~बुलु मुकारूङ~
विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा प्रयोग ग-यो। सिपी-शंखलाई पनि धार्मिक अनुष्ठानका लागि मात्र सीमित ग-यो। ठूला-साना ढोलहरूका विकासले प्राचीन नाचगानलाई सुन्दर रञ्जकता थप्दै लग्यो। मानव सभ्यतासँग साथसाथै विकसित भई आएको सङ्गीतले यो युगमा आइपुग्दा ठूलै फेरो मारिसकेको छ।
१५-१६ औं सदीमा आइपुग्दा नपुग्दै विश्व-सङ्गीतमा विशाल परिवर्तन र प्रयोग भयो। त्यही युगमा बाख, बिथोबन अनि मोजार्ट आदि विश्वविख्यात सङ्गीतकर्मीहरू जन्मे र संसारलाई आधुनिक सङ्गीतको यान्त्रिक विज्ञानमा स्थापित गरिदिए। यसबेला पनि ती सङ्गीतकर्मीहरूका तिनै महान् सिर्जनामा साङ्गीतिक रञ्जनमा रमिरहेको छ विश्व। यसलाई नै हामी सङ्गीतमा सुन्दरता वा प्रभाव अथवा प्रसिद्धि भन्ने गर्दछौं।
नेपाली आधुनिक सङ्गीतको उठान एकसय वर्ष पार गरेको ऐतिहासिक खुसियाली छँदैछ। र, यसभित्र गुम्सिएका, गुमनाम भएका र इतिहासले नै छोपेका अनेकन् सुरकर्मीका सुन्दर सिर्जनाहरू पनि थुप्रै हुनसक्छन्। नेपाली सङ्गीतको उद्भवको इतिहास कहिँ कतै गलत पनि प्रचारित भएको हुनसक्छ। कतै-कतै गल्तिले अभिलेखनमा आएको पनि हुनसक्छ। र, त्यसभित्रको सुन्दर, अत्यन्त सुन्दर सिर्जना पनि दफन गरिएको हुनसक्छ, यस सयवर्षभित्र होस् वा सयवर्ष अघि।
अहिले पनि नेपाली परिवेशमा बाजालाई वा गायनलाई अथवा नाच्नु गाउनुलाई मात्र सङ्गीतको परख गरिन्छ। यसको उद्गम र यसका सर्वाधिकारी को? भन्ने सोचिएको देखिदैन। यहीनिर गलत छ अभिलेखन र ब्याख्यासमेत पनि। कहाँनिर छ नेपालीपन, शैली र सुन्दरता वा नेपाली सङ्गीतको सुन्दरपक्ष के हो? यो सवाल अब उठ्न थालिसकेको छ। परिवर्तित सन्दर्भमा नेपाली सङ्गीत र साङ्गीतिक प्राज्ञिकता भनेको के हो? के हुने? अथवा नेपाली सङ्गीत संस्कृतिको नीति कस्तो हुने? यी सवालहरूको समग्र सही जवाफ नै सङ्गीतको सुन्दरता हुनसक्छ। यथार्थमा विर्सिरहेको विषय सङ्गीत-सुन्दरता र त्यसले ओगटेको विशिष्ट पक्ष नै हो।
व्यङ्ग्यमा सङ्गीत, सूचनामा सङ्गीत, आव्हान र राजनैतिक परिवर्तनमा सङ्गीत, यसैगरी भेलासभाका उठान-बैठानमा सङ्गीत। प्रेम-प्रणयमा सङ्गीत, बिहेवारीमा सङ्गीत अनि धर्ममा सङ्गीत। जजमानी र स्तुतिमा सङ्गीत। पार्टी-भोज र भट्टी-नशामा सङ्गीत। यति सुन्दर विषयको कति कुरूप प्रयोग? सुन्दर, शालीन र मुलायम ध्वनिको विभत्स प्रयोगले सङ्गीतलाई शौन्दर्यहीन उपस्थिति पु-याइ रहेको छ। यो दारूण स्वरूपलाई कसरी र कस्ले केलाउने? कस्ले कञ्चन, निर्मल र स्वच्छ तुल्याउने?
नेपाली गायन प्रसिद्धिभन्दा पनि चर्चामा अगाडि बढ्न थालेको छ। प्रसिद्धिको स्थान चर्चा होइन र क्षणिक लोकचर्चा पनि होइन। यसभित्र गहन सोच-विचार अनि विश्लेषण रहेको छ। आत्मारञ्जनको अहम् र रति-रागले चर्चाको कुरालाई महत्व दिन्छ। तर गायनको गुदी र सिद्धि प्राप्त गर्नु अर्कै कुरा हो। अहिलेको गायन फिल्मी शैलीसँग नजिकिएर त्यसको अजेय उचाइ छेदन गरिरहेको छ। गायन गला वा मथिङ्गल-माथाबाट निष्पात भएर हार्दिक विन्दुमा पु-याउन प्रक्षेपित हुनुपर्छ भन्ने चेत हराउँदै गइरहेको छ। यो क्षय र क्षयिकरणको कारकतत्व दृश्य-भ्रम र त्यसमै विश्वास हुँदै जानुनै हो। नेपाली गायन हृदय-सम्वेदनासँगभन्दा पनि दृश्यसँग प्रतिस्पर्धा गरिरहेको छ। गायनको मिठास् स्वतः हराइरहेको छ। भावहीन गीत, रसहीन सङ्गीत र प्रभावहीन गायनले सारा टेक्नो-मिडिया सखाप पारेको छ। यो अवस्थाले जनसङ्गीत र वर्गीय गायनको खिल्ली उडाउँदै नेपाली सङ्गीत पनि पूँजीवादी अक्करतर्फ उन्मुख भइरहेको छ। त्यसले प्रतिभा, विज्ञ र विशेषज्ञतालाई ठाडो खुँडा हानिरहेको महसुस गरिन्छ।
हेराइ, देखाइ वा अनुभवमा सङ्गीत हल्का अथवा फिक्का हुँदै गइरहेको छ। सङ्गीतको सुन्दरता औसत छोपिन थालेको छ। गायन गलामाभन्दा दृश्य-चित्रको हावी हुन थालेको छ। यही देखेर हिजोआज आम श्रोता-समाज भनिरहेका छन्- सङ्गीतमा विकृति आयो, गायनको निखरता घट्यो, सदावहार गीतहरू हराउन थाले, स्तरीय गीत- सङ्गीतको अभाव भयो, गहन र कालजयी सङ्गीत सिर्जनाको युग समाप्त भयो आदि-आदि।
के नेपाली सङ्गीतलाई उठान र मर्यादित बनाउन सकिँदैन त? अवस्य सकिन्छ। तर यस विषयमा प्रमुख रूपमा स्रष्टा-सुरकर्मीहरू नै सचेत हुनु जरूरी रहन्छ। राष्ट्रिय सङ्गीत-संस्कृति नीति राज्यद्वारा निष्पात गरिनु अत्यावश्यक देखिन्छ। यसैगरी नेपालका बिग-मिडियाको त झन् प्रमुख दायित्वनै रहन्छ। यस विषयमा राष्ट्रिय बहस गरिनु जरूरी नै भैसकेको छ।
bmukarung@hotmail.com
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क २, फेब्रुअरी २०१०)