~ध्रुव पन्थी~
धेरैले भनेजस्तै,
धर्तिको यो कुनामा धेरै चिज बदलियो
अन्धकार वस्ती र बञ्जर खेतहरुबीच बग्ने
यहाँका नदीहरुमा पानी मात्र बगेन
थुप्रै नेपालीको रगत र आँशु पनि बग्यो
पानी, रगत र आँशुभन्दा वेगले शायद समय बग्यो
समयले धेरै चिज लछारेर बग्यो, पछारेर बग्यो
जुग बदल्छौँ भन्नेहरु
जुग त के साँझ पनि नढल्दै आफै बदलिए
तर कठै! समय बगेर जहाँ पुगे पनि
हाम्रो नियति भने जमिरह्यो – एकनाससँग, एकतमाससँग
त्यसैले त आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!
अहो! कस्तो जीवन्त हुन्थ्यो दाइको कविता
शब्द-शब्दमा कसरी ज्यान भर्नुहुन्थ्यो उहाँ
उहाँ चट्टान फुटाएर फूल फुलाउने कुरा गर्नुहुन्थ्यो
पहरा रसाएर मूल फुटाउने कुरा गर्नुहुन्थ्यो
मक्किएको थोँत्रो घर भत्काएर
नयाँ सुन्दर घरको जग खन्ने कुरा गर्नुहुन्थ्यो
भोको पेटलाई खाना र नाङ्गो आङलाई नाना
जोहो गर्ने कुरा गर्नुहुन्थ्यो
त्यो सबै गर्न नयाँ बलिदानको कुरा गर्नुहुन्थ्यो
हामी जुरुक्क उचालिन्थ्यौ उहाँको कविता सुन्दा।
मन छुने विम्ब र प्रतीकहरु
विछट्टै राम्रोसँग मिलाएर सुनाउनुहुन्थ्यो उहाँ
कलात्मक भाषा र जोशिलो शैलीमा
नवचेतनाको बिगुल फुक्नुहुन्थ्यो उहाँ
त्यहाँ आगोको भुङ्ग्रोमा खारिने सुनका कुरा हुन्थे
जस्तै आँधीहुरीमा पनि अविचल उभिने
सतिसालका कुरा हुन्थे
दाइको त्यो शब्दशिल्प यथावत् छ
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!
विधिको विडम्बना वा हाम्रो युगको क्रुर ठट्टा!
समयले जस्तोसुकै कोल्टो फेरे पनि
मेरो दाइको कविता बदलिएको छैन
बदलिएको छैन दाइको कविताभित्रको उर्जा
बदलिएका छैनन् दाइको कविताभित्रका सपनाहरु
बदलिएको छ त केवल दाइको कविताको सान्दर्भिकता
दाइको कविताभित्रको इमान्दारिता
हिजो दाइ कालोलाई कालो भनेर लेख्नुहुन्थ्यो
सेतोलाई सेतो भनेर लेख्नुहुन्थ्यो
आज यावत् खैरो चिजलाई
दाइ मुटु निचोरेर कालो र सेतो बनाउनुहुन्छ
बलात्कृत आस्था र विश्वासलाई सग्लो देखाउन
आफ्नै आँखामा कालो पट्टी बाँध्नुहुन्छ
र पूर्ववत् मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!
सपना देखाउनेहरुले नै
सपनाहरु विरुप बनाइदिएपछि
तिनै विरुप सपनाहरुको बुइ चढेर
‘एक्काइसौँ शताब्दी’ को श्रीपेच पहिरिएपछि
पाखण्ड बनिसकेका छन्
तिनले जप्ने विज्ञान र शास्त्रहरु
तिनले जोडतोडले खोक्ने मूल्य र मान्यताहरु
तर यो सबै फगत दुष्प्रचार लाग्छ मेरो दाइलाई
आस्था र विश्वासमा तथ्य र तर्क खोज्नेहरुलाई
अचेल मेरो दाइ आँखामा फुलो परेको भनिदिनुहुन्छ
अवसरवादी, दलाल, भगौडा आदि करार गरिदिनुहुन्छ
अनि नयाँ जोश र जाँगरमा
उहाँ अर्को एउटा ‘युगीन’ कविता कोर्न बस्नुहुन्छ
मलाई विश्वास गर्नुस्,
आज पनि मेरो दाइ उत्तिकै खरो कविता कोर्नुहुन्छ!
(जनवरी २२, २०१५)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)