कविता : आजका जोगी

~यज्ञेश~Yagyash Dhwoj Karki

मलाई छोटा कपडाभन्दा
छोटा विचारसँग सरम लाग्छ,
मूर्खको बातभन्दा
महापण्डितको उपदेश झिज्यार लाग्छ!

बहिरालाई
मुस्कुराएको वचन सब मिठो हुन्छ,
बेवाकूफ दर्शकलाई
बकबके लवारपाँडे विद्धवान हुन्छ,
मलाई त आश्चर्य हुन्छ!
खुल्ला सडकमा हिँड्न छाडेर मानिस,
साँघुरिएको गल्लीमा किन कोचिन चाहन्छन्?
अपरिमित आकाशलाई त्यागेर
जमीनमा किन घिस्रन चाहन्छन्?
अनि,
विषालु विचार डस्न चाहने
ती ढोंगी उपर घृणा हुन्छ
त्यसको कृत्रिमता देखेर
त्यसको उदण्डता देखेर
अनि भन्न मनलाग्छ,
हे विद्धता र ज्ञानका चस्मा लगाउनेहरु!
हृदयको आँखाले हेर,
धमिलोपन हट्ला कि?
वास्त्राभूषण र सुनका रथमा रमाउनेहरु
बोक्रेपन ताँछेर हेर,
अमिलोपन घट्ला कि?

खरानी र रुद्राक्षले सिद्धिप्राप्त हुने भए
पूरै वन अग्नीकुण्डमा होमीदिन्थेँ,
रुद्राक्षका रुख सब नंग्याइदिन्थेँ,
तर सिद्धि त अदभुत बुद्धिमा छ
जो सँसारबाट परय छ।

मलाई बोटमा सुकेर चाउरी परेको फलभन्दा
केमिकलका हरिया फल तीतो लाग्छ,
मलाई छोटा कपडाभन्दा
छोटा विचारसंग सरम लाग्छ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.