~केदार न्यौपाने~
हामी त उस्तैछौं तिमीलाई के भा’को
विर्स्यौ कि आजभोलि किन नआ’को
तिमी आउँदा नि यो हाम्रो सानो झुप्री घर
अहिले पनि उही नै छ पानी तररर
परालमा सुत्थ्यौ हामी यौटै थालमा खान्थ्यौं
चेतनाको दीयो बाल्दै घरघर जान्थ्यौं
रेडुइबाट सुन्यौं हामीले प्रताजन्त्र आ’को
धेरै दिन वित्यो गाउँमा छैन केही भा’को
मालिक ठूलो उही नै छ शोषण उस्तै गर्छ
न्याय निसाफ माग्न जाँदा राता आँखा तर्छ
सम्झिरा’छौं तिमीले भन्या वीरताका कथा
भियतनाम कोरिया र चिनको मुक्तिगाथा
गाउँदैछौं अझै तिमीले सिकाएको गीत
आउन छाड्यौ गाउँघर कतै भूल्यौ कि त?
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)