कथा : नौली

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

— धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर।

— मोज रे। हामी पढ्न आएका कि मोज गर्न?

— पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ?

— पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न।

— हो, त्यसो भन न त।

तर, म डुल्न मन पराउने मान्छे भने होइन। साथीभाइले प्रस्ताव राख्दा पनि विभिन्न बहाना बनाएर टार्दै आएको छु। तर आज किन हो किन डुल्न जाने प्रस्ताव मैले आफैं राखँे। जाँच सकिएको भर्खरै एक–दुई दिन भएको थियो। त्यसैले पनि होला, मैले पनि सुरसुरैमा डुल्न जाने प्रस्ताव राख्दिएँ।

बसमा म अघिल्लो सिटमा थिएँ। पछाडि सँगै पढ्ने दुई जना साथी रवि र सञ्जय थिए। बाटोमा ती दुवैले निकै खासखुस गरे। मैले उनीहरूको कुरामा त्यत्ति ध्यान दिइनँ। बस रत्नपार्क पुगेर सबै यात्रुलाई ओराल्यो। डुल्न त हामी निस्कियौं तर कहाँ जाने कुनै टुंगो थिएन।

मैले भने, ‘चिडियाखाना जाँऊ, त्यता नगएको धेरै भो।’

रविले मुख बिगार्योच, ‘त्यहाँ नजाउँ्क यार। सबै जोडीका जोडी भएर हिँड्छन्। हामीलाई त साह्रै झुर हुन्छ क्या।’

‘हामी चिडियाखानाका जीवजन्तु हेर्न जाने। ती जोडीसँग हाम्रो के लिनुदिनु। तिमीहरूको यही बानी त मलाई ठिक लाग्दैन। अहिले एक्लै कोठा फर्किदिन्छु अनि।’

मेरो घुर्कीपछि सञ्जयले फकाउन थाल्यो, ‘नरिसा न यार। ल तैंले भनेकै ठाउँमा जाने। तर हाम्रो प्रस्ताव पनि आज तैंले मान्नुपर्छ। नाइँ भन्न पाउने छैनस्।’

‘पहिले भनेर त हेर्।’

‘एउटा रेस्टुरेन्टमा गएर स्पेसल चिया खाने।’

‘ल, त्यत्ति जाबो कुरा पनि म मान्दिन त।’

चिडियाखाना हेरियो अघाउन्जेल। नानाथरीका कुराकानीमा अल्झाएर उनीहरूले धेरै समय खाइदिए। चिडियाखानाबाट निस्किनेबित्तिकै मैले भनेँ, ‘ल सञ्जय, रेस्टुरेन्टमा चिया खुवाउने कुरा गर्थ्याे नि। ल, कहाँको रेस्टुरेन्ट हो। छिटो गर्, भोक पनि निकै लागिसक्यो।’

‘पख् न, तँलाई आज स्पेसल चिया खुवाउँछौं।’

जाउलाखेलबाट बस चढेर सुन्धारा ओर्लियांै। त्यहाँबाट साँगुरा गल्ली हिडाउँदै भोटेवहालको एउटा सानो पसलमा छिराए उनीहरूले।

‘ओहो रवि बाबु, निकै दिनपछि आउनुभयो त। अनि सञ्जय नानीलाई सन्चै? (मलाई इंगित गर्दै) ऊ नानी त नयाँजस्तो देख्छु नि।’

साथीहरूले साहुनीको कुरालाई त्यत्ति ध्यान दिएनन्। खालि मुस्कुराए मात्र। के कुराचाहिँ सिद्ध भयो भने उनीहरू सहर आएको बेला यो रेस्टुरेन्टमा नियमित रूपमा नास्ता गर्न आइरहन्छन्। साहुनीले उनीहरूलाई राम्ररी चिन्छे।
बाहिरबाट रेस्टुरेन्ट छिर्न मन नलागेझैं देखिए पनि भित्र त्यस्तो थिएन। टेबल, कुर्सी सफा थिए। कोठाको रङरोगन भर्खरै गरिएझैं लाग्थ्यो। एक सोह्र–सत्रकी मैयाँ हामी बसेको टेबुलनेर उभिई र सोधी, ‘दाइहरूलाई के ल्याऊँ?’

‘सेकुवा, भुटुवा, मासु के छ?’

‘सबथोक छ।’

रविले घातक मुस्कान छाड्यो र सोध्यो, ‘साँच्चै सबथोक छ?’

सञ्जयले अर्डर गर्यो्, ‘तीन ठाउँ भुटुवा र तीनै ठाउँमा स्पेशल चिया।’

अर्डर गरेको पाँच मिनेटमै भुटुवा आइपुग्यो र तीन गिलासमा लोकल ठर्रा।

‘यो के हो यार। तिमीहरूले स्पेशल चिया भनेको होइन?’

‘हो, यही त हो नि स्पेसल चिया। तैंले पनि चिनिस्। खोयाबिर्के ल यार। कहिलेकाहीँ त खानुपर्छ।’

‘मैले जिन्दगीमा पिएकै छैन। मसँग मजाक नगर यार।’

‘ल जिन्दगीमा नगरेको अनुभव त बटुल्नुपर्छ नि।’

रविले त्यो भनाइसँगै आफ्नो गिलास आधा रित्यायो। सञ्जयले पनि उसलाई साथ दियो।

‘कमसेकम भुटुवा त चबा।’

भोक पनि निकै लागिसकेको थियो। म भुटुवा चबाउन थालेँ।

‘त्यसो भए तैले नखाने एलटी?’

मैले नकारात्मक टाउको हल्लाएँ।

रविले गिलासमा हाल्दै भन्यो, ‘ल बियर त अलिकति खान्छस् नि। जाँच सक्किसक्यो, केको टाउको दुखाइ।’

युवा मन त्यत्ति दुई–चार घुट्को बियर पनि नखाए लाछी भनिहाल्छन् नि। यस्तै सोचेर बियरचाहिँ निलेँ घुटुघुटु। साथीहरूले मानाको माना रित्याउँदै गए। त्यो एक बोतल बियर मैले पनि कतिखेर सिध्याएँ। गफगाफमा पत्तै भएन।
हठात् नाडीको घडीमा मेरो नजर पर्योफ। रातको साढे आठ बजेछ।

‘ओहो जाउँ यार, अन्तिम बससम्म पाइहालिन्छ कि!’

सञ्जय करायो, ‘किन हतार गर्छस् भन्या। ट्याक्सीमा जाँऔंला नि। अझै त हामीलाई पुगेकै छैन। तँलाई पुगेर हुन्छ। कि कसो रवि?’

रविले पनि हो मा हो मिलाउँदै भन्यो, ‘नडरा न यार, सबै पैसा हामीले नै तिछर्ांै। तैंले हामीलाई साथमात्रै दिए पुग्छ।’

मलाई पनि झसंग रिस उठ्यो, ‘के मलाई कंगाल भन्ठानेका। तिमी दुवैलाई किन्न सक्छु, बुझ्यौ? लौ आज जति घिच्न सक्छौ घिच। मेरो तर्फबाट फ्री।’

दुवैले घातक मुस्कान छाडे। रविले भन्यो, ‘हो हामीलाई पनि यही चाहिएको। सोमले कुरा बुझेछ। साहुनी ल हामीलाई चाहिँ कडा खालको वासा थप एक माना। दाइ सोमलाई बियर। अनि के बच्या’छ, चिकेन फ्राई, मटन सबै एक/एक प्लेट पाऊँ त।’

सित्तैमा पाए त यिनीहरूले चार माना चुक पनि चट् पार्छन्। आफूले तिर्नुपर्ला भनेर अड्कली–अड्कली अर्डर गरिरहेका थिए, साथीहरूले। मेरो तर्फबाट फ्री भन्नेबित्तिकै भोज मनाउन सुरु गरे।

पिएपछि नशा नलाग्ने कुरै थिएन। साथीहरूले प्रस्ताव राखे, ‘आज टन्न खाइयो। आजको रात यतै बसौं। प्रहरीको गस्तीले भेट्योे भने रातभरि चिसो खोरमा जाक्छ।’

मलाई पनि उनीहरूको कुरा ठिकै लाग्यो। ‘नआउनु घुम्न आइहालियो। नपिउनु टन्न पिइहालियो। लौ यार, अब तिमीहरूले जेजे बन्दोबस्त गर्छाै गर,’ मेरो अर्डरसँगै रवि होटलपछाडि गयो र तुरुन्तै सन्देश बोकेर आयो, ‘ल, बेड पनि ठ्याक्कै तीन वटा खाली रहेछ, जाऔं। खाना उतै कोठामै खाऔंला।’

खाना त के खाइन्थ्यो, जुठोसम्म पारियो। खाना खाँदासम्म मैले यताउति कहीँ हेरिन। चुठ्ने बेला जसै मगको पानी लिन हात अगाडि बढाएँ। एउटा षोडशी युवतीले मगको पानी हाल्दिँदै भनिन्, ‘चुठ्नुस् दाइ।’

उनी निहुरिएर पानी हाल्दा छातीको अग्रभाग ह्वात्तै खुलेको देखियो। बियरको नशाले त मलाई छोएकै थियो। त्यो दृश्यले मलाई झन् नशा दियो। मैले कसरी चुठेँ, पत्तै पाइनँ।

‘दाइ, ढोका बन्द नगर्नुस् ल। म तपार्इंको लागि सुपारी, सुकमेल लिएर आँउछु,’ हात पुछ्न रुमाल दिँदै उनले भनिन्।

पहिले उनी कुन डे्रसमा थिइन्। त्यो मैले ख्यालै गरिनँ। हातमा सुपारी र सुकमेलको बट्टा लिएर आउँदा उनको जिउमा झिनो कपडा थियो। उनको शरीरका भित्री लुगा प्रस्ट देखिन्थ्यो।

सुपारीको बट्टा थमाउँदै उनले सोधिन्, ‘दाइ, म एक छिन यहाँ बसूँ? तर मैले कुनै प्रतिक्रिया नजनाउँदै उनी ढसमस्स बसिहालिन्। मलाई थाहा थिएन, म सुपारी टोकिरहेछु या कुनै ढुंगा!

जवान युवतीसँग अझसम्म यति नजिक म कहिल्यै आँखामा आँखा मिलाउँदै बसेको थिइनँ। ती कथित बैनी भने मलाई आफ्नो हाउभाउ देखाउँदै आकर्षित गर्ने कोसिस गर्दै थिइन्।

मलाई के कुरामा द्विविधा रहेन भने— यो रेस्टुरेन्टका नियमित ग्राहक रवि र सञ्जय रहेछन्। बेलाबेलामा डेराबाट हराउँदा उनीहरूको बास यही हुँदो रहेछ र आजको यात्रामा यहाँसम्म ल्याइपुर्यााउन उनीहरूले बिहानैदेखि ग्र्यान्ड डिजाइन तयार पारिसकेका
रहेछन्। ग्र्यान्ड डिजाइनअनुरूप उनीहरू आ–आफ्नो कथित प्रेमिकाहरूसँग अघि नै बिस्तरामा चालु भइसकेका होलान्। अनि मलाई त्यो खाडलमा जाक्न काँचो मासु पठाइदिएका होलान्।

‘दाइ केही कुरा गर्नुस् न। कि तपार्इं लाटो हुनुहुन्छ?’

कत्रो साहस, कत्रो आँट। मलाई लाटो रे। मन त लाग्थ्यो, उनलाई एक थप्पड बजाइदिउँ्क र ‘हो’ म लाटो नै हुँ भनी इसाराले नै कोठाबाट धपाइदिऊँ। तर म विवश थिएँ। उनी विवश थिइन्, आफ्नो ड्युटी गर्दै थिइन्, जागिर पकाउँदै थिइन्।

‘मलाई चुरोटको तलतल लाग्यो।’

‘म ल्याइहाल्छु नि। शिखर ल्याउँ कि ५५५?’

‘जुन भए पनि हुन्छ।’

त्यसो त मैले जिन्दगीमा एक सर्काे चुरोट पनि तानेको थिइनँ। मनले भन्यो— आज तैंले धेरै कुराको पहिलोपल्ट अनुभव गर्ने भइस्। सायद मन एक छिन भए पनि एकान्त चाहन्थ्यो र कथित बैनीलाई कोठाबाट धपाउन चुरोटको अर्डर गर्न पुग्यो।
धुवाँ उडाउदै उनी आइपुगिन् र त्यही जलिरहेको चुरोटबाट अर्को चुरोट सल्काएर मलाई दिइन्। धुवैंधुवाँले रुमल्लियो कोठा।

‘झ्याल खोल।’

‘कुरा बाहिर जाला।’

‘होइन, धुवाँमात्रै बाहिर जाला। हामीले कुरै गरेका छैनौं भने कसरी कुरा बाहिर जाला?’

‘अब त गर्दै छौं नि।’

मलाई लाग्यो— उनलाई चुरोट लिन पठाएको बेला नै छेस्किनी लाएर आरामका साथ म किन सुतिनँ? अब कुन बहाना लिएर फेरि बाहिर पठाऊँ?

‘एक जग तताएको पानी लिएर आऊ।’

सिरानीतिर देखाउँदै भनिन्, ‘ऊ त्यहाँ छँदै छ नि।’

अरू केही चाहिएला कि भनेर म कोठाको निरीक्षण गर्न थालेँ।

उनी लाजको सीमालाई पार गर्दै गाउनको गोजीबाट कन्डमको बट्टा झिक्दै भनिन्, ‘नसुर्ताउनोस्, यो पनि छ। यही खोज्नुभएको होला हैन?’

अब भने उनीसँगको पिण्ड छुटाउन गाह्रो थियो।

‘ल तिम्ले कुराकानी गर्ने भनेको होइन। तिमीले नै सुरु गर। तिमी यस्तो दलदलमा किन? को हौ तिमी? कि यही होटेलवालाकी छोरी?’

मेरा हठात् प्रश्नले उनका आँखा रसाएर आए। धेरै बेर केही बोल्न सकिनन्। खाटमुनि कतिखेर उनले रक्सीको बोतल राखेकी थिइन्। गिलासमा खन्याइन् र एक गिलास स्वात्त पार्दै भनिन्, ‘मेरो कथा सुनेर के गर्नुहुन्छ दाइ?’

म कहिलेकाहीँ कथा पनि लेख्छु। हुन सक्छ तिम्रो कथा सुनेर एउटा राम्रो कथा जन्माउन सकूँ।

‘आजसम्म जति आए, केवल मलाई गिजोलेर मेरो शरीर उपभोग गरेर गए। तपाईं पहिलो व्यक्ति हुनुहुन्छ, जो मलाई मेरो जीवनका तिता क्षणहरू बाँड्न भन्दै हुनुहुन्छ। म एकएक भन्छु दाइ, एकएक!’

यहाँनेर उनको भनाइ हुबहु उतार गर्दा अर्को लम्बेतान कथा बन्न जाला, त्यसैले उनको भनाइ संक्षेपमा राखौ।

पहाड गाँउमा हुर्किएकी नौली गाँउकै स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। लाहुरबाट एक नौलो युवक गाउँमा आयो। ऊ गाउँको जिम्दारको छोरो रहेछ। केही दिनमै दुई दिल एक भए। घरको आर्थिक स्थिति कमजोर भएकी नौली धनमा लोभिई। जमिन्दारको छोरोसँग भागेर सहरमा आई। तीन–चार महिना होटलमा दुवै खुब शानसँग बसे। नौली आफूलाई संसारकै सबैभन्दा भाग्यशाली ठान्थी। तर अचानक जिम्दारको छोरो बिदा सकिएपछि नौलीलाई कुनै खबरै नगरी विदेसियो। नौली विचल्लीमा परी। होटलमा खाएको पाँच हजारजति तिर्नु थियो। होटलले नौलीलाई साधन बनाएर रकम असुलउपर गर्योछ। नौलीको ऋण त कट्टा भयो तर ऊ गाउँ जान पनि सकिन। उम्किन नसक्ने दलदलमा भास्सिई।

नौलीको कथामा कुनै नोलो घटना थिएन। गल्ती उसको पनि थियो। तर उसको प्रस्तुतीकरण यति घतलाग्दो थियो कि म पनि ऊसँगै आँसु झार्न बाध्य भएँ। बियरको नशा पनि उत्रियो।

रात जसोतसो कट्यो। न उसले मलाई छोई, न मैले उसलाई छोएँ। साथीहरूले भने मलाई आफ्नै ड्याङको मूला बनाउन सक्षम भएकोमा गर्वित थिए।

त्यसै त भावुक, त्यो घटनापछि म अझ भावुक हुन थालेँ। तर किन–किन मेरा गोडाहरूले उही रेस्टुरेन्ट र उही नौलीलाई खोज्न थाले। मलाई आफ्ना दुःख सुनाएर नौलीले आफूलाई भुलेकी थिई। त्यो घटनापछि म उसलाई भुलाउन, उसको पीडामा मलम लगाउन गइरहन्थेँ।

म साथीहरूभन्दा बढी नै रेस्टुरेन्ट धाउन थालेको थिएँ। म गएपछि नौलीको मुहार पूर्णाकार चन्द्रमाझैं धपक्क बल्थ्यो। उसलाई भेट्न होटलवालीलाई दस्तुर भने बुझाउनैपर्थ्यो। तर, नौलीलाई पर्दैनथ्यो। मैले नौलीसँग त्यो सम्बन्ध पनि कायम गर्दिनथेँ। लाज हराइसकेकी नौली मलाई देेखेर लजाउन थालेकी थिई। विभिन्न परिकार आफ्नै हातले बनाएर खुवाउँथी। म त्यसको पैसा पनि तिर्दिनथेँ। शरीर बेच्नेहरूले त सबैलाई माया गर्छन् तर त्यो देखावटी हुन्छ। के नौलीले मलाई भने साँच्चिकै माया गर्न थालेकी हो? कि मलाई पनि देखावटी माया नै गरेकी हो? उसले जे सोचे पनि म भने उसको प्रेममा बिस्तारै फस्दै गएको थिएँ।

नौलीलाई देख्न नपाए केके हराएझैं लाग्थ्यो। नौलीलाई लिएर नानाथरीका सपना बुन्न थालेको थिएँ म। सञ्जय र रविले मलाई यसबारेमा पटकपटक सचेत गराए। तर मैले उनीहरूको कुरा एक कानले सुनेर अर्को कानले उडाइदिएँ।

मनको निकै अन्तरद्वन्द्वपछि म नौलीसँग विवाह गर्ने स्थितिमा पुगेँ। आखिर के कमी छ उसमा? मेरो मनलाई बुझ्ने कोही नारी छ भने त्यो नौलीबाहेक अरू कोही हुन सक्दैन। आखिर कमल पनि त हिलोमै फुल्छ। मैले स्याहारेर कसैको जिन्दगी नरकतुल्य हुनबाट जोगिन्छ भने मैले त्यो किन नगर्ने? मेरो मनमा सधैं यस्तै कुरामात्रै खेल्थे।

एक दिन निकै आँट गरेर मैले प्रस्ताव राखेँ, ‘नौली म तिमीसँग विवाह गर्न चाहन्छु।’

‘ठट्टा नगर्नुस् दाइ। म जस्तालाई कसले गर्छ बिहे?’

‘यो ठट्टा होइन नौली। मैले बडो सोचविचार गरेरै तिमीलाई अपनाउने निर्णय लिएको हुँ।’

‘पहिले त्यो जमिन्दारको छोरो बिर्खबहादुरले पनि त्यस्तै मायाजालमा पारेर मसँग बिहेको प्रस्ताब राख्यो र आज मलाई यो स्थितिमा पुर्यालयो। हुन्दिनुस् दाइ, मलाई मेरै हालतमा छाडिदिनुस्। तपार्इंले मात्रै चाहेर हुँदैन। तपार्इंको परिवारले स्विकारेन भने म आखिर यही फुटपाथमै त फ्याँकिन्छु।’

‘पुराना कुरा बिर्स नौली। तिम्रा अतीतका बारेमा हाम्रा परिवारलाई बताउनु नै किन पर्योु र? आऊ अब, हामी आजदेखि नयाँ जीवनको सुरुवात गरौं।’

‘मेरो अतीतको पर्दा उघि्रयो भने तपार्इंको परिवारमा ठूलो चोट पर्ला। म आफूजस्तै तपाईंलाई पनि बेघरबार बनाउन चाहन्नँ दाइ।’

‘बेघरबार। यहाँको कसको पो घरबार छ र? आँटिलो छोरोले बाउआमाको मुख ताक्नुहुन्न। परिवारकाले स्विकारेन भने तिमीलाई पाल्ने क्षमता छ ममा। पालिनको लागि तिम्रो शरीर बेच्नु जरुरी छैन नौली। आऊ, नयाँ जीवनको सुरुवात गरौं।’
नौली मेरो छातीमा टाँसिई। धेरै बेरसम्म रोइरही। ‘मेरा राजा मेरो प्राण’ भनेर चुम्बनको वर्षा गरिरही।

पशुपतिमा गएर मैले नौलीको सिउँदोमा सिन्दुर भरेँ। सरासर डाक्टरकहाँ लगेँ। रगत जाँच गर्न भनियो। धन्न उनको रगतमा एचआइभी पोजिटिभ देखिएन। मेरो महानता देखेर डाक्टर पनि खुसी भए। जाँच फी र औषधीको समेत शुल्क लिएनन्। बरु आँउदै गर्नु भनेर नयाँ जीवनको शुभकामना दिए।

मैले शरीर बेच्ने आइमाईसँग बिहे गरेँ भन्ने खबर मेरो गाउँमा आगोझंै फैलियो। खबर पुर्यामउने भूमिका रह्यो मेरै महान् मित्रहरू सञ्जय र रविको। बाको प्रतिक्रिया थियो, ‘अब मेरो लागि त्यो छोरो मरेतुल्य भयो। त्यसको लागि यो घरको ढोका सदाको लागि बन्द भयो।’

म आफ्नो जीवनदेखि खुसी नै थिएँ। श्रीमतीले खाना बनाउँथी। सानो अफिस फेला पारेको थिएँ। खाना खाएर अफिस जान्थेँ। साँझ अफिसबाट फर्किंदा ऊ मेरै प्रतीक्षामा हुन्थी। खाजा तयार हुन्थ्यो। तपाईंलाई दुःख दिएँ भनेर बीचबीचमा हीनताबोध गर्थी। मैले उसलाई ढाडस दिन्थेँ। हुन पनि साथीहरूको आवतजावत बन्द भएको थियो। सबैसँग सम्पर्क टुटेको थियो मेरो।

बिहे भएको करिब छ महिनापछि एक दिन अचानक सञ्जय मेरो डेरामा आइपुग्यो। उसलाई भेटेर हामी औधी रमायौं। ऊ केही महिनाको लागि आफ्नो अफिसको काममा आएको रहेछ। हल्ला फैलाउने काम सबै रविले गरेको भनेर बहाना बनायो उसले। हाम्रै डेराको छेउमा बस्यो ऊ। तर खाना हाम्रै भान्सामा खान थाल्यो। एक्लै के दुःख गर्छस् भनेर मैले नै उसलाई अनुरोध गरेको थिएँ।

बिहान गफगाफको लागि बोलाउँदा समय छैन भन्थ्यो सञ्जय तर पछि थाहा पाइयो— बेलुकी म नभएको बेला चिल्लो घस्न आँउदो रहेछ। फेरि आजकाल नौलीको व्यवहारमा पनि केही परिवर्तन आएको देखिन्थ्यो।

एक दिन मैले अप्रत्यक्ष रूपले नौलीलाई सचेत गराएँ। उसले कुनै जवाफ फर्काइन।

सन्चो नभएकोले एक दिन म अफिसबाट चाँडै डेरा आइपुगेँ। कोठामा सञ्जय नौलीसँग टाँसिएर हाँसीहाँसी गफ गरिरहेको थियो।

‘यो के चाल हो सञ्जय तिम्रो? तिमीलाई गफ गर्न बोलाउँदा समय छैन भन्छौ। म नभएको बेला लुकीलुकी मेरो कोठामा आउँछौ?’

‘कुरा त्यसो होइन यार, तिमी नभएको बेला भाउजूलाई एक्लै बोर हुन्छ, त्यसैले गफगाफको लागि आउँछु।’

‘मलाई सबै थाहा छ, तिम्रो व्यवहार। तिम्रो त्यो बानी अझै गएको छैन।’

‘त्यति ठूलो आरोप नलगा न यार, हेर् तंैले त्यस्तै सोच्छस् भने म तिमीहरूको नजरबाट सदाको लागि टाढा भइदिन्छु। म आजै डेरा सर्छु।’

नौली मेरो खुट्टामा छाँद हालेर अश्रुधारा बगाउन थाली, ‘मेरो प्राण, सञ्जय बाबु र मबीच त्यस्तो कुनै अपवित्र सम्बन्ध छैन। पहिले म हरेक ग्राहकको नौली थिएँ। मैले अब त्यो काँचुली फालिसकेँ। कसैसँग बोल्दैमा, हाँस्दैमा हजुरलाई जलन हुन्छ भने म अबदेखि कसैसँग सम्बन्ध बढाउँदिनँ।’

मैले नौलीलाई अँगालो हालेँ। हनहनी आएको ज्वरो पनि क्षणभरमै दुर भयो। मलाई लाग्यो— त्यो ज्वरो पनि शंकाकै ज्वरो थियो। जो अब पूरापूर उत्रिएको थियो।

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.