~बासुदेव अधिकारी~
चरनमा
जडीबुटी खाएको गाई
र शहरमा
दाना खाएको गाईमा
कसको दूध मीठो?
कसको मुत्र स्वादिलो?
यही भेद हो शहर र गाउँको
गाउँ र शहरको।
गाउँमा
असङ्ख्य रूखपात
असङ्ख्य डाँडाकाँडा
सबैको नाउँ
सबैको परिचय
असङ्ख्य कथा ब्यथा
अनौपचारिक
र अविकृत भाषा
गीतमा विरह
सुस्केरामा दुःखको प्रवाह
मौलिकतै मौलिकता
गाउँमा
मूलाको डुकु
भदौको अलौटा मकै
तारी गाईको बेउती
स्वाद नै बेग्लै
हावामा अक्सिजन
पेटमा शून्यप्राय बोसो
निख्खर छ गाउँ।
छन न त छ
अभाव र शोषणका
गहिरा घाउ
हिमतालजस्ता
सेती नदीका दुन्दुराजस्ता
भोक बसिरहन्छ गजधम्म
दिउँसै अँध्यारो उग्राइरहन्छ
तथापि गाउँ ब्युझिरहेछ
नयाँ युगसँग।
न भाषामा दुर्गन्ध
न मनोविज्ञानमा जटिलता
अविकास
र साना-ठूला मौलिकतामा
पौडिरहेछ गाउँ।
आफ्नै शहरले
भारी बोक्न नपत्याएपछि
निलो पासपोर्ट गोजीमा हाली
बरू अरबको ताता घाममा
दौडिरहेछ गाउँ।
गीत छ
गति छ
मिहिनेत छ
उत्पादन छ
आफ्नै खालको चेतना छ गाउँसँग
कतिञ्जेल तल परिरहला त हँ
नेपाली गाउँ?
१३ कार्तिक २०६६
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)