लूको भूपाल दामुपालको अभिलेखलाई अझै विवादमुक्त मानिएको छैन । दामुपाल पुण्य मल्लका पूर्वज आदि पालका नातेदार, कत्युरी नरेश उल्लेख छ ।
नेपाली भाषा ११ औं शताब्दीमा जन्मिए पनि हालसम्म पाइएका प्रमाणले तेह्रौं शताब्दीदेखि लेखनीमा आएको देखिन्छ । यसको साहित्यिक रुप भने १४ औं शताब्दी वि.सं. १३४४–४६ का खसराजा जितारी मल्लका पालादेखिका केही वीरगाथाहरु कर्णाली प्रदेशका मागल, पडेली, चाँचडो, पैकेलो, भारत (भडाक) आदि लोकपद्य र लोकगाथाहरु, डोटी प्रदेशका सगुन, फाँग, धमारी, चैत, चाँचडी, भैनी, भडाक, भोलाउलो आदिका साथै भेरी प्रदेशका चैत, धमारी, भारत (भडाक) आदि लोकपद्यहरु देखा पर्दै आएका छन् । वि.सं. १४५० तिरको आचार्य विष्णु पद वा विष्णु गाथकृत बडेराजा मलय बम्मलाई नेपालीको प्रथम गद्य कविता भनेर प्रा.बालकृष्ण पोखरेलले भन्नु भए पनि यो जीवनीको अंश भएकाले यो लेख्य कविता होइन ।
वि.सं. १५५० तिरको राजा ‘गगनीराजको यात्रा’ यो पनि यात्रा वर्णनकै क्रममा आएको हुनाले सामान्य साहित्यभित्र राखिन्छ । विशेष साहित्यभित्र राखिँदैन । वाङमय रचना क्रममा भने वि.सं. १३९० तिरको संस्कृतको ज्योतिषग्रन्थ ‘भास्वती’ को टीका पाइएको छ । यसमा प्राचीन नेपालीको वैज्ञानिक अन्वेषण पाइन्छ । खस प्राकृत र खस अपभ्रंश पुनर्निर्माणमा यसले योगदान पु¥याउने विश्वास लिइएको छ । प्राचीन नेपाली भाषाको छुट्टै शब्दकोष निर्माणमा समेत यो महत्वपूर्ण ग्रन्थ हुन सक्ने देखिन्छ । त्यस्तै वि.सं. १६४९ मा लेखिएको ‘खण्डखाद्यक’ का मूल संस्कृत लेखक ब्रह्मगुप्ताचार्य उल्लेख छ । यसमा पश्चिमा, माझाली, पूर्वेली सबै भाषिका मिश्रित भए पनि माझाली भाषालाई विशेष उठाइएको छ । यसैसँग संलग्न रहेको ‘जातक कर्म पद्धति’ प्राप्त भएको छ । वि.सं. १७०० तिरको ‘बाज परीक्षा’ पनि प्राप्त भएको छ तर लेखक अज्ञात रहेको छ । यसमा नयाँ लिपिमा लेखिएको प्राचीन नेपाली भाषा र व्रज भाषा भाषा मिश्रण छ । वि.सं. १७७३ को वाणीविलास ज्योतिर्विदको ‘ज्वरोत्पत्ति चिकित्सा’ (औषधरसायन) प्राप्त भएको छ । सम्भवतः यो प्राचीन नेपाली भाषाको मूल हुने अनुमान गरिएको छ । यसमा कुन ज्वरोको लक्षण के हो ? उपचार के हो ? सबै प्राचीन नेपाली भाषामा लेखिएको छ । जडीबुटीहरुको नामसमेत लेखिएको छ । त्यस्तै वि.सं. १७८० तिरको प्रेमनिधि पन्तको ‘प्रायश्चित्त प्रदीप’ र ‘नृपश्लोकी’ प्राप्त भएको छ । वि.सं. १८०० तिरको दावादल शाहको ‘औषधरसायन’ वा ‘मासानिदान’ आदि नेपालीका प्राचीन वाङमयहरु देखिएका छन् । यी कृतिहरु अभिलेखीय भाषाभन्दा परका ज्योतिष, धर्मशास्त्र, औषधिविज्ञान, वंशावली, जीवनी आदि साहित्येत्तर रचनाहरु हुन् ।
यसरी हेर्दै जाँदा १८ औं शताब्दीपूर्व नेपाली भाषामा शिष्य साहित्य वा लेख्य साहित्यको विकास भएको पाइँदैन । हालसम्म भेटिएका प्रमाणका आधारमा भन्नुपर्दा नेपालीमा पाइएको सबैभन्दा पुरानो लेख्य कविता हो– वि.सं. १८२६ को सुवानन्ददासद्वारा लेखिएको ‘पृथ्वीनारायण’ कविता वा कवित्व । यस अर्थमा सुवानन्ददासको उक्त कृतिलाई नै नेपाली कविताको शिष्ट साहित्य वा लेख्य साहित्यको लेखनकाल मानी त्यसभन्दा पूर्वको समयलाई पृष्ठभूमि वा पूर्वपीठिका मानेर त्यसमा पनि ११ औं शताब्दीदेखि १४ औं शताब्दीसम्मलाई पृष्ठभूमिकालको पूर्वाद्र्ध र १५ औं शताब्दीदेखि १८ औं शताब्दीसम्मको समयलाई नेपाली कविताको पृष्ठभूमिकालको उत्तराद्र्ध मान्नुपर्छ ।
लेख्य नेपाली कविता
लेख्य नेपाली कविताको विकास पृथ्वीनारायण शाहको विशाल नेपालको एकीकरण अर्थात् आधुनिक नेपालको निर्माणपछि हुँदै आएको छ । नेपाली भाषाको आधुनिक काल विक्रमको १८ औं शताब्दीपछि १९ औं शताब्दीको सुरुकाल मानिएको छ । हालसम्मको प्राप्त प्रमाणको आधारमा कवि सुवानन्ददासको ‘पृथ्वीनारायण’ कवितालाई नेपाली साहित्यको प्रथम लेख्य कविता मानिएको छ । यसैलाई आधार मानी वि.सं. १८२६ देखि १९४० सम्मलाई नेपाली साहित्यको प्राथमिक काल भनिए पनि १८७२ सम्मको समयलाई पूर्वप्राथमिक काल वा वीरकाल वा वीरधारा भन्ने गरिन्छ । त्यसपछि वि.सं. १८७३ देखि १९४० सम्मको समयलाई उत्तर प्राथमिक काल वा भक्तिकाल वा भक्तिधारा भन्ने गरिन्छ ।
प्राथमिक काल (१८२६–१८७२)
नेपाली कविताको लेखोट युगका प्रथम कवि हुन् सुवानन्द दास । उनी नुगा भन्ने ठाउँका बासिन्दा र नेवार जातका थिए भन्ने जानकारी उनको ‘पृथ्वीनारायण’ कविताबाट पाइन्छ । उनको ‘पृथ्वीनारायण शाह’ कविताबाट नेपाली कविताको प्रवर्तन भएको मानिन्छ । यसलाई खोजी गरी पहिलोपल्ट प्रकाशनमा ल्याउने काम योगी नरहरिनाथ र जनकलाल शर्माले गरेका हुन् ।
१९ औं शताब्दीको सुरुदेखि पृथ्वीनारायण शाहले चलाएको नेपाल एकीकरणले नेपाली जनजीवन निकै प्रभावित थियो । परिणमतः सुवानन्द दास जस्ता त्यतिबेलाका कविहरुले पृथ्वीनारायण र उनका सैनिकहरुको बखान गरेर नेपाली भाषामा कवितात्मक अभिव्यक्ति प्रकट गरे ।
नेपाल एकीकरणको क्रमसँगै नेपाली भाषामा लेखिएका कविताहरुमा वीरधारा फस्टाउँदै र मौलाउँदै गयो । नेपाल राज्य विस्तारका क्रममा नेपाल र अंग्रेजबीच युद्ध भयो, सन्धि भयो । यतिबेला वीर धारात्मक कविताहरु निकै मौलाएका देखिन्छन् । यसपछि नेपाली जनमानसमा भक्तिपरक, आध्यात्मिक र नीतिपरक भावना विकसित हुँदै आयो । लोकगाथाहरुमा वीर वन्दना र देवगाथाले प्रश्रय पाउँदै आयो । वीरधारा र भक्तिधाराको केही लहर नै चल्यो ।
प्राथमिककालीन नेपाली कविताको विकासमा कविहरुले कतै लोकछन्द, कतै संस्कृत भाषा, कतै पौराणिक र नैतिक आख्यानलाई अँगाल्दै आए । शास्त्रीय छन्दको प्रयोग बढ्दै गयो । त्यतिबेला व्रज भाषा, अवधि भाषा र मैथिली भाषा पक्की भाषाको रुपमा मानिँदै आयो । जोसमनि सन्त परम्पराले पनि आध्यात्मिक किसिमको प्रेरणा प्रदान ग¥यो । विषयवस्तु, भावविधान, लय, शिल्प आदि प्रयोगका दृष्टिले यस काललाई प्रारम्भिक नै मानिन्छ । प्राथमिककालीन कविताको विकासक्रमलाई वीरधारा र भक्तिधारा गरी दुई चरणमा विभाजन गरिएको छ ।
वि.सं. १८२६ देखि १८७२ सम्मको समयावधिलाई वीरधारा मानिएको छ । यस धाराका पहिला कवि सुवानन्द दास हुन् । यस धारालाई हुर्काउने अन्य कविहरुमा शक्तिबल्लभ अर्याल, उदयानन्द अर्याल, राधाबल्लभ, सुन्दरानन्द बाँडा आदि पर्छन् । तर पनि केन्द्रीय कविका रुपमा उदयानन्द अर्याललाई लिइन्छ । यिनले फुटकर कविताका साथसाथै ‘बेतालपच्चिसी’ जस्तो खण्डकाव्यात्मक कृति र ‘पृथ्वीन्द्र’ जस्तो लघु महाकाव्यात्मक कृतिको रचना गरेर प्राथमिककालीन वीरधारालाई उठाएका छन् ।
वि.सं. १८७३–१९४० को समयावधिलाई भक्तिधारा मानिएको छ । भक्तिधाराका पनि सगुण र निर्गुण गरी दुई भेद छन् । सगुण भक्तिमा पनि रामभक्ति र कृष्णभक्ति पर्छन् । संस्कृतमा लेखिएका रामायण र श्रीमद्भागवतलाई नै मुख्य स्रोतको रुपमा लिई भक्तिभावको अभिव्यक्ति गरिएको पाइन्छ । साङ्ख्यदर्शन, योगदर्शन, वेदान्त दर्शनका मान्यताबाट यस धाराका कविहरु प्रभावित भएका छन् । व्रज, अवधि र मैथिली भाषामा लेखिएका रामकाव्य र कृष्णकाव्यबाट पनि यस धाराका कविहरु प्रेरित भएको पाइन्छ । सन्त गोरखनाथ र सन्त जोसमनिबाट पनि यस कालका कविहरु प्रभावित छन् ।
भक्तिधारामा सगुण भक्ति र निर्गुणभक्ति देखिन्छ । ईश्वरले अवतार लिन्छन्, ती अवतारका मूर्तिहरु हुन्छन्, ती मूर्तिहरुको पूजा गर्नुपर्छ भन्ने सगुण भक्तिधारा हो भने ईश्वर छ तर ती ईश्वरले अवतार लिँदैनन्, यो सर्वव्यापी छ, मूर्तिपूजा, ईश्वर पूजा होइन भन्ने निर्गुण भक्तिधारा हो ।
सगुण भक्तिधाराको अनुशरण गर्ने कविहरुले भगवान्का १० अवतारमध्ये राम अवतार र कृष्ण अवतारको विशेष गरी भक्ति प्रकट गरेका छन् । कृष्णभक्ति धाराका प्रमुख कविहरुमा इन्दिरस, विद्यारण्यकेशरी, वसन्त शर्मा, यदुनाथ पोखरेल, छविलाल नेपाल, हरिदास आदि पर्छन् । यीमध्ये पनि केन्द्रीय कवि वसन्त शर्मा देखिन्छन् । उनका ‘समुन्द्रलहरी’ र ‘कृष्णचरित्र’ खण्डकाव्य उच्चकोटिको भएकाले केन्द्रीय कवि मानिएको पाइन्छ । यस धाराका कविले गोपीगीत र रासलीलालाई श्रृंगारिक रुपमा बढी प्रस्तुत गरेको पाइन्छ । विद्यारण्यकेशरी (१८६३–१९०२) ले युगलगीत, द्रौपदीस्तुति, वंशीचरित्र (व्रज भाषाको काव्य), वेणुगीत –बाबुराम आचार्यले चर्चा गरेका) लेखेका छन् । उनले पनि झर्रो नेपालीको प्रयोग गरेका छन् ।
रामभक्ति धारामा कविले रामप्रति भक्तिभाव प्रकट गर्ने सिलसिलामा वेदान्त र साङ्ख्य दर्शनबाट प्रेरित आत्मवादी दर्शनको अभिव्यक्ति गरेका छन् । यस धाराका प्रमुख कविहरुमा रघुनाथ पोख¥याल, भानुभक्त आचार्य, पतञ्जली गजु¥याल, रामदास आदि छन् । केन्द्रीय कविका रुपमा भानुभक्त आचार्यलाई मानिएको छ । भानुभक्तले संस्कृतबाट नेपालीमा अनुवाद गरेको रामायण आयाम, स्तरीयता, आख्यान रस र कवितात्मक लय चेतनाको सफल प्रयोगका दृष्टिले लोकप्रिय बन्न पुग्यो । फलस्वरुप भानुभक्त आचार्य रामभक्तिका केन्द्रीय कविका साथै नेपाली कविताका सर्वश्रेष्ठ कवि बन्न पुगे ।
यस धाराको अर्को उपधारा हो– निर्गुण भक्तिधारा । यसलाई सन्तधारा पनि भनिन्छ । यस धाराका मुख्य कविहरु सन्त शशिधर, दैवज्ञकेशरी अज्र्याल, गोविन्ददास, वीरशाली पन्त र सन्त ज्ञानदिलदास हुन् । यीमध्ये पनि ज्ञानदिलदास केन्द्रीय कवि हुन् । उनको मुख्य कृति, उदयलहरी हो । यस धाराका कविले निर्गुण, निराकार ब्रह्मको समर्थन गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काएका छन् । संसार झूटो हो । संसारको राग, रोचक, विलास प्रवृत्तिबाट मान्छेले मुक्ति खोज्नुपर्छ, परमार्थ चिन्तन गर्नुपर्छ भन्ने नै यस भक्तिधाराको मुख्य विशेषता हो ।
संस्कृत वर्णमात्रिक छन्द र नेपाली लोकछन्दको प्रयोग यस धाराका कविहरुमा पाइन्छ । खण्डकाव्यात्मक र महाकाव्यात्मक कृतिको अनुवाद रचना यस धारामा बढी पाइन्छ । अनुवाद रुपान्तरण, आध्यात्मिक दर्शन र ईश्वरभक्तिको अभिव्यक्ति नै यस धाराको विशेषता हो । ललित भाषाशैली, रसभावको रमणीयता, मिठासपूर्ण लय, सौन्दर्यशिल्प यस धाराको अर्को विशेषता हो ।
प्राथमिककालीन भक्तिधारा अन्तर्गत रामभक्ति धारालाई उचाइमा पु¥याउने काम रघुनाथ भट्ट पोखरेल (१८६८–१९१८) र भानुभक्त आचार्य ( १८७१–१९२५) ले गरेका छन् । रामभक्ति धारालाई नेपाली कवितामा स्थापित गराउन यी दुई कविको भूमिका उल्लेख्य छ । संस्कृत भाषाको अध्यात्म रामायणको मूल प्रसंगलाई तोडमोड नगरी नेपाली भाषामा उतार्ने छायावादी कवि हुन्– रघुनाथ पोखरेल । उनको रामायणको सुन्दरकाण्ड खण्डकाव्यात्मक रुपमा चर्चित छ । तर भानुभक्त आचार्यले संस्कृतको अध्यात्म रामायणको मार्मिक प्रसंगलाई समाएर मौलिक स्पर्श दिएर नेपाली भाषामा भावानुवाद गरे । शिखरिणी र विशेषतः शार्दूलविक्रीडित जस्ता वर्णमात्रिक वा शास्त्रीय छन्दलाई प्रभावकारी ढं्रगबाट प्रस्तुत गरे भानुभक्तले । लोकप्रिय र लोकछन्दको प्रयोग उनको विशेषता बन्यो । नेपाली जनजीवनमा त्यारो लय, अन्त्यानुप्रासको प्रयोगले श्रुतिमाधुर्य, झर्रो र रसिलो नेपाली भाषाको प्रयोग, सरल, मनोहर र प्रभावकारी भाषाशैली नै भानुभक्तको विशेषता रह्यो । त्यतिबेला बेग्लाबेग्लै मातृभाषा भएका नेपालीका माझमा ‘रामायण’ कृतिबाट भाषिक र जातीय एकता कायम गरे उनले । सबै जाति, लिंग, उमेरका जनमानसमा प्रभाव पार्ने भएर पनि उनी जातीय कवि बने ।
भानुभक्त नेपाली भाषाका आदिकवि हुन् । नेपाली भाषामा रोचक, शुद्ध, झर्रो कविता लेखी नेपाली जनताका माझ लोकप्रिय बने उनी । उत्कृष्ट कविता लेखनका दृष्टिले पनि उनी आदिकवि मानिन्छन् । कविताका ४ वटा उपविधागत भेदमा उनको कवित्व फैलिएको छ– महाकाव्यात्मक, खण्डकाव्यात्मक, फुटकर श्लोक र मुक्तक । भानुभक्तले ‘बधुशिक्षा’ मा समाज सुधारको भावना अभिव्यक्त गरेका छन् । उनले युगको वातावरणअनुसार नारी चरित्रको सुधार, परिवार, समाजको सुधारतर्फ अभिप्रेरित गरेका छन् । उनका कवित्वमा हांस्यव्यंग्य पनि पाइन्छ । भानुभक्तका फुटकर श्लोकमा जेलमा बस्दाको अनुभव यसरी व्यक्त भएको छ ः
लामखुट्टे उपियाँ उडुस यी संगी छन्, यिनकै लहडमा बसी
लामखुट्टेहरु गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी ।
त्यस्तै सरकारी अड्डा अदालतको भोलिवादी प्रवृत्तिप्रति यस्तो घोचपेच छ उनको–
भोलि भोलि भन्दै सबदिन बितिगो पर्सियोस् आज झोली
अनुवाद र मौलिकताबीच भानुभक्तको कवित्व सल्बलाएको छ । रोचक, मनमोहक, मर्मात्मक आख्यान र नैतिक सन्देश भानुभक्त आचार्यका विशेष आकर्षण हुन् । उनले वेदान्त दर्शनको आत्मवादी चिन्तन रामगीतामा अभिव्यक्त गरेका छन् । रामायणमा रामसँग सम्बन्धित आख्यान, रामलाई आदर्श चरित्र, आदर्श व्यक्तित्व दर्शाउँदै करुणभाव, वीरभाव, वात्सल्यभाव र शान्तभावको रसास्वादन गराएका छन् उनले । उनमा मानवीय विविध भावलाई अभिव्यक्त गर्ने सामथ्र्य छ । त्यसैले भानुभक्त नेपाली कविताको प्राथमिक कालका सर्वश्रेष्ठ कवि, भक्तिधाराका महान कवि र रामभक्ति धाराका केन्द्रीय कवि बन्न पुगेका छन् । युगीन नेपाली कविताको उचाइ, नेपाली हृदयलाई छुन सक्ने खुबी, अरु कविका तुलनामा उच्च, विधागत, उपविधागत भेदका हिसाबले समेत सर्वश्रेष्ठ कवि र अग्रणी कवि भएकाले नै उनी आदिकवि भएका हुन् ।
प्राचीन लोकगीत, गाथा हुँदै विकसित भएको नेपाली कविताले लिपिको विकाससँगै अनेक घुम्ती र मोडहरुमा काँचुली फेर्दै आएको छ । कविताको तीन सहस्राब्दी लामो यस कालखण्डमा प्राचीन नेपाली कविता लयगत, प्रस्तुतीकरण र संगठनात्मक दृष्टिले विभिन्न आयाममा विस्तारित भएको र खुम्चिएको पाइन्छ ।
(सन्दर्भ सामग्री : ‘नेपाली कविता भाग २’, ‘पाँचसय वर्ष’)
(स्रोत : श्री रुपरेखा)