कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा

~वीरेन्द्र कटुवाल~Birendra Katawal

आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम गर्दा पनि उनको अनुहारमा आलस्यता र वैराग्यता देखेका थिएनन्, गाउँलेहरुले । उनी कुखुराको पहिलो डाकमै सुन्तलाबारीमा पुगिसकेका हुन्थे । उनको दोस्रो लटको चिया पिउले बेला भएपछि, बल्ल गाउँलेहरुको उठ्ने बेला हुन्थ्यो । उनको यो दैनिकीमा आमूल परिवर्तन भएको छ, हिजोआज । होइन भने उनको दैनिकी गाउँलेहरुको लागि अलाराम जत्तिकै थियो । तल बारीको पाटोबाट, ‘जानुका ! ए जानुका ! होइन आज चिया ख्वाउने योजना छैन कि क्या हो ? अझै सुतिराकी हो ?’ भनेर कराउँथे ।

कति कराउनु भाको, हो । ल्याउँदै छु त । आफू घाम अस्ताउन नपाइ सुत्नुहुन्छ । अनि उज्यालो नै नभैकन सारा गाउँका सुतिरहेका मान्छेलाई बिँउझाइ दिनुहुन्छ । कति सराप्ता हुन् तपाईंलाई गाउँका मान्छेले । जानुका भाउजू यसरी जवाफ दिन्थिन् । ‘रिसाए के गर्ने त हो, मध्यराति उठेर हल्ला गरेको छैन । उज्यालो भैसक्दा पनि उठ्दैनन् । त्यही भएर त, देख्दिनस् ? ४० कटेका हुँदैनन्, कोही सुगर भयो भन्छन् । कोही युरिक–एसिड बढ्यो भन्छन् । कसैको कोलेस्टोरल बढ्यो भन्छन् । कसैलाई हर्टअट्याक भयो अरे । बेलैमा उठ्नु । काम हुनेले काम गर्नु । आफूलाई पुगिसरी आको ठान्नेले चारपाँच किलोमिटर कुद्नु, व्यायाम गर्नु ।’

ऊ थप्छ, ‘हेर्त तेरो बूढो ५० पुग्न लागिसक्यो । अहिले पनि हेण्डसम छ । मेरो टाउको दुखेको कहिल्यै थाहापाएकी छस्, तैँले ?’ ‘मरेँ म त, कसैले तपाईं भनोस् कि नभनोस् आफैं मपाइँ ।’ भन्दै, दिलखोलेर हाँस्थिन्, जानुका भाउजू । उनीहरुका यस्ता प्रेममय संवाद सुनेपछि बल्ल गाउँलेहरुको निद्रा खुल्थ्यो । ‘ल, है उठ, जनकले सुन्तलाबारी गोडिसके ।’ त्यसपछि बल्ल गाउँलेहरुको उठ्ने र उठाउने क्रम सुरु हुन्थ्यो । उनीहरुको यो प्रातः संवाद गाउँलेहरुलाई बानी बसिसकेको थियो । तर धेरै दिनदेखि उनीहरुको यस्तो संवाद गाउँलेहरुले सुन्न छाडेका छन् । उनीहरुका संवाद सुनेर उठ्ने बानी परेका गाउँलेहरुको उठ्ने र उठाउने समय तालिकामा क्रमभङ्ग भएको छ । कसैको कलेज छुटेको छ । कत्तिको मेलापात छुटेको छ । उठ्न ढिला भएर, कसैको चिया पिउने र खाना खाने समय तालिका टुटेको छ । उठ्न त जनक सबेरै उठ्छन् । तर, निशब्द, आँगनको डिलमा उभिन्छन् र सुन्तलाबारीतिर नियाल्छन् । सुन्तलाका बोटहरू जिङ्ग्रिङ्ग भएर सुकेका हुन्छन । उनले सक्तो कोसिस गरेका थिए, ती बोटहरू बचाउन । तर सकेनन् । समयको गतिस्पर्शयति कठोर र यति निर्मम पनि हुन्छ । उनले कहिल्यै सोचेकै थिएनन । नत, उनलाई यसबारेमा सोच्ने कहिल्यै फुर्सनै मिल्यो ।उनले आफ्नो पसिनाले सिञ्चित नगरेको कुनै एउटा सुन्तलाकोबोट थिएन । प्रत्यक सुन्तलाका बोटको हुलिया थाहाथियो, उनलाई । उनका स्निग्ध हातहरूले र्याहार–सर्हार गरेका सुन्तलाका बोटहरूले डाँडाकाँडा ढाकेका थिए । बारीका प्रत्यक आली र कार्लाहरू उनले सुमसुर्याएका थिए । पहिला तीनै आली र कार्लाहरू जति हेरेपनि धितमर्दै थियो, उनलाई ।आज उनको मन कुँडिएकोछ । सुन्तलाबारी उराठलाग्दो भएकोछ ।

पहिलापहिला तिनै बारीका पाटाहरूमा लटरम्म सुन्तलाहरू पहेंलपुर भएर पाकेका हुन्थे । आकाशमा ढकमक्क जून लागेको हुन्थ्यो । त्यही आँगनको डिलमा टेकेर बारीमा हेर्थेँ । जूनको प्रकाश पहेलपुर सुन्तलामा ठोकिएर परावर्तित हुँदा आफ्नो श्रमले आर्जिएको त्यो सुन्तलाबारी, हरियो आकाशमा पहेंला ताराहरू ढकमक्क फूलेकोजस्तो देखिन्थ्यो । कर्मको फल त्यसरी फूलेको देख्दा, उनको अनुहार पुलकित हुन्थ्यो । त्यो मनोरम दृश्यले उनलाई उमङ्गित बनाउँथ्यो । र, उनको नसानसामा जाँगरको रक्तसञ्चार गरिदिन्थ्यो । तर आज सुन्तलाका बोटहरू ओइलिएका छन् । उनको अनुहारको पुलकित हराएको छ । र, मन रोएको छ । छोराको भविष्य उजाडिएको छ । जानुका भाउजूको हाँसो मुच्र्छा परेको छ । नत्रभने, कति मजाले दिल खोलेर हाँस्थिन् जानुका भाउजू । उनीहरूको परिवारमा शून्यता छाएको छ । र, त्यो शून्यताले गाउँ नै चकमन्न भएको छ ।

पोहोर हो क्यार । क्यामरा बोकेर पत्रकारहरू आएका थिए । उनको आँगनको डिलमा क्यामरा राखेर पहेलपुर सुन्तलाको बोटहरूको भिडियो खिचे । र, उसलाई सोधे, तपाईं विदेश जाने नेपाली युवाहरूलाई के भन्नुहुन्छ ? उनले भनेका थिए, ‘नेपालमा प्रशस्त सम्भावनाका मुहानहरू छन् । मिहिनेत गर्ने हो भने यही माटोमा सुन फलाउन सकिन्छ । म बुझ्दिन नेपाली युवाहरू किन त्यो मरुभूमिप्रति आकर्षित हुन्छन् । र, उनले विदेश जाने युवाहरूलाई फर्किन आह्वान गर्न निम्त्याएका थिए । आज उनी आफूलाई भीमकाय पहरोको बीचमा अलपत्र भएको अनुभूत गर्छन् । न टेक्ने कुनै ठाउँ भेट्छन, न त समाउने कुनै लहरो । हुन त जग्गा–जमिन बेचेर उसले बैंकको ऋण तिर्नसक्थे । तर, त्यसो गर्दा, पेटीको बास हुन्थ्यो, उनको । नगरुन् भने पनि ब्याज बढ्दै जान्थ्यो । पछि उनको जायजेथाले नभ्याउन पनि सक्थ्यो । उनी बैंकमा गएर रोइकराइ नगरेका पनि होइन । उनले अर्को उत्पादन नहउन्ज्यालसम्म ब्याजसम्म मिनाह गरी दिन आग्रह गरे । अनुनय–विनय गरे । तर, बैंकले नियमले मिल्दैन भनेर फर्काइदियो । त्यस्ता कृषि–उद्यमीहरूलाई सरकारले बिमा गरिदिने व्यवस्था गरिदिनुपथ्र्याे । त्यस्तो गरिदिएको भए, आज जनक ‘टेक्ने न समाउने’ को स्थितिमा आइपुग्ने थिएनन् ।

‘हो त नि, एउटा जाँगरिलो मान्छे यसरी दिशाहीन भएर विक्षिप्त हुनुपर्ने थिएन । उनी जनक मात्रै थिएन । उनी प्रेरणाका स्रोत पनि त थिए । उनी जाँगरको प्रतिमूर्ति पनि थिए । उनी देशको सम्पति पनि थिए ।

साँचै भन्नुभयो, त्यस्ता उद्यमशील मान्छेहरूलाई राज्यले संरक्षण गर्नुपथ्र्याे । तर, विडम्बना त्यसो हुन सकेन । ‘हो त हगि, स्रोत र साधनहरू आफैंमा गतिशील हुँदैनन् । त्यसलाई गतिशील बनाउन जनकजस्ता उद्यमशील र जाँगरिला मान्छेहरू चाहिन्छ । ‘ठीक भन्नुभयो, त्यस्ता जाँगरिला मान्छेलाई रुवाएर देश हाँस्न सक्तैन थियो । तर, कस्ले बुझ्ने । हिजोआज, गाउँभरि उनीप्रति यसरी सहानुुभूति प्रकट गरेको सुनिन्छ । उनले छोरो विनोदलाई कृषिसम्बन्धी अध्ययन गर्न पोखरा पठाएका हुन्छन् । उनी आफ्नो छोरोलाई वनस्पति डाक्टर बनाउन चाहन्थे ता कि गाउँका किसानहरूले खेतिबालीमा लागेका रोगहरूबाट प्रताडित हुन नपरोस् । तर, छोरो डक्टर हुनै नपाई उनको सुन्तलाबारी महामारीको शिकार बन्न पुग्यो । ‘सबै नेपाली युवाहरू विदेशबाट फर्किउन् । आफ्नो परिवारसँग बसेर पेसा र व्यवसाय गरुन् । दूबो पनि नउम्रने मरुभूमिका ‘मजरा’ मा खून पसिना बगाएर नेपाली युवाहरू आलु फलाउँछन् । टमाटर फलाउँछन् । बन्दाकोभी र भान्टा फलाउँछन् । थरी–थरीका खजूरहरू फलाउँछन् । उनीहरूको एक–एक थोपा पसिना यही मुलुकको माटोमा बगिदिए । देश बन्न कति बेर लाग्थ्यो होला र ? उनी यसरी कल्पना गर्थे ।

आजभोलि उनलाई पटक्कै निद्रा लाग्दैन । रात ढल्किसकेको हुन्छ । विभिन्न कोणबाट सोच्छन तर, उपाय कतैबाट पनि निस्कँदैन । यत्तिकैमा उनलाई पुष्पनाथ कोइराला अथवा आफ्नो क्षेत्रका सभासदको सम्झना आउँछ । भोट माग्न आउँदा ती सभासदले भनेको कुराहरू सम्झन्छन् । र, एक पटक भेट्न पाए केहीइ उपाय सुझाउँथे कि भन्ने लाग्छ । र, एकपटक भेट्ने निश्चय गरेर कनीकुथी निदाउने प्रयत्न गर्छंन् ।
सधैँँझै कुखुराको पहिलो डाकमै सबेरै उठ्छन । र, आशाको छिन्न लागेको त्यान्द्रो लिएर राजधानीतिर लाग्छन् । भोलिपल्ट बिहान ११ बजेतिर, जनक संविधानसभा भवन अगाडि पुग्छन् । खासै चहलपहल देख्दैनन् । प्रवेशद्वारमा बसेका एकजना प्रहरीसँग अनुमति लिएर भित्र जान्छन् । दुईचार जना, उनी जस्तै सभासद या मन्त्रीलाई भेट्न आएको हुनुपर्छ घुमिरहेका हुन्छन् । उनी बिना थुनछेक बैठककोठासम्म पुग्छन् । तर सभाहल निर्जन र शान्त हुन्छ । सभासदहरूको त्यत्रो गोठ नै नदेख्दा छक्क पर्छन्, जनक । एकजना कर्मचारी हुुनुपर्छ भित्र आउँदै गरेको देख्छन् । उसलाई केही थाहा छ कि भनेर सोध्छन, आज सभासदहरू देखिदैनन् । बैठक छैन कि के हो, हजुरलाई केही जानकारी होला ?

‘ल, तपाइँलाई त्यत्ति पनि थाहा छैन । यसो समाचार, पत्रपत्रिका हेर्नु हुन्न र ? भनेर हप्काउँछ । के चाहिँ आएको थियो त, समाचारमा भनेर जनक सम्झने प्रयास गर्छन् । टेलिभिजनको अगाडि बसेकोसम्म चाहिँ सम्झन्छन् । तर, टेलिभिजनले के भनेको थियो भन्ने चाहिँ पटक्कै सम्झना आउँदैन । र, ‘थाहा भएन त, हजुर ।’ भनेर जवाफ दिन्छन् । त्यो कर्मचारीले बेलिबिस्तार लगाएअनुसार– १५ दिनदेखि सभासदहरूको बीचमा नेपाल कस्तो बनाउने भन्ने बिषयमा मतमतान्तर चलेको रहेछ । कसैको राय, सन्त नेताले भनेजस्तै सिङ्गापुर बनाउने भन्ने रहेछ । कोहिचाहीँ त्यो पुरानो भइसक्यो । अब, स्विट्जरल्याण्ड बनाउनु पर्छ भन्दा रहेछन् । कोही चीन बनाउने पक्षमा रहेछन् । कोही भारत नै बनाउँ, अरुभन्दा सजिलो हुन्छ, भन्दारहेछन् । कोही उत्तर–कोरिया, कोही अमेरिका, कोही जापान, कोही अष्ट्रेलीया । तर नेपाल बनाउने चाहीँ कोही पनि निस्केनछन् । झन्नै हात हालाहालको स्थिति भएपछि एकजना मुनिजी एउटा अचूक सन्देश लिएर आइपुग्दा रहेछन । र, त्यही सन्देशले सुझाए अनुसार, हल्लखल्ल साम्य हुँदोरहेछ । त्यो अचूक सन्देशमा ‘प्रस्तावित मुलुकहरूमा सबै सभासदहरू अध्ययन भ्रमणमा जाने । र, सबैले एक महिनाभित्रमा सम्बन्धित मुलुकहरूको भिडियोसहित महत्वपूर्ण सत्य–तथ्य लिएर आउने । सबै भिडियो र तथ्यहरू आइसकेपछि संविधानसभामा प्रदर्शन गर्ने । भिडियो हेरिसकेपछि बहुमत सभासदहरूले नेपाललाइ जे बनाउने भन्नु हुन्छ त्यही बनाउने भन्ने उल्लेख हुँदोरहेछ । र, त्यही सन्देशअनुसार सबै सभासदहरू विभिन्न मुलुकको अध्ययन भ्रमणमा निस्किएका रहेछन् । र, उनीहरू एकमहिनापछि मात्रै फर्केका रहेछन् ।

कर्मचारीको यस्तो कुरा सुनेपछि जनकको चुडिन–चुडिन आँटेको आशाको त्यान्द्रो चुँडिन्छ । ‘तपाइँको समस्या के हो, उहाँहरू आएपछि नेपाललाई के बनाउने निर्णय गर्नहुन्छ । त्यही अनुसार तपाईंको काम हुन्छ । चिन्ता नलिइकन घर जानुस् । कर्मचारी सल्लाह दिन्छ । जनकको नौ नारी गलेर आउँछ । दायाँबायाँ हेर्छ । उनको नजर एउटा सानो कोठो र कोठा भित्रका अनौठा मूर्तिहरूमा पर्छ । ढोकामा ठूलो भोटे ताल्चा झुन्ड्याइएको हुन्छ । भित्र राताम्य मूर्तिहरू हुन्छन् । जनक गोजीबाट १० रुपैयाँको नोट झिकेर झ्यालबाट भित्र फ्याँक्छन् र ढोगी दिन्छन् । कुनै मूर्तिहरूमा पुरानो रगत देखिन्छ । कुनैमा आलै हुन्छ । उनलाई धरानको दन्तकाली मन्दिरको सम्झना आउँछ । ढोग्दाखेरी निहुरिएको टाउको के उठाउन मात्रै खोजेका हुन्छन् । ती अनौठा मूर्तिहरूले आँखा पिर्लिक्क पल्टाउँछन् । उनी झसङ्ग हुन्छन् र ‘अबुइ भन्दै पछि हट्छन् । ती अनौठा मूर्तिहरू बरर आँसु झार्छ । ती बन्धक बनाइएका अनौठा सजीव मूर्तिहरू देखेर जनक आश्चर्यचकित हुन्छन् । ती मूर्तिहरूको धुकधुकी हुन्छ । तर बोल्न सक्दैनन् । ती अनौठा मूर्तिहरूको दीनहीन अवस्था देखेर जनक द्रवीभूत हुन्छन् । तर, ‘जोगीको घरमा संन्यासी पाहुना भनेजस्तो जनक आफैं दयाको खोजीमा भौंतारिएका हुन्छन् । उनले गर्न त के सक्थे र एकछिन करुणाभावले टुलुटुलु हेर्छ । र, त्यहाँबाट बाहिरिन्छन् ।

सुन्तलाका मूर्छित बोटहरू, छोराको मूर्छित सपनाहरू, जानुकाको मूर्छित खुसी र हाँसोहरूको ओखती खोज्न निस्किएका थिए, जनक । मूर्छित मूर्तिहरूको पीडा थपेर, गह्रौं मन लिएर संविधानसभा भवनबाट बाहिरिन्छन् । बाहिर निस्किएर मूर्छित मूर्तिहरूको बारेमा धेरैलाई सोध्छन् । तर, कसैलाई थाहा हुँदो रैनछ । कतिले त ‘कहाँबाट आउँछन् यी पागलहरू, काम छैन, मूर्तिको बारेमा सोध्दै हिँड्छन् सम्म पनि भने । अरु त अरु, सुरक्षा दिन बसेको प्रहरीलाई पनि ती मूर्छित मूर्तिहरूका बोरेमा थाहा रैनछ । अलि पर, पश्चिमपट्टिको पहिलो प्रवेशद्वारनेर चार जना बूढा मान्छेहरूमा जनकको आँखा पर्छ । ‘कतै यी बूढामान्छेहरू पो ती मूर्छित मूर्तिहरूका बारेमा केही जान्दछन् की जस्तो लाग्छ । र, मनको सन्तोश सोधि हेर्छ, ‘बाहरूको घर कता प¥यो को नि ?’

हाम्रो घरवार केही छैन, नानी । ती बूढाहरूको उत्तरले जनकको मनमा चस्का पस्छ । ‘कहीँ कतै मेरो भविष्य पनि ।’ बाहरूलाई एउटा कुरा थाहा थियो कि । जनक सोध्ने अनुमति लिन्छन । ‘के कुरो हो, सोध्नुस्न नानी । जाने भन्दिन्छौ क्यार ।’ अनुमति पाउँछन् । यो सभाभवनभित्र केही जीवित तर मूर्छित राताम्य मूर्तिहरू रैछन् । हजुरहरूलाई त्यसको बारेमा केही जानकारी छ कि भनेर । हो नानी, ती मूर्छित राताम्य मूर्तिहरू ‘सिद्धान्त हुन् । ती बूढाहरूको अनुसार– उनीहरूले आआफ्ना सिद्धान्तहरू आफ्ना उत्तराधिकारीहरूलाई तन्दुरुस्त जिम्मा लगाएका थिए, अरे । ती बूढाहरू गहभरी आँशु पारेर भन्थे, ‘उत्तराधिकारीले धोका दिए, उनीहरूले बित्याइँ गरे ।’ जीवबलि–संस्कृतिमा विश्वाश गर्न नेपालीहरू बलि चढाइदिएपछि सबै ठीक हुन्छ भन्ने ठान्छन् । त्यही जनविश्वासको ब्ल्याकमेल गरे, हाम्रा उत्तराधिकारीहरूले । सिद्धान्तलाई बन्धक बनाइको छ । समस्याहरू ज्यूँ का त्यूँ छन् । तपाइँहरू जस्ता उद्यमशील मान्छेहरू रुँदै हिँड्नुे परेको छ । सिद्धान्त मूच्र्छा परेर ढलेको छ । नेपालीहरूलाई पटक–पटक बलिदिन उप्काइन्छ । ती निमुखा जनता बलिदिन राजी हुन्छन् । विभिन्न रुप र बहानामा लेपालीहरूको बलि चढाइएको छ ‘चढाइएको छ’ ती सबै जनताको रगतले रंग्याइएका सिद्धान्तहरू हुन् नानी । बूढाहरूको आँसु देखेर जनक पनि आँसु थाम्न सक्दैनन् । जनक चारैतिर हेर्छ र सोच्छन सडकहरू व्यस्त छन् । सबैलाई हतारो छ । सबैलाई आआफ्नो चटारो छ । घामलाई पनि भोलि सबैरै झुल्कनु छ । ऊ पनि अस्ताउने हतारमा देखिन्छ । ती चारवटा बूढाहरू छन, न खानु पर्छ न लाउनु पर्छ । बिहानै आएर त्यही पेटीमा बस्तारहेछन् । सभासदहरूको नौटङ्की हेर्दारैछन । सिद्धान्त मूर्छा परेर ढलेको देखेर रुँदारैछन । बेलुका भएपछि आ–आफ्नो सालिकमा गएर लीन हुँदारैछन । तर, काठमाडांै यी सबै कुराहरूबाट बेखबर रैछ । किनभने व्यस्त छ । उसलाई यो सबै सोच्ने फूर्सदै रैनछ । चौटो खान गएकी बूढी झोलमा डुबेर मरी भने जस्तै हुन्छ, जनकलाई । उनी पनि रातीकै बस चढेर फर्कने निर्णय गर्छन् । र, बसपार्कतिरको बाटो छोट्याउनमै बुद्धिमानी ठान्छन । जनक बिहान सबेरै घर पुग्छन् । पोखरा पढ्न गएको छोरो विनोद पनि घर आइसकेको हुँदोरैछ । सुन्तलाका बोटहरू उस्तै जिङरिङ्ग परेका, जानुकाको अनुहार उस्तै खिस्रिक्क परेको, विनोद पनि चिन्तित । दिन तेत्तिकै बित्छ । साँझ परेपछि जानुका भान्छातिर लाग्छिन, विनोद साथीभाइहरूकातिर पनि जाँदैन । घरमै झोक्राएरै बस्छ । जानुका भाउजु भान्छा तयार भएको जनकारी दिन्छिन् । बाबुछोरा चुपचाप भान्छातिर जान्छन् । खाना खाँदाखाँदै जनकको आँखा, अगाडि झुण्ड्याइएको बैंकले पठाएको तागेतापत्रमा पर्छ । उनको भातको गाँस घाँटीबाट छिर्दैन ।

‘किन यस्तरी चिन्ता लिनुहुन्छ । दैव लागेपछि कस्को के लाग्छ, र । एक थोक होला नि त । गिलासमा पानी दिँदै, सम्झाउने प्रयास गर्छिन्, जानुका भाउजु । खानपिन सकेर, सबै आआफ्नो विस्तारामा पल्टिन्छन् । तर, कोही पनि निदाउन सक्तैनन् । बिहान उठेर, जनक आँगनको डिलमा झोक्राएर बसेका हुन्छन् । विनोद आउँछ र ‘बुबा म विदेशतिर जानुप¥यो । कम्तिमा बैंकको किस्तासम्म तिर्न सकेँ भने पनि त राहत हुन्थ्यो नि भन्छ ।

‘अनि पढाइ ?’ पढाइ पनि त त्यसै हँुदैन । पढ्न पनि खर्चै लाग्छ । केही समय जान्छु । तपाईं यहाँ फेरि सुन्तला लगाउनुस् । राम्रो भयो भने म फर्किहाल्छु नि । छोराकोे जवाफमा जनक नाजवाफ हुन्छ ।

‘जानुका, ए जानुका, जनक बोलाउछन् । ‘हजुर, किन बोलाउनु भएको’, जानुका भाउजु हाजिर हुन्छिन । र, अगाडि ठिङग उभिन्छिन् । जनक, आँखा नजुधाइकनै, मलिन स्वरमा भन्छन्, ‘छोरो विनोद विदेश जान्छु भन्दैछ । पासपोर्ट बनाउन काठमाडौं जानुपर्नेरछ । जानुका भाउजु चुपचाप, गहभरी आँशु पार्छिन् र आफ्ना माखा–मुद्रा विस्तारै खोलेर छोराको हातमा राखिदिन्छिन् । र, ‘राम्ररी जानु भन्दै भक्कानिएर भित्र पस्छिन ।
‘नेपाली छोराहरू रहरले विदेश गएका होइन रहेछन्, हगी जानुका ? भन्दै भक्कानिएर जनक पनि पछि लाग्छन् । छोरो विनोद, वनस्पति डाक्टर बन्ने सदिक्षालाई त्यहि आँगनको एउटा कुनामा बिसाउँछ । र, बैंकको ऋण बोकेर धेरै नेपाली युवाहरूको भीडमा घरबाट बाहिर निस्कन्छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.