~यज्ञराज पकुवाल ~
नेपाली जनता हिजो आज भोलि विचार्दछ
नयाँ चुनाव हेरेर देशले सास फेर्दछ
पाउला फेर्न पाओस गरिब देशले अब
स्वयम्भु हेर्न चाहन्छ झुपडीभित्र दीपक ।१।
नयाँ नेपालको नारा व्यर्थमा खेर गो अब
परिवर्तनको अर्थ भ्रष्टाचार भयो सब
हेर्न पर्खिबसेका छन् इमानदार सब दर्शक
पार्टीले गोल लाएनन् भत्क्यो मैदान नै तब ।।२।।
म राम्रो ऊ नराम्रो छ भन्ने वादविवादमा
आयु अर्थ सबै खर्चे दलीय बूढीवादमा
फेरि उही अनुहार प्रवृत्ति दोहोर्याउन
देशको पाउला लुछ्न चाहन्छन् भूत दुश्मन ।।३।
होसियारी खबरदारी रहौं नेपाली भाइ हो
सारा संसारकी राम्री आमाको काख पाइयो
सौन्दर्य लुट्न ताकेका कामुक परचक्रीले
अदृश्य अस्त्र फालेको देखिरहेछ हिमालले ।।४।।
नयाँ चुनाव आँधीले पुराना अनुहारमा
अयोग्य घोषणा दाग लाओस यही चुनावमा
नयाँ बिहानमा नौला सोचका सत्यवादमा
आमा मुसुक्क हाँसेकी देख्नुछ यो चुनावमा ।।५।।
जनताकै हातमा शक्ति परिवर्तन गर्नमा
विधिविधानको पक्का गर्नुछ यो चुनावमा ।
गर्जंदैछ चट्यांग पार्न क्षणिक क्रुर बादल
तर्सनै छैन नेपाली वीरत्व शक्तिबाहक ।।६।।
(स्रोत : श्री रुपरेखा)