व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा चार दल छ ।

चार दल साहै्र शक्तिशाली छ । सरकारमा नभए पनि सरकार चलाउने सामथ्र्य राख्छ । दसैँ हरेक वर्ष आउँछ । यो वर्ष पनि दसैँ आयो । धेरै कुरा रोक्न सक्ने चार दलले दसैँलाई चाहिँ रोक्न सकेन । मलाई त लागेको थियो, संविधानसभाको निर्वाचन नहुन्जेललाई दसैँ पनि सार्न हो कि, तर त्यो गरेन । यहाँचाहिँ उसले आफ्नो शक्ति प्रदर्शन गरेन । मलाई अचम्म लागेर आयो । यतिखेर मुलुकका ठाउँठाउँमा सडकहरुमा झ्वाम्म पारिएका छन्, दुनियाँका घर भत्काइएका छन्, पर्खाल ठड्याइएका छन् । यातायात बन्द छन् । दसैँ मान्न परदेशबाट हिँडेका छोराछोरी घर आइपुग्लान् कि नपुग्लान् भनेर अविभावकहरु आँखा तानीतानी हेरिरहेका छन् । जेसुके पनि इच्छा लागेपछि जस्तोसुकै बहानामा पनि, कुनै बहाना नै नभई पनि जुनसुकै गाडी वा घर वा मान्छेमाथि पेट्रोल खन्याएर आगो लगाउन स्वतन्त्र छ । कसलाई कुन लहड चल्ने हो र कुन बजार वा गाउँमा डडेलो सल्किने हो हिसाब छैन ।

बेहिसाब त्रासदी बढिरहेको बेला हाम्रो देशको सत्तामा सर्वशक्तिमान सात दल छ । यो अराजकता, यो उद्दण्डता र यो भयावह स्थितिले पनि पटक्कै छुन नसक्ने क्या बाक्लो छाला छ चार दलसँग ? कहिले दोलखामा गाडी भीर गुल्टिएर मान्छेहरु सोत्तर भएका छन् । कहिले रौतहटमा रगतको खोलो बगेको छ । दसैँ तिहार र छठहरुको मुखैमा सयौँ मान्छेका घरहरु खरानी भएका छन् । बालबालिका र वृद्धाहरुको बस्ने बास र बाँच्ने आश हराएको छ । त्यो पाशविकता र विध्वंस हेर्न, सुन्ने केही गर्न फुर्सद छैन चार दललाई । चार दल त सुदूर भविष्यसम्मै कसरी सिंहदरबार आफ्नो कब्जामा राख्ने भन्ने चिन्तनमा व्यस्त छ ।

क्या दूरदृष्टि छ चार दलसँग ! ? चार दलको सरकार पनि छ भन्ने सुन्दा तपाईंलाई अचम्म पनि लाग्न सक्छ । विश्वास गर्नहोस्, त्यो छ । सुराल भिजाउँदै भए पनि त्यो बबुरो सिंहदरबारभित्र बसेर, बन्द, हड्ताल, चक्काजाम, आगजनी, तोडफोड, अपहरण र नरसंहारका समाचारहरु रेडियोमा सुन्छ, टेलिभिजनमा हेर्छ र सके कुरियरमार्फत् अलिअलि राहत पठाउँछ, नसके गहिरो समवेदना सन्देश प्रकाशित गर्छ । जे होस्, चार दलसँग सरकार छ । सरकारसँग चार दल छ । चार दल साह्रै सक्रिय छ । पालैपालो हरेक दलका अगुवाको अध्यक्षतामा बैठक बसिरहन्छ । बैठकमा केही गर्दैन फेरि अर्को बैठक बस्ने निर्णय गर्छ र अर्को बैठक बस्छ । अर्को बैठकमा पनि अर्को बैठक बस्ने निर्णय गर्छ । बैठकमा कुनै निर्णय नै हुँदैनन् भन्ने कुरा होइन । बैठकले विभिन्न पदहरुमा भागबन्डाहरु गर्छ सरकारलाई निर्देशन दिने काम गर्छ । त्यही निर्देशन शिरोपर गर्दै सरकारले आयोगहरु बनाउँछ, राजदूतहरु नियुक्त गर्छ भत्तासुविधाहरु खान्छ । अरु पनि धेरै थोक गर्छ । अनि गर्वसाथ भन्छ, सरकार स्वतन्त्र र अंकुशरहित छ ।

सबैभन्दा ठूलो कुरा उसले संविधानसभाको निर्वाचन पटकपटक पर सार्नसक्छ । पटक पटक संविधान संशोधन गरेर आफू अनुकूल पार्नसक्छ । वैद्यबाको पार्टीलाई बाहिर राखेर तेस्रो संविधानसभा निर्वाचनको तयारी गर्नसक्छ । महँगी चुर्काएर जनताको सातो हर्नसक्छ । त्यति मात्र होइन, चार दलले खिलतन्त्रको आडमा अनेक हास्यनाटकहरु गरेर पटकपटक प्रतिगामी दलहरुलाई हँसाउँछ । बेथितिको जग बसाउँछ । देशको सार्वभौमिकतालाई मित्र राष्ट्रका शासकहरुको पाउमा खसाउँछ । एकसे एक गौरवशाली गतिविधि हेर्दा लाग्छ चार दल ऐतिहासिक छ, सर्वशक्तिमान छ, विचित्रको छ ।

संसारकै विचित्र यो चार दलको गौरवगाथाका बारेमा जतिसक्दो चाँडो गिनिज बुकमा लेखाउने धोको छ । मलाई सघाउने भए तुरुन्त एसएमएस गरिहाल्नुहोस् । सबैलाई धन्यवाद, जय नेपाल र लाल सलाम छ ।

(गाम्नागेको हास्यव्यंग्य निबन्धसंग्रह स्वाहाबाट)

(स्रोत : श्री रुपरेखा)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.