~राजन काफ्ले~
नवोदित सूर्यले
हिमालमा फ्याँकेको रोशनी
परावर्तित भएर उजेलिएको
एउटा शान्त, सुन्दर गाउँ थियो त्यो
हिमालको फेंदिमा
नौरङ्गी डाँफे
मोहनी लालिगुराँस
निश्छल, निष्कपट मान्छेहरु
सुरम्य गाउँ थियो त्यो
हिमालको फेंदिमा
गाउँ शान्त थियो
गाउँले सुरक्षित थिए
र गाउँको रखवारी गर्न
एउटा कुकुर पालिएको थियो
हिमालको फेंदिमा
कुकुर मज्जाको थियो
कुकुर लोर्के थियो
झ्याप्ले थियो र
राम्ररी हुर्केको थियो
हिमालको फेंदिमा
आफ्ना पूर्वज जस्तै
कुकुर हृष्टपुष्ट हुर्कियो
गाउँलेहरुको ममता र सुश्रुषामा
कुकुर उफ्रियो र फुर्कियो
हिमालको फेंदिमा
गाउँलेहरु मख्ख भए
उनिहरु छक्क भए
वलिष्ठ कुकुर देखेर
उनिहरु एकदम ढुक्क भए
हिमालको फेंदिमा
अनायाश, अचानक
गाउँलेहरुको आशा विपरित
कुकुर मात्तिएछ र वहुलाएछ
कुकुर वहुलाएर वित्याँस परेछ
हिमालको फेंदिमा
वहुलाएको कुकुर
गाउँलेहरुलाई टोक्न उद्दत छ
उ भुकिरहेछ, लखेटिरहेछ
आफैलाई पाल्ने गाउँलेलाई झम्टन
हिमालको फेंदिमा
आज गाउँ स्तब्ध छ
आफैले पालेको कुकुर वहुलाउँदा
गाउँ सन्त्रश्त छ
के गर्ने, के नगर्ने दोसाँधमा
हिमालको फेंदिमा
जेहोस् त्यो गाउँ
अहिले चकमन्न छ
कुकुर आतंकले
सावधान ! कुकुर वहुलाएको छ
हिमालको फेंदिमा ।
11.04.2005
(स्रोत : रचनाकारको ब्लगबाट सभार )